८-१४ भदौ २०७१ | 24-30 August 2014

इबोला भाइरस संक्रमणको सन्त्रास

Share:
  
- डा. सुमनराज ताम्राकार
इबोला विषाणुले निम्त्याउने विपत्तिको गाम्भीर्य संयुक्त राष्ट्रसंघले दिएको चेतावनीबाटै बुझ्न सकिन्छ।

एक जना संक्रमितलाई उपचार गरेको अस्पताल नै बन्द गर्नुपर्‍यो। नाइजेरियाले युथ ओलम्पिकका लागि आफ्ना खेलाडीलाई चीन नपठाउने भयो। गिनी–लाइबेरिया सीमा बन्द गरियो। लाइबेरियाले मुुख्य विमानस्थल बाहेक अरू सबै नाका र फूटबल खेल बन्द गर्नुका साथै सिनेटको निर्वाचन पनि स्थगन गर्‍यो। साउदी अरेबियाले हज आउनेहरूलाई भिसा रोक्यो। कतिपय देशले अन्तर्राष्ट्रिय उडान बन्द गरे। पर्यटनको लागि नामूद सिसिलीले संक्रमण नियन्त्रणमा नआएसम्म प्रवेशाज्ञा नदिने निर्णय गर्‍यो। महामारीको क्रममा सियरालियोनका प्रख्यात इबोला डाक्टर शेख उमर खानकै मृत्यु भयो, २९ साउनमा।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २००९ मा स्वाइन फ्लू महामारीमा जस्तै अहिलेको इबोला संक्रमणलाई अन्तर्राष्ट्रिय आपत्कालको रूपमा लिएको छ। इबोला संक्रमणबाट गत वर्षको हिउँदमा दुई वर्षको बच्चाको मृत्यु भए पनि उनका आमा, दिदी, हजुरआमा सहित २३ जनाको ज्यान एकै प्रकारको रोगबाट गएपछि मात्र इबोला संक्रमण प्रमाणित भएको थियो। इबोलाबाट गिनी, लाइबेरिया, सियरालियोन, नाइजेरिया लगायतका पश्चिमी अफ्रिकी मुलुकहरू नराम्ररी प्रभावित छन्। सूचनाप्रविधिको अलावा अन्तर्राष्ट्रिय उड्डयनमा भएको दू्रत विकासकै परिणति भन्नुपर्छ, छिमेकी भारतमा पनि इबोला संक्रमित व्यक्ति भेट्टिइसकेको छ। यो अवस्थामा नेपालमा इबोला नछिर्ला भन्न सकिने कुनै आधार छैन।

इबोलाको उठान

सुडानको दुर्गम क्षेत्र र कंगोको इबोला नदी किनारको गाउँमा सन् १९७६ को एकै समयमा इबोलाको पहिलो संक्रमण देखिएको थियो। उच्च ज्वरोसँगै संक्रमितको शरीरमा देखापर्ने दाग र आन्तरिक तथा बाह्य रक्तस्राव भएर मृत्यु हुने कारणले शुरूमा यसलाई हेमोरेजिक ज्वरोको रूपमा लिइयो। त्यसबाहेक इबोला संक्रमणमा रुघाखोकीमा जस्तै घाँटी खसखस हुने, जीउ दुख्ने, टाउको भारी हुने, वाक्वाकी, पखाला लाग्ने हुन्छ। यसले मिर्गौला र कलेजोको कामगराइमा पनि असर पुर्‍याउँछ।

चमेरोको शरीरमा प्राकृतिक रूपमै हुने इबोला भाइरस जंगली जनावरका माध्यमबाट मानिसलाई संक्रमित हुँदा यस्तो हुन्छ। इबोला विषाणु विशेषतः शारीरिक श्रावको माध्यमबाट एकबाट अर्को व्यक्तिमा सर्छ। योनीरस, रगत र वीर्य पनि इबोलावाहक हुन्। विभिन्न प्रकारका इबोलामध्ये दुई प्रकारका इबोला मानिसमा सर्छ। तर, खतरनाक कुरा के छ भने, एचआईभी/एड्स र हेपाटाइटिस बी जस्ता संक्रामक रोगका जीवाणु नसार्ने र्‍याल, दिसा–पिसाब, पसिनाबाट इबोला संक्रमण भएको पाइएको छ। यसको अलावा संक्रमित व्यक्तिको मृत्यु भइसकेपछि पनि इबोला भाइरस जीवितै रहन्छ। पश्चिम अफ्रिकामा लासको राम्रो व्यवस्थापन नहुँदा मलामीहरूमा पनि इबोला सरेको छ। यसले इबोला कति खतरनाक छ भन्ने देखाउँछ।

इबोला संक्रमण विरुद्ध कुनै खोप वा उपचार पद्धति नहुँदा मृत्युदर ९० प्रतिशतसम्म पुगेको छ। त्यसैले यसलाई अति प्राणघातक संक्रमणको रूपमा लिइएको छ। व्यक्तिविशेष आफैंले सतर्कता अपनाउनु नै यसको तात्कालिक उपचार हो। व्यक्तिगत सरसफाईमा ध्यान दिनु, संक्रमित व्यक्तिको शारीरिक श्रावबाट जोगिनु र संक्रमितको हेरचाह तथा उपचार गर्नेले विशेष सतर्कता अपनाउनु अन्य उपाय हुन्। सेन्टर्स फर डिजिज कन्ट्रोलका डाइरेक्टर टम फ्राइडेनका अनुसार इबोला रोक्ने न्यूनतम आधार परम्परागत स्वास्थ्य तरीका नै हो– बिरामी पत्ता लगाउने, छुट्टै राखेर हेरचाह गर्ने, तिनको सम्पर्कमा आएका व्यक्ति खोज्ने, स्वास्थ्य शिक्षा दिने, अस्पतालहरूमा कडाइका साथ संक्रमण नियन्त्रणका उपाय लागू गर्ने इत्यादि। सबै अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकाहरूमा यात्रु जाँचमा कडाइ गर्न डब्लुएचओले निर्देशन जारी गरिसकेको छ।

इबोला संक्रमित व्यक्तिलाई भेन्टिलेटर सहितको स्वास्थ्य उपचार सुविधा भएका अस्पतालहरूमा छुट्टै राखेर उपचार गर्नुपर्छ। उपचारमा संलग्न चिकित्सक तथा नर्सहरूले उच्च सतर्कता अपनाउँदै शरीर पूरै ढाक्ने गाउन लगाउनुपर्छ। नेपाल सरकारले दक्षता र स्रोत–साधनको अभावलाई ध्यानमा राख्दै इबोला संक्रमण भित्रिएको खण्डमा के गर्ने भन्ने विषयमा निकै गम्भीर भएर तदनुरुपको उपायको खोजी गरिहाल्नुपर्ने देखिन्छ।

comments powered by Disqus

रमझम