१-७ भदौ २०७१ | 17-23 August 2014

विकल्प जैविक

Share:
  
- मोदकुमारी रुपाखेती
जनस्वास्थ्यलाई तरकारी बालीमा जथाभावी प्रयोग भइरहेको रासायनिक विषादीबाट जोगाउन जैविक विषादी निर्विकल्प भएको छ।

कृष्णदेव रुपाखेती
कृष्णदेव रुपाखेती
गाउँघरको त कुरै छाडौं राजधानीकै अधिकांश एग्रोभेटमा म्याद गुज्रेका विषादीको खुल्ला बेचबिखन भइरहेको छ। केहीले प्रतिबन्धित विषादि समेत बेचिरहेका छन्। एग्रोभेटको व्यापार यस्तो छ भने अधिकांश किसानलाई विषादीको सही प्रयोगबारे जानकारी नै छैन। अधिकांश एग्रोभेट संचालकलाई पनि विषादीबारे राम्रो जानकारी छैन। यसरी आफूखुशी चलेको छ विषादिको प्रयोग र व्यापार। यो जथाभावी र अनियन्त्रित प्रयोगले किसानको स्वास्थ्यमा गम्भीर असर पारेको छ।

महिलाहरू खेतबारीमा धेरै समय बिताउँछन्। तरकारी बालीमा विषादी हाल्ने विधि थाहा नभएर वा थाहा भएर पनि हेलचेक्र्याइँ गर्दाको पहिलो शिकार महिला नै हुन्छन्। विना सावधानी विषादी प्रयोग गर्दा कतिपय महिला पाठेघरको क्यान्सर, छालाको क्यान्सर, मुटुको समस्या र निको नहुने अन्य रोगको शिकार भएका छन्। यसरी तरकारीमा धेरै विषादी हालेर तत्काल केही आर्थिक लाभ भए पनि दीर्घकालीन रूपमा महँगो मूल्य चुकाउनुपर्ने स्थिति छ। विषादी चलाउँदा अनिवार्य रूपमा मुखमा मास्क, हातमा पञ्जा, खुट्टामा गमबुट र टाउकोमा प्लास्टिक वा कपडा लगाउनुपर्छ। यसो गर्दा नङ र छालाबाट शरीरमा विषादी छिर्न पाउँदैन। तर, नेपालमा यस्तो होशियारी अपनाउने किसान नगन्य छन्।

कारगर घरेलु विधि

गाउँघरमा सजिलै पाइने झारपात र मसलाजन्य वनस्पतिहरूबाट बालीमा राम्रो गर्ने जैविक विषादी बनाउन सकिन्छ। यस्ता घरेलु औषधिबारे जानकारी नहुँदा किसानहरू बालीमा कीरा र डढुवा रोग देखिनासाथ विषादी किन्न एग्रोभेट पुग्छन्। तर, बाली रोग नियन्त्रण गर्ने सबभन्दा उत्तम उपाय घरेलु विधिबाट तयार पारिएको औषधि नै हो। यसका लागि नीमपत्ता, असुरो, तितेपाती, वनमारा, अदुवा, लसुन र खुर्सानीको धूलोलाई साबुनपानीमा घोलेर गाईको गहुँतमा मिसाई बालीमा छर्नुपर्छ। नीमपत्ता नपाए जाई या पारिजातको पात चलाउन सकिन्छ। असुरो नपाए खेतबारीको गन्धेझार प्रयोग गर्न सकिन्छ।

कतिपय किसानले तरकारी खेतीबाट चाँडो लाभ लिन महँगोमा किनेर भिटामिन चलाउँछन्। जबकि, घरेलु विधिबाटै त्यस्तो भिटामिन पनि बनाउन सकिन्छ। ४५ दिनसम्म सिस्नुको मुन्टा राखेको गहुँत तरकारीमा छर्कंदा बालीको लागि राम्रो भिटामिनको काम गर्छ। २० मिलिलीटर गाईको दूध एक लीटर पानीमा हालेर बिरुवामा छर्कंदा पनि तरकारीले भिटामिन पाउँछ। यसले बिरुवामा लागेको लाइ समेत नियन्त्रण हुन्छ। बाली बिरुवामा लाग्ने ह्वाइट फ्लाई (एक किसिमको झ्िंगा) नियन्त्रणका लागि पनि रासायनिक औषधिभन्दा घरेलु विधि राम्रो हुन्छ। यो सस्तो त हुन्छ नै, मानव र वातावरणीय स्वास्थ्यका लागि पनि उपयुक्त हुन्छ। यसका लागि १६ लीटर पानीमा चार मिलिलीटर नुहाउने स्याम्पु र १०० मिलिलीटर शुद्ध तोरीको तेल मिसाएर बालीमा 'स्प्रे' गर्नुपर्छ।

खुर्सानीको धूलो, असुरो, नीमको पात र तितेपातीको रस प्रयोग गरेर पनि तरकारीमा लाग्ने कीरा भगाउन सकिन्छ। यसबाट किसानको स्वास्थ्य रक्षा हुन्छ र उपभोक्ताले पनि विषादीरहित तरकारी किन्न पाउँछन्। यति मात्र होइन, घरेलु औषधिको प्रयोगले तरकारी उत्पादनको लागत मूल्य घट्छ, वातावरण जोगिन्छ र मानव स्वास्थ्यको रक्षा हुन्छ। बालीमा घरेलु औषधिका फाइदाबारे किसान र उपभोक्तामाझ् जनचेतना जगाउने काम भने हुनसकेको छैन। घरेलु विधिबाट तयार पारिएको औषधिको मूल्य रासायनिक औषधिको तुलनामा नौ गुणा कम हुन्छ। यसले तरकारीको बजार मूल्य घटाउने र उपभोक्तालाई स्वास्थ्यका लागि फाइदाजनक अर्ग्यानिक तरकारी उपलब्ध हुने कुरा छँदैछ।

त्यस्तो अवस्था सिर्जना गर्न किसानहरूलाई सरकारी प्रयासमा घरेलु विषादी बनाउने तरीकाबारे तालीमको व्यवस्था गर्नुपर्छ। सरकारले तालीमसँगै घरेलु विषादीमा प्रयोग हुने झारपात र मसलाजन्य पदार्थको धूलो किसानलाई उपलब्ध गराउने हो भने यो विधि लोकप्रिय हुन समय लाग्दैन।

(कृषि प्राविधिक रुपाखेती कीर्तिपुरस्थित प्रतिज्ञा अर्ग्यानिक फार्ममा संलग्न छन्।)

comments powered by Disqus

रमझम