३० कात्तिक - ६ मंसीर २०७१ | 16-22 November 2014

मजलिसको आँखा–२

Share:
  
- क.दी.
यो फोटोलाई जनताको 'कोर्ट' मा राखेर सोधिन्छ– 'यो कमलपोखरी कुन पेरेड ग्राउण्डको हो?'

मदन पुरस्कार पुस्तकालय (मपुपु) को फोटो–संग्रह (अर्काइभ्स) मा हजारौं फोटो छन्, व्यक्तिहरूका अनि नेपालका मन्दिर, भवन र दर्शनीय स्थलहरूका समेत गरेर। यस संग्रहमा यी फोटोहरू अनेक स्रोतबाट जम्मा भएका हुन्। धेरै जनाले आफ्ना 'कलेक्सन' का फोटो र नेगेटिभहरूको सुरक्षा र तिनको संरक्षण होस् भनेर राख्न दिएका हुन्। कतिपयको भने स्वामित्व सर्दैसर्दै मपुपु–सम्म आइपुगेका पनि छन्। त्यसरी आइपुगेकामा केही त महाराज चन्द्रशमशेरको प्राइभेट लाइब्रेरीको छाप लागेका अल्बम पनि छन्। ती फोटो अल्बमहरू महाराजको मृत्युपछि उनकी कान्छी महारानीका साथै सिंहदरबारबाट श्रीदरबार आएका रहेछन्। महारानीको अंशबण्डा हुँदा मदनशमशेरको भागमा परेछन् केही। जनरल मदनशमशेरको शेषपछि जगदम्बा रानीसाहेबबाट त्यो संग्रह मपुपु–ले पाएको हो। मपुपु–को अर्काइभ्समा भएका केही पुराना फोटोहरू भने पछि पुस्तकालयका कार्यकर्ताहरूले इन्टरनेट र 'फेसबूक' हरूबाट उतारेर राखेका पनि छन्।

करीब सय वर्षअघि एक अंग्रेज फोटोग्राफरले खिचेको संभवतः हालको दशरथ रंगशालाको उत्तर–पश्चिम कुना (तल तस्वीरको रातो घेरा) मा रहेको कमलपोखरी (बायाँ)। पोखरीसँगैको चउर पछिसम्म सानो टुँडिखेल भनेर चिनिन्थ्यो।

यो फोटो–अर्काइभमा पस्दा कुनै जादूनगरीमा पसेजस्तो लाग्छ– कति मान्छे, कति ठाउँहरू! भनेर। तर त्यहाँ भएका सबै मान्छे चिनिन्नन्, अनि भवन र प्राकृतिक वस्तुहरू पनि के हुन् र कहाँका हुन् भनेर अल्मलिइन्छ। यो एक शताब्दीमा नेपालमा कति परिवर्तन आएछ भनेर छक्क परिन्छ। तर, छक्क पर्नुभन्दा पनि बढी दिक्क लाग्छ, हामीले कति सम्पदा विनष्ट गरेछौं भनेर। कैयौं त्यस्ता प्राकृतिक सम्पदा त हामीले आफ्नै मूर्खता या लोभका कारण नष्ट गरेछौं। अनि अरू कतिपय सांस्कृतिक सम्पदा भने दैवी प्रकोप र आपत्विपत् परेर पनि विलुप्त भएको देखिन्छ। दैवी प्रकोपले भत्के–बिग्रेकाको लेखाजोखा अलि पछि गरुँला, पैले हामीहरूले नै जानी नजानी विध्वस्त गरेका केही सम्पत्तिको चर्चा गरौं। त्यो कुरो गर्दा अनायास हाम्रो जेहेनमा पस्छ एउटा कटुसत्य– हाम्रा पुर्खाहरू कति दूरगामी र बुद्धिमान थिए, उनैका सन्तान हामी कति स्वार्थी र बुद्धू भएछौं! सन्दर्भ हो हाम्रा पोखरीहरूको। यो काठमाण्डू उपत्यकाका तीनै शहरमा टोलटोलमा जसो पोखरीहरू थिए, गनिसाध्य थिएन। अब त ती नामशेष मात्र भए; इखापोखरी, खिचापोखरी, कमलपोखरीहरू जस्ता! ती असंख्य पोखरीहरूले लिच्छविकालदेखि नै यस उपत्यकाको जलपूर्तिका लागि कत्रो र कस्तो योगदान दिंदै आएका थिए सम्झौं। हाम्रा ती गनिनसक्नु जलद्रोणी, ढुङ्गेधाराहरूका प्राणाधार पोखरीहरू मिचिएका, पुरिएका र उछित्तो पारिएकोमा शोक मनाऊँ।

माथि मैले कमलपोखरीको प्रसङ्ग निकालेको आजको विषयमा प्रवेश गर्नलाई हो। अब सँगैको फोटो हेरौं एक पटक। करीब एक सय वर्षअघि इन्डियाबाट आएका कुनै अंग्रेज फोटोग्राफरले खिचेको हो यो फोटो। उनले काठमाण्डू उपत्यका वरिपरि सयकडौं फोटो खिचेछन्। उनी शायद त्यसै कामका लागि नै यहाँ आएका या झ्िकाइएका थिए। आफूले खिचेका फोटोहरू अल्बम बनाएर एक सेट उनले महाराज चन्द्रशमशेरलाई चढाएको बुझिन्छ। तिनै अल्बममध्येको एउटामा छ यो फोटो। अरू तस्वीरहरूमा झैं यस फोटोको पनि तलतिर सेतो अक्षरमा उनले अंग्रेजीमा परिचय दिएका छन्। लेखेको छः 'लोटस पण्ड अफ द पेरेड ग्राउण्ड' अर्थात् 'टुँडिखेलको कमलपोखरी'। उनले अवश्य 'टुँडिखेल' लेखेका थिएनन् 'पेरेड ग्राउण्ड' भनेका छन् तर त्यो भनेको पक्कै टुँडिखेल हो, तर कुन टुँडिखेल, काठमाण्डूको कि पाटनको? छाउनी पक्कै होइन, किनभने उनका अल्बममा छाउनीलाई 'छावनी' नै लेखिएको भेटिन्छ।

धेरै जना विज्ञ विशेषज्ञ र वरिष्ठ नागरिकलाई देखाएँ मैले यो फोटो र सोधें यो कमलपोखरी कहाँको हो? तर कसैले यो भने कसैले ऊ। पाटनको टुँडिखेलको कमलपोखरी हो भने कसैले। 'काठमाण्डूको टुँडिखेलमा माथि त कतै कमलपोखरी भएको हामी सम्झ्न्नौं, तर तल त्रिपुरेश्वरनिरको सानो टुँडिखेलको सिरान, उत्तरपट्टि यौटा कमलपोखरी थियो, यो त्यही हो जस्तो लाग्छ' भन्ने धेरै भए। मलाई पनि यो पछिल्लो बोलीसँग लोली मिलाउन मन लाग्छ। किनभने मैले पनि देखेको हुँ त्यो कमलपोखरी। देखेको भन्दा पनि रोजिन्दै दुई पटक पुल्चोकबाट दरबार स्कूल जानेआउने गर्दा मैले त्यो पोखरीको दर्शन गर्नै पर्थ्यो। हेर्दा काटीकुटी यो फोटोको कमलपोखरी त्यही सानो टुँडिखेलको पोखरी जस्तो लाग्छ। तर के गर्ने? देखिजान्नेहरूको मत बाझयो। अब यसलाई जनताको 'कोर्ट' मा राखेर सोधौं: 'यो कमलपोखरी कुन पेरेड ग्राउण्डको हो?' अनि, सानो टुँडिखेलकै हो भन्ने ठहरियो भने चाहिं दुःख मनाऊँ– 'त्यस्तो राम्रो पोखरीले पनि शहीद हुनु परेछ, कठै, रङ्गशालाका लागि' भनेर।

(१३ अंकसम्म 'मजलिसघर' शीर्षकमा प्रकाशित भएर हाल 'मजलिसको आँखा' शीर्षकमा निरन्तर गरिएको यो स्तम्भको नाम दरबार हाईस्कूलको दक्षिणपट्टि रहेको 'मजलिसघर' बाट लिइएको छ। यसमा आउने तस्वीरहरू मपुपु–का हुन्। – सं.)

comments powered by Disqus

रमझम