बूँद राना
चिनियाँ च्याङ्ग्रा
वर्षौं कुरेर बस्छन्
नेपाली दशैं
तिमी आए छौ
मलाई यस्तो लाग्यो
आएछ दशैं
कुन् फार्मेसीमा
खोज्ने होला ओखती
देश दुःखेको
पहाडी दशैं
हँसिलो अनुहार
स्वाद भातको
पेरुङ्गो भरी
कोसेली आफन्तमा
धान्दै संस्कृति
देवीको नाम
बलिदान पशुको
भोजभतेर
सोनू गुरुङ (राना)
जानुअघि
विप्लप प्रतीक
म गएपछि शायद त्यो मान्छे न्यासि्रन्छ।
सधैं मुस्कुराइरहने त्यो मानिससँग
असंख्य पीर छन्,
तर, रमाइलो कुरा पीरहरु उसका आफ्नै खातिर सञ्चित होइनन्,
जसका निम्ति ऊ पीर लिन्छ तिनीहरु नै अन्जान छन्
ऊ यति डुबेको छ पीरको पोखरीमा भनेर,
र, उसकै समर्पण देखेर होला
ती पीरहरुसँग हिम्मत छैन
उसको मुस्कानको पर्दा खोलेर चियाउन।
ऊ निराश पनि छैन,
ऊसँग यो दुनियाँ भूस्वर्ग बन्ने सपना जिउँदै छ,
एकदिन संसारका सारा मानिसहरु बीच सामञ्जस्य हुनेछ
यो उसको विश्वास हो,
एकदिन मान्छेले मान्छेको शिकार गर्न छाड्नेछ
यो उसको विश्वास हो।
उसको कल्पना अनुसार
कसैको गहबाट झार्ने छैन आँशु
कसैको मनको दहमा हुने छैन कुनै वह
प्रेमले निथु्रक्क रुझेका मन, मुहार र अँगालाहरुमा
बाँधिएका हुनेछन् सबै,
तृप्त मन, तृप्त जीवन,
इन्द्रधनुषको नाच प्रत्येक आँगन।
म हुञ्जेल ऊ पोख्थ्यो मनका कुरा,
म बडो रस लिएर सुन्थें उसका कुरा,
ऊ झन् हौसिन्थ्यो र बनाइरहन्थ्यो विश्वको नयाँ मानचित्र
जसमा कुनै सिमाना हुँदैनथ्यो,
ऊ झन्झन् बन्थ्यो महत्वाकांक्षी
र बनाइरहन्थ्यो प्रेमको संविधान
जसमा मानिसबीच सामञ्जस्य बाहेक केही हुँदैनथ्यो।
बस् यही प्रार्थना छ समयसँग
उसको न्यास्रोपन केहीबेर मात्र रहोस्
र, समयले उसको सपनाको दियोमा तेल थपिरहोस्।
लोक धुन
सुदीप पाखि्रन
नाथे हुस्सू जित्न नसक्ने
यो फुच्चे सूर्यलाई
अडेस लाइरहेको छानोबाट झिकेर
ब्रह्माण्डको ब्ल्याक होलतिर कतै।
बेला न कुबेला
काला बादलहरुमा तुर्लुङ्ग.. झुण्डिरहने
यो चमेरे जून
हामीलाई के काम?
कुचोले झारेर
मिल्काए भो
लगेर बरमुडा त्रिकोणमा।
बल्ने भन्दा बढी निभ्ने
यी रहर जस्ता जूनकीरीहरु,
अँध्यारोले गिज्याइरहने
यी लोक धुन जस्ता ताराहरु,
खालि दुःख रोइरहने
झ्याउँकीरीहरु,
बरण्डामै आएर
घरीघरी
मात्रै पीडा रटिरहने
यी भँगेराहरु
अहँ!
हाम्रा होइनन्
कुनै पनि कोणबाट।
किन नौटंकी गर्छन् हँ?
बेलाबेला
यो चेपारे बिजुली
गड्याङ्... र गुडुङ्ग... गर्दै
हामी वरिपरि उम्रेका
यी युगीन
राक्षस–अन्धकारसँग
पौंठेजोरी खेल्छु भन्दै, व्यर्थै।
के यिनीहरुलाई
थाहा छैन र?
हामी हाम्रै उज्यालाबाट
पराजित छौं― युगौंदेखि।
हामी हाम्रै आफ्नाबाट
प्रताडित छौं– शताब्दीयौंदेखि।
ध्यानस्थ रूख र मालश्री धुन
शशि लुमुम्बू
सखुवाको बूढो रूख देखेपछि
मैले बाबालाई सम्झे ...।
बाबा
पहाडजस्तै खँदिलो
र, पूर्णेको जूनजस्तै हँसिलो हुनुहुन्थ्यो
पवन झै वेगवान
र, नदी झै गतिशील हुनुहुन्थ्यो।
आकाश–आमाले
स–साना बादल नानीबाबुहरूलाई
टाँसेर टपक्क छातीमा
खन्याए झै सहस्र ममता
बाबा
राख्नुहुन्थ्यो उचालेर मलाई
आफ्नो पृथ्वीजस्तो काँधमा
र, देखाउनुहुन्थ्यो आकाश–गंगा।
म हेर्थें―
घुरुक्क उघारेर क्षितिजको दैलो
विश्वयात्रामा निस्किएको बालक–सूर्य
ठुस्किन्थ्यो डाहाले
रिसाउँथ्यो शिशु–जून
र, छलिन्थ्यो इर्ष्याको झ्याङभित्र।
खैंचेर हातमा लट्टाइको लगाम
उडाउँदै डाँडैडाँडा मायाको चंगा
डोर्याउँदै मलाई
बाबा
जब डुल्नुहुन्थ्यो गाउँ
पछ्याउन थाल्थे―
खुशीले उफ्रिंदै शरद–फूलहरू
बज्न थाल्थे―
मालश्री धुनहरू...।