९ वर्षअघि, २३ जेठ २०६२ मा चितवनको माडीको बाँदरमुढे खोलामा यात्रुले खचाखच भरिएको एउटा बसलाई माओवादीका कार्यकर्ताहरूले शक्तिशाली बमले विस्फोट गराउँदा ३८ को ज्यान गयो, ५२ जना घाइते भएको सरकारी आँकडा छ। तर, बाँदरमुढे स्मारकमा भने ३८ जना मृतक र ७५ जना घाइतेको नाम राखिएको छ।
छतमा समेत गरी करीब १३० जना यात्रु बोकेको सो बस बम विस्फोटमा परेपछि केही फीट माथि उछिट्टिएर थचारिएको थियो। अहिले बताइए अनुसार, सो बम झ्ण्डै ७० किलोग्राम तौलको थियो।। झ्ण्डै ३०० मीटर टाढासम्म खाल्टो खनेर रिमोट कन्ट्रोलको तार र बम राख्न चार/पाँच घण्टा लागेको थियो। यस काममा माओवादीका चितवन जिल्ला कमिटीका कार्यकर्ताहरू संलग्न थिए। उनीहरूको भनाइमा यो काम हेडक्वाटरकै आदेशमा भएको थियो। घटनामा परी ६ जना बालबालिकाले ज्यान गुमाए भने घाइते भएका ७ बालबालिकाले कठोर पीडा झेलिरहेका छन्।
बालबालिकामा गम्भीर असर
आमा मनकुमारी क्षेत्रीसँगै विस्फोटमा परेर बाँचेका आशिष क्षेत्री (१३) अहिले कक्षा ६ मा पढ्छन्। उनलाई अहिले पनि टाउको दुःखिरहन्छ भने पढ्न–सम्झ्न पनि गाह्रो हुन्छ। आशिषको टाउको वरिपरि रिङ लगाए जस्तो घाउको गहिरो खाटा छ। उनी भन्छन्, “पढ्न/सम्झ्न नसक्नुको कारण यही घाउ हो।”
त्यस दिन चितवन माडीकी मनकुमारी चारवर्षे छोरो आशिषलाई लिएर नारायणगढमा पाठेघरको उपचार गराउन माडी―नारायणगढ चल्ने ना १ ख ३२४५ नम्बरको यात्रुबसमा चढेकी थिइन्। सो बस बिहान करीब ८:३० बजेतिर बाँदरमुढे खोला तर्न लाग्दा बारुदी धरापमा पर्यो। त्यहाँ सख्त घाइते भएका उनीहरूलाई भरतपुरको पुरानो मेडिकल कलेज पुर्याइयो। त्यहाँ १२ दिनको सघन उपचारपछि मनकुमारीको होश खुल्यो भने आशिषको होश खुल्न १५ दिन लाग्यो।
मनकुमारी (४५) भन्छिन्, “म पनि बहिरी बनेकी छु, गर्धन चलाउन सक्तिनँ, ढाड सोझ्ो हुँदैन।” उनले उपचार खर्च रु.१२ हजार र न्यूनतम घाइते अपाङ्गको सूचीमा परेकोमा रु.४० हजार राहत पाइन्।
आशिषको नाम भने सरकारी सूचीमा ३९औं नम्बरको मृतकमा राखिएको छ। शान्ति तथा पुनर्निर्माण मन्त्रालयको वेबसाइटमा पनि उनको नाम मृतकको सूचीमै छ। त्यसैले आशिषले उपचार खर्च र घाइतेले पाउने राहत रकम पाएनन्। छात्रवृत्ति पनि निकै मुश्किलले उनले पाए।
आशिषलाई छात्रवृत्ति दिलाउन जिल्ला प्रशासन कार्यालय चितवनले ६ पुस २०६४ मा शान्ति तथा पुनर्निर्माण मन्त्रालयलाई पत्र लेखेको थियो। तर, उनको नाम मृतकको सूचीमा रहेको बताएर मन्त्रालयले छात्रवृत्ति दिएन। १४ असार २०६९ मा स्थानीय शान्ति समितिले चितवन जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखे पनि केही भएन। लामो प्रयासपछि मन्त्रालयले वार्षिक रु.३४ हजार छात्रवृत्ति दिए पनि उनको नाम अझ्ै मृतककै सूचीमा छ। मनकुमारी भने राम्रो उपचार नहुँदासम्म छात्रवृत्ति पाए पनि छोराले पढ्न नसक्ने बताउँछिन्।
११ महीनाकी छोरी सुस्मितासहित बाँदरमुढे घटनामा परेकी अयोध्यापुरी गणेशगञ्जकी विष्णुमाया विकको भरतपुर अस्पतालमा होश खुल्दा दाहिने खुट्टा भाँचिएको, टाउको फुटेको र दाँत झ्रेको थियोभने छोरीको पनि घुँडा खुस्किएको थियो। श्रीमती र छोरी गम्भीर घाइते भएपछि चन्द्रबहादुरको मानसिक सन्तुलन गुम्यो। त्यसपछि छोरी र पतिको उपचार गर्ने जिम्मेवारी घाइते विष्णुमायाको काँधमा आइलाग्यो। त्यसमाथि, पतिले कान्छो छोरो मनिषको टाउको फुटाइदिए। उनी भन्छिन्, “कसैको उपचार गर्न सकेकी छैन। बाँच्न मुश्किल भएको छ।”
उनले रु.४० हजार राहत पाइन्तर छोरीलाई राहत तथा उपचार खर्च दिइएन। आर्थिक समस्या बढेपछि टाउको दुख्ने, मानिस नचिन्ने जस्ता समस्या आएको बताउने उनी ती समस्या राख्दा डाक्टरले मानसिक रोगको औषधि दिएको बताउँछिन्। तर, ब्लडप्रेसर बढेपछि उनले ती औषधि खान छाडिन्।
बाँदरमुढे घटनामा पाँच महीनाकी छोरीसहित परेकी खैरहनीकी लक्ष्मी पौडेलको ढाड भाँचियो भने छोरी बालुवामा पुरिइन्। सँगै रहेकी हजुरआमा गोमाको टाउको फुट्यो। अहिले ९ वर्ष पुगेकी प्रसिद्धी तनहुँको वाराही बोर्डिङमा ४ कक्षामा पढ्छिन्। बुबा प्रेमका अनुसार छोरी तर्सिरहने, पढ्न नसक्ने तथा त्यो बेला खुट्टामा चोट लागेकाले राम्रोसँग हिंड्न नसक्ने बताउँछन्। तर, प्रसिद्धी र आमा लक्ष्मीको नाम राहत पाउनेको सूचीमा छैन।
पीडित मानसिक ट्रमामा
माडी कल्याणपुरका वृद्ध नमप्रसाद घिमिरे गुमेको परिवार सम्झ्ेर अझ्ै टोलाउँछन्। घटनामा उनका दुई भाइ लक्ष्मीकान्त र पशुपतिनाथ अपाङ्ग भए भने छोरा विष्णु, छोरी र ज्वाईं, दुई नातिनी र सालीले ज्यान गुमाए। उनकी पत्नी खिमामाया (६२) मा पनि यही कारण मानसिक असन्तुलन देखा पर्ने गरेको छ।
माडी अयोध्यापुरी–६ बाह्रघरेका तिलबहादुर प्रजाकी बहिनी मीना र बुबा फुर्के पनि माडी विस्फोटमा परेका थिए। छतमा रहेका तिलबहादुर बम पड्केपछि उछिट्टिएर पुलमुनि पुगे। उनको ढाड खुस्कियो भने बुबा र बहिनीको घटनास्थलमै मृत्यु भयो। ज्वाईंको आन्द्राभुँडी निस्किएको त्यो घटना सम्झ्ँदा अहिले पनि मुटु फुल्ने र सास रोकिए जस्तो हुने उनी बताउँछन्।
अयोध्यापुरी–७ की सीता सुवेदी पति आत्मराम र छोरी अञ्जलीसहित सो घटनामा परेकी थिइन्। पति र छोरीको मृत्यु भयो भने उनी घाइते भइन्। २३ जेठ २०७१ मा बाँदरमुढे घटनाको १०औं वार्षिकीको दिन घटनास्थलमा भेटिएकी सीताले भनिन्, “बाँदरमुढे खोलामा आउँदा मेरो मुटु काँप्छ। परिवार सम्झेर होश हराए जस्तो हुन्छु।” २१ साउन २०६९ मा द्वन्द्व पीडित भनेर प्रमाणित भए पनि उनले अझ्ै उपचार खर्च तथा राहत पाएकी छैनन्।
बुहारी रेनु र नाति आशिष त्यही घटनामा गुमाएका भरतपुर–५ लंकुका ७६ वर्षीय वृद्धा मानबहादुर बराइलीले उनीहरूको नाममा डेढ/डेढ लाख रुपैयाँ राहत पाएको बताए। तर, त्यही घटनाका अर्का घाइते नाति विवेकको उपचार खर्च भने उनले पाएका छैनन्। त्यही पीरले उनका छोरा प्रेम घर छाडेर विदेश हिंडे। मृतक र घाइतेको नाममा पाउने राहत लिन आएका उनी पाँच महीना लगाएर सबै कागज बुझाउँदा पनि घाइतेको राहत नपाएपछि फेरि विदेश लागेको मानबहादुरको भनाइ छ।
बाँदरमुढे घटनामा परेका कल्याणपुर–४ का ईश्वरीप्रसाद पौडेल दम्पतीले पनि राहत पाएका छैनन्। जिल्ला प्रशासनले कागज बनाउनुको साटो नक्कली द्वन्द्वपीडित भनेर दुःख दिएको तथा सिडिओ गणेशराज कार्कीले पछि भूलचुक भएको भने पनि अहिले फाइल नै हरायो भनिएको उनी बताउँछन्। पौडेलले जिल्ला प्रशासनमा २०६२ सालमा पहिलो र ११ जेठ २०६५ मा थप प्रमाणसहित दोस्रो फाइल पेश गरेका थिए। ती फाइल हराएपछि २०६६/६७ मा उनले स्थानीय शान्ति समिति मार्फत त्यहीं तेस्रो फाइल पेश गरे। उनी भन्छन्, “३१ साउन २०६९ मा प्रमाण पुर्याएर पेश गरेको फाइलका १४ प्रमाणमध्ये ११ प्रमाण प्रशासनबाटै हरायो।” त्यसपछि, २३ माघ २०६९ मा चितवन प्रशासनले फाइल मन्त्रालय पठाएको बताउँदै त्यहीं जानू भनेर १०/६१० को चलानी नम्बर दियो। त्यो लिएर ९ माघ २०७० मा मन्त्रालय पुग्दा मन्त्रालयका कर्मचारी मानप्रसाद श्रेष्ठले उक्त नम्बरको कुनै फाइल नआएको बताएको उनको भनाइ छ। ती सबै प्रक्रियामा लाग्दा रु.३० हजारभन्दा बढी खर्च भएको उनी बताउँछन्। यस्तो हैरानी खेपेका उनलाई ११ असार २०६९ मा चितवनको भरतपुर अस्पतालमा जँचाउँदा डा. महेन्द्रराज न्यौपानेले 'पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर' को औषधि दिए। यो मानसिक रोग हो।
उक्त घटनामा परेका माडी कल्याणपुर–५, कीर्तनपुर देवीकोटका पूर्णबहादुर घर्ती जिसी (५४) लाई अस्पतालमा ९ दिन बसेपछि मात्र होश आएको थियो। उनको करङ तीन ठाउँमा भाँचिएर भित्र रगत जमेको तथा गोलीगाँठो फुटेको थियो। सरकारबाट राहत नपाएका उनी उपचार गराउन साढे १० कट्ठा जग्गा बेच्नुपरेको तथा रु.३ लाख जति खर्च भएको बताउँछन्।
उनकी पत्नी बुद्धि सो घटना हुँदा १२ कक्षाको जाँच दिएकी जेठी छोरी सम्झ्नालाई आर्थिक अभावका कारण थप पढाउन नसकेको तथा ठूलो छोरा अशोकले पनि बीएपछि पढाइ छाडेको बताउँछिन्।
खाटाभित्रको पीडा
अयोध्यापुरी–२ देवेन्द्रपुरका लेखनाथ अधिकारी 'कृष्ण' बाँदरमुढे घटना पीडित समितिका उपाध्यक्ष हुन्। बम विस्फोटमा परेका उनी भोलिपल्ट बिहान होशमा आउँदा सैनिक अस्पताल छाउनीमा थिए। ढाड र दुवै खुट्टा भाँचिएका उनी २४ दिन त्यहाँ बसे। ९ महीना बेडरेष्ट, डेढ वर्ष ह्वीलचेयर, चार वर्ष बैसाखीमा बिताएका उनको उपचारमा रु.६ लाख खर्च भए पनि सरकारले उपचार खर्च दिएन। उनी मुश्किलले हिंडडुल गर्न सके पनि काम गर्न सक्दैनन्। उनी भन्छन्, “सुत्ने बेला सास फेर्न गाह्रो हुन्छ। देव्रे गोलीगाँठोमा राखिएको स्टीलले दुखाउँछ। केही उठेको छातीको देव्रे करङ सधैं दुखिरहन्छ।” औषधि खाँदाखाँदा आमाशय बिग्रिएको पनि उनी बताउँछन्।
शान्ति समितिका अनुसार बाँदरमुढे स्मारकमा नाम खोपिएका घाइतेमध्ये ४५ जनाले कुनै राहत पाएका छैनन्। मृतकमध्ये चितवन घर भएका दुई जनाका परिवारले तोकिए अनुसार राहत पाएनन् भने दुई जनाले राहत लिए/नलिएको रेकर्ड छैन।
आत्महत्यासम्म...
बाँदरमुढे विस्फोटमा परेकाको उद्धार गर्ने क्रममा अयोध्यापुरी–२ का गंगाबहादुर गुरुङको टाउकोमा चोट लाग्यो। सामान्य चोट होला भनेर उपचार नगराएका उनमा डेढ वर्षपछि मानसिक समस्या देखिन थाल्यो। त्यसको केही समयपछि त दिमागी सन्तुलन नै गुमाए। त्यस्तो बेला बुबाको मृत्यु भएपछि धादिङको बसेरीमा काजक्रिया गर्न जाँदा कात्तिक २०६४ मा गण्डकीमा हामफालेर मृत्यु भएको उनकी पत्नी श्रीमाया गुरुङ बताउँछिन्। गंगाबहादुरकी वृद्धा आमा लालश्री भन्छिन्, “बाँदरमुढे भन्दाभन्दै छोरो बहुलायो र गण्डकीमा हामफाल्यो। बाँदरमुढेले कतिलाई अझ्ै के के गर्ने हो।”
बाँदरमुढे घटना पीडित समितिका उपाध्यक्ष 'कृष्ण' भन्छन्, “पीडितलाई सरकारले उचित ध्यान दिनुपर्छ। त्यसो भएमा मात्र द्वन्द्वको पीडालाई मत्थर पार्न सजिलो पर्छ। तर समय घर्किंदै जाँदा पीडा बल्झ्ँदै जान सक्छ।”
(खोज पत्रकारिता केन्द्र)