रामहरि शर्मा

Share:
  
p112
 
(कात्तिक १९७३–असोज २०६९)

राणाशासनको उत्कर्षकाल वि.सं. १९९७ मा नेपाल प्रजापरिषद्ले छरेका चार वटा पर्चा अन्ततः १०४ वर्षे जहानियाँ शासन प्रणालीलाई धराशायी बनाउने २००७ सालको क्रान्तिको आधार बने। २०३६ र २०४६ को आन्दोलनको कुरा गर्दा पनि १९९७ मा प्रजापरिषद्ले छरेको चेतनाको बीउलाई बिर्सन मिल्दैन। यस दृष्टिबाट हेर्दा माओवादीले बन्दूकका बलमा गरेको १०वर्षे हिंसात्मक संघर्षले पार्न नसकेको प्रभाव प्रजापरिषद्ले पारेको देखिन्छ। हालै दिवंगत रामहरि शर्माको मूल्याङ्कन नेपाली राजनीतिक चेतनाको यही आलोकमा गरिनुपर्छ। 

शर्मा संस्थापक महामन्त्री रहेको प्रजापरिषद्को पहिलो पर्चाले राणाहरूलाई 'तिमीहरू परिवर्तन होऊ' र चौथो पर्चाले 'तिमीहरूले मानेनौ भने हामी उठ्छौं' भनेको थियो। त्यसबाट अत्तालिएका राणा शासकले ठूलो धरपकड गरे। ३ माघ १९९७ मा गिरफ्तार भएका शर्मालाई ६ गते जातिच्यूतसँगै सर्वस्वसहित आजन्म काराबासको सजाय सुनाइयो भने दशरथ चन्द, गंगालाल, धर्मभक्त र शुक्रराज शास्त्रीलाई मृत्युदण्डको सजाय सुनाइयो। परिषद्का अध्यक्ष टंकप्रसाद आचार्य र महामन्त्री शर्मा ब्राह्मण भएर जोगिएका थिए।  
 
जेलमा पनि शर्माले संयमित भूमिका निर्वाह गरे। जेलभित्रैबाट प्रजातान्त्रिक आन्दोलनलाई अगाडि बढाउने पक्षमा रहेका उनी जेलबाट भाग्ने गणेशमान सिंहको योजनामा संलग्न भएनन्। शर्माकी श्रीमती सीताकुमारी र टंकप्रसाद आचार्यकी श्रीमती रेवन्त कुमारीले जेलको सन्देश बाहिर ल्याउने र बाहिरको सन्देश भित्र पुर्‍याउने काम गरे। उनीहरूले जेलभित्र क्यामरा लगेर खिचेको फोटो भारतमा नेपाली राष्ट्रिय कांग्रेसको मुखपत्रमा छापिंदा सनसनी मच्चिएको थियो। 
 
१९९२ सालमा स्थापित प्रजापरिषद्मा आचार्य बाचुञ्जेल शर्मा महामन्त्री रहे भने उनको देहावसानपछि अध्यक्ष भए। राणा शासनदेखि गणतन्त्रसम्मको समय भोगेका शर्माले राजनीतिक परिवर्तनहरूलाई कहिले निकै चिन्तित र कहिले ज्यादै आशावादी बनेर हेरे। उनी कहिल्यै कुनै निश्चित राजनीतिक विचारधारामा बगेनन्। बरु, समयअनुसार कुन रूपले जनतालाई अधिकार र देशको विकास हुनसक्छ भन्नेमा केन्द्रित रहे। शर्माले कहिले मार्क्सवादलाई त कहिले राजतन्त्रलाई समर्थन गरेको देखिन्छ।  
 
अन्य राजनीतिक दलका सिद्धान्त र नेताहरूप्रति सकारात्मक दृष्टिकोण राख्ने शर्मा पञ्चायतमा रहँदा कहिल्यै कट्टर पञ्च बनेनन्। रामहरि शर्मा वामपन्थबाट प्रभावित थिए, तर वामपन्थी थिएनन्। समाजवादी विचारधाराबाट प्रभावित थिए, तर नेपाली कांग्रेसको सदस्य भएनन्। राजतन्त्रलाई सम्मान गरे, तर कहिल्यै कट्टर राजावादी भएनन्। उनी सधैं राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रका निम्ति चिन्तित राजनीतिज्ञ रहे।  
 
२०२४ सालमा पञ्चायत प्रवेश गरेका शर्मा राष्ट्रिय पञ्चायत र संविधान सुधार आयोगको सदस्य भए। लामो समय राष्ट्रिय पञ्चायतको अध्यक्ष पनि भएका शर्मा २०३७ सालमा जर्मनीको लागि नेपाली राजदूत भए। २०४७ मा बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि उनी पुनः नेपाल प्रजापरिषद्को महामन्त्री बने। उनी नेपालको सामाजिक र आर्थिक विकासका लागि राजतन्त्रको आवश्यकता देख्थे। राजतन्त्रलाई क्रमिक रूपमा संवैधानिक बनाउँदै लैजानुपर्छ, एकै पटक ठूलो परिवर्तन सम्हाल्न सकिन्न भन्ने उनको मान्यता थियो। संविधानसभा निर्वाचनलाई पनि उनले सकारात्मक रूपले हेरेका थिए। तर, संविधानसभा गठन भएको एक वर्षपछि यसले नेपाललाई संविधान दिन सक्दैन भन्न थालेका थिए। संविधान बन्यो भने पनि त्यो नेपालको हितमा नहुने उनको धारणा थियो। 
 
१८–१९ वर्षको उमेरमा राजनीतिमा होमिएका शर्मा युवा पुस्ताप्रति जहिल्यै आशावादी रहे। २०४६ को परिवर्तनपछि राजनीतिमा युवा पुस्ताको प्रवेशबाट उनी निकै उत्साहित थिए। आफ्नो घरमा आउने युवासँग उनी उत्साहित हुँदै राजनीतिक बहस गर्थे। तर, युवापुस्ताले संस्कारसहितको जुन राजनीतिक शिक्षा पाउनुपर्थ्यो त्यो कसैले नदिएको उनको भनाइ रहन्थ्यो। नेपाली जनता यति संयमित छन् कि उनीहरूलाई प्रजातान्त्रिक अधिकार, सामाजिक सुरक्षा र आर्थिक विकास मात्र दिने हो भने यहाँ राजनीतिक आन्दोलनहरूको कुनै अर्थ हुँदैन भन्ने उनको दृष्टिकोण थियो।  
 
नेपालको प्रजातान्त्रिक आन्दोलनको पहिलो श्रेय पहिलो राजनीतिक सङ्गठन प्रजापरिषद्ले पाउने कुरामा विवाद छैन। यसका संस्थापक महामन्त्री शर्माको २४ असोजमा देहावसान भएसँगै नेपाली प्रजातान्त्रिक आन्दोलनको अघिल्लो पुस्ता सकिएको छ।  
 
मुलुकको प्रजातान्त्रिक आन्दोलनको सिंगो युगको प्रतिनिधित्व गरेका 'जिउँदा शहीद' रामहरि शर्माका दुई छोरा र ६ छोरी छन्।
 
राजेश गौतम
comments powered by Disqus

रमझम