सहयात्रीको छोरो

Share:
  
- केदार शर्मा

 

बच्चो रोयो, आमाले कुरकुरेले सुम्सुम्याइन्। केही बेरपछि फेरि गन्गनायो, लेजले फकाइन्। सहयात्रीले जान्ने पल्टेर त्यस्ता खानेकुरा नखुवाउने सल्लाह दियो, त्यत्तिकै उडाइदिइन् र आफ्नो बच्चो अरू कुरा खानै नमान्ने कुरा सगर्व सुनाइन्। खाना खाने ठाउँमा दुई गाँस भए पनि भात खुवाउन नखोजेकी होइनन्, तर उसले मान्दै मानेन। जूस नामधारी गुलियाको झ्ोल र अलिकति फुक्को चाउचाउ खायो अनि चिजबल चपाएर सन्तुष्ट देखियो।  
 
'यस्ता खानेकुराको स्वाद यसका जिब्रामा कसरी बस्यो नि?' सहयात्रीले आमालाई 'पहिले अभिभावकले नै त बानी लगाउने हुन् नि!' भन्ने बुझाउन प्रश्न गर्‍यो। उनी कान थुनेजत्तिकै गरिदिइन्। मोनो सोडियम ग्लुटामेटको 'उमामी' भनिने मधुर चटपटे स्वादका कारण आफ्नो बच्चो अरू स्वाद मन नपराउने भइसकेको उनलाई थाहै छैन। यस्ता खानेकुराले शरीरलाई चाहिने तत्वहरू विनै पेट भरिदिन्छन्, जसले कुपोषण गराउँछ। बाल्यावस्थाको कुपोषण दीर्घकालीन स्वास्थ्य समस्याको जरो हो। सन्तानको सुखका लागि सबै कुरा त्याग्न तयार आमा पैसा तिरेर स्वास्थ्य समस्याका पोकाहरू पनि किनिरहेकी छन्! 
 
आमा फकाउन खोज्ने र बच्चो नमान्ने, उनीहरूको सम्बन्ध ठ्याक्कै सत्ताधारी दल र तिनको विद्यार्थी सङ्गठनको जस्तो थियो। आमाले भनिन्, 'मैले भनेको त टेर्दै टेर्दैन, ड्याडीसित मात्र डराउँछ।' बच्चो आमाले भनेको नमाने पनि हुनेरहेछ भन्ने सिकेर हुर्किइरहेको थियो, आमा माया गर्न नजानेर बच्चाको बानी बिगारिरहेकी थिइन्। बच्चोभित्र एउटा अजीवको अटेरीपन मौलाइरहेको थियो।  
 
खाना खाइसकेपछि आमाले डाइपर किनेर ल्याइन्र सहयात्रीसित भनिन्, 'यो दुई वर्षमा यसले चार–पाँच हजार रुपैयाँ त डाइपरमै खर्च गराइसक्यो।' त्यो उनको गुनासो होइन, आफ्नो आधुनिकता र खर्च गर्ने क्षमता जनाउने शैली थियो। उनले धेरै घण्टा अघि लगाइदिएको, धेरै पटकको पिसाब र सम्भवतः एकपटकको दिसाले भरिएको डाइपर खोलिन् र बाटापारि फ्यात्त फ्याँकिदिइन्।  
हाम्रो समाज सम्भवतः सबैभन्दा बढी खर्च छोराछोरीको लालनपालन र शिक्षामा गर्छ। हामी उनीहरूलाई मीठो खाना, राम्रो नाना र गतिलो शिक्षा दिएर हुर्काउन चाहन्छौं। जोन्सनको बेबी स्याम्पोले नुहाएर अलिभ आयल दल्ने र बेबी टल्कम पाउडर लगाइदिने जस्ता चलन मध्यवित्त परिवारमा समेत मज्जैले भित्रिरहेका छन्। शुरूमा आफ्नो बच्चाले मोबाइलमा गेम खेलेको हेरेर रमाउने अधिकांश बाबुआमाले मोबाइललाई बच्चाको खेलौना र टेलिभिजनलाई बच्चा हेर्ने मेसिन बनाएका छन्। किताब र कागजको उपस्थितिलाई फोहोर मान्ने सुकिला घरका भित्तामा टेलिभिजन र टेलिभिजनमा बच्चा टाँसिएका दृश्य सामान्य भएका छन्। 
 
बच्चाका लागि कम्प्रोमाइज गर्न हुँदैन! अहिले फेशनमा रहेको 'राष्ट्रवाद' जस्तै निर्विवाद नारा हो यो, जसलाई सबैले मौन रहेर स्वीकार गर्नैपर्ने हुन्छ। लाग्छ, हामी बाबुआमा मल मात्र धेरै हालेर राम्रो फसल लिन सकिन्छ भन्ठान्ने नयाँ किसान जस्ता भएका छौं। हामीले आफ्ना सन्तानलाई माया गरेर धेरैको पेटपालो गरिदिएका छौं। हामीले प्यासिफायर र दूधदानी चुसाएर आफ्ना बच्चाका 'डेङचर' नबिगारिदिने वा चकलेट र क्यान्डीले उनीहरूका दाँतमा खाल्डा नपारिदिने हो भने शहरमा बग्रेल्ती खुलेका डेन्टल क्लिनिकले के काम पाउँदा हुन्? 
 
अमेरिकामा घरजम गरेरबसेकी एउटी नेपाली महिला लामो समयपछि नेपाल आएका बेला यहाँका बाबुआमाले बच्चालाई अत्तो न पत्तोसित पुल्पुल्याएको देखेर उदास भइन्। उनले आफ्नो पाँच वर्षको छोरालाई देखाएर भनिन्, 'यसका मुखमा कुनै जङ्कफूड परेको छैन।' जङ्कफूडको राजधानी मानिने अमेरिकामा बाबुआमाले बच्चालाई जङ्कफूडबाट मुक्त राखेको उदाहरणीय लाग्यो, यता 'सहयात्रीका बहानाले हामीलाई भनेछ' भनेर साथीभाइ–आफन्त रिसाउलान् भन्ने पीर छ।
comments powered by Disqus

रमझम