१२-२५ असोज २०७१ | 28 September 2014

युद्धमा नाता–सम्बन्ध

Share:
  
- यादव देवकोटा
माओवादीले युद्धमा नाता सम्बन्धको भिन्नै संस्कृति शुरू गरेको थियो।

म्याग्दीको बेनी आक्रमणपछि माओवादी/नेता कार्यकर्ता एकआपसमा टीका लगाएर बधाई साटासाट गर्दै।
“तिम्रै निम्ति बरु यो ज्यान गए गैजाला

तिमीसँग गहिरो माया बस्यो जलजला

वर्गीय मायाले बाँधी राखुँला

'दुश्मन'को नजरबाट लुकाइ राखुँला...”

नेकपा (माओवादी) ले १ फागुन २०५२ मा शुरू गरेको 'जनयुद्ध' मा यस्ता गीत/कविताले भने जस्तो विचार र वर्गको आधारमा सम्बन्ध बनाउने भनिन्थ्यो। चुनु गुरुङले गाएको यो गीत त्यस्तो नयाँ सम्बन्ध बनाउन कार्यकर्तालाई प्रोत्साहित गर्न 'युद्धकाल'भरि सबैतिर गाइयो। रोल्पा र रुकुममा पर्ने सिस्ने र जलजला हिमाललाई सम्बन्धको बिम्ब बनाइएको यो गीतकी गायिका चुनुले प्रेम सम्बन्धलाई विवाहमा बदलेको ३१ दिनमै २०५६ मा जीवनसाथी कीर्ति तिवारी 'विवेक' लाई गुमाइन्। त्यसको तीन वर्षपछि २०५९ मा उनलाई पनि कास्की भरतपोखरीबाट सेनाले पक्राउ गरी पाल्पामा मारिएको बतायो।


माओवादीहरू नाता–सम्बन्धलाई सामन्ती सम्बन्ध भन्दै तिनले मानिसलाई लोभ, मोह र भ्रष्टतामा फसाउँछ भन्ने मान्यता राख्थे। 'मानिसहरूको अन्तर्राष्ट्रिय जाति हुनेछ' भन्दै उनीहरू जर्मन कवि युजे पोत्तरको गीत हरेक कार्यक्रममा गाउँथे। मानिसलाई अन्तर्राष्ट्रिय जाति बनाउन परिवार, समाज, राज्यलगायत परम्परागत सम्बन्ध र सीमाहरू विघटन गर्नुपर्ने उनीहरूको भनाइ हुन्थ्यो।

त्यस्तो बताए पनि यही समाजमा जन्मिएर हुर्किएकाले उनीहरूमा यहींकै चेतना र संस्कार थियो। कुनै पार्टीमा लाग्नासाथ मानिस पूर्णतः पखालिएर नयाँ वा अलौकिक बन्न पनि सक्दैनथ्यो।

माओवादी कार्यकर्ताहरूलाई हेर्ने हो भने पनि उनीहरूमध्ये अधिकांश पारिवारिक या सामाजिक सम्बन्धका कारण 'युद्ध' मा लागेको देखिन्छ। दाइका कारण भाइ र बहिनी तथा पतिका कारण पत्नी र छोराछोरी हिंडेको अनेकौं उदाहरण छन्। परिवारको एक जना सदस्य मारिएपछि 'हत्याको बदला' लिने भन्दै माओवादीमा लाग्नेको संख्या पनि उल्लेखनीय छ। परिवार वा समाजको अगुवाले समाएको बाटोलाई अरूले पछ्याउनु अस्वाभाविक होइन। तर, राज्यले दमन बढाउँदै लगेपछि गाउँमा ज्यान असुरक्षित हुने र युद्धमै लाग्दा तुलनात्मक रूपमा सुरक्षित हुने ठानेर पनि कैयौं माओवादी बने।

अहिले नेकपा–माओवादीका नेता रहेका कालीकोट मल्कोटका खड्कबहादुर विक 'प्रकाण्ड' की पत्नी, दुई भाइ सिंहबहादुर 'कोपिला' र अमरबहादुर 'योद्धा', बहिनी गोरिकला 'मानुषी', कोपिलाकी पत्नी कलसा 'शान्ति', योद्धाकी पत्नी लीला महरा 'कल्पना' सबै माओवादी युद्धमा लागेका थिए। 'कोपिला' मुम्रा भिडन्तमा र ब्रिगेड सह–कमाण्डर 'योद्धा' बेनीमा मारिए भने योद्धाकी पत्नी कल्पना बेनीमै घाइते भइन्। उनले पछि बेनीमै घाइते भएका बटालियन कमाण्डर ओमप्रसाद पौडेल 'रमेश'सँग बिहे गरिन्। रमेशकी पत्नी सल्यान काभ्रेचौरकी गंगा घर्ती 'रमा' बिहे भएको डेढ वर्षपछि मारिएकी थिइन्। उपचारको क्रममा रमेश र कल्पनाबीच सम्बन्ध नजिकिएको थियो। रमेशले जीत स्मृति ब्रिगेड र कल्पनाले डिभिजन कार्यालयको सह–ब्रिगेड कमाण्डरबाट स्वेच्छिक अवकाश लिए।

झ्ापाका तीन भाइ पुष्प बस्नेत, धीरेन्द्र र वीरेन्द्रलाई नेपाली सेनाको भैरवनाथ गणले पक्राउ गरेकोमा पुष्प र धीरेन्द्रलाई बेपत्ता पारियो भने वीरेन्द्र लामो समयपछि जिउँदै फर्किए। नुवाकोट थानापतिका अर्जुन पोखरेल र उनकी बहिनी कौशिलालाई पनि भैरवनाथ गणले नै बेपत्ता पारेको थियो। अर्जुनका भाइ वैकुण्ठ धादिङमा मारिए।

माओवादी 'जनयुद्ध'को सुरुआती कालमा नेताहरु।
युद्धका बेला गोरखा जेल तोडेर निस्किएकी तथा माओवादी लडाकूको ब्रिगेड कमिसारबाट स्वेच्छिक अवकाश लिएकी, कमला नहर्की 'सपना' को पनि परिवारबाट अरू तीन जना माओवादी युद्धमा सामेल भएका थिए। उनीहरू सबै मारिए। भाइ गुप्त मारिएपछि बहिनी सरस्वती माओवादी बनिन्। उनी पनि मारिएपछि माओवादी बनेकी कान्छी बहिनी कल्पना पनि मारिइन्।

रोल्पाकी सम्झ्ना घर्तीले युद्धमा परिवारका तीन सदस्य गुमाइन्। पति ब्रिगेड सह–कमाण्डर दिलबहादुर पुन 'ज्वार' ११ असोज २०६१ मा अर्घाखाँचीको खनदहमा सेनासँगको भिडन्तमा मारिए। भाइहरू मूलधन र दर्शन पनि मारिए। गोरखा ताकु माझ्लाकुरीबोटकी कमला भट्टलाई प्रहरीले मारेपछि उनकी बहिनी विमला र भाइ विष्णु माओवादीमा पूर्णकालीन भएका थिए। तर, विमलाको पनि भिडन्तमा मृत्यु भयो।

नेकपा माओवादीकी नेतृ जयपुरी घर्तीका पति कविराम केसी 'विवेक' को युद्धमै मृत्यु भयो। पहिलो संविधानसभा चुनावमा एमाले नेता वामदेव गौतमलाई पराजित गर्ने सरला रेग्मीका पति ज्ञानप्रसाद चालिसे 'आयाम' युद्धमै मारिए। पछि सरलाले युद्धमा पत्नी गुमाएका चितवनका गुणराज लोहनीसँग वैवाहिक सम्बन्ध गाँसिन्।
तत्कालीन माओवादी सेनाका डिभिजन कमिसार हरि अधिकारी 'कुमार' ले पनि युद्धमा पत्नी जुना ढकाललाई गुमाए। उनीहरूको विवाह युद्धमै मारिएका माओवादीका नेता सुरेश वाग्ले 'वासु' र श्रीनाथ अधिकारीको उपस्थितिमा गोरखाको विसौनी होटलमा भएको थियो। गत संविधानसभामा सभासद् रहेका गोरखाकै परशुराम रम्तेलले २४ असार २०६१ मा पत्नी जुना गोली लागेर ढलेको गोरखाको काशी गाउँमा आफैंले देख्नुपर्‍यो।

गोरखाका लोकप्रसाद बञ्जरालाई पछ्याएर माओवादी बनेका पत्नी बिजुली र बहिनी कल्पना २० भदौ २०६२ मा गोरखाको पन्द्रुङ तिनखण्डेमा मारिए। माओवादी लडाकूको डिभिजन कमाण्डर किमबहादुर थापा 'सुनिल', छोरा विज्ञान र ज्वाईं प्रवीण तीनै जनाको युद्धमा ज्यान गएको थियो। रोल्पाकी सपना र प्युठानका विजोग विवाह गरेको भोलिपल्ट राति दाङ ब्यारेक हमलामा सामेल भएका थिए। लडाईं सकिंदा दुवैको मृत्यु भइसकेको थियो।

बाबुराम भट्टराईबाहेक माओवादीका सबै उच्च नेताका छोराछोरी युद्धमा कुनै न कुनै रूपमा सामेल थिए। अधिकांश नेताहरूले छोराछोरीलाई नै स्टाफ वा कार्यालय सहयोगी बनाएका थिए। उनीहरूको कार्यालय अधिकांश भारतका सुरक्षित शहरमा हुन्थे। तर, हालै दिवंगत भएका पोष्टबहादुर बोगटी र हितराज पाण्डेका छोरा भने युद्धमै मारिए। माओवादी लडाकूका कमाण्डर नन्दकिशोर पुनले पनि युद्धमै भाइ गुमाएका थिए।

सम्बन्धको माध्यम

युद्धको बेला माओवादी कार्यकर्ताबीच भौतिकभन्दा भावनात्मक सम्बन्ध बढी हुने गर्दथ्यो। टेलिफोन नपाइने, भए पनि फोन ट्रयापिङको डर हुने र त्यसो हुँदा परिवारका सदस्यसमेत जोखिममा पर्ने भएकाले सम्पर्कका माध्यम सीमित थिए। परिवार र नेता/कार्यकर्ताबीच पार्टी च्यानलबाट हुने पत्राचार र निकै ढीलो आउने खबरले जोड्थे। पार्टीमा लागेका परिवारका सदस्य वा निकट साथीबीच पनि तिनै माध्यमबाट सम्बन्ध राखिन्थ्यो।

एउटै सैन्य फर्मेसनमा रहेका या पार्टीको उस्तै जिम्मेवारीमा रहेका बीच भावनात्मक र निकट सम्बन्ध हुन्थ्यो। तर पनि एकले अर्कालाई बोलाउँदा पार्टीमा दिइएको नाम वा कमरेड भनेर बोलाइन्थ्यो। औपचारिक सम्बोधनमा त झ्न् त्यस्तो हुने नै भयो। तर, अनौपचारिक रूपमा पद या उमेरका आधारमा दाइ, भाइ, दिदी, बहिनी, सर, म्याडम पनि भनिन्थ्यो।

पुष्पकमल दाहाल र रामबहादुर थापाबीच २०३४/३५ मा चितवनमा अध्ययन समूह बनाउँदादेखि सम्बन्ध शुरू भएको थियो। मोहन वैद्य र दाहालबीच जनयुद्धको स्वरुपबारे तयारीको क्रममा विवाद भएको थियो। पछि 'प्रचण्डपथ' स्थापित गर्न वैद्य नै लागे। बाबुराम भट्टराई र दाहालबीच धेरै समय अन्तरसंघर्ष चल्यो।

जनमोर्चाको अध्यक्षबाट भट्टराईलाई हटाएर पम्फा भुषाललाई बनाएपछि दुईबीच तिक्तता रोपिएको थियो। तर, दाहाल भट्टराईले अघि सारेको विचारमै प्रायःजसो रहे। भर्खरै दिवंगत भएका पोष्टबहादुर बोगटी दाहालका सबैभन्दा विश्वासपात्र थिए। युद्धका बेला भारतमा रहेका दाहालको योजना बोगटीले कार्यान्वयन गराउँथे। बोगटीलाई सघाउनेमा नन्दकिशोर पुन, वर्षमान पुन, नेत्रविक्रम चन्द, जनार्दन शर्मा, शक्ति बस्नेतको टीम मुख्य थियो।

दाहालसँग निकट मानिने रवीन्द्र श्रेष्ठ र यानप्रसाद गौतमले त्यो सम्बन्धलाई भजाएको धेरै माओवादी कार्यकर्ताको विश्वास थियो। आफूलाई दाहालको उत्तराधिकारी भन्ने रवीन्द्रले माओवादी छाडे भने यानप्रसाद कारबाहीमा परे। सीपी गजुरेलले आफ्नो नाम 'प्रचण्ड' दाहाललाई दिएर 'गौरव' राखेको बताउँछन्। देव गुरुङ र वैद्यबीचको निकट सम्बन्ध निकै लामो छ। आफ्नो सचिवालयमा मुख्य सचिव रहेका सबैसँग दाहालको सम्बन्ध बिग्रिएको देखिन्छ। मुख्य सचिव रहेकाहरू हितमान शाक्य, श्रीराम ढकाल, सूर्य सुवेदी, जोखबहादुर महरा सबै अहिले दाहालसँग टाढा छन्। अहिलेका दाहालका आलोचक मातृका यादव भने कुनै बेला चर्का प्रशंसक थिए।

पे्रम र विवाह

विवाह नगरेका माओवादी नेता/कार्यकर्ताले युद्धकै क्रममा 'जनवादी' विवाह गरे। एउटै भूगोल र फर्मेसनमा रहने विपरीत लिङ्गीबीच आकर्षण बढेर प्रेम हुँदै बिहे हुने गर्दथ्यो। कतिपयले एकपटक देख्दै मन परेपछि पार्टी मार्फत पत्र पठाएर प्रेम वा विवाहको प्रस्ताव राख्थे। कतिपयलाई चाहिं पार्टीका नेता या साथीहरूले जोडा मिलाइदिन्थे। तर, जस्तोसुकै सम्बन्ध बनाउन पार्टीको अनुमति अनिवार्य चाहिन्थ्यो। पार्टीबाट अनुमति नलिई सम्बन्ध बनाउँदा सांस्कृतिक विचलन वा 'अंग्रेजी लागेको' भन्दै कारबाही गरिन्थ्यो। अन्तरजातीय विवाहलाई प्रोत्साहन गरिएकाले युद्धकालमा धेरै माओवादी नेता/कार्यकर्ताले अन्तरजातीय विवाह गरे। तर, शान्तिकालमा त्यस्ता सम्बन्ध टिकेनन्। युद्धकालमा भने पार्टीको अनुमति नलिई माओवादी कार्यकर्ताले प्रेम या विवाह तोड्न पाउँदैनथे।

उच्चतहका माओवादी नेताहरू भने युद्धअघि नै विवाहित थिए। पुष्पकमल दाहाल, बाबुराम भट्टराई, मोहन वैद्यका पत्नी पनि पार्टीमै थिए। युद्धमा एक्लै हिंड्दा अरूसँग सम्बन्ध रहला भन्ने डरले धेरै नेताका जोडी सँगै रहन्थे। मध्यम र तल्ला तहकालाई भने यो सुविधा थिएन।

पुष्पकमल दाहाल र सीताबीच मागी विवाह भएको थियो भने बाबुराम हिसिलाबीच प्रेम विवाह। टोपबहादुर रायमाझीले योगमायासँग २०४५ मा दिल्लीमा पे्रम विवाह गरेका थिए। नेत्रविक्रम चन्द र शोभा मल्लबीच २०४३ मा प्रेमविवाह भएको थियो। वर्षमान पुन र ओनसरी घर्तीबीच पनि प्रेम विवाह नै भएको थियो। देव गुरुङ र यशोदा सुवेदीले २०४४ र हितमान शाक्य र अमृता थापाले २०५१ मा प्रेम विवाह गरेका थिए। कुलप्रसाद केसी 'सोनाम' र तारा घर्तीबीच २०५२ मा पे्रम विवाह भएको थियो। चितवनकी शोभा कट्टेलको केशव रिजाल 'समर'सँग २०५०/५१ देखि झ्ण्डै ६ वर्ष लामो प्रेम रह्यो र २ असार २०५६ मा विवाह भयो। तर, 'समर' युद्धमा मारिए।

हरिबोल गजुरेल र चितवनकी सावित्री पाण्डेबीच पनि प्रेम विवाह भएको थियो। तर, निरकुमारी दर्लामी 'शिला'सँग यौन सम्बन्ध राखेपछि हरिबोल कारबाहीमा परे। गजुरेलले पत्नी सँगै नहिंडेकाले निरुसँग सम्बन्ध राख्नुपरेको बयान दिएका थिए। रामबहादुर थापा पनि पम्फा भुषालसँग यौन सम्बन्ध राखेकै कारण कारबाहीमा परेका थिए। उनले पनि पत्नी नैनकला थापा सँगै नहिंडेकाले त्यस्तो भएको बयान दिएका थिए। त्यसपछि भने २०४३ मा थापासँग जनवादी विवाह गरेकी नैनकला सँगै हिंड्न थालिन्। हेमन्तप्रकाश वली, कृष्णध्वज खड्का पनि यौन सम्बन्ध राखेकोमा कारबाहीमा परेका थिए।

पोष्टबहादुर बोगटीकी छोरी प्रभा र पुष्पकमल दाहालका छोरा प्रकाशबीच भारतको लखनऊमा त्यो बेला रहेको पश्चिम केन्द्रीय कमाण्डको कार्यालयमा भेट भएको थियो। त्यहाँ कम्प्युटर चलाउने उनीहरूबीच निकटता बढेपछि विवाह पनि भयो। तर, केही वर्षमै उनीहरू छुट्टिए।

बेनी आक्रमणमा मारिएका ब्रिगेड सह–कमाण्डर कमलराज विष्ट 'बहुवीर' लाई माओवादी पूर्णकालीन कार्यकर्ता बनेपछि पत्नीले छाडेकी थिइन्। पछि उनले लडाकू विनासँग विवाह गरेका थिए। जाजरकोटकी टुका हमाल बुबालाई सेनाले मारेपछि पति र दुई छोराछोरी छाडेर युद्धमा लागेकी थिइन्। तीन वर्षपछि पतिले पनि उनलाई पछ्याएका थिए।

सर र दाइ

'जनयुद्धकाल'मा मध्य केन्द्रीय कमाण्डमा 'दाइ' र पश्चिम केन्द्रीय कमाण्डमा 'सर' भनेर सम्बोधन गरिन्थ्यो। रामबहादुर थापा 'बादल' मध्य क्षेत्रीय ब्यूरोको 'ग' उपब्यूरो (उपत्यका) इन्चार्ज भएपछि रवीन्द्र श्रेष्ठले प्रेम दाइ भन्न थालेकाले 'दाइ' भन्ने चलन शुरु भएको थियो। तर, उमेरका आधारमा भन्दा पार्टीको पदको आधारमा दाइ भनिने चलन थियो। पछि अनौपचारिक बैठकहरूमा पनि पार्टीका नेताबीच दाइ/भाइ भनिन थाल्यो। काठमाडौंबाट राप्तीका पहाडमा गएर पनि रवीन्द्रले दाइ/भाइ चलाए। त्यो क्षेत्रका नेत्रविक्रम चन्द 'विप्लव', नन्दकिशोर पुन 'पासाङ' लगायतले दाइ/भाइ भन्नुको कारण त्यही हो।

'सर' भन्ने चलन चाहिं शिक्षक पृष्ठभूमिका नेताहरूको कारण शुरू भएको हो। खासगरी पश्चिम केन्द्रीय कमाण्डमा यो चलन बढी थियो। कृष्णबहादुर महरा नन्दकिशोर र वर्षमान लगायतका शिक्षक थिए। उनीहरूले महरालाई सर भनेकाले अरू कार्यकर्ताले पनि सर भन्न थालेका थिए।

comments powered by Disqus

रमझम