२९ भदौ - ४ असोज २०७१ | 14 September 2014

बिहारमा बीपी

Share:
  
- चन्द्रकिशोर

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मशताब्दी समारोह यहाँ सरकारी तहमा नमनाइएकोमा छिमेकी भारतको बिहारमा राजकीय रूपमा मनाइएको छ। बिहार सरकारले २४ भदौमा आयोजना गरेको जन्मशताब्दी समारोहमा मुख्यमन्त्री जीतनराम माझी, मन्त्री श्याम रजक लगायत राजनीतिकर्मी र समाजका अगुवाहरूको बाक्लो उपस्थिति थियो। बिहारको राजधानी पटनाको मुख्य स्थल ऐतिहासिक 'गोलघर परिसर' मा दुई दशकअघि तत्कालीन मुख्यमन्त्री लालुप्रसाद यादवले स्थापना गरेको बीपीको पूर्ण कदको प्रतिमा छ। जसको अनावरण बीपी पत्नी सुशीलाको उपस्थितिमा भएको थियो। बीपी जन्मशताब्दी समारोह सोही ठाउँमा भएको थियो।

तस्वीरः चन्द्रकिशोर
बीपी जन्मशताब्दीका आवसरमा पटनामा आयोजित कार्यक्रम।

समारोहमा जनसहभागिता जुटाउन बिहार सरकारले त्यही दिन पटनाबाट प्रकाशित हुने सबै अखबारमा सूचना प्रकाशित गरेको थियो। मुख्यमन्त्री माझीले बीपीलाई भारतीय स्वतन्त्रता सेनानी र नेपालका प्रसिद्ध लोकतान्त्रिक राजनेता भन्दै प्रतिमामा माल्यार्पण गरे। बीपीले पनि आफ्नो आत्मवृत्तान्त मा पटनामा एकदशक भन्दा बढी बसेको तथा प्रधानमन्त्री हुँदा बिहारबाटै भारतको पहिलो भ्रमण सुरुआत गरेको उल्लेख गरेका छन्। भारतीय स्वतन्त्रता संग्राममा महत्वपूर्ण मानिएको १९४२ को 'भारत छोडो आन्दोलन' को क्रममा उनी भारतीय नेता राजेन्द्रप्रसाद (प्रथम भारतीय राष्ट्रपति), श्रीकृष्ण सिंह (बिहारका पहिलो मुख्यमन्त्री) सँगै हजारीबाग र बाँकीपुर जेलमा बसेका थिए। २००७ सालको नेपाली कांग्रेसको आन्दोलनमा पनि उनले पटनालाई नै हेडक्वाटर बनाएका थिए। स्वनिर्वासन बस्दा पनि त्यहाँ उनको आवतजावत बाक्लो रह्यो। मेलमिलापको नीति लिएर नेपाल फर्किंदा बीपीलाई उनका मित्र तथा समाजवादी आन्दोलनका 'टावरिङ पर्सनालिटी' जयप्रकाशनारायणले त्यहींबाट बिदाइ गरेका थिए। बिहारका समाजवादी तथा अन्य धारका नेताहरू, साहित्यिक वृत्त तथा बौद्धिक जमातसँग बीपीको बाक्लो उठबस थियो।

बीपीको प्रतिमामा माल्यार्पण गर्दै बिहारका मुख्यमन्त्री जीतनराम माझी।

वीपीको जन्मशताब्दी समारोहमा जनसहभागिता जुटाउन बिहार सरकारले त्यही दिन पटनाका अखबारमा प्रकाशित सूचना।
जन्मशताब्दीको अवसरमा ऐतिहासिक पटना कलेजमा बीपी व्याख्यानमालाको पनि आयोजना गरिएको थियो, जसले प्रत्येक वर्ष निरन्तरता पाउने बताइएको छ। कलेजले पनि 'नेपाल अध्ययन केन्द्र' स्थापना गर्ने बताएको छ। नेपाल–भारत सम्बन्धमा महत्वपूर्ण मानिने 'बिहार फ्याक्टर' कै कारण 'बीपी' को जन्मशताब्दी कार्यक्रम मनाएको बिहार सरकारले बताएको छ। कार्यक्रमका सहभागीले पटना र काठमाडौंको दूरी घटाउन नागरिक सम्वादका कार्यक्रमहरू गर्नुपर्नेमा जोड दिएका थिए।

comments powered by Disqus

रमझम