१२-२५ असोज २०७१ | 28 September 2014

सम्बन्धको लिखत

Share:
  
- सन्त गाहा मगर
इतिहास लेखनको महत्वपूर्ण स्रोत मानिने वंशावलि निर्माण गर्ने चलन अहिले प्रायः सबै समुदायमा शुरू भएको छ।

भैंसेपाटी, ललितपुरका भरत कसजू पाँच वर्षदेखि 'कसजू' वंशावलि निर्माण गर्दैछन्। भोजपुरबाट धरानहुँदै भैंसेपाटी आइपुगेका कसजूले त्यसका लागि परिवारका जेष्ठ सदस्यहरूसँग सूचना संकलन गर्दैछन्। व्यापार/व्यवसाय, अध्ययन र रोजगारीका लागि बसाइँ–सराइ गर्दा आफ्ना र पराइ चिन्न गाह्रो परेकाले वंशावलि तयार पार्नुपरेको उनको भनाइ छ। वंशावलिलाई नाता–सम्बन्धको औपचारिक दस्तावेज मानिन्छ।

पूर्व गोर्खा सैनिक मीनबहादुर बलाल मगरले पनि 'बलाल' वंशावलि बनाएका छन्। मगर सेवा समाज, ललितपुरका अध्यक्ष बलाल आफ्नो रीतिरिवाज र पुर्ख्यौलीबारे रेकर्ड राख्न तथा नयाँ पुस्तालाई त्यसको जानकारी दिन वंशावलि बनाएको बताउँछन्। उनले पनि अभिलेख र कुराकानीलाई वंशावलिको आधार बनाए। युवा पुस्ताले खासै रुचि नदेखाए पनि बूढापाकाहरूबाट राम्रो प्रतिक्रिया पाएको बलाल बताउँछन्।

वंशावलि सम्बन्धी अन्तर्राष्ट्रिय म्यागजिन 'जिनोलोजिटाइम' मा मौखिक अन्तर्वार्ता, ऐतिहासिक अभिलेख, वंशाणुगत विश्लेषण लगायत स्रोतका आधारमा वंशावलि तयार पारिने उल्लेख छ। म्यागजिनमा भनिएको छ, “वंशावलिको प्रमुख ध्येय भोलिको पुस्तालाई आज र हिजोको अवस्था हस्तान्तरण गर्नु हो।”

नेपालमा वंशावलि बनाउने चलनले १९औं शताब्दीमा आएर व्यापकता पाउन थालेको हो। बेलायती विद्वान् ब्रायन हज्सनले मानवशास्त्र अध्ययन गर्दा वंशावलिलाई महत्व दिएको देखेपछि नेपालीमा पनि वंशावलि निर्माणमा रुचि बढेको हो। इतिहासविद् डा. रमेश ढुंगेल नेपालमा १९औं शताब्दीलाई वंशावलि शताब्दी भन्न सकिने बताउँछन्।

राजा–महाराजाले त्यो बेला शुरू गरेको वंशावलि बनाउने परम्परालाई विस्तारै सर्वसाधारणले पनि पछ्याउन थालेको देखिन्छ। सल्लाहकार, लेखनदास र आर्थिक स्रोत हुने भएकाले शासकहरूलाई वंशावलि बनाउन गाह्रो हुँदैनथ्यो। शासकहरूको वंशावलि धेरैलाई चासो पनि हुन्थ्यो। ढुंगेलको विचारमा शासकहरूले वैभव देखाउन बनाएको वंशावलि कालान्तरमा सबैका लागि उपयोगी दस्तावेज बन्न गयो।

वंशावलिको महत्व

संगीतकार बुलु मुकारुङले 'मुकारुङ' वंशावलि तयार पारेका छन्। एउटै परिवारबीच झ्ुक्किएर विवाह होला भन्ने डरले वंशावलि बनाएको उनको भनाइ छ। इतिहास बुझन, वंशजबारे थाहा पाउन, नामकरण प्रणाली जान्न र कुन समयमा कस्तो भाषा प्रयोग हुन्थ्यो भन्ने बुझन वंशावलि उपयोगी हुने मुकारुङ बताउँछन्।

नेपाली इतिहास लेखनमा पनि वंशावलि महत्वपूर्ण सन्दर्भ सामग्री बनेको देखिन्छ। इतिहास लेखनमा सबैभन्दा बढी गोपाल वंशावलिलाई आधार बनाइएको इतिहासविद्हरू बताउँछन्। इतिहासविद् वैकुण्ठ लाकौलले एक दैनिक पत्रिकामा लेखेका छन्, “गोपाल वंशावलि जति प्रमाणित ग्रन्थ अरू छैनन्।” उनले भने जस्तै नेपाल सम्वत्, लिच्छविकाल, किरातकालको विवरण गोपाल वंशावलिमै पाइन्छ। अर्का इतिहासविद् डा. रमेश ढुंगेलका अनुसार सो वंशावलि गोपाल वंशमा मात्रै सीमित नभएकाले पनि इतिहास लेखनका लागि सान्दर्भिक बनेको हो।

इतिहासविद् डा. राजेश गौतम राजा–महाराजाले वंशावलि बनाएका हुनाले इतिहास लेखनमा त्यसलाई आधार बनाउन सजिलो भएको बताउँछन्। वंशावलि लिखित हुने भएकाले पनि सन्दर्भ सामग्री बनेको उनको भनाइ छ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डस्का अनुसार 'कन्फ्युसियस' वंशावलिलाई संसारको सबैभन्दा ठूलो पारिवारिक वंशावलि मानिएको छ। २५०० वर्ष पहिले प्रकाशित यो वंशावलिको पाँचौं संस्करण २००९ मा छापिएको छ। ७७ पुस्तालाई उतारिएको सो वंशावलिले मानव सभ्यताको लामो कालखण्ड बुझन मद्दत गरेको मानवशास्त्री सुरेश ढकाल बताउँछन्। वंशावलि सांस्कृतिक इतिहास अध्ययनको स्रोत र माध्यम दुवै भएको उनको भनाइ छ।

मानवशास्त्री ढकालको विचारमा आर्य सभ्यताले 'शुद्धता' लाई महत्व दिएको हुनाले वंशावलिको पनि महत्व बढेको हो। आफ्नै जातभित्र तथा गोत्र बाहिर विवाह गर्नुपर्ने समुदायमा वंशावलि लोकप्रिय देखिएको उनी बताउँछन्। आफ्नो जात र वंशप्रति गौरव गर्ने मानसिकताका कारण वंशावलिको प्रयोगमा व्यापकता आएको उनको धारणा छ। मानवशास्त्र (नृवंशशास्त्र) मा मानिसको फैलावट कसरी भयो, कसको कोसँग सम्बन्ध कसरी बन्यो, सामाजिक संरचनाको बनोट के हो भन्ने अध्ययन वंशावलिकै आधारमा गरिने ढकाल बताउँछन्।

जिनोलोजिटाइममा वंशजको आधिकारिकता, प्रख्यात व्यक्तिसँगको पहिचान, ऐतिहासिक घटनाको अभिलेख, वंशानुगत रोग, जग्गाको मालिक, धार्मिक सम्बन्ध र समुदायगत इतिहास थाहा पाउन तथा पारिवारिक संस्कृतिको संरक्षण, ऐतिहासिक अध्ययन/अनुसन्धान गर्न र पुनर्मिलनका लागि वंशावलि उपयोगी हुने उल्लेख छ।

विवाह आफ्नै जात भित्र तर गोत्र बाहिर गर्नुपर्ने समुदायमा वंशावलि लोकप्रिय देखिन्छ।

सुरेश ढकाल

मानवशास्त्री

इतिहास अध्ययनमा वंशावलिलाई आधिकारिक सन्दर्भ सामग्रीको रुपमा लिइन्छ।

डा. रमेश ढुंगेल

इतिहासविद्

परिष्कृत बन्दै

अन्य क्षेत्रमा जस्तै वंशावलिमा पनि लामो समयसम्म पितृसत्तात्मक दबदबा रह्यो। त्यसबेला छोरालाई मात्रै वंश मान्ने सोचका कारण वंशावलिमा छोरीको नाम राखिंदैनथ्यो। तर अहिले वंशावलिमा छोराछोरी दुवैको नाम राख्न थालिएको छ। जस्तो गौतम वंशावलि २०६९ मा भनिएको छ, “पितृकार्य र देवकार्यमा समेत नारी सहभागिता आवश्यक पर्ने हुँदा हजुरआमा, आमा, बुहारी तथा छोरी समेत परिवारकै अभिन्न सदस्य मानी यस वंशावलिमा परिवारका उपलब्ध भएसम्म नारी–सदस्यहरूलाई समेत समावेश गरिएको छ र यो प्रक्रिया पहिलो संस्करणदेखि नै थालनी भएको हो।”

खेरेसुङ्छा प्रकाशन समितिले २०६५ मा निकालेको किरात खम्बू राई चाम्लिङ खेरेसुङ्छा पाछाको वंशावलिमा पनि छोराछोरीको नाम दिइएको छ। पैतृक सम्पत्तिमा छोराछोरी दुवैको हक लाग्ने भएकाले पनि वंशावलिमा छोरीको नाम राख्न थालिएको मानवशास्त्री ढकाल बताउँछन्। उनी पछिल्लो समयमा बनेका वंशावलिले छोराछोरी बराबरी भन्ने सन्देश दिनुलाई समाजमा परिवर्तन आएको प्रमाणको रूपमा लिनुपर्ने बताउँछन्।

सूचनाप्रविधिको विकासले वंशावलिलाई पुस्तकमा मात्र सीमित नराख्नु अर्को परिवर्तन हो। अहिले वंशावली पनि डिजिटल भर्सनमा आउन थालेको छ। त्यही कारण संसारका जुनसुकै ठाउँमा रहेकाहरूले आफ्नो वंशज र ओरिजनल थलोबारे जान्न अब पहिले जस्तो अप्ठ्यारो छैन। जेनी डटकम, जिनोलोजीब्याङ्क डटकम, जिनोलोजी डटकम, जिनोलोजी डटओआरजी, एनसेस्ट्री डटकम, फेमलीट्रीमेकर डटकम, फेमलीट्रीसर्चर डटकम जस्ता सयौं वेबसाइटले संसारभरिका मानिसको वंशावलि अपडेट गरिरहेका छन्। इन्ट्री गर्ने बेलामा त्रुटि नगर्ने हो भने क्षणभरमै आफ्नो पुस्ताबारे थाहा पाउन अब मुश्किल पर्दैन।

पुस्तक, डिजिटल वा जुनसुकै स्वरुपमा भए पनि वंशावलि तयार पार्दा सत्य–तथ्यमा भने ध्यान दिनैपर्छ। इतिहासविद् ढुंगेल राजा–महाराजको वंशावलिमा गुणगान बढी हुने गरेको बताउँछन्। आफ्नो वंशावलि आफैंले लेख्ने हुनाले आलोचनात्मक पक्ष कम हुनु अस्वाभाविक नभएको उनको भनाइ छ। ढुंगेल भन्छन्, “इतिहास लेखनदेखि नाता–सम्बन्ध जान्न वंशावलि उपयोगी भए पनि यो यथार्थपरक भने हुनैपर्दछ।”

comments powered by Disqus

रमझम