१२-२५ असोज २०७१ | 28 September 2014

छ्याङ्ग च्छोरोल्पा!

Share:
  
- युवराज नयाँघरे
हिमालमा पनि 'अग्रगामी छलाङ जिन्दावाद, अमेरिकी साम्राज्य मूर्दावाद!' कति हाँस्नु!

सिमीगाउँ टेक्दा दिन ढल्यो।

चैतका लामा दिन। पात झ्रेर बाटो छ चिप्लो। अघि उक्लँदाको हैरानी अब झ्न् भयो महामुश्किल। तेर्छो र तेर्पायँपछि घनघोर जङ्गलमा छिरेका छौं। पानी दर्काउनलाई भेला भइरहेको छ― लामबगरको घुर्मैलो आकाश।

चरीकोटे सँगीहरू छन्―उद्धव लुइँटेल र कमल कार्की। च्छोरोल्पा जान मनैदेखि उचालिएका खुट्टा यतिखेर थाकेका र असिनपसिन छन्। चिप्लिएर खोंचमा खसिएला कि भनेर अत्तालिएको छ मन। अझ् लेक लागेर फर्किनु पो पर्ने हो कि! सुस्ताई–सुस्ताई हिंडेको छु।

साँझ् पर्दै गएपछि बाँदर, लोखर्के र वन–बिरालाको कुदाकुद देखियो, चराहरू चूपचाप भए। पछाडिको भ्यागुते झोला सरेर हैरान बनाउँछ। अगाडि–पछाडि भइरहन्छन् साथीहरू। सिस्नेरी पुग्दा अँध्यारै भयो। रोल्वालिङ पारिका डाँडाहरू कालाम्मे देखिए। गौरीशङ्करका चुचुरा भए पर–पर।

निकै रात परेपछि सुरमुचेमा बास भयो। जङ्गलका माझ्मा एउटा घर। तीन जना लालाबाला लिएर बसेकी शेर्पिनीसँग बास माग्यौं। उनको दुःखले मुटुको झुत्तो चुडिउँला–चुडिउँला भयो।

जाडोले दाँत बजेका थिए किटिट्ट। अँगेनाको छेउमा तीन भाइ डोरीझैं बाटिएर सुत्यौं।

भोलिपल्ट बिहान ६ बजे नै पाइला घिसार्‍यौं। अब केल्जेमा मात्रै छ रे खान पाइने ठाउँ।

बाटो अझ् अप्ठ्यारो छ भन्ने सुनेको थिएँ। मुटुको चालमा खुट्टा लम्काएको छु। फाट्टफुट्ट मान्छे भेटिन्थे। रोल्वालिङ खोलाको चर्को आवाज कानमा परिरहेको छ। पारि–वारि घनघोर वन र र्झ्नाहरूका साथी भएर लम्केका छांै। परी–परीका गुराँस हेर्नुपरे च्छोरोल्पातिर लाग्नुपर्ने रहेछ। साथीहरूले टिप्पा कस्न थालेका थिए– 'यै तालले त भरे ओडारको बास होला नि!'

घुमाउरो डाँडाबाट निस्कँदै, पस्दै भइरहेछ हाम्रो लम्काइ तेर्पे उकाली भएर ठूलो र्झ्ना भएको खोंचमा पुग्यो। अनि डोगाङमा एउटा घर भेटियो। यहाँ खानलाई फाट्टफुट्ट बटुवा आउने रहेछन्।

केल्जेमा उही साग आलु जुर्‍यो। लेक लाग्ला भनेर लगेको अचार थप्दै खाना पचाइरहेथ्यौं। तर आलु र साग मेरो ज्यानमा नपच्ने सुरसार भयो। घरीघरी झ्ाडीतिर पसिरहनुपर्ने अवस्था आयो। मेरो मुटु ढुकढुक हुन थाल्यो। म च्छोरोल्पा पुगिन भने?

मलाई त्यो हिमाली ताल पुग्न नपाई फर्कन मन थिएन। रोल्वालिङ तरेपछि उकालो आयो। गुराँसघारी र काला पहाडको अक्करे चेपमा पाइला लम्काउनै सकस पर्‍यो। गौरीशङ्करका सेता चुली उत्तरतिर देखिने र लुक्ने क्रमले आँखालाई सतर्क्याइरहेकै छ। दक्षिणतिर झ्नै मन विभोर पार्ने हिमाली पखेरा हेर्न आँखालाई भ्याई–नभ्याई छ।

निगालाका तिखा सिन्कामा टिम्मुर, खुर्सानी, अदुवा उनेछन् कार्कीले। लुइँटेलले त्यसमा थपे– लसुन, प्याज र नुन। लेकलाई लखेट्न हामी त्यसलाई चाट्छौं, चुस्छौं।

अब हिमाली उँचाइले खुट्टा पछाडि तान्न थाले। हिंड्दै, थाक्दै र बिसाउँदै। यत्ति तीन कुरा भएका छन्। पुग्ने ठाउँलाई अनकन्टार पहाड, चेप, हिउँचुलीले झ्न् पर–पर पार्थ्यो। ठाँटी पुग्दा सास फेर्न गाह्रो भयो। पाँच–सात चौंरी चरिरहेका देखिन्थे। गोठहरू पनि देखिए, तर मानिसको चिनोवानो थिएन।

म लुइँटेलले दिएको कालो चश्मा लगाएर जडौरी तालमा हिंडिरहेको छु। भर्खर अप्रेसन गरेको आँखा र मर्केको घुँडो भए पनि मन भने बलियो थियो मेरो। रोल्वालिङको पानीले हातमुख धोएँ, शिरमै छकरें। दाँतै सिरिङ्ग्याउने पानीले पैतालासम्मका नसा झ्नन्न बनाए।

बौद्ध र हिन्दूको तीर्थस्थल समदर भेटियो– धजै–धजा, त्रिशूलै–त्रिशूल। त्यहाँबाट तेर्छो हिंडेपछि अलिअलि टारबारी देखिए। ढुंगाका चेपहरूमा ओडारे घरहरू पनि देखापर्न थाले। त्यस्ता मन अत्याउने घरका झयालहरूमा रङ्गीचङ्गी पर्दा देखिन्थे।
फेरि भेटिए चौंरीका बथान। लामा–लामा सिङ गरेका चौंरीका हूलले गोब्राएका बारीका पाटामा आलु रोपिएका। काठ, हाँगा, ढुंगाका उरुङखात हालेर ढोका थुनिएका घरहरू थिए। यतातिर मान्छेभन्दा ज्यास्ती डाँफे, मुनालका हूल देखिंदा रहेछन्।

भर्खरै हिउँ निकै तलसम्म परेको थियो। ढुंगेनी उबडखाबडमा हिंड्नै मुश्किल। दम उत्तिकै फुलेको छ। सिरेटो र उकालोको असिनपसिनबीच तालमेल मिलाउन सकस परिरहेको छ। झ्मक्कै साँझ्मा वेदिङ (३९५० मीटर) पुग्यौं।

वरपरका हिमालले ह्वारह्वारी हिउँको स्याँठ वेदिङतिर पठाइरहेको छ। हामीले आ–आफ्नो ज्यानलाई ऊनको धोक्रोभित्र खँदार्‍यौं। साठी घरधुरी रहेको वेदिङका धेरैजसो आलु रोप्न ना गाउँतिर गएका रहेछन्। हिमालमा हिउँसँगै गाउँ सर्छ। माथिल्लो पाखाबाट रोल्वालिङको दक्षिणी बगरसम्म फैलेको थियो वेदिङ। आगो ताप्दा चिनाजानी भएका दावाले भने, “यहाँका सबै घरका एक जनाले सगरमाथा चढेका छन्।”

वैशाखको एक गते बिहान सबेरै हामी लाग्यौं च्छोरोल्पातिर। राति फुसफुसाएको हिउँले बाटो चिप्लो थियो। टेकेको ठाउँमा नअडिएर ढुन्मुनिंदै निकै पर पुगिन्थ्यो। बाटो अब तेर्सो र तेर्पे भए पनि उच्च हिमाली हावापानीका कारण लस्त हुन्थें म। अक्सिजन नपुगेर छाती डम्म थिचिएजस्तो हुन्थ्यो। पोथ्रै–पोथ्राहरू थिए बाटामा।

दुई दिनअघि हेरेको अग्ला–अग्ला गुराँसका बोट हाम्रा घुँडाभन्दा होचा भएका छन्।
हिउँको कचौरोजस्तो ना गाउँ पुग्दा बाक्लै भेटिए आलु रोपिरहेका शेर्पाहरू। भेडा, चौंरी र खच्चड देखिन्थे जतासुकै। कलकली भोकाएका हामीले आङ निमाको घरमा झोलाझयाम्टा थन्कायौं। यतिञ्जेलमा साग र आलुसँगै जब्बरे चामल फत्किसकेछ। भुँडी उकासेर हामी लर्कियौं पूर्वतिर।

दक्षिणपट्टि हिउँ नै हिउँले थेप्चिएको डाँडो लम्सारिएको छ। उत्तरतिर कालाम्मे पहाड पसारिएको थियो। त्यसउता गौरीशङ्करका चुलीहरू छन्। चारैतिर हिउँ नै हिउँको खात छ। खोंच र चेपमा सेताम्मे हिउँ धूलो उड्छ। टाढा कतै गड्याम–गड्याम आवाज सुनिन्छ। निकैबेरपछि कन्दराको चेपबाट मास्तिर उच्छिटिएको देखिन्छ हिमकणको मुस्लो। दावा छिरीले 'च्छोरोल्पा जाँदा हिमपहिरो देखिन्छ' भनेका थिए, हो रहेछ।

सुनपाती र सुनधूपीका बुट्यानले बाटै छेक्थे। बाटाभरि काँडैकाँडाका पोथ्रा। बाढी आएमा सतर्कताको घन्टी बज्ने पोलहरू पनि देखिए, तर तिनबाट साइरन खुस्केका थिए।

हामीले घन्टौं वरपर गरेर च्छोरोल्पाको आकार, रूप, चरित्र पढ्यौं। च्छोरोल्पा छोड्दा छ्याङ्ग खुलेको थियो। बाटाभरि चौंरी र भेडाका बथान चरिरहेका देखिन्थे। दाहिनेतिर आँखै तिर्मिराउने हिमालको लस्कर छ। माथिबाट एकाएक खसेको हिउँ अलिक तल मोहक र्झ्ना बनेको देखिन्थ्यो। कतै मास्तिर हिउँ, तलतिर पानी कुलकुलाएका देखिए।

दिउँसो भएथ्यो च्छोरोल्पा पुग्दा। तीन दिनको अटुट हिंडाइले ताल टेक्न सकेका थियौं। तालका तीनैतिर हिउँका आपट्टे चुलीहरू थिए। तीन सुरबाट अटुट खसेको हिउँ पग्लेर च्छोरोल्पा हिमताल बनेको रहेछ। हामी पुग्दा ताल कतै पग्लेको, कतै जमेको रूपरङमा थियो। ठमठमी हिंड्नै मिल्ने गरी जमेको तालमा साथीहरूले हानेका ढुंगा चिप्लिएर उत्तरी भित्तो छेउ पुगेथे।

तालको दक्षिणपट्टि पानी पठाएर बिजुली निकाल्ने प्रयास पनि भएको रहेछ। भताभुंग पार्न तम्सेका लडाकूहरूले त्यो मेशीन भत्काएर नारा लेख्न भ्याएछन्– 'अग्रगामी छलाङ जिन्दावाद! अमेरिकी साम्राज्य मूर्दावाद!' मलाई हाँसो उठ्यो। हामीले च्छोरोल्पा छोड्दा दिन थियो छ्याङ्ग!

comments powered by Disqus

रमझम