८-१४ भदौ २०७१ | 24-30 August 2014

बाढी र सुक्खाको चेपाइमा धान रोपाइँ

Share:
  
- तुलसी गौतम
यस वर्ष समयमा पानी नपरेकोले देशको प्रमुख खाद्यान्न बाली धानको रोपाइँ क्षेत्रफल नै घटेको छ।

बाढी, पहिरो, डुबान, कटान जस्ता प्राकृतिक प्रकोपले एकातिर वर्षेनि हजारौं हेक्टर धान लगाउने खेत प्रभावित हुने गरेको छ भने अर्कोतिर प्रकोपबाट असर नपुग्ने खेतमा भएका नहर, कुलोमा पानी नआउने अनि वर्षात्ले जलमग्न भएको बेला नहरमा पानी छाड्ने चलन पहिलेदेखि चलिआएको छ। यसरी चाहिंदा कुलो, नहरमा पानी नआउँदा र प्राकृतिक प्रकोपका कारण धान उत्पादनमा तल–माथि हुने गरेको छ।

सन् २०१०/११ र २०११/१२ मा प्रकोपबाट न्यून क्षति भएको र २००५/०६ मा एक लाख ३० हजार हेक्टर खेत कतै बाढी–पहिरो त कतै सुक्खाका कारण प्रभावित भएको कृषि विकास मन्त्रालयको तथ्याङ्कले देखाउँछ। बाढी–पहिरो र सुक्खाले यसरी असर गरे पनि यही कारणबाट समग्र उत्पादन त्यति धेरै घटेको देखिंदैन। (हे.तालिका) यो वर्ष भने २८ साउनसम्ममा देशका ८१ प्रतिशत खेतमा धान रोपाइँ भएको छ। गत वर्ष ठीक यसैबेला ९७ प्रतिशत र त्यसभन्दा अघिल्लो वर्ष ९१ प्रतिशत खेतमा रोपाइँ भएको तथ्याङ्कले बताउँछ।

भनेको बेला सिंचाइ हुने ठाउँमा वर्षमा दुई पटक धान लगाइन्छ। तथ्याङ्क अनुसार, नेपालको १७ लाख ६६ हजार हेक्टरमा सिंचाइ हुन सक्छ। त्यसमध्ये अहिलेसम्म १३ लाख ३१ हजार हेक्टरमा सिंचाइ सुविधा पुगेको छ। यसको अर्थ, सिंचाइ सम्भावना भएको जग्गामध्ये ७५ प्रतिशतमा पानीको सुविधा पुगेको छ। यो हिसाबले सन् २०१३/१४ मा धान रोपिएको १४ लाख ८७ हजार हेक्टर खेतमध्ये सिंचित धानले ढाकेको क्षेत्रफल ६४ प्रतिशत (८ लाख ८३ हजार ८५८ हेक्टर) मात्र हुन आउँछ। बाँकी ३६ प्रतिशत खेत अझै पनि आकाशे पानीमा निर्भर छ। यो ३६ प्रतिशत खेतलाई सिंचित क्षेत्र भनिए पनि मनसुन अनुकूल भए मात्र नहर वा कुलोमा पानी आउँछ।

सामान्यतः नेपालको उच्च पहाडमा जेठ, मध्य पहाडमा असार र तराईमा साउनभित्र रोपाइँ गरिसक्नुपर्छ। यो वर्ष भने २८ साउनसम्म नेपालभरमा ८१ प्रतिशत मात्र रोपाइँ हुन सक्यो। सबभन्दा कम रोपाइँ हुनेमा तराईका महोत्तरी र सर्लाही जिल्ला छन्। यी जिल्लामा २८ साउनसम्म ४० प्रतिशत मात्र रोपाइँ भएको छ। महोत्तरीको ६० हजार ६४९ हेक्टर जग्गामध्ये ३७ हजार ५७७ हेक्टरमा सिंचाइ सुविधा पुगेको तथ्याङ्कले देखाउँछ, तर यो वर्ष १३ हजार हेक्टरमा मात्र रोपाइँ भएको छ। सर्लाहीको ७१ हजार १७३ हेक्टर जमीन सिंचित भनिए पनि १५ हजार ७४१ हेक्टरमा मात्र रोपाइँ भएको छ। यसले सिंचाइमा गरिएको लगानी कति उपलब्धिमूलक हुनसक्यो भन्ने देखाउँछ।

स्रोतः कृषि विकास मन्त्रालयको द्वैमासिक बालीनाली तथा पशुपक्षी स्थिति प्रतिवेदन २०७० चैत/२०७१ वैशाख, वर्ष २९, अंक ५ र कृषि तथ्यांकहरु, कृषि व्यवसाय प्रवर्द्धन तथा तथ्यांक महाशाखा सिंहदरबार, काठमाडौं ।

महोत्तरी र सर्लाहीको उदाहरणले हाम्रो धान उत्पादन मौसममै निर्भर भएको देखाउँछ। जबकि, कृषि उत्पादन बढाउने र धेरै बाली लगाउने पूर्व शर्त सिंचाइ हो। अहिलेसम्म कति सिंचाइ पूर्वाधार तयार भइसके भन्ने चर्चा गर्दा पानीका भूमिगत स्रोतहरू पनि धमाधम सुक्दै गएको बिर्सन मिल्दैन। यो अवस्थामा बाह्रमासे पानी उपलब्ध गराउन ठूला नदीनालामा बाँध बनाउने काममा लगानी बढाउने र भूमिगत जलस्रोतको मितव्ययी उपयोग गर्ने विषय महत्वपूर्ण बन्न जान्छ। यसैगरी, प्राकृतिक प्रकोप न्यूनीकरणका लागि पहाड र चुरे क्षेत्रको संरक्षण तथा तराईमा नहर निर्माण–सुधार जस्ता दिगो आयोजनाहरूमा पनि ध्यान दिन सक्दा वर्षेनि हुने बाढी–विपत्ति र सुक्खाबाट जोगिन सकिन्थ्यो कि!

comments powered by Disqus

रमझम