१२-२५ असोज २०७१ | 28 September 2014

सञ्जाल र जञ्जाल

Share:
  
- केदार शर्मा
नातावाद भन्ने शब्द आफैंमा बद्नाम भइसकेको भए पनि निर्वाहमुखी खेती मुलुकको अर्थतन्त्रको आधार भएजस्तै नातागोताको सञ्जाल हाम्रो सबभन्दा ठूलो सामाजिक शक्ति बनेको छ।

चारजना छोरी, चारजना आमाः बायाँछेउकी हजुरआमाकी छोरी, नातिनी, पनातिनी र जनातिनी। काखमा हाम्री छोरी (२०४७)।
“आकाशमा तारा कसरी अडिएका हुन्छन्?” अदम्य उत्सुकताको एउटा मिर्मिरे बिहानीमा मैले बालाई सोधेथें।

त्यसबेला लाग्थ्यो, आकाशमा नअडिने हो भने ती सबै पृथ्वीमा र्झ्छन् र हामीलाई किच्छन्।

बाले त्यसदिन मलाई पृथ्वीको गुरुत्वाकर्षण शक्ति बुझाउँदै भन्नुभएको थियो, “आकाशका ताराहरूमा पनि पृथ्वीमा जस्तै अरू कुरालाई आफूतिर आकर्षण गर्ने शक्ति हुन्छ र तिनीहरूले एकअर्कालाई तानिरहेका हुन्छन्। तर सबैतिरबाट तानिएकाले तिनीहरू आफ्नै ठाउँमा अडिइरहन्छन्।” अनि दुइटा धागाले एउटा पातलाई बाँधेर, दुईतिरबाट तान्दा त्यो पात बीचमै अडिएको देखाएर भन्नुभएको थियो, “ताराहरू पनि यसरी नै अडेका हुन्छन्। यो धागो चाहिं देखियो, गुरुत्वाकर्षण शक्ति चाहिं देखिंदैन।”

त्यसैदिन मैले ती तारा एकअर्काबाट कल्पना गर्न सक्ने दूरीभन्दा टाढा टाढा छन्भन्ने पनि बुझे।

त्यसको झ्ण्डै चार दशकपछि, लामो प्रवासपछि फर्केकी छोरीले पोहोरसाल सोधी, “द्वन्द्वका बेला त समाज फेरि पहिले जस्तो हुँदैन होला जस्तो लाग्थ्यो, तर धेरै कुरा पहिले जस्तै भइसकेछन्। कसरी सम्भव भयो बाबा?”

मैले मेरा बाले तारा अडिएको कुरा अर्थ्याउनुभएको सम्झिएँ। मलाई हाम्रो समाज पनि आकाश जस्तै लाग्यो अनि हामी तारा जस्ता। अनि भनें, “हाम्रो समाजलाई निकै ठूला सङ्कटहरूमा पनि अड्याउने दुई वटा शक्ति देखेको छु मैले। पहिलो हाम्रो सानो कृषि प्रणालीको टेवा र दोस्रो, हाम्रो नातागोताको आडभरोसा!”

हो, अर्थशास्त्रीहरूले जेनतेन गुजारा चल्ने (सब्सिस्टेन्स) खेती भन्ने गरेको सानो र विविधतायुक्त कृषि प्रणाली हाम्रो अर्थतन्त्रको आधार हो र “उहाँ मेरो फलानाको फलानाको फलानो” भन्ने खालको नातागोताको सञ्जाल हाम्रो सबभन्दा ठूलो सामाजिक शक्ति हो। यी दुइटा कुरालाई समय सुहाउँदो बनाउन सके मात्र हामी आर्थिक र सामाजिक रूपमा शक्तिशाली हुनेछौं।

त्यसैले हर्ष र सद्भावको महापर्व दशैंमा नातागोताको शक्तिका बारेमा कुरा गर्नु नै पो शक्तिस्वरूपा भगवतीको साँचो आराधना हुन्छ कि?

हाँगा–हाँगा, पात–पात

भर्खर भर्खर नेपाल आएका पश्चिमाहरू नेपालीहरूको नातागोताको विस्तार देखेर छक्क पर्छन्। मुखले त तारीफ गरे झैं गर्छन् तर उनीहरूका अनुहारमा भने गहिरो अलमलको भाव देखिन्छ। मानौं उनीहरू सोचिरहेका छन्, यतिका नातागोता छिचोल्दा छिचोल्दै काम गर्न नभ्याएर त कतै नेपाली गरीब भएका होइनन्?

गएको वैशाखमा एकजना काकाले 'गोठको धूप' मा खीर खाने निम्तो गर्नुभयो। साथमा रहेका विदेशी पाहुनाहरूलाई समेत लिएर हामी त्यहाँ गयौं। हाम्रो परिवारमा अनिवार्य रूपमा वर्षको दुईपटक गोठधूप गरिन्छ। हाम्रो कुलपूजा पनि त्यही हो।
त्यहाँ मेरा धेरै काका, बडाबा र दाजुभाइहरूको उपस्थिति थियो। उहाँहरूमध्ये धेरैसित मेरो लामो समयपछि भेट भएको थियो तर हामीमा नौलोपन पटक्क थिएन। भेटघाटको त्यो हार्दिकता देखेर हाम्रा पाहुनाले हाम्रो नाता सोधे। हामीलाई निम्तो गर्ने काकाका हजुरबाका बा र मेरा हजुरबाका हजुरबा दाजुभाइ थिए। डेढसय वर्षभन्दा अघि हाँगो छुटेका परिवारका सदस्यहरूको सम्बन्ध देखेर उनीहरू छक्क परे।

बेलाबेला म पनि छक्क पर्छु। पश्चिमतिरबाट बसाइँ सर्दै हाम्रा पुर्खा पहिले ताप्लेजुङ आएछन्, अनि पाँचथर। मसहित गन्दा आठौं पुस्ता अघिका बराजु गङ्गाराम इलाम छिरेका रहेछन्। अहिले उनका सन्तान माघे–सुन्तले, माङचोक, जौबारी र कन्याम–दामसिङमा मूल थलो बनाएर देश भित्र र बाहिर छरिएका छौं। हाम्रो परिवारमा केही अर्धश्वेत, अर्धश्यामल सन्तान समेत भइसकेका छन्। हाम्रा कुटुम्ब फरक सांस्कृतिक पृष्ठभूमि र रूपरङका नेपालीहरू पनि छन्। अब हाम्रा भाञ्जाभाञ्जी, भतिजाभतिजी र नाति नातिनाहरूलाई हेरेर कसैले 'यो त हजुरबा गोता गएछ' वा 'ठ्याक्कै हजुरआमा जस्ती' भन्ने सम्भावना कम हुँदैछन् र त्यसप्रति हाम्रो कुनै गुनासो पनि छैन।

मेरा चारभाइ हजुरबामध्ये म साहिंलाको नाति हुँ। हामी चार बाजेका नातिनातिना सामान्यतः बाक्लै सम्पर्क, सरसल्लाह र आडभरोसमा छौं। आफ्ना घरका फुपूहरूसँगै, अरू हजुरबाका छोरीहरू, फुपाजूहरू र उहाँहरूका सन्तानसित पनि एकाघरको जस्तै सम्बन्ध छ। मेरा बाका सात जना फुपू हुनुहुन्थ्यो। दुईजनाका सन्तान भएनन्। बाँकी पाँचजनाका सन्तानमध्ये बसाइ र व्यवहारका कारण केहीसित अलि नजिक भए पनि आवतजावत सबैसित छ। केही महीनाअघि मात्र हामी बाकी फुपूकी पनातिको बिहेमा सहभागी भएका थियौं।

अझ् एक पुस्ता माथिबाट छुटेको हाँगो– मेरो हजुरबाका फुपूका सन्तानसित पनि निकट सम्बन्ध छ। मेरै विवाहको कर्मकाण्ड हजुरबाका भानिजदाजुले गराइदिनुभएको थियो। कुनै पुस्ताका बाजेहरूले अन्तरजातीय बिहे गरेर जन्मेका मुखिया हजुरबा, काका बडाबाहरूसित पनि, अरू बेला नभए पनि मराउ–पराउमा भेटघाट हुन्छ। पहाडे हिन्दूहरूको तेह्र दिनसम्म लम्ब्याएर मृत्यु संस्कार गर्ने र मराउ परेका ठाउँमा सिधा (बिचार) लैजाने र सकभर एकैठाउँ भेला भएर गहुँत खाएर चोखिने चलनले अनेक पुस्तालाई एकसूत्रमा बाँधेर राखेको छ। पितृहरूको नाम खोजीखोजी, परपरसम्मका नातेदारहरूलाई समेत तर्पण दिने प्रचलनले हामीलाई पुर्खाको नाम र नाताको अभिलेख राख्न सघाएको छ।

मावली–ससुराली

परम्परागत नेपाली परिचयको अभिन्न अङ्ग हो– मावली ससुरालीको जानकारी। फलाना गाउँको फलानाको छोरो भन्ने बित्तिकै मावली र विवाहितलाई ससुरालीका बारेमा समेत सोध्नु शिष्टाचार भित्रै पर्छ। विवाहित महिलालाई सोधिने दोस्रो प्रश्न नै हुन्छ, 'माइती चाहिं कहाँ?' व्यक्तिलाई उसको पारिवारिक पृष्ठभूमि बाहिर राखेर चिन्न सकिन्छ भन्नेमा शायद हाम्रा पुर्खालाई विश्वासै थिएन।

मेरो मावली परिवार पनि साह्रै ठूलो छ। भोजपुरतिरबाट आएर इलामको जमुनामा बसोबास गरेका जदु पाध्या भट्टराईका आठ जना छोरा र तीन बहिनी छोरी रहेछन्। ती आठै जना जमुना र पारिपट्टि इङलामा बसे। म जधुपाध्याको माइला छोराको पनाति हुँ। मेरा मावलका हजुरबाका काकाबडाबाका सन्तान, जो अब सयौंको संख्यामा भए पनि फलाना हजुरबाकोे फलानो भनेपछि कोही पनि अल्मलिंदैन। मावली परिवारमा मभन्दा कान्छा धेरै मामा सानिमा छन्। कतिसित भर्खर चिनजान हुँदैछ, कतिसित भएकै छैन। तर अनौठो लाग्छ, कहिल्यै चिनजान नभए पनि चिनिसक्दा स्वतः नजिक भइँदो रहेछ। शायद नाताको चरित्र नै यही हो। मावली परिवारसित त हुने नै भयो, मेरा सातभाइ मामामध्ये धेरैका ससुरालीसित पनि राम्रो चिनजान छ।

बाआमाको मावलीतिर पनि नियमित सम्पर्क छ। बाकी कान्छी सानिमाको परिवारसित बढी निकट छौं। उहाँकी नातिनी भारतको बागडोगराबाट बिहे भएर काठमाडौं आई। त्यसभन्दा अघि हामी दुवैजना एकअर्काका नामबाट मात्र परिचित थियौं। भेट्नासाथ ऊ र म साक्खै दाजुबहिनीतुल्य भयौं। 'दिदीकी पनातिनी र बहिनीकी नातिनी' भन्दा टाढा सुनिए तापनि हाम्री छोरीकी मन मिल्ने फुपू ऊ नै भई। अझ्, विदेशमा पढ्न बस्ता उसको स्थानीय अभिभावकको भूमिका निर्वाह गर्ने बहिनीको र हाम्रो त पाँच–छ पुस्ता अघि हाँगो छुटेको हो। यो अनुभवले भन्छ– सम्बन्धहरू शब्दहरूको लम्बाइबाट होइन, व्यवहारको न्यानोपनबाट नापिन्छन्। यसैगरी आमाका मामाहरूका प्रायः सबै छोराछोरी, कतिपय नातिनातिना र आमाका सानिमाका केही सन्तानसित पनि हामी सम्पर्कमै छौं।

'घरै पिंडालु, वनै पिंडालु, ससुराली जाँदा बाह्रहातको पिंडालु' भने जस्तै, मेरो ससुरालीमा पनि नातागोताको ठूलो सञ्जाल रहेछ। ससुराका दाजु र दिदीका सन्तानहरूसित नियमित र आत्मीय आवतजावत भइरहेको छ। श्रीमतीको मावली त हाम्रा लागि आफ्नै माइती–ससुराली घर जत्तिकै नजिक छ। उनका मावलका हजुरबाको पुरानो बसोबास संखुवासभाको चैनपुरमा भएका कारण उहाँका छोराछोरीका संसारभर छरिएका सन्तानले पारिवारिक सञ्चारका लागि 'चैनपुरे' भन्ने फेसबूक समूह खोलेका छन्। हामी ज्वाइँहरू पनि त्यसका सदस्य छौं र सक्रिय पनि। मावली–ससुरालीमा मात्र होइन, मेरी श्रीमतीको बूढो मावलीमा हामीले कैयन् पटक दशैंको टीका लगाएका छौं। त्यहाँ कार्जे हुँदा हाम्री छोरी पनि निम्त्याइन्छे। ऊ आफ्नी हजुरआमाका मावल कैयन् पटक गएकी छ।

नाता नपरे पनि नाता

नेपाली समाजमा सकभर नाता लगाएरै बोल्ने चलन छ। त्यसैले बोल्दा बोल्दै मान्छेका बीचमा नाता लागिसक्छ। 'गोरु बेचेको साइनो' भन्ने कथन यस्तै भएर जन्मेको हुनुपर्छ।

नाता नपर्ने नाताले हाम्रो बहुजातीय समाजलाई गज्जबसँग जोडेको छ। एक पटक लेप्चा समुदायका एकजना सज्जनलाई मेरो एउटा भाइले 'दाजु' भनेछ। उनले हकारे, “तिमीले मलाई दाजु होइन, काका भन्नुपर्छ। तिम्रो बालाई म दाजु भन्छु, तिमी मलाई दाजु भन्ने?” भाइले माफ माग्यो। अनि काका भतिजा धेरै बेर गफ चुटेर बसे।

गाउँमा मेरा धेरै बाँगा र देपा (राई भाषामा काका र बडाबा) छन्। मावली गाउँमा “ए यो त जेठीको छोरा पो र'छ! चिनिस् हौ भाञ्जा मलाई? तँ सानो हुँदा कत्तिताल बोकेको छु” भन्ने सुब्बा मामाहरू अझै पनि भेटिन्छन्।

'सोल्टी' यस्तो एउटा नेपाली नाता हो, जसका लागि धेरै भाषामा शब्द नै छैनन्। दिदी बहिनीका नन्द देवर वा दाजुभाइका सालासालीको यो आपसी नाता रोमान्स र मायापिरतीको प्रतीक पनि हो। अंग्रेजीले एउटा 'सिस्टर इन ल'ले भाउजू, बुहारी, साली, जेठीसासू, जेठानी दिदीदेखि लिएर सोल्टिनी समेतलाई काम चलाउँछ। यस्ता उदाहरण अनेक छन्। हामी नातामा धनी छौं, मन फुकाएर साइनो लगाउँछौं र सम्बन्धको ब्याज पकाउँछौं।

मलाई मधेशको नाता प्रणालीका बारेमा जानकारी छैन। तर प्रायः सबै जातका पहाडे नेपालीहरू नातागोतामा अचम्मसित रमाएको देखेको छु। बसाइँ सर्दै नयाँ संसार बनाउँदै अघि बढेको समाज भएकाले हुनसक्छ 'फलानाको फलानाको फलानाको फलानो' भन्ने खालका नाता लगाउँदै नजिक हुनु हाम्रो समाजको एउटा विशिष्ट चरित्र नै भइसकेको छ।

एकपटक घरमा भेला भएका व्यक्तिहरूको आपसमा चिनजान गराउँदा मैले भनें, “उहाँ मेरी माइजूकी माइजू र उनी मेरी भान्जीदिदीकी भान्जी!” अनि नाताको दूरीलाई सम्बन्धले घटाएकोमा हामी आफैं दङ्ग पर्‍यौं।

मेरी ठूली भाञ्जीदिदीको बिहे दार्जीलिङमा भएको हो। दार्जीलिङतिर पनि नातागोतालाई ठूलो महत्व दिने चलन छ। दिदीका नन्द, आमाजू, जेठाजुहरू काठमाडौं आउँदा हामीलाई फोन गर्नुहुन्थ्यो, हामी उहाँहरूलाई आफ्नामा निम्तो गर्थ्यौं। आत्मीय भेटघाट हुन्थे। हिजोआज हामी इलाममा छौं, उता त्यसैगरी पुग्छौं।

धेरै अघिको कुरा हो, भाञ्जीदिदीकी भाञ्जी सिक्किमबाट बिहे भएर काठमाडौं आएकी छन् भन्ने सुनेर खोजी गर्‍यौं। उनलाई त्यसअघि चिनेका थिएनौं, तर चिनजान पछि काठमाडौंमा उनका माइती हामी नै भयौं। चाडपर्वमा बोलाउन थालियो। उनलाई आफ्नै मामामाइजू भेटेजस्तो भयो। हामीलाई परिवारमा नयाँ सदस्य थपिएजस्तो। देश र राजनीतिका बारेमा हाम्रा कुरा पटक्क मिल्दैनन्। तर ती भाञ्जीज्वाइँ र हाम्रा बीचमा कुनै रक्त सम्बन्ध भित्रकै जस्तो नाता छ।

नाताविनाका नातेदार वा नातेदारका नातेदार वा साथीभाइसित आत्मीयता बढ्दै गएपछि नातातुल्य सम्बन्ध हुन्छ। नातातुल्य हुनु भनेको परिवारका अरू सदस्यहरूलाई पनि साइनो लगाइन थाल्नु हो। भर–अभरमा साथ दिनु हो। बिरामी पर्दा आफूखशी अस्पतालमा रुङ्न जानु हो। एक अर्काका घरमा निम्तो नपर्खिइकन 'म आउँदैछु है!' भन्दै आउजाउ हुन थाल्नु हो।

भाउजू र अङ्कल

हामी नाता विना बाँच्न सक्दैनौं। शहरीकरणका कारण पुराना सम्बन्ध–सम्पर्कहरूबाट टाढिएका व्यक्तिहरूका नजिकका भन्नु नै साथीहरू हुन्छन्। केही समयमै साथीहरूका घरमा आउजाउ हुन थाल्छ। तर जति नजिक भए पनि साथीकी श्रीमतीलाई नामबाट बोलाउन हाम्रो शिष्टताले दिंदैन। अनि आफूभन्दा कान्छो साथीकी श्रीमतीलाई समेत भाउजू भनिन्छ। अब शब्दकोशमा भाउजूको अर्थ दाजुकी श्रीमती भनेर मात्र पुग्दैन, 'साथीकी श्रीमतीलाई गरिने सम्बोधन' भन्ने पनि थप्नुपर्ने भइसकेको छ।

गाउँमा बाबुभन्दा जेठा सबैलाई बडा वा बडाबा र कान्छालाई काका भन्ने चलन हुन्छ। तर बाबुआमाका साथीहरूको उमेर पर्गेलेर साध्य हुँदैन। अनि हामीले दुई वटा अंग्रेजी शब्दलाई नेपालीकरण गर्‍यौं– अङ्कल र आन्टी। बाबुआमाका केटा साथीजति सबै अङ्कल, केटी साथी जति सबै आन्टी। नाता लगाएर बोल्न रुचाउने चलनकै कारण अधबैंसे व्यक्तिलाई जसले पनि बोलाउने नाता नै अङ्कल र आन्टी भएको छ। नेपाली बृहत् शब्दकोशको पछिल्लो संस्करणमा पनि यी दुई शब्दले प्रवेश नपाएको देख्दा भने अचम्म लाग्छ।

दुःखको कुरा, हामी मितेरी साइनोबाट भने वञ्चित छौं। म र मेरी श्रीमती दुवैलाई मीत लगाउने मौका परेनछ। मेरा बाआमाका पनि मीत रहेनछन्। मेरा ससुराले भने मीत लगाउनुभएको रहेछ। मीत जेठान र जेठीसासूहरूले मेरी श्रीमतीलाई गरेको स्नेह देख्दा रमाइलो लाग्छ।

मेरा हजुरबाले पनि मीत लगाउनुभएको थियो। काठमाडौंको एउटा अफिसमा व्यावसायिक हैसियतमा भेट भएकी एउटी युवती मीत हजुरबाकी नातिनी, मेरी बहिनी परिछिन्। चिनिसकेपछि उनलाई तपाईं सम्बोधन गर्नै सकिनँ। तिमी भन्न किञ्चित सङ्कोच लागेन।

पोहोरसाल झापामा एउटा सप्ताह लागेका ठाउँमा एकजना साथीबाट निम्त्याइएका थियौं। त्यस घरकी सानीआमा मेरी मीत फुपू हुनुहुन्छ भन्ने थाहा थियो। पुग्ने बित्तिकै पहिलो पटक भेटेको मीत भदालाई उहाँले भन्नुभयो, “तेरा कुरा त थुप्रै सुनेकी थिएँ, भेट चैं बल्ल आज भयो।”

“यताबाट हिंड्दा बाटो नकाट्नु नि! भेटघाट गर्नुपर्छ र पो चिनजान हराउँदैन त!” हिंड्ने बेलामा आदेशै भयो।

नातावाद मूर्दावाद

नातागोतालाई त हामी राम्रो मान्छौं, त्यसो भए नातावाद नि?

नातावाद भन्ने शब्दले यति धेरै दुर्नाम कमाइसकेको छ कि नातागोताकै कारण अघि बढेको व्यक्तिले पनि त्यो स्वीकार्न चाहँदैन। वास्तवमा नाताको चरित्र नै नातेदारहरूलाई अलिकति भए पनि च्याप्न चाहने हुन्छ। राजतन्त्रकालमा 'शाही नातेदार' भन्ने औपचारिक शब्द र पदहरू नै चल्तीमा थिए। राजनीतिमा परिवारकै सदस्य वा नातेदारहरूलाई अघि बढाएको अवगाल कोइराला परिवारले सधैं बेहोर्नु परेको छ। आफ्ना नातागोता धेरै नभएका वा तिनको न्यूनतम योग्यता समेत नपुगेका प्रधानमन्त्रीहरूले आफ्ना ससुरालीका मान्छेलाई व्यापार गर्ने र जागीर खाने अवसर दिएको पनि देखिएकै हो। 'ब्लड इज थिकर देन वाटर', अंग्रेजीमा पनि कथन छ। त्यसोभए, नातागोता र पारिवारिक शक्तिको बढाइँ गर्नेले नातावादका बारेमा चाहिं के भन्नुपर्छ त?

नातेदारहरूको मोहबाट कोही अलग हुँदैन। तर आफूलाई असल नागरिक ठान्नेले यसलाई सामाजिक सञ्जाल मात्र मान्नुपर्छ, आर्थिक र राजनीतिक लाभका लागि प्रयोग गर्नुहुँदैन। “सार्वजनिक पद वा जिम्मेवारीका लागि नातेदारलाई लिनुहुँदैन। नातेदारहरू प्रतिस्पर्धामा छन् भने छनोट प्रक्रियाबाट अलग भइदिनुपर्छ”, सम्म भन्न सकिन्छ। तर त्यसको परिपालना गराउन साह्रै बलियो कानूनले मात्र सक्छ। त्यसैले यसलाई 'नैतिकताको कुरा' भनेर बिट मार्न नै सहज हुन्छ।

सञ्जालले धान्छ, जञ्जाललाई

'अहिलेसम्म चिनजानसम्म त बाँकी छ, हाम्रा शेखपछि के होला?' यो साझ्ा 'हजुरआमा गुनासो' हो। शहरीकरणले, परिवारहरू साना हुँदै जानाले र विदेशमा बसोबास गर्ने बढ्दो चलनले नाताको लहरो कमजोर पार्छ भन्नेहरू पनि धेरै छन्। तर हाम्रो अनुभवले भन्छ, यो सत्य होइन।

मूल कुरा हो पारिवारिक सञ्जाललाई सम्बल ठान्ने कि झ्न्झ्ट ठान्ने भन्ने कुरा। यदि छोराछोरीहरू बाबुआमाबाट नातागोताका बारेमा सकारात्मक कुरा सुनेर हुर्केका छन् भने जहाँ गए पनि उनीहरूले आफन्तहरूलाई महत्व दिन्छन्। बिल्कुलै एकल पारिवारिक इकाईहरूमा हुर्केका धेरै केटाकेटीले टाढा टाढाका नातेदारहरूका बारेमा पनि चासो राखेको र यथोचित मान मर्यादा गरेको पाइएको छ। फेसबूक जस्ता सामाजिक सञ्जालहरूका कारण अरू मानिस जस्तै नातेदारहरू पनि नजिकिएका छन्।

नातागोताको लहरोमा कहिलेकाहीं लोभ, हेपाइँ, इर्ष्या, अहङ्कार र अनावश्यक पक्षधरताका झ्ुसिल्कीरा लाग्न सक्छन्। पर्गेलेर ल्याउँदा नातेदारहरू वा परिवार परिवारका बीचमा वैमनस्य पैदा गराउने कुरा यी पाँचवटा भन्दा धेरै भेटिंदैनन्। सम्पत्तिका बारेमा हुने झ्ै–झ्गडा, अंशबण्डाका कलह, सासू बुहारी वा देउरानी जेठानीका बहुचर्चित मनमुटाव, बिहेवारीसित सम्बन्धित पानी बाराबार सबै यी पाँचवटा दुर्गुणकै परिणाम हुन्। यी दुर्गुणबाट पूर्ण मुक्ति त सम्भव नहोला, तर ती झुसिल्कीरालाई फ्याँकेर सम्बन्धहरूलाई जोगाउन सकिन्छ भन्ने कुरा धेरैले पटक पटक अनुभव गरेको कुरा हो।

दुर्गा भवानीले सबैका नातागोता र सम्बन्धहरूलाई बलिया र स्वस्थ राखून्। हामी शक्तिशाली बनौं।

comments powered by Disqus

रमझम