२२-२८ भदौ २०७१ | 7 September 2014

'राजर्षि महाराज' र रानीपोखरीको बार

Share:
  

धेरैले बिर्सिसके यो ऐतिहासिक तथ्य। महाराज जुद्धशमशेरलाई पछि 'राजर्षि महाराज' भन्न थालेका थिए नेपाली जनताले। त्यसको जश या दोष जे भए पनि जुद्धपछि श्री ३ हुने महाराज पद्मशमशेरलाई दिनुपर्छ। आशै नगरेको 'तीनचाँदे' श्रीपेच आफूलाई पहिरुर्‍याएर वानप्रस्थाश्रम प्रवेश गर्न रिडी जाने काका जुद्धशमशेरलाई 'गुन' मानेर त्यो उपाधि दिएका हुन् पद्मशमशेरले २००२ सालमा। चार जनालाई मृत्युदण्ड दिएर शहीद बनाउने महाराजलाई त्यस्तो उच्च सन्मान दिनु कत्तिको उचित थियो त्यो जाँच्ने अधिकार त्यसबेला नेपाली जनतालाई थिएन। महाराजबाट हुकुम भएपछि बज्रलेप भैहाल्यो। जुद्धशमशेर 'राजर्षि महाराज' भैहाले र त्यही रहे २००७ सालसम्म।

अनाहक ती दुई जना श्री ३ हरूलाई किन सम्झ्नुपर्‍यो ऐले, पैले त्यही भनूँ। आफूले बोलेका या भनेका कुरा पछि आफैंलाई बेठीक या अनुचित जस्तो लाग्यो भने आफैं संशोधन गरी लेख्नु उचित हो। मैले 'मजलिस घरबाट' को छैटौं लेखमा रानीपोखरीको फलामे बारका विषयमा लेखेको कुरो 'इन्टरनेट' मा ऐले यौटा पुरानो फोटो देख्दा मेरो गल्ती भएछ भन्ने लाग्यो किनभने त्यो फोटोमा १९९० सालको भुईंचालो जानुभन्दा अघिको, रानीपोखरी र दरबारस्कूलका तस्वीरमा त्यहाँको सडकको दुवैतिर ईंटाको पर्खाल लागेको देखिन्छ। (हे. फोटो) त्यसो भएपछि मैले 'रानीपोखरीको वरिपरि पैले खुला थियो र त्यहाँ जुद्धशमशेरले आफूले गरेको गल्ती छिपाउन फलामे बार लगाइदिए' भनेको गलत ठहरिन्छ।

अब विचार गरूँ। प्रतापमल्ल राजाले रानीपोखरी खनाए १७२७ सालमा। उनले त्यो पोखरीलाई खुला नै छाडे किनभने उनी त आफ्ना प्रजाहरू रोज त्यहाँ आएर स्नान, ध्यान, पाठपूजा गरुन् भन्ने चाहन्थे। उनी जीवित छँदा त सबै कुरा उनले चाहे जस्तै भयो होला। उनको देहावसानपछि भने त्यो पवित्र कुण्डको उचित उपयोग भएन अथवा दुरुपयोगै भयो होला। यसै पनि उनको मृत्युपछि कान्तिपुरको राजकाज निकै भाँडिएको थियो। प्रताप मल्लले आफूपछि राजा हुने भनेर तोकेका महिपतेन्द्र मल्ल दरबारिया षडयन्त्रले गर्दा राजा हुन पाएनन्। त्यति मात्र होइन उनको त हत्या नै भयो। त्यस्तो अशान्त वातावरणमा त्यो न्हूःपुखुःको संरक्षण र सम्भार के भयो होला? त्यसपछि राजा भएका (प्रताप मल्लका नाति) भूपालेन्द्र मल्लकी रानीले त्यो न्हूःपुखुःको जीर्णोद्धार गरी सरसफाई समेत गराइन्। त्यसैबेला हुनसक्छ, उनले रानीपोखरीका चारैतिर पर्खाल लगाई भित्र पस्ने ढोकाको समेत व्यवस्था गरिदिएकी थिइन्

कि? अन्दाजै हो मेरो। तर सत्य के हो भन्ने बताउने मान्छे हाल हामीसँग कोही छैन। रानीपोखरी वरिपरि पर्खाल कल्ले लगायो? राजा या राजपरिवारभन्दा तलको कसैले त्यो आँट गर्न सक्दैनथ्यो। फोटोमा देखिएको त्यो पर्खाल कैले कसरी बन्यो भनेर कुनै वंशावलीमा लेखिएको पनि हामीले देखेको छैन।

अब एकचोटि हामी फेरि जुद्धशमशेरपट्टि फर्कूं। माथि भनेको त्यो लेखमा इतिहास शिरोमणि बाबुराम आचार्यको हवाला दिंदै मैले भनेको थिएँ, 'चारबुर्जाको ट्वाइलेटको ढल मिसिएपछि रानीपोखरीमा मलमूत्रको तर लाग्यो र दुर्गन्ध फैलिएपछि त्यो ढाक्न महाराज जुद्धशमशेरले रानीपोखरी वरिपरि फलामे बार लगाइदिए' इत्यादि। दुर्गन्ध ढाक्न फलामे बारभन्दा ईंट र माटाको पर्खाल नै बढी उपयुक्त हुन्थ्यो। भैराखेको पर्खाल मासेर फलामे बार लगाउनुपर्दैनथ्यो। बरु के भयो होला भने, भैंचालाले त्यो पर्खाल ठाउँठाउँमा भत्काइदियो होला र त्यो विरुप भएको देखी महाराजले त्यो सबै हटाएर फलामे बार लगाइदिएको हुनसक्छ। अब प्रश्न उठ्छ, त्यसो भए इतिहास शिरोमणिले भनेको त्यो कुरो झूटो हो त? हामी त्यसो पनि नभनौं। बाबुराम आचार्य जस्ता मान्छेले किन झूटो बोल्थे? उनले त त्यो देखेकै हुन सक्छ। किनभने खर्दार बाबुराम आचार्य त्यतिबेला स्कूल गोश्वाराका हाकीम थिए र रानीपोखरीको त्यही कुनानेर त्यसबेला रहेको, पछि भैंचालाले भत्काएको अड्डा (फोटोमा देखिएको रातो

घेराभित्रको सेतो घर) मा बसेर काम गर्थे। उनले त त्यसबेला आफूले देखेको र शहरियाहरूले गरेका हल्ला जे सुनेका थिए त्यही जोडेर भनेका हुनन् भन्ने ठानौं। यस प्रसङ्गले बरु इतिहासकार भुवनलाल प्रधानले आफ्नो 'असं' भन्ने पुस्तकमा जुद्धशमशेरको समयमा राजनीतिक चेतनाको उद्गमस्थल नै असन क्षेत्र थियो भनेका छन्। त्यस अनुसार रानीपोखरीमा चारबुर्जाको ढल खन्याएको कुरालाई लिएर पनि 'नेपाल प्रजापरिषद्रुका मान्छेहरूले त्यो बिष्टाको प्रसङ्ग निकै बढाइँचढाइ हल्ला फैलाएको हुनु सम्भव छ' किन नभन्ने? तर, त्यो जे जस्तो भएको भए पनि मैले आफ्नो स्तम्भमा जुद्धशमशेरलाई नभएको दोष लगाएको भए त्यो निराकरण होस्!

comments powered by Disqus

रमझम