१६-२२ कात्तिक २०७१ | 2 - 8 November 2014

बेलायती फिल्मका नेपाली कलाकार

Share:
  
दाङका कुमुद पन्तले बेलायती फिल्म उद्योगमा खुट्टा टेकेका छन्।

अठोट, धैर्य र लगनले सपनालाई विपना बनाउँछ भन्ने कुरा तेरौटे–९, दाङका कुमुद पन्त (४३) ले सिद्ध गर्दैछन्। १६ वर्षदेखि लन्डन बस्दै आएका उनी तीन वर्षयता व्यावसायिक फिल्मी कलाकार बनेका छन्। जन्मभूमि, जन्मजन्म, चुनौती, सरस्वती, रगत, गोठालो लगायतका नेपाली चलचित्रमा अभिनय गरेको अनुभव लिएर बेलायत पसेका उनी सन् २००४ मा 'साउथ इष्ट लन्डन मोडल फेस टु फेस' प्रतिस्पर्धामा उत्कृष्ट भएपछि ब्रिटिश फिल्म एजेन्सीहरु धाउन थालेको बताउँछन्। “शुरुमा टेलिसिरियल, फिल्मका सानातिना भूमिकामा अभिनय गरें”, अनलाइन संवादमा कुमुदले हिमाल सँग भने “ठूलो बजेटको राम्रा फिल्ममा भूमिका पाउन थालेको तीन वर्ष भयो।”

तीन दर्जनभन्दा बढी टेलिफिल्म, म्युजिक भिडियो र विज्ञापनमा काम गरेका कुमुदले यसक्रममा युके बोर्डर, मिस यु अलरेडी, ब्रेकिङ दि ब्याङ्क, डेस्परेट माइण्ड अफ हुलिगन, टप डग, होलिडे, अमर अकबर एण्ड टोनी, चेजिङ रोबर्ट बार्कर, दी एनोमली, इनिमी अफ इङ्गल्याण्ड, द होलिगन फ्याक्ट्री, दि ह्वाइट रुम, टु डेज इन द स्मोक लगायतका तीन दर्जन बेलायतमा निर्मित फिल्ममा अभिनय गरेका छन्। उनले बलिउडका भूतनाथ रिटर्नस्, वेलकम टु कराँची, जबतक है जान का साथै हलिउडको ठूलो लगानीको फिल्म एभरेष्ट मा पनि अभिनयको मौका पाएका छन्।

मोडलिङबाट पनि बेलायतमा मजाले टिक्ने हैसियत बनाएका कुमुद अब अन्तर्राष्ट्रिय फिल्ममा सम्झनलायक भूमिकाको ताकमा छन्। र, अहिलेसम्मको अनुभवको आधारमा मेरो सपना पूरा हुनेछ भन्न सक्ने अवस्थामा छु”, कुमुद भन्छन्।

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम