११-१७ साउन २०७१ | 27 July - 2 August 2014

हिमाल हिउँविहीन

Share:
  
- बच्चु विक, साइपालबाट फर्केर
पहिले सेताम्मे देखिने सुदूरपश्चिमका हिमालमा अहिले हिउँ देखिन छाडेको छ।

तस्वीरहरुः बच्चु विक
साइपाल हिमाल।
आफ्नो कालो कपाल सेतो भए जस्तै घरबाट देखिने सेता हिमाल कालो बन्दै गएकोमा बझाङको हिमाली गाविस काँडा–४ काँडागाउँकी नन्दकला बोहरा (७६) लाई दिक्क लाग्छ। ६४ वर्षअघि बिहे गरेर यो गाउँमा आउँदा घरछेउमै टल्कने हिमाल देखेकी उनी अहिले भने वर्षमा मुश्किलले चार महीना मात्र हिमालमा हिउँ देखिने बताउँछिन्।

काँडा गाउँभन्दा उत्तरको ४ हजार ७०० मिटर उँचाइको माझ् हिमालमा गत १८/१९ वर्षदेखि यार्सा खोज्दै आएका रजबार जेठारा (६३) को पनि पछिल्लो समय त्यहाँ हिउँ कम भएको अनुभव छ। यार्सागुम्बा टिपेर असार अन्तिम साता घर फर्किंदा बाक्लो हिउँ हुने सो हिमालमा यो वर्ष जेठ दोस्रो सातामै हिउँ नभेटिएको उनी बताउँछन्।

सर्दै हिमरेखा

माझ् हिमाल जति नै उँचाइका कालापानी, राइढुङ्गी, अमलगाडमा पनि हिउँ पातलो भएर काला चट्टान देखिन थालेका छन्। त्यति नै उँचाइका बझाङको उत्तरपश्चिमका इमलद्वार, नयाँ, धुली क्षेत्रमा पनि वैशाखमै हिउँ हुँदैन। पहिले त्यहाँ असार मसान्तसम्म हिउँले हिंड्न मुश्किल बनाउँथ्यो।

धुलीमा गत भदौमा लगाएको गहुँ असार पहिलो साता काट्दै डोल्मा लामा।
मध्य असारमा तिब्बतको ताक्लाकोट पुगेर फर्किएका काँडा गाविस–७ धुलीका टासी तामाङ (७१) बाटो खुलेको बताउँदा पनि खुशी थिएनन्। समयमा हिउँ नपरेको र परेको हिउँ पनि छिट्टै पग्लिएकाले त्यहाँ हिउँ कम भएको उनी बताउँछन्।

हिउँले बाटो ढाकिने भएकोले चीनको तिब्बत जाने उरैभञ्ज्याङ नाका पहिले साउनदेखि मात्रै खुल्थ्यो। बझाङ जिल्ला प्रशासन कार्यालयसँग 'पास' लिएर यो क्षेत्रका व्यापारी साउनदेखि त्यो नाका हुँदै तिब्बत जान्थे र ६ महीना उतै बसेर व्यापार गर्थे। तर यो वर्ष हिउँ नभएकाले असार पहिलो सातादेखि नै व्यवसायीहरू ताक्लाकोट गए। दार्चुलाको तपोवन, अपि, नाम्पा, छाँगरु र तिङ्कर क्षेत्रमा यो वर्ष हिउँ छैन। दुई दशकअघिसम्म ती क्षेत्रमा बस्ने सौका समुदायका मानिस हिउँ बढी पर्ने ६ महीना दार्चुला सदरमुकाम र्झ्ने गरेकोमा अहिले आठ–नौ महीना गाउँमा बस्न थालेका छन्।

बझाङ जिल्ला वन अधिकृत (डीएफओ) रमेश चन्द मौसम परिवर्तनका कारण हिमरेखा माथि सरेको बताउँछन्। लामो समयदेखि वन्यजन्तु र जैविक विविधता क्षेत्रमा कार्यरत डब्लूडब्लूएफ/तालका प्रबन्धक सागर रिमालको पनि हिमरेखा सर्दै गएको बुझाइ छ। भारतको अहमदावादस्थित 'स्पेस डिपार्टमेन्टस् सेटेलाइट अप्लिकेसन सेन्टर' का वैज्ञानिक अनिल कुलकर्णीले गरेको अध्ययन अनुसार सन् १९८० को वर्षायामको अन्त्यतिर ४ हजार ९०० मीटरमा हिमरेखा थियो भने सन् २००६ मा ५ हजार २०० मा पुग्यो। हिमालय क्षेत्रमा हिउँद र मनसुनमा मात्रै हिउँ पर्छ। केही वर्षयता मनसुन ढीलो आउन थालेकाले पनि प्रशस्त हिउँ नपरेको त्यो अध्ययनको निष्कर्ष छ।

हराउँदै हिमनदी

हिमरेखा सरेकोले हिमनदीहरू पनि मासिएका छन्। साइपाल हिमालको पूर्वी क्षेत्र र बझाङ–हुम्लाको सीमा राइढुङ्गी क्षेत्रमा हिमनदी पहिले भन्दा कम देखिएको स्थानीय बताउँछन्।

पहिले हिउँका पहिरो गएको देखेका रजबार जेठाराले चार/पाँच वर्षयता हिउँ पहिरो गएको थाहा पाएका छैनन्। त्यहींका टासी तामाङ (७१) पनि सैपाल हिमाल क्षेत्रका बोटबिरुवा नउमि्रने ४ हजार मीटर भन्दा अग्ला डाँडाहरूमा हिउँ देख्न कात्तिक–मंसीर कुर्नुपर्ने अवस्था आएको बताउँछन्।

नन्दकला बोहरा, रजबार जेठारा, टासी तामाङ।

मौसम परिवर्तनले हिमाली क्षेत्रमा तापक्रम बढाएकाले हिमनदीहरू घटेको डब्लूडब्लूएफ/तालका सह–प्रबन्धक तिलक ढकालको निष्कर्ष छ। मौसम परिवर्तनको सबैभन्दा बढी असर हिमाल र समुद्रमा पर्ने उनको भनाइ छ। हिमालय क्षेत्रका हिमनदी सम्बन्धी गरिएका अरू अध्ययनहरूले पनि विश्वव्यापी रूपमा तापक्रम बढेकाले हिमनदी घटेको देखाएका छन्। काठमाडौंस्थित 'इन्टरनेसनल सेन्टर फर इन्टेग्रेटेड माउन्टेन डेभलपमेन्ट (आईसीएमओडी)' को २०१४ मा सार्वजनिक एक अध्ययनले गत तीन दशकमा नेपाल र भूटानका एक चौथाइ हिमनदी सुकेको देखाएको छ। नेपालका हिमनदीको 'सेटेलाइट टेक्नोलजी' र स्थलगत रूपमा गरिएको 'ग्लेसियर स्टाटस् इन नेपाल एन्ड डिकेडल चेन्ज फ्रम १९८० टु २०१० बेस्ड अन ल्यान्डस्ट डाटा' नामको अध्ययनले पनि सन् १९७७ देखि २०१० सम्म २४ प्रतिशत हिमनदी खुम्चिएको र २९ प्रतिशत हिउँ घटेको देखाएको छ।

नेपालमा ३ हजार ८०८ हिमनदीले ३ हजार ९०२ वर्गकिलोमिटर क्षेत्र ओगटेकोमा प्रति वर्ष ३८ वर्गकिलोमिटर हिमनदी क्षेत्र घटेको देखिन्छ। महाकाली, कर्णाली, गण्डकी र कोशी नदी क्षेत्रमा छुट्याइएको हिमनदी क्षेत्रमध्ये 'महाकाली वेसिन' मा १६४ हिमनदीले ११३ वर्गकिमि क्षेत्र ओगट्छन्। 'कर्णाली वेसिन' को पश्चिम सेती, कावरी, हुम्ला, मुगु, तिला र भेरी क्षेत्रमा एक हजार ४५९ हिमनदीले एक हजार २३ वर्गकिमि, 'गण्डकी वेसिन' को कालीगण्डकी, सेती, मर्स्याङ्दी, बूढीगण्डकी र त्रिशूली क्षेत्रमा एक हजार ३४० हिमनदीले एक हजार ६६५ वर्गकिमी तथा 'कोशी वेसिन' अन्तर्गत इन्द्रावती, सुनकोशी, तामाकोशी, लिखु, दूधकोशी, अरुण र तमोर क्षेत्रमा ८४५ हिमनदीले एकहजार १०३ वर्गकिमी क्षेत्र ओगटेका छन्। यो एकसय वर्षमा संसारभरि ०.७४ डिग्री सेन्टिग्रेट तापक्रम बढे पनि नेपालको हिमाली क्षेत्रमा भने दुई दशकमै ०.६ डिग्री सेन्टिग्रेड तापक्रम बढेको अध्ययनहरूले देखाएका छन्। इटालीको मिलान विश्वविद्यालयको टोलीले गरेको एक अध्ययन अनुसार सगरमाथा क्षेत्रमा गत ५० वर्षमा १३ प्रतिशत हिमनदी सुकेका छन् भने हिमरेखा १८० मीटर सरेको छ।

माझ हिमाल क्षेत्र।

हिउँ नभएको कालापानी हिमाल।

मर्कामा स्थानीय

हिउँ घटेको असर हिमाली क्षेत्रमा देखा पर्न थालेको स्थानीयको अनुभव छ। बझाङको उत्तरी गाउँ धुलीकी पेम्बा लामा (३७) गहुँ, जौ, आलु र फापरको पाक्ने समय फेरिएको बताउँछिन्। भदौ २०७० मा लगाएको गहुँ असार पहिलो साता भित्र्याउँदै गरेकी पेम्बा पहिले आठ–नौ महीनामा त्यही बाली पाक्ने गरेकोमा अहिले दश–एघार महीना लागेको सुनाउँछिन्। हिउँ कम परेकाले आलु र फापर पनि सप्रिन छाडेको उनको भनाइ छ।

हिउँमा रमाउने डाँफे, हिमचितुवा, अर्ना पनि नासिंदै गएको डीएफओ चन्द बताउँछन्। “पहिले प्रशस्त देखिने हिउँचितुवा र डाँफे देखिन छाडेका छन्” चन्द भन्छन्। हिमरेखा यसरी नै माथि सर्‍यो भने हिमाली क्षेत्रमा पाइने जडीबुटी, बोटविरुवा नासिन सक्ने खतरा रहेको उनको निष्कर्ष छ। डब्लूडब्लूएफ/तालका सहप्रबन्धक ढकाल भन्छन्, “तराईका वन्यजन्तु चुरेतिर, चुरेका पहाडतिर र पहाडका हिमालतिर गए पनि हिमालका वन्यजन्तु र बोटबिरुवालाई भने सर्ने ठाउँ छैन।”

हिउँ कम हुँदा नदीहरूमा पानीको सतह घट्ने र तराई क्षेत्रमा असर पर्ने पनि विभिन्न अध्ययनले देखाएका छन्। नेपालका अधिकांश नदी हिउँ पग्लिएर बग्छन्।

comments powered by Disqus

रमझम