२-१५ कात्तिक २०७१ | 19 Oct 1- Nov 2014

कथाको माग

Share:
  
- महेश थापा
'कथाले मागेजति देखाउने' नेपाली फिल्मका नव–नायिकालाई समेत माथ खुवाउने भइसके है जनमुक्तिको जुक्ति झिक्ने हाम्रा लीलावादी नेताजी पनि!

बिलाश राई
मागभन्दा बढी आपूर्ति गर्न तत्परहरू फेला परे'सी निर्माता/निर्देशकले कथालाई मगन्ते बनाउँदा हेर्ने र हेराउनेलाई शरम नलागे पनि कथा स्वयंले चाहिं मुख छोप्दो हो। कथालाई बुरुक्क–बुरुक्क उफ्रँदै र पाखुरा सुर्कंदै माग्न लगाउने अनि कथाको माग पूरा गर्न कत्ति पनि कन्जुस्याईं नगर्ने वीराङ्गनाहरू बाक्लिंदै जाँदा कलिउडप्रति पश्चिमा एडल्ट डाइरेक्टरहरू पनि हल्का–हल्का रूपमा आकर्षित हुन थालेको उडन्ते समाचार हाम्रो टोलसम्मै पनि आइपुगेको अवस्था हो।

आवश्यकता मुताबिक कथालाई भीखमङ्गा बनाई सर्वाङ्ग प्रदर्शन गर्नमा संसारकै चिलिम फर्काउनेमा भने हाम्रा 'अग्रगामी' राजनीतिकर्मीहरूले नै पहिलो नाम दर्ता गराउलान् जस्तो छ। नत्र, समय घर्किंदै गएको बेला संविधान निर्माणको मेलो छाडी किन आन्दोलनको मोर्चाबन्दी गर्थे? आन्दोलनको निहितार्थ चाहिं संविधान निर्माणमा सहयोग पुर्‍याउनु अरे! बर्खायाममा रोपाहार र बाउसे जति डेटिङमा हिंड्ने अनि हिउँद मासमा आकाशबाट ओर्लेर इन्द्रेको बाउ चन्द्रेले रोपाईं गरिदिने? र पनि, नेताजीले बीसको उन्नाइस हुने छेकछन्द देखाएका छैनन्। “यो त कास्टिङ्ग र ट्रेलर मात्र हो”, कार्यकर्ताको पिलन्धरे उपस्थितिबीच आन्दोलनको समुद्घाटन गर्दै अग्रगमनको जिम्मुवाल नेताजी कुर्लिए, “पहिचान विरोधीलाई छाडिन्न...।”

“समातेर पूरै फिलिम देखाउने हो र?” पत्रकारको नाममा मैले जिज्ञासा राखें। “एकथान संविधान मान्य हुँदैन”, नेताजी रन्किए।

“छाप्न त बग्रेल्ती नै छाप्लान्, थानगन्तीमा समस्या हो कि जात–जातको संविधान बनाउन नपाउँदाको ऐंठन?”

“बहुमतबाट संविधान बनाए भष्म खरानी पारिन्छ।”

“अल्पमतबाट पास गर्ने त? कास्टिङ्ग–सास्टिङ्गको चुरीफुरी देखाउँदा जनताले फेरि कास्टिक सोडा खन्याइदिने डेन्जर देख्नुहुन्न?”

नेताजी केही धुमिल देखिए।

दुईतिहाई बहुमत ल्याई मनमाफिक संविधान लेख्ने दम्भमा जन–जनबीच भाले भिडन्तको प्रपञ्च मिलाई बनिबनाउ सहमति तोडेर पहिलो संविधानसभा चिरिप्प पारेका अग्रगमनका यी माउते महोदय निर्वाचन परिणामको काउसो नबिझ्ुन्जेल 'संविधान निर्माणका लागि प्रक्रियामा नजानु महाभूल भएकाले अब बहुमतीय प्रक्रियामा लगेर भए'नि एक वर्ष भित्रै संविधान खसालिन्छ' भन्दै थिए। मैले त्योसँगै चुनावी घोषणापत्रमा लिपिबद्ध बुँदाका फुँदाहरू सम्झाएँ।

“बासी कुरा सेवन गरेर यथास्थितिवादी नबनौं”, नेताजीले बत्तीसा देखाए, “परिस्थिति बदलिएको हुँदा कथाले नयाँ माग राख्या स्थिति हो!”

संकटको घडीमा संविधान लेख्ने छलफल चलाउन खोज्दा अग्रगमनका यी मसीहाले 'लप्पन–छप्पनको कुरा छैन, संविधानसभाबाटै संविधान!' भन्ने बुलन्द हुइयाँ मच्चाएका थिए। अहिले यिनै अतिरथी संविधानसभा माथि राजनीतिक संयन्त्रको घोडा चढाएर मात्र संविधान भन्दै कुकाइरहेका छन्।

“यो त दोगलापन्थ भएन, महोदय?”

“कथाको माग बदलिएछ भन्नुस्।”

कतिखेर के मागिदेला भन्ने भर नभएको हाम्रो संविधान निर्माणको कथा पनि लास्टै हरितन्नम भएछ। वैद्य बालाई स्वाट्ट सुई घोचेर निर्वाचनमा घुस्न नदिने उनै औतारी बहिष्कारवादीलाई सहमतिमा ल्याउन गोलमेच सम्मेलनको झारफुक पनि गरिरहेका छन्। लाग्छ, यिनी एकताका शाही औषधालयले निकाल्ने शिव जलगोटी हुन्– खाए पनि हुने र लगाए पनि मिल्ने। एउटा खुट्टो संविधानसभामा, अर्को खुट्टो बहिष्कारवादीको डुङ्गामा। प्रमुख प्रतिपक्षी नेता, उच्चस्तरीय संयन्त्रको मुखिया र आन्दोलनकारी मोर्चाको नाइके पनि आफैं। सडकमा ढ्यांग्रो ठटायो, सदन अवरुद्ध गराई जनप्रतिनिधिको मुखाँ बुची लगायो अनि संयन्त्र नाइकेको हैसियतमा आफ्नो माग आफैं पूरा गरायो। 'जनताको संविधान' जारी गराउने यिनको लीला देख्दा लीलाका जनक श्रीकृष्ण पनि तीन हैन, ६ छक् पर्दा हुन्!

यो शैलीलाई गँगटोले झैं करप्प अँठ्याएर नखाए घिचाउने कर्कटे काइदाको रूपमा किमार्थ नबुझियोस् भन्ने उनको जब्बरे जिकिर छ। नयाँ नेपालका पुराना जनताले आँ मुख बाएर फाली, जुवा, हरिस, अनौ, जोतारा सबै खुस्काएर 'लौ जोत' भन्ने नयाँ नेपालको तिर्ताले काइदा देख्नु/भोग्नु परेको छ। मागको यस्तो लबस्तर्‍याइँ त कलिउडे कथाहरूमा पनि भेटिन्न। आजित जनता जनार्दनको तर्फबाट मैले सोधें, “तपाईंहरूले बनाउन लागेको फिलिमको नाम नकचर्‍याइँ नै होला, हैन?”

टाईसुटमा गमक्क फस्टाएका नेताजीलाई यसो हेरें– हिमलोकतिर कछाड समेत फाल्ने मूडमा नाचिरहेका हिरो/हिरोइन भन्दा पनि 'भल्गर' प्रतीत भए। उनले पनि जवाफ नदिने विचार गरेछन्, दन्त प्रदर्शन गर्दै बाहिर लस्किए।

comments powered by Disqus

रमझम