पश्चिम झापाको दमकमा ब्याङ्कमा काम गर्ने २८ वर्षे एक युवक गोविन्दका पुराना ग्राहक हुन्। गोविन्दले डेढ वर्षअघि दमकमा कृत्रिम यौनाङ्गको पसल शुरू गरेको एक महीनामै उनले साढे चारहजार रुपैयाँमा एउटा महिला यौनाङ्ग किनेका थिए। शुरूमा रहरले किने पनि पछि त्यसमै बानी परेको धादिङ घर रहेका ती युवक बताउँछन्।
विभिन्न कारण जोडीसँग बस्न नपाएकाहरू बीच अहिले कृत्रिम यौनाङ्ग लोकप्रिय भइरहेको देखिन्छ। यो प्रयोग गर्दा यौनरोगबाट खतरा नहुने तथा जतिबेला पनि यौनेच्छा मेटाउन पाइने हुनाले पनि यसको लोकप्रियता बढेको पाइन्छ।
पाँच वर्ष दुबईमा काम गरी फर्केका गोविन्दले कृत्रिम यौनाङ्गको पसल शुरू गर्दा उनका आफन्त र चिनेजानेकाले छाडा व्यापार गरेको भने। तर पछि आलोचना गर्नेमध्ये कैयौंले उनीसँगै ती सामान किने।
गोविन्दको पसल कण्डम हाउसमा पाँचदेखि सात इञ्चसम्मका ब्याट्रीबाट चल्ने नर्मल, डबल, भाइब्रेटिङ, अपडाउन र रोटेड पुरुष लिङ्ग छन्। यसैगरी पुरुषका लागि फ्ल्याट, पट, फ्ल्यास र टु इनवान महिला यौनाङ्ग छन्। तर, धेरैजसो सामान ग्राहकले इच्छाएको ठाउँमा पुर्याइदिनुपर्ने भएकाले पाँचथरदेखि तेह्रथुमसम्म पुग्ने गरेको उनी बताउँछन्। उनले १६/१७ वर्षका किशोरकिशोरीदेखि ७० वर्षसम्मका वृद्धाले यौनाङ्ग किन्ने गरेको बताए।
माग फुलबडीको
रु.८ लाखको लगानीमा पसल खोलेका उनको पसलमा विभिन्न आकार र आयतनका कृत्रिम लिङ्ग, योनी, बास्नादार कण्डम, फमिडोम (महिलाले लगाउने कण्डम), सिलिकन रिङ जस्ता सामग्री छन्। बसपार्क नजिकैको उनको पसलबाट मासिक सरदर १५ वटा कृत्रिम योनी र २५/३० वटा कृत्रिम लिङ्ग बिक्री हुन्छ। ती सामग्री जुनसुकै सिजनमा बिक्री हुने तथा ग्राहकले दलाली नगर्ने उनको अनुभव छ। दैनिक सरदर पाँचहजार रुपैयाँका सामान बिक्री हुने र तीस प्रतिशत फाइदा बस्ने उनी बताउँछन्।
अहिले गोविन्द थाइल्याण्डबाट काठमाडौं हुँदै आउने सामानको नयाँ खेप पर्खिंदैछन्। यो खेपमा कृत्रिम यौनाङ्गसहित महिलाका कम्तीमा सात वटा डमी पुलबडी आउँदैछन्। तीन वटाको तेह्रथुम जिल्लामा अर्डर भइसकेको छ। पम्प लगाएर प्रयोग गरिने फुलबडीको मूल्य रु.२० हजार पर्छ।
गोपाल गडतौला, झापा
भूकम्प पीडितलाई अझै सास्ती
१ असोज २०६८ को साँझ् ६.२५ बजे ६.८ रीक्टर स्केलको भूकम्प गएको थियो। जसले, पाँचथर र ताप्लेजुङसहित इलाम, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरका १७ हजार बढी घर भत्काएको थियो भने विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी र मठ मन्दिर गरी अर्बाैंको क्षति भएको थियो।
त्यो बेला, राज्यले भूकम्प पीडितलाई घर निर्माण गर्न सहुलियत व्याजदरमा ऋण दिने लगायत दर्जन भन्दा धेरै कार्यक्रम सार्वजनिक गरेको थियो। तर हालसम्म ती कुनै कार्यक्रम कार्यान्वयन भएका छैनन्। त्यही कारण, अझ्ै कैयौं भूकम्प पीडित ओडार र त्रिपालमुनि बस्न बाध्य भएका छन्। पाँचथर नाँगीन–९ का अमृतबहादुर थाम्सुहाङको परिवार आँगनमा पाल टाँगेर बसेको छ भने ताप्लेजुङ खेजेनिम–३ का भक्तबहादुर खेजेनिमको परिवार जंगलको ओडारमा ओत लागेको छ।
भूकम्प पीडितलाई घर बनाउने ऋण दिन सबै जिल्लाका जिल्ला प्राविधिक कार्यालयहरूबाट पीडितसँग निवेदन पनि संकलन गरिएको थियो। पाँचथर, ताप्लेजुङ र इलाममा मात्रै पाँच हजार जनाले निवेदन दिएका थिए।
जिल्ला प्राविधिक कार्यालय पाँचथरका प्रमुख भानु वराल ६ महीनाभित्र ऋण प्रवाह गर्ने भनेकोमा एक वर्ष बित्दा पनि प्रक्रिया शुरू नभएको बताउँछन्। भूकम्पले भत्काएका विद्यालय भवन भने जिल्ला शिक्षा कार्यालय मार्फत आएको बजेटले मर्मत गरिएको छ।
लक्ष्मी गौतम, पाँचथर