रेग्मीले १९५८ सालदेखि प्रकाशन शुरू भएको गोरखापत्र को १९७२ देखिका अङ्क संकलन र अध्ययन गरेका छन्। यस्तै अन्वेषणका लागि उनले मदन पुरस्कार गुठीले प्रदान गर्ने २०७० को जगदम्बाश्री पुरस्कार पाएका छन्। 'नेपाली साहित्यिक पत्रपत्रिकाको गम्भीर अन्वेषण, पत्रपत्रिकाको विशिष्ट संकलन, तिनको समीक्षा, समालोचना तथा लेखन गरी नेपाली भाषाको अविरल रूपमा सेवा गरिरहेबापत' उनलाई पुरस्कृत गरिएको गुठीले जनाएको छ। रेग्मीले हिमाल सँग भने, “कतै प्रचार नगरी बन्द कोठामा गरेको तपस्या कसलाई मतलब होला जस्तो लाग्थ्यो, तर मदन पुरस्कार गुठीले हेरेको रहेछ, खुशी छु।”
अन्वेषक रेग्मी यसअघि प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार, गोमा सम्मान, भवदेव पन्त पुरस्कार, हृदयचन्द्रसिंह प्रधान सम्मान आदिबाट पुरस्कृत/सम्मानित भइसकेका छन्। उनले बनाएको प्रकाशकसँग समेत नभएका पत्रपत्रिकाको पुस्तकालय नेपाली साहित्यका विद्यार्थीका लागि अध्ययनको आधिकारिक ठाउँ बनेको छ।
कविताको आलोचनात्मक समीक्षा लेख्दा सम्बन्धित कविले चित्त दुखाएपछि मृत्यु भइसकेकाहरूको रचना संकलन र अन्वेषणमा लागेका रेग्मी नेपालमा जे देख्यो, त्यो लेख्दा चित्त दुखाउने चलन अझै रहेको बताउँछन्। त्यस क्रममा नेपाली साहित्यिक पत्रिकाको पूरै इतिहास खोज्न भ्याएको बताउँदै उनी भन्छन्, “स्वार्थरहित स्वस्थ आलोचना सुन्न नचाहने प्रवृत्तिले वाङ्मयको गुणात्मक विकासमा असर पुर्याउँछ।”
निर्वाचन आयोगको उपसचिवबाट रिटायर्ड भएपछि 'फूल टाइम' साहित्यिक अन्वेषक बनेका हुन्, रेग्मी। नेपाल प्रेस इन्स्टिच्युटमा करीब २० वर्ष नेपाली पत्रकारिताको इतिहास पढाएका उनले २०६३ मा प्रकाशन बन्द भइसकेका ३९ साहित्यिक पत्रिकाका पूरै सेट समेटेर 'अतीतका पाना' प्रकाशन गरे। २०६९ मा त्यस्तै प्रकृतिको अर्को संग्रह 'खोजीनिती' प्रकाशन गरेका रेग्मीले त्यसको दोस्रो भाग निकाल्ने प्रकाशक पाएका छैनन्। “म प्रकाशक खोज्न जाँदिन, छाप्छु भन्दै कोही आउँदैनन्”, उनी भन्छन्, “यस्ता किताब बिक्न पनि छाडे।” प्रकाशकको समस्या यो वर्षको मदन पुरस्कार विजेता राधा पौडेल (४१) लाई पनि परेको थियो। उनको पुरस्कृत कृति 'खलङ्गामा हमला' ले १० वर्षपछि मात्र प्रकाशक पाएको थियो। २८ कात्तिक २०५९ मा माओवादीले जुम्ला सदरमुकाममा हमला गर्दा जागीरको सिलसिलामा त्यहीं रहेकी चितवनकी राधाको कोठामा पनि गोली बर्सिए। उनी जसोतसो बाँचिन्, तर दिउँसो सँगै बैठकमा बसेका प्रमुख जिल्ला अधिकारी दामोदर पन्त र जिल्ला प्रहरी प्रमुख विजय घिमिरे लगायत दर्जनौं मानिस मारिए। त्यो घटनाबाट विह्वल भएकी उनको मनमा अनाहकमा किन मान्छे मारिन्छ? किन युद्ध भइरहेको छ? भन्ने प्रश्नहरू खेल्न थाले। राधा भन्छिन्, “म साक्षी बनेको त्यो घटना काठमाडौंलाई सुनाउनुपर्छ भनेर किताब लेखें।”
उनले किताब त लेखिन्, तर प्रकाशक भेटिनन्। करीब एक दशकपछि मात्र नेपालयले उनको किताब छापेको थियो। गैर–सरकारी संस्था 'एक्सन वर्क' खोलेर सामाजिक सेवामा लागेकी राधाले पुस्तकको रोयल्टी जुम्लाको बोहरागाउँमा शान्ति बाटिका निर्माणमा लगाइरहेकी छिन्।
