आमा

Share:
  
- श्रवण मुकारुङ
p106
 
स्केचहरुः भानु भट्टराई

छोरी! 

जब तिमीले जानैपर्ने भयो स्कूल 
तिम्रो हात समाउन आयो ऊ  
पुर्‍यायो उसले स्कूलको ढोकासम्म 
र आफ्नो काँधबाट झिकेर  
दियो तिमीलाई झोला र टिफिन। 
 
फर्किने बेला फेरि 
पुग्यो ऊ त्यही ढोकामा  
तिमीसित माग्यो झोला र हात 
खोलेर आफूजत्ति नै अग्लो छाता  
ओढायो तिमीलाई  
नडढोस् भनेर कलिलो अनुहार 
छेल्यो उसले घामका सहस्र आँखा। 
 
जब काट्नुपर्ने भयो बाटो 
ट्राफिक झै उभियो ऊ सडकबीच 
र, थामियो व्यस्त शहर केहीछिन 
यसरी आइपुग्यौ तिमी स्कूलको पहिलो दिन घर 
जब तिमी बस्यौ हेर्न कार्टून 
पस्यो ऊ बाथरुम 
धोयो तिम्रो टाई, मोजा र अज्ञानता। 
 
जब तिमीलाई लाग्यो भोक 
पस्यो ऊ भान्सा कोठा 
मानौं पसिरहेछ दहमा चारो खोज्न पानीचरा 
जब झ्कायौ तिमी आनन्दले 
खायो उसले तिमीले उबारेका खानेकुरा  
तिमीलाई अहँ परेन निद्रा  
र पढ्न थाल्यौ कमिक्स 
अहो! पढिनसक्दै तिमीले अन्तिम पाना  
माझिसक्यो उसले जुठाभाँडा   
पुछ्यो चौका र आइपुग्यो तिम्रो ओच्छ्यान मुनि 
तिमीलाई मन पर्ने भूतको कथा कहन  
यसरी यौटा बालक भयो ऊ तिम्रो आमा। 
..... 
छोरी!  
यसरी यो घरमा थाहै नपाई  
जब तिमी भयौ नअट्ने  
र गयौ प्रेमीको घर 
र उठ्यौ हेर्न अग्लो नयाँ बिहान 
च्यापेर बेहुली लुगा 
निहुरिंदै पस्यौ नयाँ बाथरुम 
अचानक ढक्ढकायो कसैले ढोका 
खोल्यौ तिमीले सुस्तरी 
तब तिमीमाथि फाल्यो कसैले   
बिहेको कमिज र पतलुन  
र बन्यो ऊ लोग्ने। 
 
वास्तबमा जब तिमी 
उसको छोराको आमा हुन भयौ तयार 
त्यतिबेलै उसले फालेको हो प्रेमीको हृदय 
र ओढेको हो लोग्नेको आवरण। 
 
हो, झ्स्कियौ तिमी  
जसरी झ्स्किन्छ पृथ्वी भूकम्पमा  
काम्यो तिम्रो मुटु बतासमा सिरुझै  
अनायास सम्झियौ तिमीले बाल्यकाल 
बेस्सरी ढप्कायौ ढोका र बर्बरायौ तिमी  
आमा! आमा!! आमा!!! 
आयो तिम्रो आँखाभरि आमाको जब्बर दुई रुप। 
 
पहिलो, 
जसले तिमीलाई जन्माउन रोजेकी थिई मृत्यु अर्को,  
जसले मात्र हुर्काउन समाएको थियो तिम्रो हात 
फर्कियो ऊ आफ्नै गाउँ देहात  
म बाबु हुँ मलाई थाहा हुन्छ तिम्रो वेदना। 
 
छोरी! 
अब खोल्ने छौ तिमीले बाथरुमको ढोका।  
 
चिहानमा फूल 
सरस्वती 'प्रतीक्षा' 
 
p106a
 
 
जति रोपे पनि 
फुलेन, फुल्दै फुलेन– चिहानमा फूल! 
 
गाउँदा गाउँदै 
गीतको अन्तरा आफैं रुन थाल्यो 
हाँस्दा हाँस्दै 
ओठको छेउकुना आफैं रुन थाल्यो 
रुनुको चरमोत्कर्ष सँगै 
सारङ्गीहरू बगे– निर्जन रातका बाढीहरूमा 
बगे उज्यालो पर्खिरहेकाहरू 
बगे आवाजका सहस्र कोरसहरू 
यही कुरुप बगाइको सीमान्तमा 
जति रोपे पनि 
फुलेन, फुल्दै फुलेन– चिहानमा फूल! 
 
नक्कली संवेदनाका 
एकोहोरो नक्कली सुसाइहरूसँगै 
कतिले  
चिहानलाई मागिखाने भाँडो बनाए 
कतिले  
चिहानलाई उक्लने भर्‍याङ पनि बनाए 
अफशोच! 
चिहान छेवैमा 
मनभरि, तनभरि अस्थिपञ्जर बोकेर 
चिहानलाई हेरिरहेका 
समाजका आदिम गरीबगुरुवाहरू उस्तै छन् 
र उस्तै छ आज पनि 
चिहानमा नफुलेको फूलको आदिम कथा पनि! 
 
देशको निम्ति  
रगत बगाएर जानेहरूको रगतको मूल्य खै? 
बलिदानलाई पाल्की बनाएर 
बुख्याँचाहरू सिंहदरबार सवार भइरहँदा 
कसरी फुल्न सक्छ 
शहीदको चिहानमा फुल्नुपर्ने सम्भावित फूल? 
 
जति रोपे पनि 
फुलेन, फुल्दै फुलेन– चिहानमा फूल! 
 
श्रापितकाल 
विप्लव प्रतीक 
 
p107a
 
 
तुइनले काटिएको डुंडो हात लिएर 
राजमार्ग पारि नदीले बारेको गाउँबाट  
नियाल्दै बसेकी छ एउटी किशोरी 
पर्यटक घुमाउन हिंडेको चम्किलो बसलाई। 
 
परिवारले काढेको ऋण तिर्न 
अब पर्दैन जानु अरूको खोपीमा 
घरकै सुरक्षा घेराभित्र, 
कुलीन कहलाइनेहरूको बाहुपाशमा 
किचीमिची हुन पाउँछन्  
फूल जस्ता कलिला बालाहरूले। 
 
गर्नुपर्दैन लालनपालन नानीहरूको 
शपिङ्ग कम्प्लेक्सका संगमरमरमाथि 
रेफ्रिजिरेटरको कभर ओछ्याएर, 
माघको तुषारो तताउन सक्छन् तिनले 
र, दूधको खाली पोका सुँघेरै  
जीवन धान्न सक्ने भएका छन् उनीहरू।  
 
अनिकालमा ज्यान जोगाउन 
परदेश पसेको लामो लस्करबाट  
केही लाशहरू डिब्बा बन्द 
प्रत्येक दिन नबिराइकन फर्किन्छन् स्वदेश। 
 
बन्द छ न्यायको मार्ग 
मासिंदैछन् न्याना बस्तीहरू एकपछि अर्को, 
छानीछानी उडाउँदैछ मायाको पुल  
निर्धाहरू झ्न्–झ्न् त्रासको दहमा डुब्दैछन्। 
 
ऐशरत केही धमिराहरू 
चपाइरहेछन् देशको नक्शा,   
सीमा स्तम्भहरू धमाधम ढलिरहेछन्, 
पसिरहेछन् घसि्रंदै संसारभरका गोहीहरू  
नरम नितम्ब सुम्सुम्याउँदै चन्द्रको 
लुछिरहेछन् चेतनाको सूर्यलाई।  
 
यो कहालीलाग्दो परिवेशमा 
अपूर्व बुद्धि भएको स्वाङ रच्दै  
जनताका स्वघोषित भाग्यविधाताहरू  
कहिले कुर्लिंदैछन्, कहिले उफ्रिंदैछन्,  
कहिले काम्दैछन् थर्थरी झाँक्री झै 
जनतालाई अझै लट्याउन खोज्दै, 
मानौं तमासाको डमरु बजाइरहेछ चटके 
र बन्धनमा परेको लाचार बाँदर  
ङिच्च हाँस्दै पुल्टुङबाजी खेलिरहेछ, 
हरेक बाजी हारेर जिल्लिएका जनता  
व्यस्त छन् आफ्नो दैनिकीमा।   
 
थाहा छैन, 
कहिले हुन्छ यो त्रासद गाथाको अन्त्य 
आँशुको दहमा कुन सुरले बाँच्लान् असंख्य मानिस  
यिनका सन्तान दरसन्तानले  
कसरी व्यहोरिरहलान् यो श्रापलाई,  
र कस्तो मुटुले सहिरहलान् तक्दीरको तमाशा? 
विपतका सुइराहरूले छेडिएर रगतपछ्य मानिसहरूको 
वेदनाको विशाल पीपल कहिले ढल्ला? 
 
सोचिरहेछु, 
यतिविघ्न श्रापित मानिस र समाज 
कहिले थियो होला वा हुनेछ मानव समाजमा 
भूगोलको कुन खण्डमा,  
या इतिहासको कुन कालखण्डमा? 
 
गजल 
शीतल कादम्बिनी 
 
p107b
 
 
ऊ आशीर्वाद सम्झेर थापिरहेछ 
थाहा छैन उसैलाई सरापिरहेछ  
खुब फस्टाएको छ प्रेमको व्यापार आजकल 
कतै जोखिरहेछ, कतै नापिरहेछ 
 
के जाडो के गर्मी, हर मौसममा उसले 
जिन्दगी जलाएर आगो तापिरहेछ 
सुखसँग त सधैं मन–मुटाव भइरहन्छ 
लाग्छ उसलाई दुःख नै फापिरहेछ  
 
चिन्दैन आफ्नै हृदयले पनि उसलाई 
अनुहारमा अनुहारहरू खापिरहेछ  
 
गजल 
ज्ञानुवाकर पौडेल 
 
p107c
 
 
नदेखौं क्यारे सपना अब नयाँ आवासको 
निकट छ जब भविष्य मेरो बनवासको 
 
थचारिनु परेपछि धर्तीमा नराम्रोसित फेरि 
किन देख्नुपर्‍यो सपना त्यो मुक्त आकाशको 
 
पूरा हुन नपाउँदै तिम्रो त्यो आश्वासन 
सुक्दैछ हेर, नदी यो मेरो विश्वासको 
 
के ठान्लान् कुन्नि हाम्रा सन्ततिहरूले पनि 
खुल्नेछ पोल जब भोलि झूठो इतिहासको 
 
जता हेर्‍यो उतै म देख्छु छाएको उदासी 
सुनाए हुन्थ्यो गीत आज कसैले उल्लासको 
 
गर्जेको देख्ता अनाहक यो सुनसान रातमा 
नियत ठीक लाग्दैन मलाई त्यो आकाशको! 
 
 
संयोग होइन 
मिल्न बगए यो कथा 
चन्द्रवीर तुम्वापो 
 
p108a
 
 
थपक्कै फक्रन्थ्यो सामूहिक पकन्दीका 
शिरबन्दी जस्ता घाम–जून 
लब्रेडाँडाको ठिक्क निधारमाथि  
र फूल्थे आशाका रङ्गी–चङ्गी किरण  
मनहरूको कान्ला–कान्ला 
बग्थ्यो लगातार 
उत्साहको संगीत– सिवाखोला। 
 
आकाश ओर्लेर बास बस्न आइपुग्थ्यो आँगनमा 
खेल्थे लुकामारी गाउँका केटाकेटीसँग ताराहरू 
पानीको खुट्टाले टेक्दै आइपुग्थ्यो बिहानी 
उघारी दिन्थ्यो हार्दिक दैलाहरू, हाँसिरहने झयालहरू। 
 
शीतले नुहाएर  
यहींबाट प्रसारण हुन्थ्यो 
एउटा सुन्दर तन्नेरी दिन। 
 
जुरुक्क उठेर अनिंदो बतास पनि 
नाच्न थाल्थ्यो मकैको पात–पात 
पसिनाको बीउ असारले रोपेर  
फल्थ्यो मंसीरमा चट्टानमाथि पनि सुुनको बाला। 
 
(प्रिय! पाठक तर यी दृश्यहरू च्यातिएर)
एकदिन, गहिरो अभावको शून्यतामा   
पड्कियो चट्याङ 
बेपत्ता भए चुलोका हंसहरू 
अर्को दिन, पकन्दीहरू बूढीऔंलाको पैतालाछाप 
काँचो कागजमा छाडेर 
चुलोको हंस खोज्न  
लब्रे नाघेर―मलेशियाको जंगल पुगे 
सिवा तरेर―बालुवाको सागर पुगे  
 
तर, फर्केको थियो बाह्र वर्षपछि 
आफ्नै पैतालामा अयोध्या ठूले। 
 
मलेशियाको कुन जंगलमा 
कहाँ अल्मलिए या हराए 
बालुवाको सागर छिचोले या पुुरिए 
उतैबाट बहँदै आइपुगेको यो हावा 
उदास–उदास फेरि उतै फर्केर गएको छ। 
 
आइपुगेका छैनन् फर्केर  
विजयको नारा घन्काउँदै  
आकाशमा फर्फराएर उमङ्गको झ्ण्डा, 
पकन्दीका लस्कर  
सुकेर गइरहेछन् आशाका पाती 
पर्खाइको देउरालीमा। 
 
अचेल, बगिरहन्छ लगातार 
नीलो पीडामा रोदनको संगीत– सिवाखोला  
चैतको हुरीले छानो उडाएर  
एकलासमा उभिएको उजाड खोल्मा जस्तो  
ठिङ्ग उभिरहेको छ– लब्रेडाँडा। 
 
(प्रिय! पाठक यो देशको मानचित्रबाट 
हराएको हाम्रै गाउँको कथा हो यो) 
 
कवि 
विमला तुम्खेवा 
 
p107d
 
 
शहरबाट चुपचाप हरायो 
हरायो सँगै उसको इतिहास। 
त्यस दिनदेखि मैले गीत सुन्न छाडिदिएँ  
गाउन थालें आफ्नै गीत। 
 
किन पढेन संविधानलाई 
बनाउन चाहेन आफूलाई असल मान्छे 
मैले तिमिलाई पढेपछि  
छोडिदिएँ आफूलाई असल मान्छे बनाउने चाहना। 
 
आव्हान 
चन्द्र रानोहछा 
 
जहाँ पोखेथ्यौ विदाइको अविरल आँशु 
त्यहींबाट हेरिरहेछु  
तिमीले नाघेको शून्य क्षितिज  
 
परदेशी!  
आकाशको कुन मौन बलेसी मुनि 
कोरिरहेछौ तिमी सपनाको मार्ग  
जीवनको सीमाहीन गन्तव्य पहिल्याउँदै हिंडेको तिमी  
शायद हेर्दैछौ यसबेला  
चिसो आँखी भौं पर्दा उघारेर 
हातका पर्वत जस्ता ठेलाहरू। 
 
गाउँमा–  
तिम्रो यादमा खिपेर गीत 
गाइरहेछ बतासले बाँसका पातहरूसित  
पोखाउँदै बिसन्चो शीत   
डाँडाहरू छोडिरहेछन् बादल 
तिमी गएपछि फर्किएन कुनै मृदुमुस्कान। 
 
बरु– 
गइरहेछन् संभावनाहरू रुँदै  
गाउँबाट बग्ने खोलाले  
सोहोरिरहेको छ गाउँकै सातो 
र, जूनको पनेलो फेर समातेर  
रोइरहेका छन् हरेक रात अज्ञात आत्माहरू। 
 
तर– 
आँगनभरि सन्तानका बीच   
आधा पेट बाँचेका तिम्रा दौंतरीहरू  
खोजिरहेछन् भीरपाखामै भरोसाका बीउहरू  
रोपिरहेछन् खनेर बगरमा 
खुशी फुलाउन पीरहरू। 
 
त्यसैले– 
फर्क परदेशी गाउँमै  
फर्काउँदै गाउँको सातो पनि 
बाँचौंला साझा दुःखहरू पिउँदै एउटै मूलको पानी!  
 
हतारका यी मान्छे 
योगेश ढकाल 
 
यी मान्छे, 
भेटिंदा पनि हतारमा छन् 
छुट्टिंदा पनि हतारमा छन् 
भोजमा पनि हतारमा हुन्छन्  
मेलामा पनि हतारमा हुन्छन् 
सातु पनि छैन 
साथ पनि छैन। 
 
न पाइलाहरूको बाटो छ 
न बाटाहरूको गन्तव्य छ 
फुर्सद फुर्सदका  
यी बेफुर्सदिला मान्छेहरू 
कुन पहाड भत्काउन 
कुन समुद्र सुकाउन  
फितलो अभिलाषा कुम्ल्याएर 
दिशाहीन भौंतारिरहेछन्। 
धमिला आँखाहरू डुलाएर 
अँध्यारामा सियोसँगै 
स्वर्ग खोजिरहेछन्। 
आश्चर्य लाग्छ, 
विधानभित्र अनुबन्धित 
पखेटा कुज्याएर 
किन यी मान्छेहरू 
वेग हान्ने दुष्प्रयास गरिरहेछन्? 
 
अन्ततः मान्छे, 
टावरमाथिको झ्ण्डा न हो 
आकासिन पनि नसक्ने 
पतालिन पनि नसक्ने 
सधैं आँधीसँग सशङ्कित 
दोहोरो रोएर, एकोहोरो हाँस्ने 
हतारमा कछुवाको आयु बाँच्न खोज्ने  
निरीह मान्छे।  
 
परिवर्तन 
सुनील पुरी 
 
p108b
 
 
कुनै युग 
यो देशमा धर्मग्रन्थकै श्लोकहरू 
मार्गदर्शक थिए, महावाणी थिए 
चेतना र सभ्यताको स्रोत 
तिनै सीमित धर्मग्रन्थ थिए 
 
यो विज्ञान युगमा 
ज्ञान र चेतनाको स्रोत बढिरहेछ 
परिवर्तनको क्रम चलिरहेछ 
तर, लाग्दछ अन्धकार र अज्ञानता  
थपिंदै गएको छ 
हराइरहेछ विवेक र संवेदना 
त्यसैले, घरिघरि युद्ध चलिरहेछ 
 
अचेल 
शब्द र कागज 
जीवन दर्शन होइन 
युद्धको गाथा लेख्न खर्चिएका छन् 
महानताः युद्धमा जोखिने गर्छ 
संस्कृतिः बारुदमा खोजिने गर्छ 
बाँच्न पाउने अधिकार समाप्त पारेर 
युद्धले कसरी स्वतन्त्रता जन्माउँछ हँ? 
 
म समयले ल्याएको, परिवर्तन 
चाहेर पनि बुझन सकिरहेको छैन 
शान्ति छाएको छ भनिए पनि 
निर्धक्क निदाउन सकिरहेको छैन। 
 
दुई टुक्रा 
हरिकृष्ण काफ्ले 
 
p109b
 
 
पुग्न कहाँसम्म होला, कहाँबाट आउँदैछ? 
अघि बढ्ने प्रेरणा कहाँबाट पाउँदैछ? 
अरू कति जीवन खोलाबाट तिर्खा मेट्छन्, 
कुन तृष्णाले होला खोलो अन्तै धाउँदैछ! 
 
निरन्तर सिकाए सुगा पनि बोल्ने हुन्छ 
कुनै बोली छुरा जस्तो छाती छिचोल्ने हुन्छ! 
त्यसैले मान्छे भन्छन् ठूलै रूखको ओत लाग्नु 
आगोको संगतले पानी पनि पोल्ने हुन्छ! 
 
वर्तमान 
गीता पन्थ 
 
p109c
 
 
आफैंसँग झ्स्किएका यक्ष प्रश्नहरू 
बेअर्थमा रिसाएका दुर्वाशा समयहरू 
विनासित्ती निहुँ खोज्छन् अचेल 
समय श्रापित अहिल्याका स्वप्नदोषहरू। 
 
भग्न मन क्षेत्रबाट उत्खनित रहरहरू  
असंरक्षित सपनाका असुरक्षित भ्रूणहरू  
फलाक्दै दिनदहाडै इन्क्लाब दौडिन्छन्   
मस्तिष्क चेतनाका लावारिस उद्घोषहरू। 
 
असहज, असान्दर्भिक राज्यका कानूनहरू 
फेरिन्छन् प्रत्येक फाइलका पुराना पृष्ठहरू 
दम्भ नियोजित नियमका दफा दफामा   
कुटिल योजना पस्कन्छन् युगका नाइकेहरू। 
 
अतिरंजित स्वाभिमानमा औंला ठड्याउँछन्   
नव नागरिक टेबलमुनिको लेनदेनमा  
कठै! वागमती किनारमा अन्योल भेटिन्छन्  
नागरिकता विनाका एक हूल बेवारिसेहरू। 
 
सारहीन 'इगो' बाँचेका सीमा स्तम्भहरू 
चोटै चोटले असहिष्णु बनेको सहिष्णुता  
जबर्जस्त ढालिन्छन् उत्तेजनामा आस्थाहरू 
अर्धविक्षिप्त लाग्ने यस समयका चेतनाहरू। 
 
घोडा दौड 
सीमा आभास 
 
p110
 
 
सडकमाझ् नग्न उभिएर सुस्केरा छोडें भने  
ब्यूँझ्नेछ इतिहासको चौघेरामुनि निदाएको बूढो पाले    
तर्सिएर उड्नेछन् मलाई डर देखाउने बाजहरू  
थर्किएर लड्नेछन् आकाशतिर बढ्दै गरेका टावरहरू 
 
घोडेजात्राको दिन टुँडिखेलका घोडा छाँदेर 
जानु छ महाराजका ढोकासम्म  
देखाउनु छ लट्टा परेको कपालको चुल्ठो   
सुनाउनु छ बर्जित शब्दहरू एकएक गरी, 
हेर्नु छ बादलका गुजुल्टाहरू पन्छाएर  
यो आकाशको कुन कुनाबाट कसले झ्ार्दोरहेछ चट्याङ    
 
म नाङ्गो अवतार  
भगवानको नग्न तस्बीर  
छातीमा टाँसेर धर्म नमान्न सक्छु  
सक्तिनँ, धर्मले डढाएका मेरा औंला काटेर   
ममाथि लेखिएको इतिहासलाई ढोग्न  
 
दायाँ खुट्टो कानूनको कुममा  
बायाँ ईश्वरको कुममा राखेर जानु छ  
इतिहास सजाइएको संग्रहालयमा  
जसको ढोकैमा झुण्डिएको तस्बीरमा 
केरमेट हुँदै बुढिएको मेरै जस्तो अनुहार कसको हो?  
थाहा पाउनु छ, किन ढोग्छन् मान्छेहरू यो तस्बीरलाई 
 
बौलाहा जस्तै देखिने श्रीपेच महाराजलाई हटाएर 
टुँडिखेलका घोडामा बसी पार गर्नु छ भद्रकाली  
फूलपातीको दिन घुम्नु छ उपत्यकादेखि गोरखा दरबारसम्म 
बगी जाने मर्स्याङ्दीलाई सोध्नु छ  
'ए मर्स्याङ्दी! फूलसाँघु तार्दा  
तिम्रो गर्भाशयमा क–कसले के–के बगाए?' 
 
यिनै घोडामा चढेर चोभारको गल्छेडोसम्म पुगी हेर्नु छ  
क–कसका अनुहार बगाई ल्याएको छ यो पानीले  
 
स्वयम्भुमा उभिएर सोध्दै छु,  
'ए मञ्जुश्री! कहाँ छ चोभार काट्ने तिम्रो तरबार?' 
आज मलाई चाहिएको छ यही शक्तिशाली तरबार  
 
तरबार खोज्दै हिंडेको म 
नाङ्गा मूर्ति अगाडि आइपुगेको छु  
यहीबेला चक्रपथमा देखाइदिनुछ 
नाङ्गो परिक्रमा, नाङ्गो उत्सव 
 
यो नाङ्गोपन हेरेर आँखा नछोपून् 
बाटो हिंड्नेले, जूनतारा भरिएको आकाशले 
दरबार, न्यायालय र मूर्तिहरूले  
मन्दिर, गुम्बा, माने र मस्जिदले 
जेल र विष्णुमतीका गिद्दहरूले 
 
यी घोडामा चढेर फेरि पुग्नु छ, महारानी र राजकुमारी  
पस्ने र निस्कने ढोकामा कुँदिएको नागराजाको चित्र हेर्न 
 
जान्नु छ, यी ढोकामा लाउने आग्लो कस्तो थियो? 
गोल्चे र खरमस कसले बनाएको थियो? 
यी साँघुरा ढोकामाथि झुण्डिएको चम्मरमा अड्किएको केस कसको हो? 
 
बेइतिहास, बेमान्छे बनेका, ए! सुत्केरी महारानीहरू हो 
आओ कुमारीजात्राको दिन टुँडिखेलमा लहरै उभिएर हेरौं  
के–के लेखिएको रहेछ रगतको मसीले हाम्रो निर्बस्त्र शरीरमा 
 
आओ धरहरामाथि लहरै उभिएर नापौं मान्छेको उचाइ 
नारायणहिटीको पर्खाल वरिपरि घुमेर हेरौं मान्छेको नग्नता 
 
आर्यघाट किनारमा खोजौं 
सतीहरूलाई हिर्काएका ढुंगाहरू कुन कुन हुन्?  
पशुपतिमा नाङ्गा पार्वती उतारेर हेरौं  
सती बनाउँदा क–कसका जिउँदा शरीर  
नङ्ग्याएर पोलिएका थिए चितामा! 
 
शिवरात्रिको दिन भाङले मातेर  
वनकालीमा कराइरहेका छन् मेरा दौंतरीहरू  
“फलोफूलो कह, ए भस्मदेव!  
के–के देखेका छौ इतिहासदेखि आजसम्म?” 
comments powered by Disqus

रमझम