नेपालीमा पहिलो पुस्तक

Share:
  
- दीपक अर्याल
p12
 
भारत, कलकत्ताको शेरामपुर बापिस्ट मिसन प्रेस (दायाँ)
बाट वि.सं. १८७८ मा नेपाली भाषामा छापिएको बाइबल।

सन् १४५४ मा गुटेनवर्ग प्रेसबाट ४२ लाइन प्रकाशित बाइबल संसारमा सबैभन्दा धेरै मुद्रित, अनूदित र वितरित पुस्तक मानिन्छ। जे.ए. एटनको अ ग्रामर अफ दि नेपलीज ल्याङ्वेज (१८२१) का अनुसार नेपाली भाषामा प्रकाशित पहिलो पुस्तक पनि बाइबल नै थियो। भारत, कलकत्ताको शेरामपुर बापिस्ट मिसन प्रेसबाट सन् १८२१ (वि.सं. १८७८) मै छापिएको यो किताबको सम्बन्ध नेपाली क्रिश्चियन धर्मावलम्बीसँग मात्र नभएर नेपाली भाषा र पुस्तकमा चासो राख्नेहरूसँग पनि जोडिन्छ। 

क्रिश्चियन साहित्य प्रवर्द्धन गर्न मिसनरी विलियम क्यारी (१७६१–१८३४) र विलियम वार्र्ड (१७६९–१८२३) ले १८१० मा स्थापित गरेको यो प्रेसले विस्तारै व्यापारिक काममा पनि हात हाल्दै भारतका विभिन्न भाषा, नेपाली, तिब्बती जस्ता ४० मुख्य स्त्रि्कप्ट र २२५ भाषामा साहित्य, व्याकरण, शब्दकोश, इतिहासका पुस्तकहरू प्रकाशन गरेको थियो। यही प्रेसबाट हिन्दी स्त्रि्कप्ट वा टाइप प्रयोग गरेर नेपालीमा छापिएको द होली बाइबल को 'न्यू टेस्टामेन्ट' २४१ पृष्ठको छ। कतै ५००० प्रति त कतै १००० प्रति छापिएको उल्लेख भएको यो पुस्तक वास्तवमा कति छापियो र कसरी, कहाँ बिक्री–वितरण भयो भन्ने कुराको अनुमान गर्न चाहिं गाह्रो छ। 
 
विलियम क्यारीको पहलमा १८११ देखि बंगालीसहित ३६ भाषामा प्रकाशित बाइबल १८१२ बाटै नेपालीमा अनुवाद हुन शुरू भएको र जून १८२१ मा प्रकाशित गरेर १८२३ देखि सार्वजनिक वितरण गरिएको थियो। 'नेपाल' (NEPALA) भाषाको टेस्टामेन्ट भन्ने गरिएको यो बाइबल त्यसपछि 'पाल्पा भाषा' भनेर पश्चिम नेपालको पाल्पा भेगमा प्रचलित स्थानीय भाषिकामा पनि अनुवाद भयो। शेरामपुर प्रेसबाट सन् १८२७ मा प्रकाशित न्यू टेस्टामेन्ट इन पाल्पा को उल्लेख बाइबल ट्रान्सलेसन वर्कको बिब्लियोग्राफीमा छ। मदन पुरस्कार पुस्तकालयका अध्यक्ष कमलमणि दीक्षितका अनुसार सूर्यविक्रम ज्ञवालीले माइक्रोफिल्म र फोटोकपी उपलब्ध गराएकाले जे.ए. एटनको अ ग्रामर अफ दी नेपलीज ल्याङ्वेज तथा द होली बाइबल दुवै पुस्तक मदन पुरस्कार पुस्तकालयमा सुरक्षित छन्। 
 
सन् १७७१ मा उपत्यकाका अन्तिम मल्ल राजा रणजित मल्ल भक्तपुर छाडेर काशीतिर लागेपछि र गोर्खाली फौजले काठमाडौं कब्जा गरेपछि काठमाडौंमा रहेका पादरीहरू लखेटिए, तर नेपाल बाहिरका नेपालीभाषीहरूबीच क्रिश्चियन धर्म र यससँग सम्बन्धित सामग्रीहरू पुग्न छाडेनन्। त्यसबेला ब्रिटिश साम्राज्य राजनीतिक, व्यापारिक, भौगोलिक र सैनिक सुदृढीकरणसँगै सांस्कृतिक दृष्टिले पनि आफ्ना वर्चस्व विस्तार गर्दै थियो। १८१४–१६ को नेपाल–अंग्रेज युद्ध जस्तै कतै सैनिक युद्ध चलिरहेका थिए त कतै ब्रिटिश राज्यसँग निकट विद्वानहरू स्थानीय भाषामा व्याकरण, इतिहास, भूगोलका पुस्तक र शैक्षिक पाठ्य सामग्रीहरू तयार पारेर व्यापार गरिरहेका र आफ्ना सांस्कृतिक तथा वैचारिक दृष्टिकोण फैलाइरहेका थिए। छिमेकीलाई बुझन, आफ्ना नीति–नियम लागू गराउन र एक आपसमा सम्बन्ध विस्तार गर्न स्थानीय भाषा जान्न जरूरी रहेको तर्क गर्दै उनीहरूले विभिन्न भाषाका व्याकरण पनि तयार पारे, जस अन्तर्गत नेपाली भाषाको पहिलो व्याकरण समेत बन्यो।  
 
यस्ता पुस्तकहरूको उद्देश्य जे भए पनि तिनले पुस्तक प्रकाशनको परम्परालाई पश्चिमी मुलुकबाट श्रुति परम्परा र हस्तलिखित सामग्रीको बाहुल्य रहेको दक्षिण एशियाली मुलुकमा भित्र्याए र लोकप्रिय बनाए। यसले गर्दा नयाँ प्रविधिबाट पुस्तक, पत्रपत्रिका, पर्चा–पम्प्लेट प्रकाशन गर्ने काम सजिलो भयो र निजी महल वा मन्दिर, गुम्बाभित्र सीमित हुने यस्ता सामग्री सार्वजनिक भए, यद्यपि सार्वजनिक भएका सबै पुस्तक, पत्रपत्रिका सुरक्षित भने रहेनन्। बाइबल वा नेपाली व्याकरण जस्ता केही सुरक्षित पुस्तकले तत्कालीन भाषिक, सामाजिक, राजनीतिक वा धार्मिक वस्तुस्थितिको विश्लेषण गर्न र नेपाली भाषाका पुस्तकहरूको उत्पादन, प्रकाशन, वितरण र उपभोग तथा विभिन्न कालखण्डमा प्रचलित नेपाली भाषाको रूप, शैली र व्याकरणका विषयमा अनुसन्धान गर्न सजिलो बनाएका छन्। यी पुस्तकले नेपाली भाषाका पुस्तक प्रकाशनको इतिहासलाई अझै लामो र व्यापक बनाइदिएका तथा नेपाली भाषाको प्रयोग र प्रचलनलाई व्यापक बनाउन सघाएका छन्।  
 
तत्कालीन समयमा नेपाल बाहिरका प्रेस र प्रकाशनहरूबाट प्रकाशित सामग्रीका लागि नेपालमा प्रचलित विभिन्न भाषामध्ये नेपालीलाई किन प्राथमिकता दिइयो भन्ने प्रश्नको फरक–फरक विश्लेषण हुनसक्छ। पूर्णतः हिन्दू राज्यका रूपमा रहेको नेपाली समाजमा त्यति बेला बाइबलको प्रवेश भयो वा भएन, भएको हो भने कसरी भयो र त्यसले कानूनी वा सामाजिक बाधा–अड्चनहरू झेल्नु पर्‍यो वा परेन भन्ने कुरा पनि खोजीको विषय हुनसक्छ। नेपालभित्र भन्दा बाहिर नेपालीभाषीको संख्या प्रशस्त भएका क्षेत्रमा बाइबल राम्रोसँग वितरण भएको हुनसक्छ, तर नेपाली भाषामै पनि पाल्पा जस्तो भिन्न क्षेत्रलाई समेत आधार मानेर बाइबलको अनुवाद तथा प्रकाशन हुनुले सकेसम्म धेरै क्षेत्र समेट्ने र व्यापक वितरण गर्ने उद्देश्य पक्कै लिइएको थियो भन्न सकिन्छ। 
 
(अर्याल मदन पुरस्कार पुस्तकालयसँग सम्बन्धित अनुसन्धानकर्ता हुन्।)

 

comments powered by Disqus

रमझम