११-१७ साउन २०७१ | 27 July - 2 August 2014

फर्कनुस् पारस!

Share:
  
- मिलन बगाले

पूर्वराजा ज्ञानेन्द्र शाहले असार तेस्रो साता ६८औं जन्मदिन मनाए। लामो समय शासन गरेको संस्थाको प्रतिनिधि र भूतपूर्व राष्ट्रप्रमुखका नाताले उनका शुभचिन्तकको कमी छैन। गणतन्त्रलाई आत्मसात् गरेका ज्ञानेन्द्रले गद्दी त्यागेपछि दिएका अन्तर्वार्ता, विज्ञप्ति र सम्बोधनहरूले शिष्टताका सीमा तथा शालीनता नाघेका छैनन्। त्यसैले, उनको आलोचनामा कसैले मसी खर्चिनुपरेको पनि छैन।

ज्ञानेन्द्रले जन्मदिन मनाएको साता दिनमै उनका एक मात्र सुपुत्र पारस भने थाई राजधानी बैंकक्स्थित होटलबाट १२ ग्राम गाँजासहित समातिएको खबर सार्वजनिक भयो। यसअघि पनि लागूपदार्थकै कारण उनी दुई पटक पक्राउ परिसकेकाले थाई सरकारले अब भिसा नथप्ने भएको अखबारहरूले जनाएका छन्। अब उनीसँग अर्कै देश जानु या नेपाल फर्कनुको विकल्प छैन।

राजसंस्था हटेर युवराजको पगरी खोसिएसँगै पारस विदेशिएका हुन्। उनलाई युवराजको पगरी पनि छुट्टीको अवसर पारेर पिताले गुताइदिएका थिए। राजसंस्था पतनको एउटा कारक पारसलाई मान्ने नेपाली थुप्रै छन्। २३ साउन २०५७ मा शाहजादा पारसले हाँकेको गाडीले ठक्कर दिएर गायक प्रवीण गुरुङको ज्यान गएपछि उनको सार्वजनिक छवि धमिलिन थालेको थियो। त्यसबेला लाखौंले हस्ताक्षर गरेर पारसमाथि कारबाही हुनुपर्ने माग गरेका थिए, तर दरबारभित्रका श्री ५ हरू कानूनभन्दा माथि थिए। राजा वीरेन्द्रले पनि उद्दण्ड भतिजालाई सुधार्ने चेष्टा गरेनन्। ज्ञानेन्द्रले पनि सदैव ढाकछोपको सहारा लिइरहे। ज्ञानेन्द्रका पूर्व सैनिक सचिव विवेककुमार शाहले पनि यसबारे आफ्नो संस्मरण मैले देखेको दरबार मा चर्चा गरेका छन्। त्यसबेला नेपालीहरू भावी राजाको उद्दण्डताबाट तर्सिनु स्वाभाविकै थियो।

कतिसम्म भने, आफ्ना पिताको प्रत्यक्ष शासनकालमा पारसले श्रीमती हिमानीलाई गोली हानेको ठूलो हल्ला फैलियो। त्यसलाई मत्थर पार्न नेपाल टेलिभिजनमा हिमानीले बसन्तपुर दरबार अवलोकन गरेको दृश्य देखाइएको थियो। तर, पारस कहिल्यै होशियार भएनन्। पारसले डिस्कोमा मान्छे पिटेको, सडकमा हवाई फायर गरेको लगायतका समाचार बाक्लै आइरहन्थे। गणतन्त्र आएलगत्तै पनि उनले चितवनमा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाका ज्वाईं रुवेल चौधरीलाई पेस्तोल देखाएर ठूलै काण्ड मच्चाएका थिए। अहिले पारसले बाहिरै बसेर देशको बदनामी गरिरहेका छन्।

गलत हर्कतका कारण उनी 'नेपालका पूर्व युवराज' भनेर समाचारको हेडलाइन बनेपिच्छे देशको बदनामी भइरहेको छ।

पछिल्लो पटक बैंकक्मा उनी समातिएको खबर सार्वजनिक हुँदा पत्रकार केदार शर्माले फेसबुकमा लेखे– 'दुःखद् खबर! पहिले नेपालमा नै एक–दुई पटक कानून अनुसार कारबाही गरेको भए यी दिन देख्नुपर्ने थिएन!' हुन पनि, उद्दण्ड शाहजादालाई कानूनभन्दा माथि राखिदिएको दुष्परिणाम उनका परिवारले त भोग्नु पर्‍यो नै, अहिले विदेशमा देशको पनि बदनाम भएको छ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल शक्तिमा छँदा उनका पुत्र प्रकाशले गलत आचरणका कारण 'नयाँ पारस' को उपमा पाएका थिए। तर, अहिले गाई र बंगुर पालनमा लागेका उनी असाध्य राम्ररी सुधि्रएका छन्। फेसबुकमा आक्कलझ्ुक्लक आउने प्रकाशका टिप्पणीहरू पनि पहिले हेरी धेरै सुधारिएको छ। पारसले पनि प्रकाशको सिको गरे सबैलाई खुशी लाग्ने थियो। त्यसका लागि पूर्वराजाका छोराले पूर्व विद्रोहीका छोराले थालेकै काम गर्नुपर्छ भन्ने छैन।

पारसको पतनमा कोही नेपाली खुशी छैन। उनैका छोराछोरी पनि अब त बुझने भइसके। उनीहरूलाई अभिभावकत्व दिनुपर्ने व्यक्ति आफैं गाँजा खाँदै हिंडेको देख्दा कसैलाई निको लाग्दैनर पूर्वराजपरिवारका सदस्यहरूको पीडामा सबैको सहानुभूति छ। पूर्वराजा ज्ञानेन्द्र, तपाईंले एक्लो छोराको उद्दण्ड क्रियाकलापलाई ढाकछोप गर्दा धेरै पीडा सहनुपरेको छ। परदेशतिर परिवार र देशको बदनाम गरिरहेका पारसलाई अब यतै ल्याउन केही उपाय निकाल्नुस्। फेरि बन्दूक पड्काउँदै हिंडेछन् भने प्रहरीलाई जिम्मा दिने कठोरता पनि देखाउनुस्।

पारसजी, तपाईं युवराज हुन जन्मनुभएको थियो, त्यसैले राजा हुन सक्नुभएन, तर जिन्दगी सार्थक बनाउने हजार उपाय छन्। तपाईं विदेशतिर नबरालिई यतै आउनुस् र सुधि्रनुहोस्। सुध्रन खोज्नुभयो भने क्षमाशील नेपाली समाजले तपाईंको विगत सजिलै बिर्सिदिन्छ। आखिर, एकबारको जिन्दगी यसरी फाल्ने चिज पनि होइन। ढिलो–चाँडो सत्कर्ममा हिंड्ने सबैको जय होस्।

comments powered by Disqus

रमझम