कस्मोपोलिटन काठमाडौं

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
दशक लामो सशस्त्र द्वन्द्व र त्यसपछिको चरम राजनीतिक अस्तव्यस्ततामा पनि दक्षिण एशियाको सांस्कृतिक केन्द्र बनेको काठमाडौं क्रमशः "कस्मोपोलिटन सिटी" बन्दैछ।
p38
 
साँझमा ठमेल।

काठमाडौंमा ६ वटै महादेशका मानिसहरू आउजाउ गर्छन्। पर्यटकीय केन्द्र र होटल–रेष्टुरेण्टमा मात्र हैन सांस्कृतिक तथा सार्वजनिक स्थलमा समेत फरक देश, फरक भाषा र फरक रंगका विदेशीहरू रमाइरहेका देखिन्छन्। समुद्र सतहबाट १२६६ देखि १४०० मिटरको उचाइमा अवस्थित सुन्दर काठमाडौं उपत्यका संसारभरका खानेकुरादेखि कला, संगीत र साहित्यको संगम बन्दैछ। विश्वभरका मानिसको आवागमन, जमघट, बसोबास र क्रियाशीलताले काठमाडौंलाई दक्षिण एशियाको 'कस्मोपोलिटन सिटी' (विश्वनगर) बनाउँदैछ, सांस्कृतिक पुनर्जागरणका साथ।  

किरातकालदेखि व्यवस्थित बसोबास हुनथालेको मानिने काठमाडौंमा अहिले विश्वका ८० भन्दा बढी देशका मानिस भ्रमण, अध्ययन, अनुसन्धान, व्यापार–व्यवसाय र सभा–सेमिनारका लागि आउँछन्। दक्षिण एशियाका अधिकांश अन्तरदेशीय छलफल, सेमिनार र ठूला जमघट काठमाडौंमै हुने गरेका छन्। समाजशास्त्री डा. डिल्लीराम दाहाल काठमाडौंमा भएको इतिहास, कला, जाति, भाषा र भौगोलिक विविधताका कारण यो शहर दक्षिण एशियामा सदियौंदेखि अलग पहिचानका साथ स्थापित भएको बताउँछन्। 
 
यो मंसीर र पुसमा पनि काठमाडौंमा कला र संस्कृति सम्बन्धी तीन वटा अन्तर्राष्ट्रिय महोत्सव हुँदैछन्― काठमाडौं माउण्टेन फिल्म फेस्टिभल (किम्फ), काठमाडौं इण्टरनेशनल आर्ट फेस्टिभल र काठमाडौं अन्तर्राष्ट्रिय नाटक महोत्सव। हिमाल एसोसिएसनले २२–२६ मंसीरमा आयोजना गर्न लागेको फिल्म फेस्टिभलमा २८ देशका ५२ फिल्म प्रदर्शन हुनेछन्। १० मंसीर–६ पुसमा सिद्धार्थ आर्टस् फाउण्डेशनले आयोजना गर्न लागेको आर्ट फेस्टिभलमा ३१ देशका ९५ चित्रकारका सिर्जना प्रदर्शन हुनेछन्। यसैगरी, आरोहण गुरुकुलले ८–२२ मंसीरमा गर्ने नाटक महोत्सवमा १० देशका नाटक प्रदर्शन र सेमिनार हुँदैछ। 
 
p39
 
टाटु महोत्सव–२०१२।
अनलाइन तस्वीर

यसअघि काठमाडौंमै १६–२२ कात्तिकमा सम्पन्न ज्याजमाण्डु २०१२ मा अमेरिका, नर्वे, थाइल्याण्ड, फ्रान्स, स्वीट्जरल्याण्ड र नेपालका कलाकार एउटै मञ्चमा प्रस्तुत भएका थिएभने ९ भदौमा भएको इण्टरनेशनल मेटल म्युजिक फिएस्टा मा अमेरिका, भारत, सिंगापुर र नेपालका नौ वटा सांगीतिक समूहले भाग लिएका थिए। १५–१७ वैशाखमा विभिन्न देशका ७० जना टाटु आर्टिष्ट, अन्तर्राष्ट्रिय ट्याटु महोत्सव २०१२ का लागि काठमाडौंमा भेला भएका थिए भने गत चैत २०६८ मा १३६ देशका ६०० एयर ट्राफिक कण्ट्रोलरहरूको अन्तर्राष्ट्रिय सम्मेलनको लागि पनि काठमाडौं नै रोजिएको थियो। 

चलायमान शहर 
सय–डेढसय वर्षदेखि अन्य मुलुकका मानिस आउने गरे पनि २००७ सालअघिसम्म काठमाडौं बाहिरी संसारका लागि खासै खुल्ला भएको थिएन। तर, अहिले यो शहरमा हरेक साताजसो विकास, वातावरण, स्वास्थ्य, शिक्षा, सञ्चार र जैविक विविधतादेखि कूटनीतिसम्मका अन्तर्राष्ट्रिय सभा–सेमिनार र छलफल भइरहेका हुन्छन्। कार्यक्रमकै लागि वर्षेनि करीब ५० हजार विदेशी काठमाडौं भित्रिने गरेको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाउँछ। यस्ता कार्यक्रमको आयोजनाले विश्वभरका मानिसलाई काठमाडौंको सौन्दर्य र संस्कृति आत्मसात् गर्ने अवसर सिर्जना गरेका छन्।  
 
इराक, अफगानिस्तानदेखि खाडी देश र सिरियासम्मको अशान्त वातावरण तथा युएई, सिंगापुर, मलेशिया लगायतका देशमा धार्मिक र अन्य कडाइले काठमाडौंलाई जीवन्त हुने अवसर दिएको समाजशास्त्री डा. डिल्लीराम दाहाल बताउँछन्। भारत–पाकिस्तानबीचको चिसो सम्बन्धका कारण सार्क मुलुकका कुनै भेला गर्नुपरे पहिलो रोजाइ काठमाडौं नै हुन्छ। समाजशास्त्री दाहाल भन्छन्, “अहिले त काठमाडौं धेरै विदेशीका लागि अध्ययन–अनुसन्धानको थलोका रूपमा समेत विकसित भएको छ।”  
 
p39a
 
१८ कात्तिकमा गोकर्ण फरेष्ट रिसोर्टमा भएको
अन्तर्राष्ट्रिय ज्याज फेष्टिभल 'ज्याजमाण्डू'
मा प्रस्तुति दिंदै थाइल्याण्डको
रुटम्यान व्याण्ड ।

अध्ययन, आवास–अपार्टमेन्ट, होटल–रिसोर्ट र खानेकुरा दिल्ली, कराँची वा ढाकाको भन्दा सस्ता छन्; काठमाडौंमा। अतिथिप्रेमी मानिस र ऐतिहासिक कला–संस्कृतिले पूर्ण यो शहरले हिमाल आरोहण–पदयात्रा, र्‍याफ्टिङ, जंगल सफारी आदिलाई पनि नजिक र सहज बनाउँछ। पछिल्लो समयमा बनेका ठूला अपार्टमेण्ट, मल्टीप्लेक्स र डिपार्टमेण्टल स्टोरहरूले काठमाडौंलाई अझ् चलायमान बनाइदिएका छन्। यति हुँदाहुँदै पनि राजनीतिक अस्थिरता, सरकारी उदासीनता, विकास निर्माणमा हुने भ्रष्टाचार आदिले काठमाडौंलाई उन्मुक्त भएर पँखेटा फिंजाउन दिएका छैनन्।  

 
लिच्छवि, मल्ल, राणा, शाह सबै शासकले केन्द्र बनाएको काठमाडौं वास्तुकलामा दक्षिण एशियामा अग्रणी छ। अरनिकोले चीन पुर्‍याएको नेपाली कला अहिले युरोप–अमेरिकासम्म फैलिएको छ। सन् १९५३ मा एडमण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहण गरेपछि विश्वभर नेपालको प्रचार भयो। सन् १९७० पछि काठमाडौंलाई हिप्पी संस्कृतिले नामूद बनायो। २०२९ सालमा समाज कल्याण परिषद्को गठनपछि काठमाडौंलाई संसारभरका मानिसको जमघटको थलो बनाउँदै नेपालमा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरू भित्रिन शुरू गरे भने २०४६ को उदार राजनीतिक परिवर्तन एवं खुला अर्थनीतिपछि द्विपक्षीय–बहुराष्ट्रिय र अन्तर्राष्ट्रिय आयोजना, परियोजना, व्यापार–व्यवसायले समेत व्यापकता पाए।  
 
२०५२ मा माओवादीले हिंसात्मक द्वन्द्व मच्चाउँदा पनि काठमाडौंभित्र नहराएको बहुराष्ट्रिय सांस्कृतिक माहोल शान्ति प्रक्रिया शुरू भएपछि ह्वात्तै बढ्यो। कुनै समय हिप्पीको गाँजामा मस्त काठमाडौं अहिले जागृत छ र लोकदोहोरीदेखि हिपप्सम्मको संगीतमा झुमेर ताजा हुन्छ। ४० लाखभन्दा बढी जनसंख्या रहेको काठमाडौंमा वर्षेनि सरदर सात लाख पर्यटक भित्रिन्छन्। यहाँ आवासीय विदेशीको संख्या नै करीब एक लाख पुगेको छ। विश्वभरका परिकार पाइने यो शहरमा ज्याज, पप, हिपप्देखि हेब्बी मेटल र अण्डरग्राउण्ड म्युजिकका श्रोता–दर्शक बढेका छन्। ब्रायन एडम्स लगायतका विश्व प्रसिद्ध गायकहरू लाइभ कन्सर्टका लागि काठमाडौं आउन थालेका छन्।  
  
p39b
 
७ फागुन २०६७ मा काठमाडौंको
दशरथ रंगशालामा ब्रायन
एडम्स । तस्वीर:विक्रम राई

उत्साही पहल 

नेपाली समाजबारे कलम चलाउँदै आएका चिकित्सक सरोज धिताल हिंसात्मक आन्दोलन र परम्परागत राजनीतिबाट अपेक्षा अनुरुप परिवर्तन नहुनेमा विश्वस्त बुद्धिजीवीहरूको आलोचक समूहले काठमाडौंको गतिशीलतालाई आफ्नै तरिकाले अगाडि बढाइरहेको बताउँछन्। “बढ्दो विश्वव्यापीकरण, संसारभरका मान्छेसँग सम्पर्क र सञ्चार–मिडियाको वृद्धिका कारण नयाँ पुस्तामा हामीले पनि दुनियाँलाई भेट्नुछ, अघि बढ्नुछ भन्ने चेत अभूतपूर्व रूपमा बढेको छ”, डा. धिताल भन्छन्, “२०२० को दशकमा नेपाली कला–साहित्यमा उभार देखिएको थियो। अहिलेको छाल त्योभन्दा धेरै माथि छ।” 
 
काठमाडौंमा हुने कला, फिल्म, संगीत र साहित्यका अन्तर्राष्ट्रिय महोत्सवमा सरकारको एकरत्ति लगानी छैन, सबै निजी क्षेत्रका उत्साही व्यक्ति र समूहले गरिआएका हुन्। काठमाडौंको कला–संस्कृतिमाथि वृत्तचित्र बनाउँदै आएका पत्रकार शेखर खरेल शहरमा भइरहेका फिल्म, साहित्य, कला लगायतका अन्तर्राष्ट्रिय महोत्सवले नेपालको छविलाई विश्वसामु उज्ज्वल बनाउँदै लगेको बताउँछन्। काठमाडौंको यो तरंगमा सरकारी योजना र सहयोग थपिए सुनमाथि सुगन्ध हुने विश्वास खरेलको छ। डा. धिताल भने काठमाडौंमा जीवनको सौन्दर्यचेत बढिसके पनि सरकार अझ्ै जड अवस्थामा रहेको बताउँछन्। उनी भन्छन्, “सरकार र राजनीतिक दलहरूको मानसिकता अझ्ै काठमाडौंको गति सुहाउँदो छैन।” 
 
तर, 'तिनीहरू त त्यस्तै भए, हामी केही गरौं' भन्ने शक्तिशाली जमात पनि खडा भएको देख्छन्, डा. धिताल। विश्वबजार ताक्ने यो जमातले अहिले नेपाली कला, साहित्य, संगीत र संस्कृति जस्ता क्षेत्रमा पुनर्जागरण ल्याएको छ। दुई–दुई वर्षमा काठमाडौंमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव गर्दै आएको आरोहण गुरुकुलका सुनिल पोखरेल सरकारले केही गर्ला भनेर कुर्दा केही नहुने भएकोले सबै आ–आफ्नो ठाउँबाट सक्रिय हुनुपर्ने बताउँछन्। विश्वका सुसंस्कृत शहरका कला गतिविधि नियालेर तीन वर्षअघि सिद्धार्थ फाउण्डेशन स्थापना गरेकी सिद्धार्थ आर्ट ग्यालरीकी क्युरेटर संगीता थापा सरकारले कहिल्यै सहयोग नगरेको र आशा पनि नगरेको बताउँछिन्। थापा भन्छिन्, “नेपाल समकालीन विश्व कलाको एउटा केन्द्र हुनसक्छ, हामी त्यो चाहन्छौं।” 
 
p40
 
काठमाडौंको हनुमानढोका। ।
तस्वीर: मीनरत्न बज्राचार्य

हरेक वर्ष डिसेम्बर दोस्रो साता किम्फ आयोजना गर्ने हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापा सडकमा हिंड्दा धेरै किसिमका विदेशी भाषा सुन्न सकिने, धेरै स्थानमा अंग्रेजी चलनचल्ती भइसकेको र इस्लामावाद, दिल्लीमा भन्दा बढी फेस्टिभलहरू हुने जस्ता कुराले काठमाडौंमा कस्मोपोलिटन सिटीको गुण भरिरहेका बताउँछन्। “सडक, यातायात, ट्राफिक, सरसफाईदेखि अन्य धेरै भौतिक–अभौतिक अव्यवस्थाले भने काठमाडौंलाई थिचेको थिचेकै छ”, थापा भन्छन्, “त्यसबाट मुक्त हुन यो शहरलाई सघाउने यहाँका सुसंस्कृत नागरिकले नै हो।” 

नागरिक तहकै पहलबाट काठमाडौंले विश्वको ध्यान तानिरहेको हो। यसमा सबैको होष्टेमा हैंसेको दरकार छ। सरकारले काठमाडौं विमानस्थलमा घण्टौं लाइनमा बस्नुपर्ने अव्यवस्था लगायत अध्यागमन काउण्टरका रुखा कर्मचारी, विदेशीहरूसँग अभद्र ढंगले पेश हुने ट्याक्सी चालक, शौचालय आदि पक्षमा सुधार गरिदिंदा पनि ठूलै काम हुन्छ। त्यसपछि सडकमा ट्राफिक लाइट, सवारी अनुशासन, थोत्रा सवारी साधनको विस्थापन र सफाई अभियान चलाइदिंदा धेरै सहयोग हुन्छ, जुन कुनै पनि सुसंस्कृत शहरका आधारभूत कुरा हुन्।

 

comments powered by Disqus

रमझम