११-१७ साउन २०७१ | 27 July - 2 August 2014

मोदीको आशा

Share:
  
- कुन्द दीक्षित
मोदीले नेपाल बनाउँदैनन्, नेपाल नेपालीहरूले नै बनाउने हो। तर, मोदीको मद्दत लिन सकिन्छ, किनभने उनलाई पनि भारत बनाउनु छ।

नेपाल–भारत सम्बन्धको बारेमा नेपालमा दुईथरी विश्लेषण हुने गर्छ। एउटा, भारतले नेपाललाई सिक्किम बनाउन आँट्यो, नेपालीलाई कहिल्यै पनि अघि बढ्न दिंदैन, समृद्ध हुन दिंदैन। अर्को तर्क, भारत जस्तो १.३ अर्ब जनसंख्या भएको मुलुक खुला सीमा पारि छ, त्यसको हामीले फाइदा उठाउन सक्नुपर्छ। पहिलो दृष्टिकोण हामीमा आत्मसम्मान र आत्मविश्वासको कमीको परिणाम हो। दोस्रो व्याख्या नेपालको आत्मबल, एकता र राष्ट्रहितमा आधारित हो।

नेपाल र भारतलाई संयुक्त इतिहास, संस्कृति र धर्मको गाँठोले बाँधेको छ। भारत र नेपाल दुवैमाझ् उस्तै विकासको चुनौती पनि छः गरीबी, अशिक्षा, जातीय भेदभाव र धनी–गरीबबीचको खाडल। नेपालले बाल र मातृ मृत्युदर घटाउन तथा साक्षरता बढाउन जुन प्रगति गरेको छ, त्यसले भारतभन्दा धेरै ठूलो फड्को मारेको छ। भारत नेपालको 'ठूल्दाइ' होइन कि दिदी हो, जसले बहिनी नेपाललाई माया गर्नुपर्छ र उसलाई सन्तुष्ट र खुशी राख्न प्रयत्न गर्नुपर्छ।

तर, गएका दशकहरूमा भारत र नेपालले एकापसलाई कर्के नजरले हेरे। भारतले अलि हेप्ने, नेपालले आफ्नै हितमा हुने कुराको प्रस्ताव आउँदा पनि नहेर्ने। भारतसँग किन दब्ने, भारतलाई अलिकति दियो भने सबै खोस्छ भन्ने सोचले गर्दा हामीले आफ्नै देशको विकासमा टेवा पुग्ने कुराहरूलाई पनि वास्ता गरेनौं। यसले गर्दा नेपालको जलस्रोत, व्यापार र पूर्वाधारको विकास अघि नबढेको मात्र होइन, पछि धकेलियो। यसको परिणामः यत्रो ठूलो जलस्रोतको भण्डार मानिने नेपालमा दिनको १२ घन्टा अन्धकार छ, एक दुइटा बाहेक सिंचाइ योजना बनेका छैनन् र तराईलाई काठमाडौं १.५ घन्टामा जोड्ने राजमार्ग नबन्दा ८ घन्टा लगाएर राजधानीबाट वीरगञ्ज पुग्नुपर्छ। यी योजनाहरू नबनेको भारतको कारण होइन, हाम्रो इच्छाशक्ति र प्रतिबद्धताको कमीले हो।

सन् २०२० सम्म नेपालमा जलाशय भएको बहुउद्देश्यीय योजना नबने आन्तरिक बिजुलीको मागलाई पर्याप्त हुँदैन। जलाशययुक्त योजना बनाउन भारतसँग सहकार्य नगरी सुखै छैन। भारतले पेल्छ भनेर हामीले अहिलेसम्म यस्ता योजनाको कुरै गरेका छैनौं। बरु पानी खेर जाओस् तर भारतसँग घुँडा टेक्दैनौं भन्ने मनसाय छ, हाम्रो। नेपालको भारतसँगको बढ्दो व्यापार घाटालाई समाधान गर्ने दीर्घकालीन रणनीति के हो? भारतबाट आयात गर्ने तेल र ग्याँस पाँच वर्षमा तीन गुणा बढेको छ। तेलको अन्तर्राष्ट्रिय भाउ यही क्रममा बढ्दै जाने हो भने भारतबाट तेल किन्न अब नेपालमा भारु पुग्दैन। नेपालको सबै निर्यातबाट कमाउने विदेशी मुद्राले अहिले नै तेल र ग्याँस मात्र आयात गर्न पनि पुग्दैन। यो आर्थिक निर्भरताले गर्दा नेपालको राजनीतिक स्वतन्त्रतामा नै आँच आएको छ। अनि के को फुर्ती? भारतसँग निहुँ खोजेर हुन्छ?

भन्नै पर्दा, भारतले नेपाललाई नहेपेको होइन। वीरेन्द्रको पालामा त चीनबाट बन्दूक किन्यो भनेर झ्न्डै दुई वर्ष सिमानामा नाकाबन्दी नै लगाइदियो। भारतीय एजेन्सीहरूले नेपालका नेताहरूलाई धम्क्याएर, खुवाएर आफ्नो कठपुतली बनाए। विगतका नदी सम्झौताहरू भारतकै एकतर्फी हितमा बने। यसले गर्दा नेपालीहरूले भारतलाई नपत्याउने ठाउँ त छ, तर छिमेकीको शंका मात्रै गरेर अब देश उँभो लाग्दैन।

अब नरेन्द्र मोदीको सरकार आएपछि नेपालमा एउटा नयाँ आशा पलाएको छ, केही भइहाल्छ कि भनेर। मोदीको नेपालप्रति व्यक्तिगत र आध्यात्मिक लचकता छ। तर, यसको माने यो होइन कि हामीले भिक्षा मागेको जस्तो गरेर त्वंशरणम् गरेर लम्पसार पर्ने। अब माग्ने होइन कि आपसी साझेदारीको रूपमा ठूला अन्तर्राष्ट्रियस्तरका पूर्वाधार, ऊर्जा र जलस्रोतका योजना अगाडि बढाउनुपर्छ।

आईके गुजरालको पालादेखि, १७ वर्षपछि यो ठूलो मौका हो। मोदीले नेपाल बनाउँदैनन्, नेपाल नेपालीहरूले नै बनाउने हो। तर, मोदीको मद्दत लिन सकिन्छ, किनभने उनलाई पनि भारत बनाउनु छ।

comments powered by Disqus

रमझम