११-१७ साउन २०७१ | 27 July - 2 August 2014

देहातकी 'देवी'

Share:
  
- निशा राई
अनमी दुर्गा सुवेदी (३०) ले बाँकेको बेतहनी उप–स्वास्थ्य चौकीमा ४४३ आमालाई सुरक्षित सुत्केरी गराइसकेकी छन्।

निशा राई
पाँच महीनाअघि छिमेकी होलिया गाविसबाट 'होम डेलिभरी' को एउटा केस आयो। छरछिमेकका सुँडेनीहरूले बच्चा झिक्ने कोशिश गर्दागर्दै सुत्केरी व्यथा लागेकी महिलाको पाठेघर नै खसेपछि उनलाई बिहान बेतहनी ल्याइएको रहेछ। अनमी दुर्गा शुरूमा त महिलाको नाजुक अवस्था देखेर अत्तालिइन्, तर तत्काल उपचार बाहेक अरू कुनै उपाय थिएन। त्यसपछि उनले हतार–हतार भेरी अञ्चल अस्पतालमा फोन गरेर डा. मधु देवकोटाको फोन नम्बर मागिन्।

काठमाडौं, थापाथलीको प्रसूति गृहका डा. देवकोटासँग सम्पर्क भएपछि दुर्गाले मोबाइल फोनलाई बायाँ काँधमा कानले थिचेर महिलाको उपचार शुरू गरिन्। डा. देवकोटाले भने अनुसार उनले आधा घन्टामा महिलाको पाठेघर शरीरभित्र राखिन्। रगत बगेर छटपटाइरहेकी महिलाको ज्यान जोगियो। “बेतहनीमा काम गरेको चार वर्षमा आएको त्यो नै सबभन्दा नाजुक केस थियो”, दुर्गा भन्छिन्, “माया मारिएको आमालाई मैले पाँच वर्षअघि आफ्नै शरीर सम्झेर बचाएँ।”

पहाडको जन्म, मधेशको कर्म

स्थायी घर रुकुमकी दुर्गाका बुबाको मिर्गौलाको शल्यक्रिया गरिएको थियो। नर्सहरूको हेरविचारले नै बुबालाई बचाएको दुर्गाले देखेकी थिइन्। र, उनलाई पनि नर्स बन्ने मन थियो। बुबालाई पनि उनको विचार मन परेको थियो, तर एक त उनी व्यवस्थापनमा स्नातक गरिरहेकी थिइन्, त्यसमाथि परिवारको आर्थिक सीमाले उनलाई त्यो अनुमति दिएन। त्यही बीचमा उनको विवाह भयो र बर्दिया सदरमुकाम गुलरियाको सरकारी अस्पतालमा स्टोरको लेखापाल हुन पुगिन्।
यही बीचमा गर्भवती भएकीले श्रीमान्ले उनलाई रुकुम घर लगे। दुर्गाले घरको सबै काम हेर्नुपर्थ्यो। गर्भवती भएको सात महीनामै उनलाई सुत्केरी वेथा लाग्यो। त्यसपछि उनलाई जिल्ला अस्पताल लगियोर निर्मलीकरण नगरिएको उपकरण प्रयोगबाट गरिने 'अनिष्टाल डेलिभरी' गराइयो। “सात महीनामै बच्चा त जन्मियो तर, रगत थामिएन”, दुर्गा भन्छिन्।

उपचारमा खटिएका डा. विनोद गिरीले 'केस सिरियस' छ भनेपछि काठमाडौं लैजान हेलिकप्टरको बन्दोबस्त गरियो, तर मौसमले साथ दिएन। दुर्गा धेरै यथार्थवादी पनि छिन्। “सुत्केरी वेथा लाग्दा एकपटक श्रीमान्लाई छुने मन हुँदोरहेछ”, त्यसबेलाको अनुभव सम्झ्ँदै उनी भन्छिन्, “मनमा चाहिं जसरी पनि बाँच्ने इच्छा हुँदोरहेछ। बच्चाको माया पनि हुँदो रहेनछ।”

हरेक गर्भवती महिलालाई बाँच्न कत्रो ठूलो इच्छा हुन्छ भनेर त्यतिखेरै बुझ्ेको दुर्गा बताउँछिन्। उनी जसोतसो बाँचिन्। पूरा पाँच महीना अस्पतालको बास भयो। अस्पताल आएका आफन्तहरू डाक्टरसँग उनी कहिले मर्छिन् भनेर सोध्थे। कोही बच्चालाई टुहुरो बनाउँछे भन्दै गाली गर्थे। कोही एउटा बच्चा जन्माउन नसक्ने आईमाई भन्थे। यसरी अस्पताल बस्दाबस्दै दुर्गाले अनमी पढेरै छाड्ने प्रण गरिन्। डिस्चार्ज भएलगत्तै उनले जिल्ला जनस्वास्थ्यमा परीक्षा दिएर पहिलो सूचीमा नाम निकालिन्। “पहिलो दरबन्दी नै बेतहनी हो”, दुर्गा भन्छिन्।

बाक्लो मुस्लिम बस्ती भएको यो गाउँमा दुर्गालाई शुरूमा केही अप्ठ्यारा भए, तर उनले विस्तारै सबै समस्यालाई अनुकूल बनाइन्। दुई वर्षअघि मुस्लिम समुदायका स्थानीय एक अगुवा समसुद्दीन साह ११औं बच्चा जन्माउन श्रीमती लिएर उप–स्वास्थ्य चौकी आए। धेरै सन्तान जन्माएर श्रीमती साहको स्वास्थ्य नाजुक भइसकेको थियो। दुर्गाले यसबारे सम्झ्ाइन्। अहिले साहका बुहारीहरूले परिवार नियोजनका साधन प्रयोग गर्न थालेका छन्। “मुस्लिम समुदायमा परिवार नियोजन गर्नुहुँदैन भन्ने मान्यता छ”, दुर्गा भन्छिन्, “तर, यहाँका घरानियाँ मुसलमान भएर पनि साहले मेरो सल्लाह मान्नुभयो, गाउँमा परिवर्तन आउँदैछ।”

दुर्गाले बेतहनीमा पहिलो वर्ष नै १६० डेलिभरी गराइन्– सबै केसमा आमा र बच्चा दुवै स्वस्थ। यसरी दुर्गाले गत चार वर्षमा ४४३ आमालाई सुरक्षित सुत्केरी गराइसकेकी छन्। हरेक गर्भवतीलाई जसरी पनि बचाउनुपर्छ भन्ने उनको ध्याउन्न हुन्छ। दुर्गा भन्छिन्, “म हरेक आमालाई दूध अनिवार्य चुसाउने सल्लाह दिन्छु, तर आफ्नै बच्चालाई ६ महीनासम्म दूध चुसाउन सकिनँ।”

शुरूको ६ महीना आमाको दूध खान नपाएकै कारण दुर्गाको चारवर्षे छोराको तौल ११ किलो मात्र छ। छोरामा कुपोषणको लक्षण देखिएकोमा उनी धेरै दुःखी छिन्। यो दुःख बिर्सन उनी अरू महिलाको समस्या हटाउन केन्द्रित हुन्छिन्। उनी जटिल खालका केसहरू आउँदा भेरी अञ्चल अस्पताल लग्छिन् र शल्यक्रिया टीममा सहभागी हुन्छिन्। “यो अस्पताल मलाई माइती जस्तो लाग्छ”, दुर्गा भन्छिन्, “डाक्टर र अरू स्टाफहरूले मलाई धेरै माया गर्छन्।”

यो माया उनले कामका कारण पाएकी हुन्। दुर्गाको काम कति भरपर्दो भएको छ भने, बेतहनी गाविसकै फिजिसियन संजयकुमार बर्माले श्रीमतीलाई सुत्केरी गराउन अन्त कतै नलगी अनमी दुर्गाको मद्दत लिए। बेतहनी उप–स्वास्थ्य चौकीमा अहिले हरेक महीना सरदर ८ जना महिला सुत्केरी हुन्छन्। “यहाँका गर्भवतीहरू गाउँमै उपलब्ध सेवामा भर परेका छन्”, अनमी दुर्गा भन्छिन्, “उनीहरूलाई अभर नपार्न मैले चौबीसै घन्टा तयार भएर बस्नुपर्छ।”

comments powered by Disqus

रमझम