प्रशंसनीय सुरुआत निरन्तरताको चुनौती

Share:
  
- हरिहर गुरागाईं
राजमार्ग वरपरका होटलको खानेकुराको गुणस्तरका आधारमा टाँसिएको हरियो स्टिकरको प्रभावकारी अनुगमन नभए त्यो फोहोर खाना बेच्ने लाइसेन्स हुनेछ।
p50
 
 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मुग्लिन–नारायणगढ सडक छेउछाउका होटल–रेष्टुरेण्टमा खानेकुराको गुणस्तर हेरेर हरियो, पहेंलो र रातो रंगको स्टिकर वितरण गर्न थालेको छ। स्टिकरमा विभागको छापसहित होटलले पालना गर्नुपर्ने न्यूनतम मापदण्ड उल्लेख छ, जसअनुसार होटल व्यवसायीले खाद्यपदार्थ प्रशोधनका लागि २० बुँदे ग्रेडिङ प्रणाली अपनाउनुपर्नेछ। तीमध्ये पनि ६ वटा बुँदालाई अत्यन्तै संवेदनशील वर्गमा राखिएको छ, जसमा व्यक्तिगत सरसफाइ, शौचालयको व्यवस्थापन, खानेपानीको गुणस्तर, पकाएको खानाको भण्डारण, उब्रेको खानेकुराको विसर्जन र झिंगा, मुसा आदिबाट खाद्य पदार्थको सुरक्षाका कुरा छन्। 

विभागले गर्ने खानेकुराको गुणस्तर मूल्यांकनमा होटलहरूले तिनै २० बुँदाका आधारमा 'अति–उत्तम', 'उत्तम', 'सन्तोषजनक', 'साधारण' र 'खराब' गरी क्रमशः पाँचदेखि एक अंक तथा सबै बुँदामा अति–उत्तम हुनेले १०० अंक पाउनेछन्। हरियो स्टिकर पाउन समग्रमा ६६ अंक र संवेदनशील भनिएका सबै ६ बुँदामा कम्तीमा ४ अंक पाउनुपर्दछ। यति नपाउने होटललाई सुधार गर्नुपर्ने सुझ्ावसहित एउटा रातो धर्को भएको पहेंलो स्टिकर दिइनेछ। तिनले कमजोरी सुधारे भने हरियो स्टिकर पाउने छन् भने सुधार नगरे दुई वटा रातो धर्का भएको पहेंलो स्टिकर पाउने छन्। त्यसपछि पनि सुधार नभए रातो स्टिकर दिइनेछ, जसको अर्थ होटल–रेष्टुरेण्ट बन्द गरिनु हो। यसरी बन्द भएका होटलले सरसफाइ मापदण्ड पालना नगरेसम्म व्यवसाय सञ्चालन गर्न पाउँदैनन्। 
 
गुणस्तरहीनको बिगबिगी 
नारायणगढ–मुग्लिन सडक खण्डको छेउछाउमा अनुगमन गरिएका ४८ रेष्टुरेण्टमध्ये तीन वटाले हरियो स्टिकर, ४० वटाले एउटा रातो धर्का भएको पहेंलो स्टिकर र पाँच वटाले दुई रातो धर्का भएको पहेंलो स्टिकर पाएका छन्। अनुगमनमा खटिएका खाद्य प्राविधिज्ञ तथा खाद्य निरीक्षक योगेन्द्र ढुंगेलका अनुसार करीब ६ प्रतिशत होटल रेष्टुरेण्ट मात्र गुणस्तरको मापदण्डमा पर्नुले अधिकांश होटलले सुधार गर्नुपर्नेछ। होटल–रेष्टुरेण्टले आम उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने र एउटा होटलको गुणस्तरहीन खानाले कैयौं मानिसको स्वास्थ्यमा असर पार्नसक्ने हुनाले यो व्यवसायमा खाद्य प्रशोधनका सामान्य सिद्धान्तलाई पालना गर्नुपर्ने ढुंगेल बताउँछन्। पैसा तिर्ने ग्राहकले स्वस्थकर खाना खान नपाउनु उपभोक्ता अधिकारको उल्लंघन पनि हो।      
 
p50a
 
 

 

सडक छेउका होटल–रेष्टुरेण्टमा आउने ग्राहकहरू सामान्यतया एक पटक मात्र खान आउने र उक्त खानाबाट कुनै खराबी भए उजुरी गर्ने प्रक्रिया झ्ञ्झ्टिलो हुने भएकोले व्यवसायीले खाद्य स्वच्छतामा बेवास्ता गर्ने गरेका छन्। यो बेवास्तालाई बुझेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मुग्लिन–नारायणगढ क्षेत्रबाट होटलको वर्गीकरण र स्टिकर वितरण शुरू गरेको हो। वर्गीकरण गरिएका होटलको प्रभावकारी अनुगमन भएन भने चाहिं विभागले टाँसेको हरियो स्टिकर फोहोर खाना बेच्न छुट दिने लाइसेन्स हुनेछ। 
 
होटल–रेष्टुरेण्टको वर्गीकरण गर्ने चलन विश्वका अन्य मुलुकमा पनि पाइन्छ। गएको १ जुलाईदेखि अमेरिकी राज्य क्यानिफोर्नियाको अलामेडा काउण्टीका ६००० भन्दा बढी रेष्टुरेण्टमा हरियो, पहेंलो र रातो रंगको स्टिकर बाँडिएको थियो। यस्तो प्रणाली क्यानडा, सिंगापुर, न्युजिल्याण्ड लगायतका देशमा पनि प्रभावकारी देखिएको छ। आशा गरौं, नेपालमा शुरू गरिएको वर्गीकरणले व्यवसायीलाई सुधार गर्ने र उपभोक्तालाई सुरक्षित खाना खान पाउने अवसर निर्माण गर्न सहयोग पुर्‍याउनेछ। 

 

comments powered by Disqus

रमझम