११-१७ साउन २०७१ | 27 July - 2 August 2014

ओलीको असर

Share:
  
- विष्णु रिजाल

नेकपा (एमाले) को नवौं महाधिवेशनबाट नेतृत्वमा आउनुभएका केपी शर्मा ओली दुई घन्टामा पहिलो बैठक सकेर स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएको छ। कमजोर स्वास्थ्य, हाराहारीको प्रतिस्पर्धी मत, गुटगत अभ्यासको लामो विगत र विपरीत स्वार्थका सहयोगीहरूका कारण ओलीले एमालेलाई कसरी अघि बढाउनुहोला भन्ने अबको जिज्ञासा छ। 'मेरो जीवन लामो छैन' भनिसकेका एमालेका नवनिर्वाचित अध्यक्ष तथा संसदीय दलका नेता ओलीको एकपटक प्रधानमन्त्री भइहाल्ने आकांक्षाबाट राष्ट्रिय राजनीति प्रभावित हुने पनि निश्चित नै छ।

नेतृत्वको विरोधाभास

यस पटकको महाधिवेशनमा माधवकुमार नेपाल समूहले नेपाली समाज अब अर्धसामन्ती र अर्धऔपनिवेशिक छैन भन्ने मत अघिसारेको थियो। केपी ओली स्वयम्ले यस विषयमा मुख नखोले पनि उहाँ निकट नेताहरूले सरकारी तथ्यांकहरूको समेत सहारा लिएर त्यस विचारको खण्डन गर्दै अहिले पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्था रहेको प्रमाणित गर्न खोजेका थिए। तर, वैचारिक बहस चुलिंदै जाँदा नेतृत्व चयनमा समेत त्यसको प्रभाव पर्ने देखेपछि बहसलाई बीचैमा बेवारिसे बनाइयो। र, नेपाल समूहको विचार एमालेमा सर्वसम्मत बन्यो। त्यही आधारमा 'जसको नीति, उसैको नेतृत्व' को नारा महाधिवेशनमा उठेको थियो, तर त्यस विचारका विपक्षमा रहेका नेताहरू नेतृत्वमा आउनुभएको छ।

२०५६ सालयता केपी ओली एमालेभित्र सधैं प्रतिपक्षी भूमिकामा रहनुभयो। उहाँले आफ्नै घर र मदन भण्डारी फाउन्डेसनबाट समानान्तर पार्टी चलाउनुभयो। जिल्ला, क्षेत्र र राष्ट्रिय तहका कार्यकर्ता भेलाहरू गरेर उहाँले आफ्नो शक्तिलाई मजबूत पारिरहनुभएको थियो। त्यसैले पार्टी काममा कम र गुटगत काममा बढी रमाउने एउटा कठोर पंक्ति उहाँसँग छ। त्यसमध्ये अधिकांश हस्तीलाई महाधिवेशनले केन्द्रीय कमिटीमा आउनबाट रोके पनि त्यो संयन्त्र निष्त्रि्कय छैन। त्यो समूह अब ओलीका आडमा पार्टी–सत्ताको प्रयोग गर्न सक्रिय भएर पार्टीको आन्तरिक जीवनमा असहजता ल्याउनेछ।

२५ साउनमा बोलाइएको नेताहरूको कार्यविभाजन गर्ने केन्द्रीय कमिटीको दोस्रो बैठकमा हाराहारीमा आएको मत, केन्द्रमा त्यही प्रकारको उपस्थिति र तल्लो स्तरसम्म बराबरीको अवस्थालाई ध्यानमा राखेर सन्तुलन गरिएन भने एमालेभित्र त्यही विन्दुबाट महाधिवेशनपछिको गुटगत राजनीति आरम्भ हुनेछ। तर, विगतमा समानान्तर जिल्ला कमिटीहरू गठन गरेका र नेतृत्व मान्दिनँ भनेर चुनौती दिएका ओलीले २ साउनको केन्द्रीय कमिटीको पहिलो बैठकमा दिएको अभिव्यक्ति र गरेको व्यवहार झ्स्काउने खालको थियो। दस्तावेज र विधान सम्पादनका लागि दुई कार्यदल बनाउँदा हाराहारीको संख्यामा निर्वाचित अर्को पक्षका पदाधिकारीसँग एकशब्द पनि नसोध्नुलाई उहाँको भावी कार्यशैलीको संकेतका रूपमा बुझ्िएको छ। अघिल्लो केन्द्रीय कमिटी र महाधिवेशनमा विधान संशोधन प्रस्ताव पेश गर्ने युवराज ज्ञवालीलाई विधानलाई अन्तिम रूप दिने कार्यदलमा थप्न गरिएको आग्रहलाई पनि उहाँले अस्वीकार गर्नुभयो।

निराशाजनक कार्यशैली

ओली स्वस्थ हुँदा पनि समयको व्यवस्थापनमा पटक्कै ध्यान दिनुहुन्नथ्यो। १ साउनमा आयोजित शपथग्रहणमा उहाँ पौने दुई घन्टा ढीलो पुग्नुभयो। कमजोर स्वास्थ्यका कारण अब उहाँलाई लामो बैठकमा बस्न सम्भव हुने छैन। पहिला स्वास्थ्यको कुरा उठाउनेहरूमाथि कटाक्ष गर्ने ओली स्वयम्ले शपथ लिंदै गर्दा आफ्नो सीमाबारे सबैलाई सम्झाउनुले पनि उहाँबाट अब सक्रियताको अपेक्षा गर्न नमिल्ने बुझाउँछ। संसदीय दलको नेता निर्वाचित भएयताको अधिकांश समय अस्पतालमै बिताउनुभएका उहाँ अब दिल्ली र बैंकक्ले नभएर सिंगापुर पुग्नुभएको छ। पार्टी काममा यसको असर अवश्य पर्छ।

एमालेमा ओलीको आफ्नै कार्यशैली छ। बाहिर जति भीड र जरुरी काम भए पनि भित्र भेट्न पुगेको मानिससँग नहतारिएर सविस्तार कुरा गर्ने उहाँको शैली छ। अब झ्लनाथ खनालले झैं उहाँले पनि घरबाटै पार्टी चलाउने अभ्यास गर्नुहुनेछ। यसले पार्टीको संस्थागत साख र महत्वमा बल पुग्ने छैन। विपक्ष र आफूलाई सहयोग नगर्नेलाई स्वीकार्ने क्षमता अरू नेतामा झैं ओलीमा पनि कम छ। आफ्नो आलोचक छ भने तल्लो तहको कार्यकर्तालाई पनि व्यंग्य गर्ने उहाँको बानी छ। आफ्नो समर्थन गर्नेलाई चाहिं सात खत माफ गर्दै नसक्ने भारी बोकाउन पनि पछि नपर्ने देखिएको छ। यो कार्यशैलीले ओलीलाई आगामी दिनमा सबैको नेता हुन मुश्किल पार्नेछ।

'किङ्ग मेकर'को द्वन्द्व

स्वार्थ अनुसार समीकरण फेरबदल भइरहने एमालेमा अब छिट्टै नयाँ गतिविधि देखा पर्नेछन्। ओलीलाई मानार्थ अध्यक्ष बनाएर पार्टी सञ्चालन गर्ने सपना देखेका वामदेव गौतमका हातमा कुनै पनि हालतमा नेतृत्व जान नदिने कसरत देखिन थालिसकेका छन्। महासचिव ईश्वर पोखरेल लगायतका नेताहरू दुई वर्षमा ओलीले छोडेर गौतम अध्यक्ष बन्ने सम्झौताका पक्षमा उभिनसक्ने अवस्था छैन। 'दोस्रो मतले पनि कार्यवाहक दियो' भनेर जतिसुकै दंग परे पनि गौतमलाई नेता स्वीकार गर्ने पंक्ति एमालेभित्र नगण्य छ।

एउटा सबल पार्टी विभाजन गरेका गौतमको विगतले उहाँलाई नै सबभन्दा बढी पिरोलिरहेको छ। राजनीतिमा जे पनि जायज हुन्छ भन्ने मान्यताका पक्षपाती गौतम र दशौं महाधिवेशनबाट अध्यक्ष हुने अपेक्षा राखेका पोखरेलको फरक समूह हुनु अनिवार्य देखिन्छ, एमालेमा। आफ्नो भविष्यको लागि पार्टी हितमा सम्झौता गर्न नसक्ने अवस्थामा रहेका पोखरेल र उमेरका कारण अर्को महाधिवेशनमा उठ्न नपाउने भएपछि सौदावाजी गर्न तयार गौतमबीचको लडाइँ नेपाल पक्षका लागि भने फाइदाजनक नै हुनेछ।

comments powered by Disqus

रमझम