संकटमा सिनेमा

Share:
  
- ऋषिराम कट्टेल
एकपछि अर्को फिल्म डुब्दै जाँदा नेपाली सिनेमा संकटापन्न बनेको छ।
r1
 
सो सिम्पल फिल्मको एक दृश्य।

कतिपय ठाउँमा लभ इज लाइफ, आई मीन लभ, ज्यान हाजिर छ, दिलमा सजाएँ तिमीलाई, लेटर, नजरको फूल लगायतका फिल्म हलमा लागेकै दिन उत्रिए। 

दैनिक कमाइ रु.५४ हजारमा झारेपछि फिल्म उतार्ने राजधानीको विश्वज्योतिमा अहिले नयाँ फिल्मको पहिलो दिनको कमाइ जम्मा रु. २० हजार। 
 
सरदर रु.४० लाख लगानीका ७० प्रतिशत फिल्मको कमाइ रु.३ लाखदेखि रु.१० लाख मात्र।
 
नेपाली चलचित्र बजार चौपट भएको बुझाउन यी तथ्य काफी छन्। फिल्म हलमा लागेको दुई दिन (इनिसियल) चलेपछि त्यसले गर्ने व्यापारको अनुमान लगाइन्छ। तर अहिले 'इनिसियल' नै पूरा हुन नपाउँदै चलचित्र उत्रिरहेका छन्। वैशाख–कात्तिक २०६९ मा बनेका ६९ फिल्ममध्ये मालतीको भट्टी, विन्दास र किन लाग्छ माया ले बल्लतल्ल लगानी उठाए भने अरू सबैको पत्तासाफ भयो। “गत ७ महीनामा प्रदर्शितमध्ये ७० प्रतिशत फिल्मले रु.३ लाखदेखि रु.१० लाखभन्दा माथि उठाएनन्”, वितरक सुनिल मानन्धर भन्छन्। 
 
r3
 
धुवाँ यो नशा

पछिल्लो तीन महीनामा त फिल्मको औसत कमाइ रु.३ लाखदेखि रु.६ लाख रहेको निर्माता समेत रहेका मानन्धर बताउँछन्। चलचित्रको औसत लगानी भने रु.३५ लाखदेखि रु.५० लाखसम्म छ। हल व्यवसायीहरूको संस्था चलचित्र संघका महासचिव प्रदीप के उदय चलचित्र क्षेत्र निराशाजनक अवस्थामा पुगेको बताउँछन्। हुन पनि सो सिम्पल, फेस बुक, भिसा गर्ल, धुवाँ यो नशा जस्ता धुमधाम प्रचार गरिएका फिल्महरू समेत पानी विनाको माछा झ्ैं भए। निर्माता केशव भट्टराई सो सिम्पल ले आफूलाई सडकमा पुर्‍याएको बताउँछन्।  

 
संकटका कारण 
२०६८ पुसमा लूट प्रदर्शनमा आउनुअघि नेपाल चलचित्र विकास बोर्ड चलचित्र क्षेत्रमा 'संकटकाल' लगाउने तयारीमा थियो, धेरै निर्माताहरू नराम्ररी डुबेकाले। तर, त्यही बेला लूट यति चलिदियो कि 'संकटकाल' को गफ त्यसै सेलायो। त्यसलगत्तै चपली हाइट ले पनि राम्रै व्यापार गर्‍यो। तर, अहिले यो क्षेत्र छाडेर कहाँ जाने भन्ने स्थिति आएको निर्देशक तुलसी घिमिरे बताउँछन्।  
 
र पनि, भएका हलहरूले धान्नै नसक्ने गरी वार्षिक १०० हाराहारीमा फिल्म बनिरहेका छन्। निर्माता समेत रहेका प्रदीप के उदय यो 'ओभरफ्लो'लाई मात्र रोक्न सके पनि नेपाली चलचित्र बजार तै बिसेक हुने बताउँछन्। उदयका अनुसार, रहरेहरूको फिल्म बनाउने होड नै नेपाली फिल्मका लागि दशा बनेको छ। निर्देशक घिमिरे भन्छन्, “सिनेमा बारे कुनै ज्ञान नभएकाहरूले बजार ध्वस्त बनाएका हुन्।”  
 
r4
 
आई मीन लभ

 

हुनपनि, गतिला चलचित्र नबन्नु नै नेपाली सिनेमाको अधोगतिको मूल कारण हो। वरिष्ठ चलचित्रकर्मी यादव खरेल कमसल चलचित्रबाट वाक्दिक् भएका दर्शक हलमा जानै छाड्दा राम्रा चलचित्र पनि घानमा परेको बताउँछन्। यादवको विश्लेषणलाई नेपाली चलचित्रका नियमित दर्शक महेन्द्र सापकोटाको भनाइले पुष्टि गर्छ। काठमाडौं वनस्थलीका सापकोटाले एकपछि अर्को झुर फिल्म आएपछि हलतिर जानै छाडिदिएको बताए। 
 
फिल्म राम्रो हुन स्त्रि्कप्ट बलियो हुनुपर्छ भन्ने मान्यतालाई महत्व नदिनु नेपाली चलचित्र क्षेत्रको अर्को समस्या हो। चलचित्र लेखक विकास आचार्य स्त्रि्कप्टमा ध्यान नदिंदा दर्शकको खडेरी लाग्छ भन्ने कुरामा चलचित्रकर्मीले ध्यान नदिएको बताउँछन्। निर्माता, निर्देशक, हिरो वा हिरोइन हुनेहरूको रहर यति प्रबल छ कि उनीहरू स्त्रि्कप्ट हैन 'अब नयाँको पालो' भन्दै फिल्म बनाइरहेका छन्। उनीहरूले संसारभर चलेको स्टारकाष्ट हेरेर दर्शक हलमा जाने प्रक्रिया त के सिनेमाको ए बी सी डी नै नबुझेको निर्देशक मोहन निरौलाको कथन छ। 
 
अर्कोतिर, नेपाली मिडियामा पनि चलचित्रबारे सन्तुलित समाचार, रिपोर्ट, समीक्षा आदि नआएको अनुभव निर्माता संघका अध्यक्ष राजकुमार राई सुनाउँछन्। टेलिभिजनहरूमा समय किनेर चलेका फिल्मी कार्यक्रमहरूले हल खाली भएको बेला पनि हाउसफुल भनेर समाचार दिएको राई बताउँछन्। उनको भनाइमा, फिल्मको वर्गीकरण नहुनुले पनि यो समस्यामा थोरबहुत मलजल गरेको छ। राम्रो निर्देशक, राम्रा कलाकार, राम्रो विषयवस्तु तथा ठूलो लगानीको फिल्म र कुनै अल्लारेको अन्टसन्ट फिल्म एउटै हलमा चलाइन्छ। यो समस्यालाई फिल्म र हलहरूको ग्रेडिङ कार्यान्वयनले हटाउने जानकारहरू बताउँछन्। 

 

 

comments powered by Disqus

रमझम