१-७ भदौ २०७१ | 17-23 August 2014

मनसुनी कहर

Share:
  
- रमेश कुमार
मनसुनको ढिलाइ र अधिक वर्षाका कारण मुलुकभरि वर्णन गर्न नसकिने क्षति भएको छ।

भावुक योगी
बर्दियाको भुरीगाउँ–चिसापानी खण्डमा भासिएको पूर्व–पश्चिम राजमार्ग।
मुख्य बाली धान रोप्ने समयसम्म मनसुन सुस्त रहेपछि देशको करीब १५ लाख धान खेती हुने खेतमध्ये साउन मसान्तसम्ममा ८० प्रतिशत मात्र रोपाइँ भयो र यो वर्ष बढीमा अरू दुई प्रतिशत खेतमा मात्र रोपाइँ हुने अनुमान छ। अघिल्लो वर्ष ९८ प्रतिशत खेतमा रोपाइँ भएको कृषि मन्त्रालयको तथ्यांक छ। यो वर्ष धानको उत्पादन १५ देखि २० प्रतिशतले घट्ने अनुमान गरिएको कृषि मन्त्रालयका सहायक प्रवक्ता टेकप्रसाद लुईंटेल बताउँछन्।

रोपाइँ सकिएका खेतमा पर्याप्त पानी नपुग्दा धाँजा फाटेका छन् भने गत साता परेको अनवरत पानीले धेरै धान खेत डुबेका छन्। गत वर्ष धान उत्पादन १२ प्रतिशत बढेर ५० लाख ४७ हजार टन उत्पादन भएको थियो। जसले देशको अर्थतन्त्रमा ०.६ प्रतिशतको योगदान पुर्‍याएको अनुमान गरिएको थियो। यो वर्ष ४५ लाख टनभन्दा पनि कम धान उत्पादन हुनसक्ने आकलन छ। यसो हुँदा त्यसले समग्र अर्थतन्त्रमा ०.७ देखि १ प्रतिशतसम्मको असर पर्न सक्छ। समग्र अर्थतन्त्रमा धान एक्लैको योगदान करीब ७ प्रतिशत छ। गत वर्ष रु.१ खर्ब १० अर्ब मूल्य बराबरको धान उत्पादन भएको थियो।

गत वर्ष धान उत्पादन बढेकाले आर्थिक वृद्धिदर पाँच वर्षयताकै उच्च ५.२ प्रतिशत पुगेको थियो। एशियाली विकास ब्याङ्क (एडीबी) तथा विश्व ब्याङ्क जस्ता संस्थाले गत वर्ष आर्थिक वृद्धि ४.५ प्रतिशत हाराहारीमा रहने प्रक्षेपण गरे पनि कृषि क्षेत्रको वृद्धिदर १.१ प्रतिशतबाट बढेर ४.७ प्रतिशत पुगेपछि आर्थिक वृद्धिमा सुधार आएको थियो। सरकारले यो वर्ष ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखे पनि धान उत्पादन घट्ने अनुमानका आधारमा आर्थिक वृद्धि अपेक्षित नहुने निश्चित छ। “धानको उत्पादन यो वर्ष कम हुने देखिएको छ, जसले अर्थतन्त्रको अपेक्षित लक्ष्यलाई असर पार्छ”, राष्ट्रिय योजना आयोगका सदस्य डा. चन्द्रमणि अधिकारी भन्छन्।

मनसुनी थिति बिग्रिंदा मकै, कोदो लगायत अन्य बालीलाई पनि असर पार्ने देखिएको छ। उद्योग व्यवसाय र पूर्वाधारको लगानीबाट तत्काल प्रतिफल लिन सम्भव नदेखिएकाले कृषिमा हुने क्षतिलाई पूर्ति गर्ने भरपर्दो विकल्प देखिएको छैन। कृषिमा 'भ्यालु एड' को मात्रा धेरै हुने भएकाले यसको अर्थतन्त्रमा पर्ने प्रभाव पनि बढी र दिगो हुने छँदैछ।

व्यापारिक नसा विच्छेद

१७ साउन राति सिन्धुपाल्चोकको राम्चेमा आएको पहिरोले सुनकोशी नदी थुनिंदा देशको प्रमुख व्यापारिक राजमार्ग पछिल्ला दुई सातादेखि अवरुद्ध छ। जसका कारण चीनसँगको द्विपक्षीय व्यापार अवरुद्ध बनेर दैनिक रु.३ करोड राजस्व उठ्न सकेको छैन भने रु.१० अर्बभन्दा बढीको सामान खासामा रोकिएर व्यापारी मर्कामा परेका छन्। काठमाडौंतर्फ ल्याउन लागिएका तीन–चार कन्टेनर सामान खासा र ल्हासाका गोदाममै थन्किएको र सयौं कन्टेनर बाटोमा अलपत्र परेको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष नीलकण्ठ चौलागाईंले बताए। दशैंका लागि सामान ल्याउने समयमा राजमार्ग अवरुद्ध बनेकाले सामान अलपत्र पर्ने र व्यवसायी डुब्ने जोखिम बढेको छ। बाटो खुल्ने तत्काल छाँट नदेखिएकाले देशभित्र उपभोग्य सामानको हाहाकार हुने खतरा बढेको अध्यक्ष चौलागाईं बताउँछन्।

चीनबाट वर्षभरि आयात हुने सामानमध्ये ७५ प्रतिशत दशैं–तिहारको बेला आउने व्यवसायी रमेश बरालको भनाइ छ। चीनबाट आउने इलेक्ट्रोनिक्स, लत्ताकपडा, जुत्ता, रेडिमेड सामानका उपभोक्ता निम्न र मध्यमवर्ग भएकाले सामान अभावको पहिलो असर उनीहरूलाई नै पर्नेछ। बढी किनमेल हुने दशैं–तिहारका बेला बजारमा सामान आउन नसक्दा यो वर्ष चिनियाँ सामानको मूल्य बढ्ने पनि व्यवसायीहरूको अनुमान छ। स्याउ बोकेका कन्टेनर बीचमै रोकिंदा बजारमा स्याउको मूल्य बढेर रु.२५० प्रतिकेजी पुग्नुले यसको संकेत देखिइसकेको छ।

दशैं–तिहारमा सामान ल्याउन नसक्दा ती सामान बेच्न अर्को दशैं कुर्नुपर्ने तथा त्यतिबेला लत्ता–कपडा, जुत्ता जस्ता सामान नयाँ डिजाइनमा आइसक्ने हुनाले बिक्री गर्न समस्या हुने व्यापारीहरू बताउँछन्। केही व्यापारीले ल्हासाबाट वैकल्पिक बाटो केरुङ नाकाहुँदै सामान ल्याउन थाले पनि रसुवाको सडक राम्रो छैन। तिब्बत जाने अरू मार्ग पनि भरपर्दा नरहेकाले अरनिको राजमार्गको विकल्प पाउन गाह्रो हुने चौलागाईं बताउँछन्। तातोपानीबाट सामान आयात पूर्ण रूपमा रोकिंदा सरकारले यो वर्षका लागि राखेको रु.६ अर्बको राजस्व लक्ष्य प्रभावित हुने त छँदैछ।

अविरल वर्षापछि आएको बाढीका कारण अरनिको बाहेक पूर्व–पश्चिम, कोशी राजमार्ग पनि अवरुद्ध बनेका छन्। कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड अन्तर्गत लेउती खोलामा बनाइएको डाइभर्सन बाढीले भत्काउँदा सडक २९ साउन बिहानैदेखि अवरुद्ध भएकोमा ३० साउनदेखि आंशिक खुलेको छ। एक वर्षअघि नै बाढीले डाइभर्सन भत्काएपछि बनाइएको अस्थायी बाटो समेत बाढीले भत्काएपछि सयौं सवारी अलपत्र परेका थिए। सो मार्गहुँदै दैनिक २०० भन्दा बढी यात्रुवाहक बस सञ्चालन हुन्छन्। धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरसम्म आवतजावत गर्ने मालवाहक र सवारी साधनहरू रोकिएका थिए। बाटो अवरुद्ध हुँदा ती जिल्लाका तरकारी, दूधले बजार पाएनन्। औसत ३० रुपैयाँमा बिक्री हुने बन्दाकोपीको ३० असारमा रु.५ मा बेच्नुपर्ने अवस्था आयो भने बाटो नभएपछि व्यापारीले दूध मिल्काउनु पर्‍यो। सो क्षेत्रबाट संकलन भएका तरकारी भारतीय बजारमा जान्छन्।

धनुषा र महोत्तरीको रातु खोलाको पुल बाढीले भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको छ। गिट्टी–बालुवा र ढुंगा झ्िकिएका कारण पुल भासिएको सडक विभागको पुल आयोजना प्रमुख उमेश झ्ाले बताए। उता, बाँकेको परेवाखोलाको पुल जोड्ने सडक बाढीले बगाउँदा यातायात अवरुद्ध बनेको छ। मध्यपहाडी लोकमार्गका विभिन्न स्थानका सडकखण्डमा पनि पहिरो थुप्रिएर यातायात अवरुद्ध बनेको छ।

जताततै घाटा

सुनकोशीको प्रलयका कारण विभिन्न जलविद्युत् आयोजनाको उत्पादन ठप्प भएपछि मध्यवर्षामा पनि लोडसेडिङ बढेको छ। सुनकोशी नदी थुनिएर ताल बनेपछि ४५ मेगावाटको भोटेकोशी, १० मेगावाटको सुनकोशी, २.५ मेगावाटको सानिमा सुनकोशी, ६ मेगावाटको चाकु, ३ मेगावाटको भैरवकुण्ड गरी ६६ मेगावाट विद्युत् उत्पादन अवरुद्ध छ। सानिमा आयोजना सुनकोशी तालमा पूरै डुबेको छ भने सुनकोशी आयोजनाको दुई वटा गेट बगेको छ। प्रसारण लाइनका तीन वटा टावर पहिरोमा परेपछि भोटेकोशीको विद्युत् उत्पादन पनि रोकिएको छ। यी आयोजनाबाट विद्युत् तत्काल उत्पादन हुन गाह्रो छ। सुनकोशी लगायतका आयोजनाबाट विद्युत् उत्पादन रोकिंदा नेपाल विद्युत् प्राधिकरणलाई अरू घाटा परेको छ।

अविरल वर्षाले देशका प्रमुख राजमार्गका १ हजार ८५० मध्ये दर्जनौं पुललाई थप जोखिमयुक्त बनाएको छ। करीब दुई वर्षअघि सडक विभागको पुल आयोजनाले राजमार्गका ९०० पुलको अध्ययन गर्दा ९३ फलामे पुल जीर्ण भएकाले तत्काल मर्मतसम्भार गर्नुपर्ने देखाएको थियो। आयु सकिन लागेका राजधानी र अन्य प्रमुख मार्गका पुल जुनसुकै बेला बिग्रिएर बाटो अवरुद्ध हुनसक्ने अध्ययनको निष्कर्ष थियो। औसतमा पुलको आयु ५० वर्ष हुने भए पनि राजधानीका विभिन्न स्थानका, बुटवल नारायणघाट खण्ड, त्रिशूली, मर्स्याङ्दी नदी माथिका पुल जीर्ण भइसकेको अध्ययनले देखाएको थियो।

बाढी र पहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत् तथा सञ्चार अवरुद्ध भएका छन्। काठमाडौंदेखि तातोपानीसम्म बिच्छ्याइएको अप्टिकल फाइबर विच्छेद भएको छ भने जुरे उताका क्षेत्र विद्युत् अभावले अन्धकार बनेको छ। देशका कैयौं ग्रामीण सडक र सहायक मार्गहरू थुनिएका छन्। स्कूल, झोलुङ्गे पुल जस्ता सार्वजनिक संरचना पनि भत्किएका छन्। निजी सम्पत्तिको पनि ठूलो क्षति भएको छ।

comments powered by Disqus

रमझम