चलचित्रमा आमा

Share:
  
घर, परिवार र समाजले जस्तै नेपाली चलचित्रले पनि आमालाई सन्तानको सुखका लागि जस्ता सुकै दुःखकष्ट सहन सक्ने पात्रका रूपमा चिनाएको छ।

रामजी दाहाल/ऋषिराम कट्टेल 

r3
 
 
हे आमा हे आमा   
देखाइदियौ हाम्लाई संसार 
तिमी बाहेक यो दुनियाँमा  
अरू को छ र? 
 
चलचित्र ठूल्दाइ को यो गीतले आमाको महिमा गाएको छ। आमाको भूमिकाको महत्व भएरै हुनपर्छ, दुई दशकअघि चलचित्र माया मा २२ वर्षकी मिथिला शर्मालाई ७० वर्षकी बूढी आमा बनाइएको थियो। चरित्र अनुसार अभिनय गर्ने कलाकार मिथिला त्यसपछि दर्जनौं चलचित्रमा आमाको भूमिकामा देखिइन्।  
 
त्यसअघि चलचित्र भुमरी मा सुन्दरी नायिकाको अभिनयबाट चर्चित मिथिलालाई माया मा बूढी आमा बन्दा कोही–कोही आफन्तले 'करिअर चौपट नपार्न' सचेत गराएका थिए रे! तर मिथिलालाई आमाको भूमिकाले कच्चा उमेरमै परिपक्व बनेको र जानीनजानी सही बाटोमा हिंडेको अनुभव गराएको छ। यही भूमिकाले नै हुनुपर्छ, उनको अभिनयलाई दर्शकहरूले मन पराए। करीब तीन दशकको अभिनय यात्रा सम्झँदै नृत्यमा पनि निपुण मिथिला भन्छिन्, “अभिनयको आत्मसन्तुष्टि नाचेर–गाएर मात्र हुँदैन।” 
 
समाजको प्रतिछायाँ मानिने चलचित्रमा आमाको भूमिका र दायित्व समय अनुसार फेरिंदै गएको छ। हिजो आमालाई अनुशासन र सहनशीलताको प्रतीक तथा सन्तानको गल्ती–कमजोरी ढाकछोप गर्ने संरक्षक मानिन्थ्यो भने अहिले आमाले छोराछोरीलाई साथीका रूपमा लिने गरेका छन्। वरिष्ठ चलचित्र निर्देशक यादव खरेल सृजनाको स्रोत भएकीले चलचित्रमा विभिन्न स्वरुपमा आमाको उपस्थिति चाहिने बताउँछन्। चलचित्र चिनो मा शुभद्रा अधिकारीलाई आमाको रूपमा प्रस्तुत गरेका निर्देशक तुलसी घिमिरे भन्छन्, “महत्वपूर्ण सन्देश आमा जस्ता आदर्श पात्रका मुखबाट दिन सके बढी प्रभावकारी हुन्छ।”  
 
अधिकांश चलचित्रमा घरधन्दा धानेर बसेका सोझा आमाले सामान्य व्यवहारबाटै छोराछोरीलाई असल बाटो देखाइरहेका हुन्छन्। निर्देशक राजेन्द्र शलभ सबैको संवेगसँग जोडिने हुनाले पनि चलचित्रमा आमा पात्र महत्वपूर्ण भएको बताउँछन्।  
 
दुःखको बेला छोराछोरीलाई सबैभन्दा गहिरो सम्झ्ना हुने व्यक्ति हुन्― आमा। तिनै छोराछोरी कतिपय अवस्थामा आमालाई रुवाइरहेका पनि हुन्छन्। यस अर्थमा आमाको आँशु देखाएर दर्शकको मन जित्न नेपाली चलचित्र सफल छन्। बाबुको निधनपछि आमालाई छाडेर हिंडेको चलचित्र सुखदुःख को स्वार्थी छोरा पछि गल्ती सकार्दै घर फर्कन्छ। सुखदुःख को छोराजस्तै नेपाली चलचित्रका अरू छोराले पनि उन्नति–प्रगति हुँदा सफलताको जस आमालाई दिएका, घर फर्केर आमाको काखमा टाउको राखेका छन्। अधिकांश चलचित्रमा सन्तानको खुशीका लागि जस्तोसुकै दुःख र अन्याय सहन पनि आमा तयार भएको देखाइएको छ। हुन त कतिपय चलचित्रका आमा छुच्ची र कर्कश पनि छन्; तर बुहारी, बूढा र अरूका लागि मात्र। 
 
आमाकेन्द्रित चलचित्र 
२०२२ सालमा नेपालमा बनेको पहिलो चलचित्रको नामै आमा थियो, यद्यपि यसमा आमालाई देशसँग जोडिएको छ। त्यसको साढे तीन दशकपछि २०५७ मा आमाकै महत्वमाथि केन्द्रित चलचित्र आमा बन्यो। त्यसपछि बनेका आमाको काख, आमाको माया, आमाको आशीर्वाद, आमा, बुबाआमा जस्ता चलचित्रका नामैले केन्द्रीय पात्रको रूपमा आमालाई इङ्गित गरेका छन्। सन्तान, जीवन रेखा, दुनियाँ, कन्यादान, ठूल्दाइ, मुग्लान लगायतका चलचित्रले पनि आमाकै विषयवस्तु समातेका छन्। महिला मुद्दामाथि धेरै फिल्म बनाएका निर्देशक शिव रेग्मी भन्छन्, “आमा लगभग सबैजसो चलचित्रमा आउने पात्र हुन्, तर उनीहरूलाई केहीमा मात्र उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ।”  
 
आमाको भूमिकामा तुल्सा सिलवालले अभिनय गरेकी मदन घिमिरे निर्देशित चलचित्र आमाको माया मा सन्तानप्रति आमाको माया कस्तो हुन्छ भनेर देखाउन खोजिएको छ। तृप्ति नाडकरको मुख्य भूमिका भएको विजय केरुङ निर्देशित आमाको काख ले सन्तानका लागि आमाको महत्व केलाउन खोजेको छ। दीपक श्रेष्ठको आमाको आशीर्वाद ले हरेक सन्तानका लागि संसारमा सबभन्दा ठूलो आमा हुन् भन्ने सन्देश दिएको छ। सय हाराहारी चलचित्रमा आमाको अभिनय गरेकी लक्ष्मी गिरी सामाजिक, पारिवारिक चलचित्रमा आमाले राम्रै ठाउँ पाएको बताउँछिन्।  
 
रेशराज आचार्यको चलचित्र आमा छोराछोरीप्रति आमाको दायित्वमा केन्द्रित छ। यो फिल्ममा शुभद्रा अधिकारीले आमाको दमदार अभिनय गरेकी छन्। नाम फरक भए पनि शिव रेग्मीले निर्देशन गरेको चलचित्र दुनियाँ ले आमाको विषयलाई जोडदार रूपमा उठाएको छ। रेग्मीकै निर्देशनमा बनेको मुग्लान पनि आमाकेन्द्रित चलचित्र हो। झ्ट्ट हेर्दा मातृमहिमा गाउने नेपाली फिल्मको संख्या कम नभएको वरिष्ठ चलचित्रकर्मी नीर शाह बताउँछन्। “यति नै काफी चाहिं हैन”, उनी भन्छन्। 
 
आमाको नाम जोडिएका चलचित्रमा उनको भूमिकालाई उपकथाको सामान्य पात्रका रूपमा प्रस्तुत गरिएका उदाहरण पनि छन्। चलचित्र पत्रकार भरत शाक्यको भनाइमा, करीब ३० प्रतिशत नेपाली चलचित्रमा आमाको फाट्टफुट्ट भूमिका मात्र छ। वरिष्ठ चलचित्र निर्देशक खरेल आमाकै वरिपरि कथावस्तु घुमेको चलचित्रको पर्खाइमा रहेको बताउँछन्, जसले चर्को विश्रृंखलताको सामना गरिरहेको नेपाली समाजलाई एउटा लय समात्न सघाओस्।  न्ति मास्के, गौरी मल्ल, शुभद्रा अधिकारी, सुशीला रायमाझी, लक्ष्मी गिरी आदिले नेपाली चलचित्रमा आमाको छविलाई सशक्त बनाएका छन्। यिनका साथै आमाको भूमिकामा जमेका बसुन्धरा भुषाल, भुवन चन्द, मिथिला शर्मा, तृप्ति नाडकर आमाको रूपमा नेपाली चलचित्रमा दोहोरिइरहन्छन्। निर्देशक खरेललाई आमाको चरित्र भन्नासाथ यिनै कलाकारको सम्झ्ना आउँछ। यीमध्ये आधाजसो आफ्नो समयमा चञ्चल नायिकाको भूमिकामा मज्जैले जमेका थिए। 
comments powered by Disqus

रमझम