१२-२५ असोज २०७१ | 28 September 2014

उमराव जान

Share:
  

चन्द्र घिमिरे

मान्छे बेच्ने पहाडबाट

उर्मिला, कल्पनासितै

जँड्याहा लोग्नेबाट आजित सुनितालाई

काखे छोरी सहित सूर्ती झै खरिदेर

चढाएको फर्जी सपना थियो

भेलपुरी खुवाउँदै रेलबाट ओराले

र मिसियो बगिरहेको मान्छेको समुद्रमा

प्वाल परेर डुबिरहेको नौका

यो धारिलो महानगरमा।

सम्पादक रहेछ कपाल कुर्लुङ्ग परेको महानगर

सम्पादन गरेर

कमनीय नाम दिलायो

― उमराव जान

उसमा दोष थियो

भूकम्प गइरहने उमेर

छालमा पहाडको आईडी

छोरी मान्छेको घडेरी राखियो

बिक्रीमा।

पल्टिएको रेडलाइट गल्ली

ओसिएको थियो वेश्या पुराना हुनाले

गाहकी नमिल्दा दलाल थाक्थ्यो

सस्तो चुरोट आधा तान्थ्यो/आधा राख्थ्यो

झ्ार्कन्थ्यो चिनी रोगी झै दुब्लाएको आफ्नो कमाइसँग

उमरावलाई तन्ना ओछ्याएदेखि

तरुणी भाउ तिर्न रौसिए रातहरू

कोठीमा खुशी लाइन लाग्यो

सिरानीमा ढल्किएर नवाबी साँझहरू

अबेर रातसम्म

बाँच्यो

नाच्यो

मर्क्यो

उमरावको बेचिएको कम्मर

जहाँ कोठा पाउन गाह्रो भो।

कति दैनिकी आए गए

पखालिएन वर्षौं पुरानो त्यो स्मृति

बैंसको शेयर बेच्ने

उमरावको भद्दा लिपस्टिक छेउ

एकदिन स्याउला झै हल्लिने

डाक्टरी पढ्ने पातलो कवि ठिटो थियो

सामाजिक कार्यकर्ता शैलीमा

घर फर्किन फकाउँदै थियो

उसलाई सोधी

छोकरा, मलाई स्वीकार्छौ?

मेरी छोरी छे, अपनाउँछौ?

ड्राइभर गोपाल भन्दा असल छौ?

सामाजिक फिलिममा कथा अर्कै हुन्थ्यो

अस्वीकृत विद्यार्थी तत्कालै किनार लाग्यो

मुजुराको तालमा कामुक नोटहरू

हावामा कावा खाइरहे

ऊ र गोरो कम्मर

कुमालेको चक्र झै घुमिरहे।

वर्तमानले

उमरावलाई विनयपूर्वक बोलाउँछ

– सोना बाई

कोठीवाली औकात त्यसै बनेको हैन

जुन निकुञ्जसँग छ

कलकलाउँदा उमराव जानहरू

आफ्नै बहिनी बेचेको दलाल नन्दन

सेता लुगामा धाउँछन्

हाइप्रोफाइल गाहकीहरू।

अचेल मर्लान्त दुख्छ सोना बाईको कम्मर

छोरीको पातलो कम्मरले पालो दे'को छ

चाहिएको रै'छ एउटा उमराव जान

वर्षौं पहिले बेच्नु अघि

दयावान यो महानगरले एउटा झिकेर

अर्को उभारेको थियो उसको किडनी।


ज्ञानुवाकर पौडेल

सिउँदो तिम्रो जब ओभानो लाग्यो

घर आफ्नो पनि बिरानो लाग्यो

नजुराए पनि मेल दैवले हाम्रो

सम्बन्ध भने सारै न्यानो लाग्यो

सुनें आज जब विरह गीत तिम्रो

उठूँ र बजाउँ त्यो पियानो लाग्यो

बल्झेर दुख्ता घाउ आज बिछोडको

खोलेर व्यर्थै हेरेछु एल्बम पुरानो लाग्यो

तिमी के गयौ हल्लाउँदै बिदाइको हात

छुट्ने पो हो कि मेरो भक्कानो लाग्यो।

शीतल कादम्बिनी

यन्त्र झै लाग्छन् शहरका मान्छेहरू

कहाँ छ समवेदना पत्थरका मान्छेहरू

उनीहरू आफूलाई निकै माथि छु भन्छन्

तर कति तल देखिन्छन् अम्बरका मान्छेहरू

म त्यो उत्साह र उज्यालो उमार्न चाहन्छु

जवानी मलाई देऊ ए भर्खरका मान्छेहरू

जहाँ जहाँ म जान्छु तुफान लिएर जान्छु होशियार भई बस ए डगरका मान्छेहरू

मनहरूको 'शीतल' छायामा छौ तिमी त

हेर न सडकमा कति छन् बेघरका मान्छेहरू

शारदा घिमिरे भैल

मरुभूमिमा झरनाको तलास थियो

वर्षौंदेखि नमेटिएको प्यास थियो।

पत्थरै पत्थरको वस्तीमा पनि

एकमात्र ऊ मुटु छुने खास थियो।

बाहिर म खुशीले धेरै छचल्किएँ

मन भित्रभित्रै कति उदास थियो।

जसरी बल्न सक्दैन सलेदो विना बत्ती

किन किन मलाई तिम्रै आश थियो।

कसैले बुझेर नि बुझ्न चाहेनन् मेरो व्यथा

जूनतारा झार्ने कुरा त्यो उसको बकवास थियो।


विचारको ढाड

शकुन्तला जोशी

त्यसपछि मलाई कहिल्यै मन परेनन्

विचारलाई नुहाएर

सुलिसजस्तो दोब्रिने मान्छेहरू

ती जो छन् आफैंलाई मिसाएर पानीमा

नदीजस्तै बगिरहेका मान्छेहरू

ती जो छन् आफैंलाई मुछेर पसिनामा

माटोजस्तै बाँचिरहेका मान्छेहरू

जब हाँस्छन् निष्पि्कक्री उज्यालो छरेर अनुहारभरी

त्यसपछि मलाई कहिल्यै मन परेनन्

विचारलाई नुहाएर सुलिसजस्तो दोब्रिने मान्छेहरू

सरकारले भर्खरै झुण्ड्यायो

नानीहरूका नाममा एउटा शैक्षिक ब्यानर

त्यस मुन्तिर

स्कूल देख्न नपाएर रोइरहेको एउटा बालक

चुरोटको खोलमा टाँसिएका अक्षरहरू

धुलौटे हातले सुम्सुम्याउँछ र फिस्स मुस्कुराउँछ

चाङ मिलाएर किताब खाँदिएका ब्याग लतार्दै

स्कूल पुगेका नानीहरू पनि अचेल

किन पढ्छन् किताबभन्दा बढी मास्टरका अनुहार?

किन सोध्नुहुन्छ बा

दुःखको कथा कतै छापिन्छ कि छापिन्न?

किन सोध्नुहुन्छ आमा

आइमाईहरूले पर्खाल नाघ्न हुन्छ कि हुँदैन?

किन च्यात्यो त्यो ठिटोले

मूल बाटोमा उभिएर नागरिकता?

किन फुटाई बहिनीले भित्तामा टाँसेको ऐना?

किन निदाउन सक्दैनन् चैनले अचेल

गाउँका मान्छेहरू?

समयको एउटै धारमा बगिरहेको बेला

जब देख्छु विद्रोहले थर्थराइरहेका अनुहार वस्तीभरि

त्यसपछि कहिल्यै मन परेनन्

विचारलाई नुहाएर सुलिसजस्तो दोब्रिने मान्छेहरू।


यसपालिको दशैं

देवी नेपाल

आयो चाड दशैं अपार मनमा आनन्द छायो पुनः

बर्सायो दिलभीत्र शीतल झ्ारी पर्दैन कोही रुन।

पीडा ती मनका भुली विगतका हाँस्दै छ गोदावरी

सुन्दैनौं अब ती कथा रगतका भन्दै छ डाँफेचरी।।

यौटै यो घरमा फुटेर जमरा–टीका नलाऔं अब

सिङ्गो संस्कृति, सभ्यता र गरिमा यो देशको वैभव।

काटिन्नन् अब ता खसी र कुखुरा दुर्भाव काटौं बरु

माला एक भई सुसज्जित बनौं सद्भाव साटौं बरु।।

च्याङ्वा दाइ झ्ारून् सुरम्य मिथिला टीका लगाऊन् अनि

कर्णाली सजिलै पुगेर महतो गाऊन् नयाँ जीवनी।

पूर्वी पर्वतका किराँत घरमा नाँचून् नयाँ देउडा

च्याब्रुङ् ताल बजोस् सुदूर वनमा छर्दै नयाँ हौसला।।

'आयुः द्रोणसुते श्रियो दशरथे' लौ गुन्जियोस् चर्चमा

टीका थाप्न भनेर मस्जिद पुगौं अल्ला रहून् साथमा।

येशू, बुद्ध तथा खुदा र भगवान् साझा बनून् ईश्वर

सारा वेद, कुरान, बाइबलले साथै दिऊन् आशिक।।

सीमास्तम्भ तराइको छ पदमा कैल्यै नचुक्ने गरी

आस्थाको छ उपत्यका हृदयमा कैल्यै नटुट्ने गरी।

आशीर्वाद हिमालको लिन सकौं कैल्यै नझुक्ने गरी

सिङ्गो संस्कृतिको पहाड उभियोस् कैल्यै नफुट्ने गरी।।

छन्दः शार्दूलविक्रीडित


दशैं

रञ्जना पौडेल

सबै राम्रा राम्रा सरस खुशियाली पन सगै।

झुलेका देखिन्छन् स्वजनहरुको साथ छ सगै।।

मलाई यो बेला किन विरसिलो लाग्छ दुनियाँ।

म झूत्रे झाम्रे छू रसविन विरक्ति छ हुलियाँ।।

ठुला अग्ला राम्रा भवनहरुका मानिसहरू।

कुही गन्धे लाग्छन् छरि अगतिला पर्फ्युमहरू।।

मलाई नाना नै सब सपनिको याद बनिगो।

मिठो राम्रो खाना मुखबिच कतै पर्न छुटिगो।।

दशैं आयो भन्छन् खुशिसग रमाई कतिजन।

दशा मेरा निम्ति ऋण र धनमा डुब्दछ तन।।

मलाई मात्रै यो किन विरसिलो लाग्दछ दशैं।

व्यथा बोकी मेरो घर बिच न आ भो अब दशैं।।

मिठो खस्रो जे जे खुशिसग चलाउँछु गुजरा।

म जे भेट्छु यस्तै पहिरन लगाउँछु कपडा।।

जले मेरा आशा अब गरिबिको राप अति भो।

म मेरै धर्तीमा अब विलिन हुँ ताप बढि भो।।

छन्दः शिखरिणी


आधा भोगाइः आधा बगाइ

तारा पराजुली

तिमी बगेपछि

म अनायास जम्न थालेको छु।

यो निस्पट्ट तलाउ

निर्वेग प्रवाह

सिसाजस्तै चर्किएको मन

अनि अपमानको हिउँले छोपिएर

म अनायास जम्न थालेको छु

तिमी बगेपछि

अवरुद्ध छाल

थकित सुसाइ

मनका पर्वत हल्लाउने मझ्ाधारका ठक्करहरू

हतारका पाइला

नसङ्लिंदै धमिलिएर बग्ने

अतृप्त मनोलोकका नागवेली

दोहोरी फुल्ने बाटोहरू

सबै सबै थाती राखेर

म अनायास जम्न थालेको छु

तिमी बगेपछि

सम्झ्ानाले दुखेका किनारहरू

एकान्तले चिमोटेको मौनता

पलपलको उच्छ्वास

एकोहोरो रिक्तता बोकेर

म अनायास जम्न थालेको छु

तिमी बगेपछि

छानो सम्झे मैले प्रेम गरेको आकाश

जब शिरैमाथि खस्यो

फूलैफूल सम्झिएँ बाटोहरू

काँडा भई बिझाए पैतालामा

तब लरखराइरहे पाइलाहरू

एकाएक डस्न थाले आफ्नै फूल र कोपिलाहरूले

तब असिनाले कुटेको पालुवा झै

हराउँदै गयो आफ्नै ओज समेत

साँघुरो धरातलभित्र उडिरहेछ

अनौठोसँग तृषार्त कुहिरो

अब कसरी छिचोल्नु यो पीडाको राजमार्ग

अर्धमूर्छित जिन्दगीलाई करैले घिस्याउँदै

कसरी पुग्नु घामहरूको गाउँ?

आज त आएर भने,

नफुल्दै गरेका फूलहरूले

नबल्दै गरेका दीपहरूले

नबग्दै गरेका तालहरुले

समय यसरी जमेको त बग्नलाई पो त!'

comments powered by Disqus

रमझम