३० कात्तिक - ६ मंसीर २०७१ | 16-22 November 2014

सचित्र 'भावातीत ध्यान'

Share:
  
कलाकार लीला खतिवडा (४१) मनका अनुभूतिहरुलाई चित्रमा उतारिरहेका छन्।

प्रायः कलाकारहरू हरियाली, खोला, झरना, जनावर, चराचुरूङ्गी र मन पर्ने व्यक्तिका चित्र कोर्छन्। धेरैजसो कलाकारको चित्रात्मक अभिव्यक्ति सुन्दर चिजको नै हुन्छ, जसले हेर्नेहरुलाई पनि आनन्दित बनाउँछ। काठमाडौंमा क्रियाशील मोरङ उर्लाबारीका लीला खतिवडा भने 'भावातीत ध्यान' का अनुभूतिहरुलाई आकार र रंग दिइरहेका छन्। मानिस बाहिर मुस्कुराउँदा शरीरभित्र पनि फूल फुलेको लीलाको पेन्टिङमा देखिन्छ। १० वर्ष पत्रकारितामा बिताएका उनी भन्छन्, “आँखा बन्द गर्दा देखिने दृश्यहरु मेरा चित्रका विषय बन्छन्।”

देवकी बिष्ट
२०५३ सालमा विपश्यनाको 'भावातीत ध्यान' मा गएपछि आफूभित्रको क्षमता पहिचान भएको बताउने लीलाले १५ वर्षअघि 'सिजोफ्रेनिया' भन्ने मानसिक समस्याको सामना गर्नुपरेको थियो। आफू मानसिक रोगी भएको नस्वीकार्ने उनी उपचार बीचैमा छाडेर भारतका विभिन्न स्थानमा ध्यान गर्न पुगे। त्यो क्रममा उनले अनगिन्ती चित्र कोरे। “मस्तिष्कभित्र हुने विभिन्न प्रक्रियालाई शुरुमा पेन्सिलले कागजमा उतारें”, लीला भन्छन्, “त्यो क्रम पाँच वर्ष चल्यो।”

त्यो बेला 'शोक न सुर्ता, भोक न भकारी' भारतमा तीन हजार किलोमीटर यात्रा गर्दा बादलले छिनछिनमा आकार बदले जस्तै बदलिरहने मस्तिष्कको चित्र उतारेको उनी बताउँछन्। ध्यानको समयमा विभिन्न चित्रको आकृति देख्ने लीलाले सन् २००९ मा 'नाफा आर्ट ग्यालेरी' मा ती चित्रहरुको पहिलो एकल प्रदर्शनी गरेका थिए। यही मंसीर अन्तिम साता अर्को एकल प्रदर्शनी गर्ने तयारीमा रहेका उनी अब पेन्टिङ बेचेर पेन्टिङमै लगानी गर्ने सुरमा छन्। त्यसका लागि उनले अनामनगरस्थित युनियन हाउसमा १५ वटा पेन्टिङ बिक्रीमा राखेका छन्।

पहिले उनी कालो र सेतो रङ मात्र चलाउँथे, अहिले सबै रङ प्रयोग गर्छन्।

*मीना शर्मा *

comments powered by Disqus

रमझम