२९ भदौ - ४ असोज २०७१ | 14 September 2014

काठ स्वास्थ्यवर्द्धक

Share:
  
घरलाई सुन्दर र स्वास्थ्यवर्द्धक बनाउन बढी काठ प्रयोग गर्नु उपयुक्त हुन्छ।

गाउँघरमा अहिले पनि कायम रहेको गोबर र माटोले घर पोत्ने परम्परा स्वास्थ्यवर्द्धक मानिन्छ। शहरमा यस्तो परम्परा हटे पनि घरलाई वातावरण–मैत्री बनाउने नयाँ उपाय खोजिंदैछ।

दिनभरिको कामको तनाव हटाउन आधा समय बिताइने घरलाई सुन्दर र स्वास्थ्य अनुकूल बनाउँदा मात्र मानिस तनावरहित बन्न सक्छ। त्यसैले, अचेल आफ्नो आम्दानी, बजार भाउ र स्वास्थ्यलाई विचार गरेर मानिसले घरलाई वातावरण–मैत्री बनाउन लागेका छन्। पहिले गोबर र माटोले घर लिप्ने गरिएकोमा पछि प्लास्टर गर्न थालियो, अहिले भुईंमा कार्पेट राख्न थालिएको छ। यही बीचमा मार्बल र पार्केटिङ गर्ने चलन पनि व्यापक बनेको छ।

तस्वीरहरुः देवकी बिष्ट

घर सुन्दर देखिए पनि मार्बल स्वास्थ्यवर्द्धक मानिंदैन। मार्बल चिसो हुने हुँदा लाखौं खर्च गरेर मार्बल ओछ्याएपछि पनि कार्पेट राखिन्छ। काठको पार्केटिङ गरिनु पनि घरलाई न्यानो र वातावरण–मैत्री बनाउन हो।

घरको भर्‍याङ, बैठक कोठा, अतिथि कोठा, सुत्ने कोठामा काठको पार्केटिङ गरेकी काठमाडौं महाराजगञ्जकी मोना प्रधान कुँवर काठ स्वास्थ्यमैत्री हुने बताउँछिन्। सात वर्षअघि साढे तीन आना जग्गामा घर बनाएकी मोनालाई गलैंचा र कार्पेटमा जम्मा हुने धूलोले एलर्जी हुने भएपछि काठ प्रयोग गर्न चिकित्सकले सुझाएका थिए। काठको बजार मुल्य बुझ्दा मार्बल भन्दा पार्केटिङ (सस्तो काठ) धेरै खर्च नलाग्ने भएपछि उनले घरको भुईंमा पार्केटिङ लगाएर झ्याल, ढोका र भर्‍याङमा राम्रो काठ प्रयोग गरिन्। साढे दुई तलाको उनको घरको धेरै भागमा काठ देखिन्छ भने मूल ढोका पनि परम्परागत बुट्टा हानिएको काठकै छ। यसले घरको सबै भाग आकर्षक बनाएको छ।

मोनाको घरको इन्टेरियर डिजाइन पनि उत्तिकै आकर्षक छ। सस्तो खोज्न काठ जस्तो देखिने कार्पेट, गलैंचा, मार्बल, आल्मुनियम प्रयोग गर्नेहरुलाई उनले गरेको प्रयोगले गल्ती गरेको महसूस गराउँछ। बजारमा सस्तो काठ पनि पाइने हुनाले महङ्गो होला भनी नतर्सिन उनी सबैलाई सुझाव दिन्छिन्। घरको बाहिरी प्यासेजमा मार्बल लगाएकी मोना काठ र मार्बलको मूल्य उस्तै पर्ने बताउँछिन्।

बूढाबूढी र बच्चाहरुलाई चिसो र गर्मीबाट बचाउन घरको कोठा र भर्‍याङमा पार्केटिङ उपयुक्त हुने उनको अनुभव छ। बच्चाबच्ची पहिले जस्तो खेल्न घर बाहिर नजाने हुनाले घरको भित्री भागलाई बच्चाको अनुकूल बनाउनुपर्ने उनी बताउँछिन्।

दक्षिण पूर्व फर्केको उनको घरको बाहिरी झ्यालमा आल्मुनियम स्लाइड प्रयोग गरिएको छ। धेरै घाम पर्ने भएकाले नखुइलिने, पटक―पटक रङ लगाउनु नपर्ने र नपसाङ्गिने आल्मुनियमको झ्याल प्रयोग गरिएको उनी बताउँछिन्।

प्रस्तुतिः मीना शर्मा

comments powered by Disqus

रमझम