१६-२२ कात्तिक २०७१ | 2 - 8 November 2014

मुटुमा नेपाली डाक्टरको सुनाम

Share:
  
- सञ्जीव शर्मा
अष्ट्रेलियामा कार्यरत नेपाली सर्जन कुमुद धिताल विश्वमै पहिलो पटक मृत व्यक्तिको मुटु प्रत्यारोपणबाट बिरामी बचाउन सफल भएका छन्।

सिड्नीको सेन्ट भिन्सेन्ट्स अस्पतालले मृत्यु भइसकेका व्यक्तिको मुटु अर्को बिरामीमा प्रत्यारोपण भएको जानकारी गराउँदासम्म त्यहाँ त्यस्ता तीन वटा सफलता हासिल भइसकेको थियो। तीन महीनाअघि पहिलो प्रत्यारोपण गरिएकी ५५ वर्षीया महिला र ४० वर्षका पुरुष नयाँ मुटुबाट स्वस्थ भएर घर फर्किसकेका थिए। अर्को पनि एउटा प्रत्यारोपण सफल भएको थियो। तर, अस्पतालले बिरामीहरू पूर्ण स्वस्थ नहुँदासम्म प्रत्यारोपणलाई सफल भन्न नमिल्ने भन्दै तीन महीनापछि मात्र यो जानकारी गरायो। र, यो जानकारीसँगै विश्वले थाहा पायो– चिकित्सा विज्ञानको यो उपलब्धिमा नेपाली डाक्टर कुमुद धितालको मुख्य भूमिका। गएको ७ कात्तिकमा सेन्ट भिन्सेन्ट्स अस्पतालले गरेको पत्रकार सम्मेलनमा डा. धितालले सगर्व भने, “हो, मैले यो गरें।”

मृत व्यक्तिको मुटु प्रत्यारोपणका लागि धेरै देशमा अनुसन्धान भइरहँदा भिक्टर च्याङ रिसर्च इन्ष्टिच्यूट (भीसीआरआई) र सेन्ट भिन्सेन्ट्स अस्पतालको सहकार्यमा कार्डियोथोरासिक सर्जन धिताल र उनको टोलीले यसमा फड्को मारेर विश्वचर्चाको केन्द्र बनेका छन्। डा. धिताल ९ वर्षदेखि डीसीडी (डोनेशन आफ्टर सर्कुलेटरी डेथ) हार्ट ट्रान्सप्लान्टमा अनुसन्धानरत थिए। उनको टोलीले मस्तिष्क मरिसके पनि निष्त्रि्कय नभइसकेको मुटु झ्िकेर अर्को बिरामीमा प्रत्यारोपण गरिने प्रचलित प्रक्रियाभन्दा फरक पूर्णतः मृत व्यक्तिको बन्द भइसकेको मुटु झिकी विशेष यन्त्रमा राखेर पुनः चलायमान गराई अर्को बिरामीमा सफल प्रत्यारोपण गर्‍यो। भीसीआरआईका फ्याकल्टी मेम्बर रहेका डा. धिताल सेन्ट भिन्सेन्ट्स अस्पतालमा कार्यरत छन्। यो उपलब्धिमा सेन्ट भिन्सेन्ट्स अस्पतालका मुटु तथा फोक्सो प्रत्यारोपण इकाईका निर्देशक डा. पिटर म्याकडोनाल्ड मुख्य सहयोगी थिए। यो प्रोजेक्टको अनुसन्धान भीसीआरआई र क्लिनिकल काम सेन्ट भिन्सेन्ट्समा भएको थियो।

प्रचलित विधिमा मस्तिष्क मरिसकेका (ब्रेन डेड) व्यक्तिको चलिरहेको मुटुलाई कार्डियोप्लेजिक सोलुसन राखेर बन्द (स्केमिक अरेष्ट) गराइन्छ। त्यसपछि मुटुलाई मृतकको शरीरबाट निकालेर तत्कालै औषधिसहित आइस बक्समा राखिन्छ। यसरी कोषहरू बिग्रनबाट जोगाइएको मुटु अर्को बिरामीमा प्रत्यारोपण गरिन्छ। नयाँ मान्छेको शरीरमा मुटु धड्किन थालेपछि प्रत्यारोपण सफल हुन्छ। क्यानाडामा आफू संलग्न टोलीले मुटु झ्िकिएको ७ घण्टासम्ममा यस्तो प्रत्यारोपण गरेको शिक्षण अस्पताल महाराजगञ्जका कार्डियोथोरासिक सर्जन डा. भगवान कोइराला सम्झ्न्छन्।

डा. धितालको टोलीले भने धड्कन बन्द भइसकेको मुटु निकालेर प्रत्यारोपण गरेको छ। यो प्रविधिमा मुटु चल्न छोडेको आधा घण्टाभित्रै कोसहरू बिग्रन नदिन इन्जेक्सनद्वारा विशेष प्रकारको 'सोलुसन' हालिन्छ। 'सोलुसन' दिएको ४० मिनेटभित्रै मृतककोे शरीरबाट मुटु निकालेर 'एक्स भिभो अर्गान केयर सिस्टम' (जसलाई सजिलोका लागि 'हार्ट इन अ बक्स' भनिएको छ) मा राखिन्छ। आवश्यक रगत, अक्सिजन र पोषकतत्व दिएर 'हार्ट इन अ बक्स' भित्र चलाइएको मुटुलाई बिरामीमा प्रत्यारोपण गरिन्छ।

'हार्ट इन अ बक्स' भित्र धड्किरहेको मुटु देखाउँदै डा. कुमुद धिताल।
मृत व्यक्तिको मुटुमा पठाइने 'सोलुसन' को विकास डा. धिताल संलग्न भीसीआरआईको टोलीले गरेको हो भने 'हर्ट इन अ बक्स' उनीसँग नियमित सम्पर्कमा रहेका अमेरिकी अनुसन्धानकर्ताहरूले बनाएका हुन्। ७ कात्तिकको पत्रकार सम्मेलनमा डा. पिटर म्याकडोनाल्डले यो प्रविधिलाई २० वर्षको अनुसन्धानको परिणाम भनेका थिए। उनका अनुसार, पछिल्लो चार वर्षमा यो अनुसन्धानले निकै तीव्रता पाएको थियो।

'ब्रेन डेथ' को अवस्था

डा. धितालका अनुसार, मस्तिष्कले पूर्ण रूपमा काम गर्न छोडिसके पनि कृत्रिम श्वासप्रश्वासबाट मुटु लगायत अन्य अंगहरू चलिरहेको शारीरिक अवस्थालाई 'ब्रेन डेथ' मानिन्छ। यस्तो बिरामीलाई भेन्टिलेटरबाट निकालेपछि रक्तसंचार अवरुद्व भएर सबै अंगले काम गर्न छाड्छन्। अमेरिका, अष्ट्रेलिया लगायतका देशहरूमा बाँच्ने संभावना शून्यमा पुगेको 'ब्रेन डेथ' को अवस्थाको बिरामीलाई कानूनी रूपमा मृत मानिन्छ। “तर, भेन्टिलेटरमा राखिएका सबै बिरामी 'ब्रेन डेड' होइनन्”, डा. धिताल भन्छन्, “डाक्टरले निश्चित मापदण्डको आधारमा जाँचहरू गरेर मात्र 'ब्रेन डेड' को घोषणा गर्छन्।”

कहिलेकाहीं त्यस्तो जाँचहरू गर्दा 'ब्रेन डेड' भएका बिरामीमा हुनुपर्ने केही लक्षण नपाउँदा परिवारजनको सहमतिमा भेन्टिलेटरबाट निकालेर आन्तरिक श्वासप्रश्वास बाँकी छ, छैन हेरिन्छ। आन्तरिक श्वासप्रश्वास बाँकी रहेछ भने पुनः भेन्टिलेटरमा राखेर उपचार गरिन्छ, नत्र अक्सिजनको अभावमा मुटुसँगै रक्त सञ्चार बन्द हुन दिइन्छ र २ देखि ५ मिनेटमा मृत घोषित गरिन्छ। यसरी मृत व्यक्तिको स्थिर मुटु 'हर्ट इन अ बक्स' मा राखेर पुनः धड्कन फर्काई बिरामीमा प्रत्यारोपण गरिन्छ। डा. धितालको टोलीले त्यही गरेको हो।
डा. धितालका अनुसार, मुटु दाता रहेको अस्पताल र प्रत्यारोपण गरिने अस्पताल एउटै हुने सम्भावना निकै कम हुन्छ। धेरैजसो अवस्थामा बिरामी रहेको अस्पतालसम्म मुटु ल्याइपुर्‍याउन घण्टौं लाग्छ।

प्रविधिबाट फाइदा

विश्वमा मुटु प्रत्यारोपण गरिनुपर्ने बिरामीको दाँजोमा मुटु दाताको संख्या निकै न्यून छ। विकसित मुलुकहरूमा दाता नपाएर प्रत्यारोपणको पालो कुरिरहेका थुप्रै बिरामीको मृत्यु हुन्छ भने गरीब देशहरूमा मुटु प्रत्यारोपणको कल्पना मात्र सम्भव छ। नेपाल जस्तो देशमा कसैलाई 'ब्रेन डेड' भएका तिम्रो आफन्तको चलिरहेको मुटु कसैलाई दिऊँ भनेर मनाउन पनि गाह्रो हुने शिक्षण अस्पताल महाराजगञ्जका कार्डियोथोरासिक सर्जन कोइराला बताउँछन्। क्यानाडामा रहँदा १२ वटा मुटु प्रत्यारोपणमा सहभागी भएका डा. कोइराला भन्छन्, “प्रविधिको विकाससँगै दाता संख्या बढेर मुटु प्रत्यारोपणको पर्खाइमा रहेका बिरामीहरूले राहत पाउलान्, तर संख्या अनुमान गर्न सकिन्न।”

सेन्ट भिन्सेन्ट्स अस्पतालले भने अब मुटु दाता संख्या ३० प्रतिशतले बढ्ने जनाएको छ। शरीरबाट निकालिएको मुटु कति काम लाग्दो छ भनेर थाहा पाउने 'हार्ट इन अ बक्स' प्रविधि विकास भएको र यस्तो जानकारीले प्रत्यारोपणपछिको जोखिम घटाउने हुनाले सेन्ट भिन्सेन्ट्सले त्यसो भनेको अनुमान लगाउन सकिन्छ। डा. धितालको टोलीले 'हर्ट इन अ बक्स' मा राम्रो काम नगरेका दुई वटा मुटु प्रत्यारोपण गरेको थिएन। उनको टोलीले मृत व्यक्तिको शरीरबाट मुटु निकालेको चार घण्टापछि बिरामीको शरीरमा प्रत्यारोपण गरेको थियो। प्रविधिको विकासले यो अवधिलाई लम्ब्याउने सम्भावना बलियो छ।

मृतककै शरीरमा लामो समयसम्म मुटुलाई स्वस्थ राख्न सक्ने 'प्रिजर्भेसन सोलुसन' को विकास हुने सम्भावना पनि छ। डा. धितालको सफलताले पनि चिकित्सा विज्ञानमा धेरै सम्भावना रहेको प्रमाणित गरेकै छ। पछिल्लो सफलताले यो क्षेत्रलाई विस्तारित गरिदिएको बताउँदै डा. धितालले हिमाल सँग भने, “यसको अर्थ, हामी मानव स्वास्थ्यमा अझ्ै सुविधा बढाउन तल्लीन छौं भन्ने पनि हो।”

नेपालमा संभावना

शहीद गंगालाल हृदय केन्द्रका कार्डियाक सर्जन रामेश कोइराला मृत व्यक्तिको मुटु बिरामीको शरीरमा सफल प्रत्यारोपण हुनुलाई चिकित्सा विज्ञानको ठूलो उपलब्धि मान्छन्। उनका अनुसार, चिकित्सा क्षेत्रमा पेन्सिलिन वा एक्स–रेको आविष्कार जस्तै नयाँ फड्को हो, यो। यस्तो काम एउटा नेपालीबाट हुनुले नेपाललाई गौरवान्वित बनाएको कुरा त छँदैछ। नेपालमै मुटु प्रत्यारोपणको लागि भने धेरै कुर्नुपर्नेछ। विदेशमै पनि अझ्सम्म कुनै नेपालीको मुटु प्रत्यारोपण नभएको डा. भगवान कोइराला बताउँछन्।

मुटु प्रत्यारोपणको सुविधा भए पनि त्यसका धेरै कानूनी जटिलताहरू हुन्छन्। अमेरिका, क्यानाडा र यूरोपका केही देशबीच मुटु प्रत्यारोपण सम्झ्ौता गरिएको छ, तर त्यसका थुप्रै शर्तहरू छन्। अमेरिकामा कुनै व्यक्तिलाई 'ब्रेन डेड' घोषणा गरियो र उसको मुटु प्रत्यारोपण योग्य हुनुका साथै आफन्तहरू दिन तयार छन् भने सम्बन्धित राज्यका बिरामी पहिलो प्राथमिकतामा हुन्छन्। त्यस राज्यका मुटु प्रापक (रेसिपियन्ट) सँग दाता (डोनर) को मुटु 'म्याच' भएन भने अमेरिकाकै अर्को राज्यका बिरामीले प्राथमिकता पाउँछन्, त्यसपछि मात्र आउँछ अरू देशका बिरामीको कुरा।

मुटु दिने निर्णय पनि आफन्त वा सम्बन्धित चिकित्सकले होइन, त्यसकै लागि गठित विशेषज्ञहरूको स्वतन्त्र निकायले गर्छ। मुटु प्रत्यारोपण गरिनुपर्ने बिरामीको पनि सम्पूर्ण स्वास्थ्य अवस्थाका साथै प्राथमिकता निर्धारण गरेर डेटाबेस तयार पार्नुपर्छ। आफैंमा अति खर्चिलो मुटु प्रत्यारोपणबाट बिरामीको आयु निश्चित अवधिसम्म मात्रै लम्ब्याउन सकिने डा. भगवान कोइराला बताउँछन्। “मुटु प्रत्यारोपणले मान्छेको ज्यान बचाउने जस्तो मह140वपूर्ण काम गरे पनि यसबाट देशको ठूलो जनसंख्या लाभान्वित हुँदैन”, डा. कोइराला भन्छन्, “प्रत्यारोपणपछि पनि निरन्तर फलोअप जाँच, सुरक्षाका उपाय अवलम्बन, महँगो औषधि सेवन र त्यस्तै प्रकारको आहार चाहिने हुँदा नेपालीका लागि यो सुविधा निकै टाढा देखिन्छ।”

सेन्ट भिन्सेन्ट्स अस्पतालको फोक्सो तथा मुटु प्रत्यारोपण युनिट प्रमुख डा. पिटर म्याकडोनाल्ड (बायाँ), डा. कुमुद धिताल (दायाँ) र मुटु प्रत्यारोपण गरिएकी ग्रीबिलास (दायाँबाट दोस्रो।
डा. धितालका अनुसार, एकपटक मात्र प्रयोग गर्न मिल्ने 'हर्ट इन अ बक्स' को मूल्य ३५ हजार अमेरिकी डलर (करीब रु.३४ लाख) पर्छ। त्यसमाथि अर्को अस्पतालबाट विमानमा मुटु ल्याउँदाको खर्च, प्रत्यारोपण, त्यसपछि जीवनभर खानुपर्ने औषधि र फलोअप खर्च थपिंदा करोडौं पुग्छ। प्राथमिक उपचार नपाएर जीवन गुमाउनुपर्ने अवस्थाको अन्त्य र मुटु सम्बन्धी अन्य थुप्रै रोगहरूको उपचार गर्न नसकिरहेको मुलुकमा मुटु प्रत्यारोपण सुविधा निकै कठिन हुने डा. धिताल बताउँछन्। अष्ट्रेलियामा भने मुटु प्रत्यारोपणका लागि सरकारले नै अनुदान दिने उनले बताए।

डा. भगवान कोइराला मुटु प्रत्यारोपण नेपालीको आम्दानी र क्रयशक्तिको अनुपातमा महँगो भए पनि नेपालमा यो शुरू गर्ने हो भने यूरोप–अमेरिकामा भन्दा सस्तो हुने बताउँछन्। त्यसका लागि सरकारले अनुदान दिनसक्ने बताउने डा. कोइरालाका अनुसार, अंग प्रत्यारोपण सम्बन्धी स्पष्ट कानून बनेको चार–पाँच वर्षमा नेपालमा मुटु प्रत्यारोपण गर्न सकिने बताउँछन्। डा. रामेश कोइराला पनि नेपालमा मुटु प्रत्यारोपण सम्भव देख्छन्। एकपटक प्रविधिको विकास भइसकेपछि मुटु प्रत्यारोपण गाह्रो विषय नहुने बताउँदै उनी भन्छन्, “हामीले मुटु प्रत्यारोपणभन्दा जटिल शल्यक्रिया अहिले नै गरिरहेका छौं।”

नेपालमा 'ब्रेन डेथ' को मापदण्ड निर्धारण गरेर त्यस्ता व्यक्तिको मुटु अरूमा प्रत्यारोपण टाढा त छ नै, स्पष्ट कानूनी व्यवस्था नहँुदा मिर्गाैला, कलेजो, फोक्सो, प्यांक्रियाज जस्ता अन्यत्र सामान्य भइसकेका अंग प्रत्यारोपण समेत हुनसकेको छैन। सबै पूर्वाधार तयार भइसकेको मिर्गाैला प्रत्यारोपणमा कानूनी अड्चन हुँदा बाँच्न सक्ने रोगीहरू पनि मरिरहेका चिकित्सकहरू बताउँछन्। मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरका निर्देशक डा. पुकार श्रेष्ठ भन्छन्, “कुरा गर्दा सबैजना सहमत हुन्छन् तर, कानून कहिल्यै बन्दैन।”

डा. श्रेष्ठका अनुसार 'ब्रेन डेथ' भएका व्यक्तिका ८ वटासम्म स्वस्थ अंग अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ। मिर्गौला, फोक्सो जस्ता अंगहरू त मरिसकेको व्यक्तिबाट पनि लिन सकिन्छ। त्यसबाट धेरै जनाले नयाँ जीवन पाउँछन्। विश्वभरमा हुने अंग प्रत्यारोपणमध्ये करीब ८० प्रतिशत 'ब्रेन डेड' भएकाहरूबाटै लिइन्छ। तर, नेपालमा नयाँ कानूनको मस्यौदा चार वर्षदेखि स्वास्थ्य मन्त्रालयमै थन्किएर बसेको छ।

मानव शरीरको अंग प्रत्यारोपण सम्बन्धी ऐन–२०५५ ले नजिकका नातेदारले मात्रै अंगदान दिन पाउने व्यवस्था गरेको छ। नजिकका आफन्त वा आफन्तको अंग 'म्याच' नहुने व्यक्तिहरू धेरै पैसा खर्चेर भारत जान्छन्। भारतमा नातेदारबाहेकका अंगदाता पनि भरपर्दा छन् र आर्थिक लेनदेन भएको छैन भन्ने प्रमाणित भए अंगदान गर्न पाउने व्यवस्था छ।


'नेपाललाई व्यावहारिक सहयोग गर्न चाहन्छु'

डा. कुमुद धिताल
तपाईंले गर्नुभएको प्रत्यारोपणमा के नयाँ छ?

अरु प्रक्रिया उस्तै भए पनि पहिलो फरक दाताको हो। सामान्यतया प्रत्यारोपणका लागि मुटु दिने व्यक्ति 'ब्रेन डेड' हुने गरेकोमा अहिले मृत व्यक्तिको मुटु प्रत्यारोपण भएको छ। मृत शरीरबाट बन्द भइसकेको मुटु निकालेर त्यसलाई विशेष यन्त्रमा सक्रिय पारेर अर्को व्यक्तिमा सफल प्रत्यारोपण गर्ने काम यसअघि भएको थिएन। यसअघि मस्तिष्कको मृत्यु भए पनि मुटु लगायतका अन्य अंगहरू चलिरहेका व्यक्तिको मुटु झ्िाकेर विशेष भाँडोमा राखी अर्को व्यक्तिमा प्रत्यारोपण गरिन्थ्यो।

यसले मुटु रोगी धेरै भएका नेपाल, भारत लगायत दक्षिण एशियाली देशहरूमा कस्तो प्रभाव पार्छ?

पहिलो कुरा त अब प्रत्यारोपणयोग्य मुटु दाताको संख्या बढ्ने छ। मृत व्यक्तिको कलेजो, फोक्सो, मिर्गौला जस्ता अंगहरूको केही वर्षदेखि सफल प्रत्यारोपण हुँदै आएका छन्। अब मुटु प्रत्यारोपणको प्रतीक्षा सूचीमा रहेकाहरूको पनि पर्खाइ अवधि छोटिनेछ र, उचित मुटु नपाएर मर्नुपर्ने अवस्थामा कमी आउनेछ। यो प्रत्यारोपणपछि एउटै व्यक्तिका धेरै अंगको प्रत्यारोपण गरेर अंगदान गर्ने परोपकारी चाहना पूरा गराउन पनि थप सघाउ पुग्नेछ। मलाई लाग्छ, अब मानिसहरूलाई अंगदान र प्रत्यारोपणबारे बुझ्न अझ्ा सहज भएको छ। तर, यो सब गर्न दक्षिण एशियाली देशहरूमा प्रत्यारोपण केन्द्रहरूको विस्तार हुनुपर्छ।

चिरफारभन्दा उचित आहार–बिहार जस्ता रोकथामका उपायमा ध्यान दिएर रोग लाग्न नदिनु राम्रो होइन र?

रोग लाग्नबाट बच्नु त अत्यन्तै राम्रो हो तर, धेरै मानिसमा मुटुको समस्या जन्मजात अथवा वंशाणुगत पनि हुन्छ। त्यसका लागि त चिरफार गर्नै पर्‍यो!

यस क्षेत्रमा आगामी चुनौती के–के छन्?

डीसीडी (डोनेशन आफ्टर सर्कुलेटरी डेथ) हार्ट ट्रान्सप्लान्टेसनका लागि धेरै केन्द्रहरू बन्नुपर्छ। प्रत्यारोपण गरिएका अंगहरू स्वस्थ र सुरक्षित राख्ने अझ राम्रा औषधिहरूको विकास हुनुपर्छ। आगामी दशकमा विभिन्न अंगका कोस प्रिन्ट गरेरै उत्पादन गर्न सक्ने क्षमतासहितका उपचारका नयाँ विधिहरूको विकास हुनेछ जसले गर्दा मानिसले नै बनाएका मांसपेशीका तन्तुबाट मुटुको मर्मत गर्न सकियोस्।

कार्डियोथोरासिक सर्जन भएर 'मृत मुटु' को प्रत्यारोपण गर्छु भन्ने विचार तपाईंमा कहिले आएको थियो?

म न्यूरोसर्जन बन्ने रहरले मेडिकल स्कूलमा भर्ना भएको थिएँ, तर १९९४ मा पहिलो पटक कार्डियोथोरासिक सर्जरी गरेको देखेपछि मेरो उद्देश्य बदलियो। डीसीडी हार्ट ट्रान्सप्लान्टेसनका लागि भने क्याम्ब्रिजस्थित पापवर्थ हस्पिटलका मेरा गुरु डा. स्टेफेन लार्जबाट प्रेरित भएँँ। एक दिन यस्तो प्रत्यारोपण गरेरै छाड्छु भन्ने मलाई थाहा थियो, तर यो गर्ने पहिलो व्यक्ति नै हुँला भन्ने चाहिं लागेको थिएन।

तपाईंले सबभन्दा बढी प्रेरणा कोबाट पाउनुभएको छ?

मेरा बुबा स्व. विष्णुप्रसाद धिताल जसले मलाई सपना देख्न र त्यसलाई प्राप्त गर्न कडा मिहिनेतका लागि प्रेरित गरिरहनुभयो। उहाँ भन्ने गर्नुहुन्थ्यो 'तिमी विदेशमा छौ, त्यहाँका सामान्य नागरिकभन्दा माथिल्लो हैसियत बनाउनुपर्छ, भीडमा हराउने हो भने विकसित देशमा पढेको, काम गरेको सार नै भएन।'

अर्को मलाई प्रेरणा दिने हार्ट फेलियरबाट अपाङ्ग भएका र अन्तिम अवस्थामा पुगेका बिरामीहरूको धैर्य र दृढता पनि हो। आफूले चिन्दै नचिनेकाहरूका लागि अंग दान गरेर उनीहरूको जीवन सहज बनाइदिने परोपकारी दाता र परिवारहरू पनि मेरो प्रेरणाका स्रोत हुन्।

तपाईं 'अन्तर्राष्ट्रिय नेपाली', तपाईंकै मुटुमा चाहिं नेपाल कति छ?

मेरो व्यक्तिगत जीवनको धेरै भाग नेपालमै छ। मेरी आमा, परिवारका अन्य सदस्य र नातेदारहरू सबै नेपालमै छन्। नेपालमा व्यावहारिक सहयोग गर्न सकूँ भन्ने चाहना मनमा सधैं छ तर, अहिलेसम्म त्यसले साकार हुने अवसर पाएको छैन।

अहिले म कुन देशको हुँ भनेर चलेको बहसबाट अचम्ममा पनि परेको छु। एउटा भारतीय पत्रिकाले त म भारतीय भएको दाबी गरेछ। मेराबारे भारतीयहरूले नकारात्मक टिप्पणी भने गरेका छैनन्। मैले नचिनेका सामान्य भारतीयदेखि ठूला कम्पनीका सीईओसम्मले प्रत्येक दिन 'हामीलाई तपाईंप्रति गर्व छ' भनिरहेका छन्। भारतीय मेडिकल कम्युनिटी निकै उत्साहित भएको छ र मैले त्यहाँबाट 'की–नोट' भाषणका लागि निम्तो पाइरहेको छु।

अचेल त एकछिन पनि फोन बिसाउन पाउनुभएको छैन होला, हगि?

विश्वभरबाटै निकै सुखद् प्रतिक्रियाहरू पाइरहेको छु। धेरै वर्षदेखि सम्पर्क टुटेका साथीहरूसँग फेरि भेट भएको छ। 'मुटु प्रत्यारोपणमा कोसे ढुंगो' जस्ता प्रतिक्रियाबाट म चकित छु। तर यो चमत्कार होइन, प्रविधि र सीपको कुरा हो।

नेपाली मिडियाले पनि यस विषयमा निरन्तर चासो राखिरहेको छ। नेपालमा पत्रकारिताका लागि अरु थुप्रै योग्य र उचित विषयहरू पनि छन् जस्तो लाग्छ। प्रसिद्धि भनेको त आखिर १५ मिनेटसम्मका लागि न हो।


'मेरै हाकीम बनाउन तयार छु'

डा. भगवान कोइराला

कार्डियोथोरासिक सर्जन,

शिक्षण अस्पताल महाराजगञ्ज

डा. कुमुदले डीसीडी हार्ट प्रत्यारोपणबाट विश्व चिकित्सा क्षेत्रमा ठूलो योगदान दिएका छन्। डीसीडी ट्रान्सप्लान्टेशन, त्यो पनि एउटा नेपाली डाक्टरबाट! उनीसँगै नेपालको नाम यो उपलब्धिसँग जोडिएर अन्तर्राष्ट्रिय मिडियामा आयो। असल मानिस र कुशल चिकित्सक हुन्, उनी। डीसीडी ट्रान्सप्लान्टेशन आफैंमा नयाँ 'आइडिया' भने होइन। यसमा धेरै अघिदेखि अनुसन्धान भइरहेको थियो।

एउटा पत्रिकामा उनले नेपालमा काम गर्न चाहेको समाचार पढेको थिएँ। साँच्चै उनी त्यस्तो चाहन्छन् भने हामी उपयुक्त वातावरण बनाउँछौं। म उनलाई आफ्नै हाकीमको रूपमा स्वागत गर्न तयार छु। तर, यहाँ काम गर्न यूरोप वा अष्ट्रेलिया जस्तो सहज छैन, अनेक लफडा र तिकडमसँग जुध्नुपर्छ। हरेक क्षेत्रमा अस्वस्थ राजनीति छ। अनेकौं झ्ामेलाले काम गर्न नसकेर राम्रा चिकित्सकहरू पलायन भएका छन्। नेपालमा भएको भए डा. कुमुद पनि डीसीडी हार्ट ट्रान्सप्लान्ट गर्ने पहिलो चिकित्सक बन्दैनथे।

तर, विदेशको अवसर छोडेर नेपाल आउनेहरू पनि छौं। विकसित मुलुकको सर्टिफाइड लाइसेन्स नै छोडेर फर्केका डाक्टरहरू पनि छन्। नेपालमा विना अवरोध काम गर्न पाएको भए अहिलेको भन्दा धेरै उपलब्धि हासिल हुन्थ्यो होला। तर, जे जसरी होस्, देशमै सेवा गर्न पाएकोमा खुशी छौं। डा. कुमुद आए भने नेपाली चिकित्सा क्षेत्रप्रति संसारकै विश्वास बढेर जान्छ। विदेश धाउने नेता र धनाढ्यहरूले पनि यहीं उपचार गराउँथे होलान्।

(कुराकानीमा आधारित)


डा. कुमुद र नेपाल

'ढेब्रा र ढेब्री कोदो टिप्न गएछन्

भालुका डरले रूख चढी बसेछन्...'

साहित्यकार कमलमणि दीक्षितलाई गोरखा जिल्लाको खरीबोट, भच्चेकका विष्णुप्रसाद धितालका छोरा कुमुदले ५१ वर्षअघि यो कविता सुनाएको हिजो झै लाग्छ। दीक्षितका अनुसार, विष्णुप्रसाद राष्ट्रसंघीय खाद्य तथा कृषि कार्यक्रमको जागीरे भएर श्रीमती विजयालक्ष्मी धितालसँग इटली बसेको बेला कुमुद जन्मिएका थिए। बाबुआमाले नेपाली भाषा–संस्कृतिप्रति मोह जगाउन उनलाई सानोमा यस्तै कविताहरू सिकाएका थिए। तीन वर्षको छँदा कुमुदले नेपाल टेके। पाटनको श्रीदरबार टोल बस्ने आफ्ना बाबुका साथी दीक्षितलाई भेट्न जाँदा उनी नेपाली गीत–कविताहरू सुनाउँथे। त्यसपछिको सात वर्ष सेन्ट जेभियर्स स्कूल पढेका उनी बाबुआमासँग फेरि इटली गए।

इटलीपछि बेलायत गएका कुमुदले अक्सफोर्ड युनिभर्सिटीमा डाक्टरी पढेर सन् २००० मा लन्डन युनिभर्सिटीबाट मस्तिष्क नसाको उपचार विषयमा पीएचडी गरे। मुटुको शल्यक्रिया सम्बन्धी थप अध्ययनको क्रममा उनले क्याम्ब्रिज विश्वविद्यालयबाट ट्रान्सप्लान्ट फेलोसिप (एफआरसीएस) गरे। त्यसैबेलादेखि नै मृत्यु भएका व्यक्तिको मुटु प्रत्यारोपणको अनुसन्धानमा तल्लीन उनी पाँच वर्षदेखि अष्ट्रेलियाको सेन्ट भिन्सेन्ट्स अस्पतालमा कार्डियोथोरासिक सर्जन छन्।

युनिभर्सिटी अफ न्यू साउथ वेल्समा असोसिएट प्रोफेसर र भिक्टर च्याङ कार्डियाक रिसर्च इन्ष्टिच्यूटका फ्याकल्टी मेम्बर समेत रहेका उनी प्रत्येक वर्ष नेपाल आएर सम्भव भएसम्म पुल्चोकस्थित घरमा ८५ वर्षीया आमासँग बस्छन्। “मेरा नातेदारहरू पनि सबै नेपालमै हुनुहुन्छ”, आजको मितिमा विश्वचर्चित डा. कुमुद भन्छन्, “म जहाँ रहे पनि मनमा नेपाल नै नेपाल छ।”

comments powered by Disqus

रमझम