८-१४ भदौ २०७१ | 24-30 August 2014

'ब्याकअप' बलियो बन्दै

Share:
  

तस्वीरः रासस
एसीसी यु–१६ प्रिमियर क्रिकेट प्रतियोगिता जितेर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोली।

४ भदौमा आयोजक तथा साविक विजेता मलेशियालाई ३२ रनले पराजित गरेर नेपाली टोलीले पहिलो पटक एसीसी यु–१६ प्रिमियर लिगको उपाधि उचाल्यो। नेपालले मलेशिया, बहराइन, थाइल्याण्ड, सिंगापुर र ओमन सबैलाई हराएर शतप्रतिशत नतीजा निकाल्यो। नेपाली टीमका कान्छा खेलाडी अनिल खरेल (१३) प्रतियोगिताको 'मोस्ट प्रोमेसिङ प्लेयर' पनि घोषित भए।(हे.बक्स) प्रतियोगिताको 'वेस्ट बलर' घोषित जितेन्द्रसिंह ठकुरीले १५ विकेट झारे। छोटो तयारी रहे पनि मलेशियामा खेलाडीहरूले ऐतिहासिक प्रदर्शन गरेर नेपालको क्रिकेट भविष्य उज्ज्वल रहेको संकेत पनि दिए।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले १६ साउनबाट लागू हुने गरी राष्ट्रिय टोलीलाई टी–ट्वान्टी क्रिकेटको अन्तर्राष्ट्रिय मान्यता दिएको थियो। सिनियर टीमले यस्तो मान्यता पाएको एक महीना नबित्दै उमेर समूहले यो सफलता पाउनु नेपाली क्रिकेटका लागि सुखद् हो। राष्ट्रिय टोलीका सहायक प्रशिक्षक जगत टमटा 'उमेर समूह बलियो हुँदा राष्ट्रिय टीमको संभावना पनि बढ्ने' बताउँछन्। किशोरहरूले मलेशियामा देखाएको खेलले अहिलेको राष्ट्रिय टीम रिटायर्ड भएपछि नेपालको खेल खस्किन्छ भन्ने अनुमान गर्नेहरूलाई गलत देखाएको टमटाको भनाइ छ।

तर त्यसका लागि अनिल, जितेन्द्रसिंह तथा टीम कप्तान सुमित महर्जन लगायत प्रतिभावान खेलाडीलाई यु–१९ को बन्द प्रशिक्षणमा सामेल गर्नुपर्ने प्रशिक्षक टमटाको सुझाव छ। त्यस्तै यु–१९ मा राम्रो गर्नेहरूलाई यु–२१ खेल्ने व्यवस्था मिलाउने वा सिनियर टीमको प्रशिक्षणमा सामेल गराउनुपर्ने उनी बताउँछन्।

विजेता टीमका १४ खेलाडीलाई सरकारले जनही रु.५० हजार र नेपाल क्रिकेट संघ (क्यान) ले रु.२०/२० हजार दिने घोषणा गरेको छ। तर राष्ट्रिय टीमका पूर्वकप्तान विनोद दास जित्दा पुरस्कृत गर्ने र हार्दा वास्ता नगर्ने प्रवृत्तिले क्रिकेटको विकास नगर्ने बताउँछन्। उनी भन्छन्, “हाम्रा खेलाडीहरू सबै सेल्फ मेड छन्, सरकारले पुरस्कृत होइन परिष्कृत गर्नुपर्दछ।” खेलाडीलाई बढीभन्दा बढी प्रतियोगितामा सहभागी गराएर निरन्तर खेल्ने वातावरण दिनुपर्ने दासको सुझाव छ। यु–१९ मा दमदार प्रदर्शन गरेको टीमले सिनियरमा नतीजा दिन नसकेको अनुभव सुनाउँदै टमटा भन्छन्, “खेलाडीहरूको प्रतिभालाई पक्रन सम्बद्ध निकायले सक्नुपर्छ।”

सन्त गाहा मगर

comments powered by Disqus

रमझम