२३-३० कात्तिक २०७१ | 9-15 November 2014

हेर्नैपर्ने एउटा फिल्म

Share:
  
- रघु पन्त
नाटक 'टलकजंग भर्सेस टुल्के' जति सफल थियो, सिनेमाका रुपमा पनि उस्तै चर्चित हुन पुगेको छ।

विश्व प्रसिद्ध चिनियाँ लेखक लु शुनको 'आह क्यूको साँचो कथा' लाई आधार बनाएर नेपालीमा 'टलकजंग भर्सेस टुल्के' नाटक मञ्चन भएको थियो। 'आह क्यूको साँचो कथा' १९२१ डिसेम्बरमा लेखिएको थियो। चीनमा गणतन्त्र स्थापनाको दशौं वार्षिकोत्सव चलिरहेको बेला थियो, त्यो। आलोचनात्मक यथार्थवादी चेतनाले ओतप्रोत लु शुनको कथाले तत्कालीन चीनको यथार्थलाई व्यंग्यात्मक रुपले प्रस्तुत गरेको छ।

बाबुको रोग निको पार्न डाक्टर–वैद्यहरूले गरेको प्रयोग र उपचार विधिबाट लु शुन सानैमा दिक्क भएका थिए। बाबुको उपचारका लागि घरका सर–सामान बेच्दाबेच्दा कंगालको हालतमा पुगेका उनले गरीब चिनियाँहरू बिरामी हुँदा उपचार नपाएर शोषणमा पर्दै मरिरहेको देखेका थिए। त्यही तोडमा उनी चिकित्साशास्त्र पढ्न जापान पुगे।

जापानमा विद्यार्थी रहेका बेला एक दिन लु शुनले एउटा स्लाइड फिल्मका केही दृश्यहरू हेरे, जसमा एकजना चिनियाँ युवकलाई जापान विरुद्ध रुसको पक्षमा जासूसी गरेको झूट्टो आरोपमा पाता फर्काएर पिट्दै थिए। थुप्रै मोटाघाटा चिनियाँ युवकहरू जापानीहरूको त्यो अत्याचार चूपचाप हेरिरहेका थिए। त्यो निर्दोष चिनियाँ युवकलाई जापानीहरूले पिट्दै गोली ठोकेर मारेको दृश्यले लु शुनको मनस्थिति नै परिवर्तन गरिदियो। उनले डाक्टरी पढ्न छोडेर लेखक बन्ने निधो गरे।

लु शुनले आफ्नो पहिलो कथासंग्रहको भूमिकामा लेखेका छन्– 'पिछडिएका र निर्बल राष्ट्रका मानिसहरूको शरीर जतिसुकै बलियो र स्वस्थ किन नहोस् तिनको उपयोग दण्ड दिनका लागि अथवा दण्ड दिएको रमिता हेर्नको लागि मात्र गरिंदो रहेछ। यस्ता मानिसहरू रोगले आक्रान्त भएर मरे पनि त्यो दुःखदायी घटना हुँदैन। सबभन्दा महत्वपूर्ण कुरा त मानिसहरूको भावनामा परिवर्तन ल्याउनु रहेछ। यसका लागि सबैभन्दा उपयोगी साहित्य हुन्छ भन्ने मलाई लाग्यो।'

'आह क्यूको साँचो कथा' मा राजतन्त्र अन्त्य भएपछिको संक्रमणकालीन सामन्ती समाज र त्यसभित्रका विविध चरित्रहरूको तीक्ष्ण व्यंग्यात्मक चित्रण छ। नौ अध्यायको उपन्यास भन्न मिल्ने यो विश्वप्रसिद्ध कथा तत्कालीन चिनियाँ समाज हेर्ने ऐना हो।

मौलिक नेपाली सिनेमा

आह क्यू र टलकजंग टुल्केको चरित्रमा समानता देखिए पनि टुल्केले आफ्नो मौलिकता जोगाएको छ। 'आह क्यूको साँचो कथा' पढेकाहरूलाई पनि टलकजंगको चरित्र मौलिक लाग्छ। टलकजंग टुल्के नेपाली समाज र जीवनको आम विशेषता बोकेको पात्रको रुपमा उभिन्छ। ऊ हाम्रै टोल–छिमेकको एउटा हेपिएको, हारेको मान्छेको प्रतिनिधिका रुपमा सिनेमाको नायक बनेको छ।

यो सिनेमामा आम नेपाली जनजीवनको व्यथा र छटपटीको मिहिन चित्रण छ। यो सिनेमाले माओवादी सशस्त्र द्वन्द्वले नेपालको गाउँले जीवनमा ल्याएको छटपटी, कलह र अनेकौं कथा उप–कथालाई व्यापक पृष्ठभूमिमा समेटेको छ र देखाएको छ– राजनीतिको गल्तीले जनजीवनलाई कसरी दुःखमा होमिदिन्छ भनेर। माओवादी सशस्त्र द्वन्द्वको सन्दर्भमा देखा परेका विविध पात्रहरू जीवन्त र स्वाभाविक लाग्छन्। यसले माओवादी राजनीतिक आन्दोलनभित्रको अन्तरविरोध, आर्थिक स्वार्थ, अवसरवाद र विडम्बनाको पनि सजीव चित्रण गरेको छ।

गण्डकी अञ्चलको ग्रामीण जनजीवनको पृष्ठभूमिमा समाजमा हेपिएको एउटा काम गरिखाने तन्नेरीलाई केन्द्रमा राखेर उसका वरिपरि उत्पन्न घटनाहरूले कसरी उसलाई च्याप्दै लैजान्छ भन्ने देखाउनुका साथसाथै समकालीन समाज र कपटपूर्ण राजनीतिले साधारण मानिसहरूको जीवनमा बलात् ल्याइदिएको दुःख एवं पीडाबारे सिनेमाले बोलेको छ। 'टलकजंग भर्सेस टुल्के' राजनीतिक सिनेमा हैन, तर गलत राजनीतिले त्याग–बलिदान पनि खेर फाल्ने, समर्पित कार्यकर्ताहरू समेत मारिने र निर्दोष मान्छेहरूले अनाहकमा बेस्सरी दुःख पाउने तथ्य प्रष्टसँग देखाएको छ। यो सिनेमा न माओवादी सशस्त्र द्वन्द्वमा आधारित हो न त कथा माओवादीसँग सम्बन्धित हो। र पनि, यसमा माओवादी द्वन्द्व प्रतिबिम्बित छ।

यो सिनेमा पारिवारिक नाम टलकजंग भए पनि शोषण र अन्यायमा परेको, छलकपट नजान्ने र गरीब भएको हुनाले 'टुल्के' बन्न पुगेको एउटा तन्नेरीको व्यथा, प्रेम र विद्रोहको कथा हो। टुल्के गाउँमा हुन थालेका नयाँ–नयाँ परिघटनाहरूमा सामेल हुन र आफ्नो इज्जतको पुनर्स्थापना चाहन्छ। ऊ समाजमा आफ्नो स्थान खोज्छ। टलकजंग बन्न प्रयत्नरत टुल्के आफूले प्रेम गरेकी केटीलाई हुरुक्क भएर माया गर्छ, आफूलाई होच्याउनेहरूसँग जोरी खोजी–खोजी लड्छ। गाउँमा माओवादी देखा परेपछि ऊ तिनमा सामेल भएर बदला लिन चाहन्छ। त्यसक्रममा अनपेक्षित घटनाहरू भएपछि ऊ शहरतिर भाग्छ र फेरि गाउँ फर्कन्छ। तर, उसलाई माओवादी द्वन्द्वले पछ्याउन छोड्दैन। गाउँ र शहर दुवै ठाउँमा ऊ यसको चपेटामा पर्छ।

'टलकजंग भर्सेस टुल्के'ले राजनीतिले सामान्य मान्छेका जीवनमा ल्याइदिएका उथलपुथल र दुःख–पीडाको कथालाई सिनेमाको सरल भाषामा भन्छ। यो सिनेमा माओवादी सशस्त्र द्वन्द्वप्रति न आग्रही छ न त पूर्वाग्रही। यसले माओवादी द्वन्द्वले गाउँमा ल्याएको अन्तरविरोध, छटपटी र विग्रहलाई तटस्थ आँखाले हेर्छ र त्यही रुपमा भन्छ।

धेरै उपलब्धि, थोरै कमजोरी

'टलकजंग भर्सेस टुल्के' नेपाली सिनेमाको एउटा उपलब्धि र वर्तमान नेपाली सिनेमा निर्माणमा एउटा सार्थक हस्तक्षेप हो। हलिउड र बलिउडको नक्कल होइन, आफ्नै समाज र जीवनको कथा तथा पात्रहरूको निर्माण–चित्रण भएको यो सिनेमा प्रवाहमय छ, सलल बग्छ। टलकजंग टुल्केको चरित्र निर्माण एकदम स्वाभाविक र जीवन्त छ। छक्का–पञ्जा नजान्ने, दायाँ–बायाँ नसोच्ने, सकारात्मक परिवर्तन खोज्ने, जीवनमा न्याय–सम्मान र प्रेम–मित्रता चाहने अनि अन्यायसँग लड्न तम्सने आम नेपाली चरित्रको प्रतिनिधित्व गर्छ– टलकजंग टुल्केले। विडम्बना, परिवर्तनका लागि गरिएको भनिने द्वन्द्वको शिकार पनि ऊ नै बन्छ र पटक–पटक पराजित हुन्छ। राज्यको अन्याय र माओवादीहरूको निरर्थक द्वन्द्वको राम्रो चित्रण छ सिनेमामा।

एउटा राम्रो सिनेमा बन्न धेरै कुराको मेल हुनुपर्छ। तर, सिनेमाको निर्णायक पक्ष चाहिं विषयवस्तु हो। सिनेमाको विषयवस्तु र त्यसले दिने सन्देश सिनेमाको सर्वाधिक महत्वपूर्ण पक्ष हो। गतिलो निर्देशकसँगै कस्सिएको, प्रवाह बोकेको पटकथा, विषय अनुरुपको संवाद, स्वाभाविक र बहुआयामिक अभिनय राम्रो सिनेमाको मुख्य आधार हो। खगेन्द्र लामिछानेको पटकथा र संवादले 'टलकजंग भर्सेस टुल्के' लाई प्रवाह दिएको छ। लामिछानेले टलकजंग टुल्केको चरित्र अनुरुप अभिनय पनि जीवन्त गरेका छन्। दयाहाङ राई, ऋचा शर्मा, रवीन्द्र बानियाँ लगायतका कलाकारको अभिनय बेजोड छ। नाटक खेल्दै आएका कलाकारहरूले गतिलो गरी प्रतिभा देखाएका छन्।

दोस्रो सिनेमासम्म आइपुग्दा निश्चल बस्नेतले आफ्नो निर्देशकीय क्षमता प्रमाणित गरेका छन्। उनको पहिलो फिल्म 'लूट' प्रस्तुतिको दृष्टिले नयाँ थियो। 'टलकजंग भर्सेस टुल्के' विषयवस्तु र प्रस्तुति दुवै दृष्टिकोणले आम नेपाली सिनेमा भन्दा भिन्न छ। यसले नेपाली सिनेमा लेखन, प्रस्तुति र निर्माणको क्षेत्रमा मौलिक शैली निर्धारण गरेको छ। यो निर्देशकको उपलब्धि हो। नेपाली सिनेमा जगतले निश्चल बस्नेतको उपयोग गर्नु जरुरी छ भने बस्नेतले पनि अध्ययन र अनुभवको घेरालाई व्यापक बनाउँदै लैजानुपर्छ।

'टलकजंग भर्सेस टुल्के' कुनै कमजोरी नभएको नेपाली सिनेमा भने होइन। जस्तो, गुण्डा नाइके दयाहाङ राई र टुल्के सहितको नृत्य र गीत यो सिनेमामा आवश्यक थिएन। 'लूट' मा 'उध्रेको चोली' बोलको गीत एक हदसम्म ठीकै लाग्थ्यो, व्यावसायिकताका नाममा त्यही फर्मूला यसमा लगाउँदा सिनेमाको गति अवरुद्ध भएको छ। यो दृश्य हटाए पनि हुन्छ।

comments powered by Disqus

रमझम