७-१३ मंसीर २०७१ | 23-29 November 2014

हेलो देश!

Share:
  
- रमेश कुमार
मोबाइल फोनले नेपालीको सञ्चारसँगै ज्ञान, सोच, कामकाज र रहनसहनमा अभूतपूर्व परिवर्तन ल्याइदिएको छ।

डेढ दशकअघि तत्कालीन नेपाल दूरसञ्चार कम्पनीले पाँच क्षेत्रका १००–१०० जनालाई मोबाइल टेलिफोन नम्बर वितरण गर्दा पाउनेमध्ये एक थिए– चलचित्र निर्देशक प्रकाश साय्मी। रु.२५ हजार धरौटीमा सिमकार्ड पाएका उनले मोबाइल सेट किन्न रु.२० हजार खर्चेका थिए। आगमन कल र काठमाडौंबाहिर जाँदाको रोमिङ शुल्क मात्र होइन, विदेशी नम्बरमा डायल गर्दा रिङ मात्र बजेको पनि पैसा तिरेको अनुभव छ, साय्मीसँग।

मोबाइल बोक्दा 'विशिष्ट' भइने त्यो जमाना एकादेशको कथा बनिसकेको छ, अहिले। त्यो बेला विलासिताको साधन बुझिने मोबाइल अहिले अत्यावश्यक वस्तु भइसकेको छ। एक दशकदेखि हात–हातमा पुगेको मोबाइल फोनले नेपालीको जीवन पद्धतिमा नसोचेको परिवर्तन ल्याएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार, अहिले ८४ प्रतिशत नेपालीलाई पुग्ने गरी सिमकार्ड वितरण भएको छ। एक दशकअघि ८८ हजारसँग मात्र रहेको मोबाइल फोन अहिले करीब दुई करोड बढी नेपालीको हातमा छ।

परिवर्तनको रामबाण

मान्छेको जीवनलाई सहज पार्ने ठूला वैज्ञानिक आविष्कारको पहिलो पंक्तिमै पर्छ– मोबाइल फोन। यो उपकरण व्यक्तिगत–पेशागत स्वतन्त्रतालाई सहज बनाउने साधन पनि बनेको छ। किसानलाई बारीमै तरकारी बजारको भाउ बताउन होस् वा भरियालाई काम पाउन, मोबाइल रामबाण भएको छ। कतिपयले मोबाइललाई 'हत्केलाको अफिस' बनाएका छन्। 'सेल्फी' खिचेर मक्ख हुनेहरू हुन् या ताजा फोटो सोसल साइटमा राख्न उत्सुक जमात; सबै मोबाइल मोहनीमा परेका छन्। त्यसैले हो, पछिल्ला वर्षहरूमा स्मार्ट फोनको बजार गुल्जार बनेको। इन्टरनेट सेवाको विस्तारले स्मार्ट फोनलाई थप उपयोगी बनाएको छ।

दूरदराजको गाउँमा बसेर शहरियासँग गफिन होस् वा विदेश पुगेका आफन्तजनको हालचाल बुझन, मोबाइलले यसअघि कहिल्यै नसोचिएको सजिलोपन ल्याइदिएको छ। आफूले चाहेका मान्छेसँग क्षणभरमै सम्पर्क गराउने हत्केलाको मोबाइल सेटले विश्वलाई एक गाउँ बनाएको प्रतीत हुन्छ। आमसञ्चारका प्राध्यापक पी. खरेल मोबाइल हुँदा र नहुँदाको नेपाली समाजमा आकाश–जमीनको अन्तर आएको बताउँछन्। “बदलिंदो दुनियाँको हालखबर बुझन मात्र होइन, काम फत्ते गर्न पनि मोबाइल फोनको उपयोग भइरहेको छ”, खरेल भन्छन्, “शुरूमा आफन्त र साथीभाइको सुझावलाई टारेको मैले पनि मोबाइल बोकेको डेढ वर्ष भइसक्यो।”

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागको प्रमुखका रूपमा समेत थपिएको कामकाज भ्याउन मोबाइल बोक्न थालेको खरेलले बताए। हुन पनि, मान्छे मरेको जानकारी आफन्तलाई दिन 'काँचो धागो' ले बाँधेको चिठी पुर्‍याउने अभ्यासबाट आएको समाजमा अहिले मोबाइलले हुलाक नै असान्दर्भिक बनाएको छ। काभ्रे, नुवाकोट, धादिङ आदि जिल्लाका किसान अहिले काठमाडौंको कालीमाटीमा तरकारीको भाउ बुझेर मात्र खेतबारीमा तरकारी टिप्ने, नटिप्ने निर्णय गर्छन्।

२०५६ सालमा सरकारी स्वामित्वको नेपाल दूरसञ्चार प्राधिकरणले जीएसएम सेवा शुरू गरे पनि दूरसञ्चारमा निजीक्षेत्रको प्रवेशपछि मोबाइल फोन यो रूपमा फैलिएको हो। सन् २००४ मा स्पाइस नेपाल र २०५९ सालमा युनाइटेड टेलिकम थपिएपछि मोबाइलको बजार प्रतिस्पर्धी बन्यो। अहिले नेपाल टेलिकम, एनसेल, यूटीएल, स्मार्ट, हेलो र एसटीएम गरी सेवा प्रदायक नै ६ पुगिसकेको छ। कम्पनीहरूबीचको प्रतिस्पर्धाले सेवाको मूल्य घटाएको छ। फोन रिसिभ गरेकै प्रतिमिनेट रु.५ तिर्नुपर्ने जमाना बदलिएर विदेशसमेत सस्तोमा कुरा गर्न मिल्ने भएको छ। मागेकै बेला सिमकार्ड पाइन्छ, त्यो पनि सित्तैंमा। रोमिङ शुल्कको कुरै हराउँदा मोबाइल फोन नेपाली समाजको हर पाटोमा उलटफेर ल्याउने एउटै 'अस्त्र' हुन पुगेको छ।

हेलो भन्दा पर

अधिकांश नेपालीका लागि मोबाइल फोनको सेट बिहान उठेदेखि राति सुत्दासम्म सँगै हुने निकटतम साथी बनिसकेको छ। बिहान चाँडो उठ्न अलार्म बजाउने र राति सुत्नुअघि फेसबूक स्ट्याटस चेक गर्ने धेरैको बानी बनेको छ। प्रविधिलाई सर्वाधिक प्रभावकारी रूपमा जीवनसँग जोडेको मोबाइल फोनलाई मान्छेको सातौं ज्ञानेन्द्रिय भन्दा अतिशयोक्ति नहुने भइसकेको छ। सूचना आदान–प्रदान गर्न, इन्टरनेट चलाउन, गेम खेल्न, गीत सुन्न, भिडियो हेर्न, सामाजिक सञ्जालमा विचरण गर्न, तस्वीर वा भिडियो खिच्न, हिसाब गर्न, आवाज रेकर्ड गर्न– मोबाइल फोनमा के मात्र गर्न मिल्दैन?

टुजीसँगै थ्रीजी सेवा दिइरहेका मोबाइल सेवा प्रदायकहरू, साढे तीन दर्जन इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी) आदिका इन्टरनेट सुविधामा मोबाइलले 'भ्वाइस' भन्दा 'डाटा' को धेरै कारोबार गर्न थालेको छ। दूरसञ्चार सेवा प्रदायकहरूको आयमा डाटाको योगदान बढिरहेको छ। दूरसञ्चार प्राधिकरणका अनुसार ३३.७६ प्रतिशत अर्थात् ८९ लाख ४६ हजार नेपाली इन्टरनेट चलाउँछन्। तीमध्ये ८६ लाखले मोबाइलमा इन्टरनेट चलाउँछन्। मोबाइलमा इन्टरनेट सुविधाका कारण फेसबूक प्रयोगकर्ताको संख्या नै २५ लाख हाराहारीमा पुगिसकेको छ। मोबाइल फोनबाट फेसबूकमा स्ट्याटस अपडेट र तस्वीर अपलोडका लागि सेल्फी हाल्नेको प्रतिस्पर्धा कम्ती रोचक छैन। त्योभन्दा महत्वपूर्ण छ, फेसबूकबाट भइरहेको विचार आदान–प्रदान।

भारतको आउटलुक म्यागेजिनले गरेको हालैको एउटा सर्वेक्षणले मोबाइल फोनलाई संसारका कन्ज्युमर प्रोडक्टको उपल्लो सूचीमा राखेको छ। मोबाइलले टेलिभिजन, कार, कम्प्युटर, रेफ्रिजेरेटर र कण्डमलाई पछाडि पारेको सर्वेक्षणले देखाएको छ। नेपालमै पनि ३६.४५ प्रतिशतसँग टीभी र ५०.८२ प्रतिशतसँग रेडियो छ, जबकि ८४ प्रतिशत नेपालीलाई पुग्ने गरी मोबाइल फोनको सिम बिक्री भएको छ।

“कम्पनीहरूबीच चुलिएको 'प्राइस वार' ले उपभोक्ताहरूलाई लाभ थपिरहेको छ।”

दिकेश मल्होत्रा,

अध्यक्ष

इन्टरनेशनल मार्केटिङ सर्भिसेज

”उपभोक्ताहरुको रुचि स्मार्टफोनतिर तानिएकाले अबको बजार स्मार्टफोनको हो।”

श्रुतिका मानन्धर, बजार प्रमुख

पशुपति टे्रड लिंक

नेपालमा मोबाइल फोन पुगेको घर ६५ प्रतिशत छ भने शौचालय नभएका ३८.१७ प्रतिशत। आउटलुक को सर्वेक्षणमा सहभागीमध्ये ७१ प्रतिशतको 'मोबाइल र कुनै काम विना बस्नै सक्दिनँ' भन्ने उत्तरले मान्छेको जीवनसँग यो उपकरण कति घनिष्ठ हुनपुगेको छ भन्ने देखाउँछ। थ्रीजी र स्मार्टफोनले त मान्छेलाई एक्लोपनबाट समेत मुक्ति दिएका छन्। गाडीमा होस् वा बाटोमा, मोबाइल फोनमा व्यस्त हुनेहरू प्रशस्तै देखिन थालेका छन्।

मोबाइल फोनको व्यावसायिक प्रभाव पनि कम गहिरो छैन। आउँदाआउँदै पेजर कम्पनीहरूलाई बन्द गराएको मोबाइलले क्यामेरा उत्पादकहरूलाई कम दबाब दिएको छैन। हातमा मोबाइल हुने हरेक व्यक्ति फोटोग्राफर बन्न थालिसकेका छन्। बढ्दो सामाजिक सञ्जालमा हरेक व्यक्ति 'नागरिक पत्रकार' बन्न थालेका छन्। मोबाइलले अध्ययन र ज्ञान आर्जनको परम्परागत तरीकालाई पनि फेरेको छ। चाहिएको कुरा मोबाइलमा खोज्न सकिने भएको छ। सेवा प्रदायक एनसेलले त विकीपेडिया सर्च गर्दा पैसा नै नलाग्ने बनाएको छ। मोबाइलमा मेल सुविधा भएपछि अफिसियल काम पनि जहाँसुकैबाट सम्भव भएको छ।

रोजगारी सिर्जना, आर्थिक व्यवस्थापन, बजारको अवसरलाई टेवा बनेको मोबाइल फोन पिरती गाँस्ने वा घरबार जोड्ने 'स्मार्ट' हरूका लागि गोपनीयता जोगाउने व्यक्तिगत स्वतन्त्रताको साधन पनि बनेको छ। आर्थिक क्रियाकलापमा त मोबाइलले भनिनसक्नु परिवर्तन ल्याएको छ। मोबाइलले विस्तार गर्ने संचारबाट हुने व्यवसायी बढोत्तरी बाहेक यसको आफ्नै मर्मत, सिमकार्ड र रिचार्जकार्ड बिक्री, गेम, संगीत डाउनलोड, एप्लिकेसन निर्माण लगायतका नयाँ व्यवसायको अर्को ठूलो संसार छ।

फैलँदो कारोबार

धरौटी राखेर सिमकार्ड लिनुपर्ने जमाना फेरिएर निःशुल्क सिमकार्ड पाइने हुँदासम्म मोबाइल फोन सेटको मूल्य पनि सबैको पहुँचमा आइसकेको छ। नेपालमा वार्षिक रु.१० अर्बभन्दा बढीको ३० लाख मोबाइल सेट बिक्री हुन थालेको छ। बजारमा थरीथरीका मोबाइल उत्पादकहरूले किसिम–किसिमका मोबाइल बिक्री गरिरहेका छन्। शुरूमा नोकिया, मोटोरोला, सामसुङ र एलजी को कब्जामा रहेको नेपाली बजारमा अहिले देशभित्र र बाहिरका डेढ दर्जनभन्दा बढी ब्रान्ड छन्। मूल्य र सुविधामा ब्रान्ड जत्तिकै विविधता छँदैछ। बजारमा रु.१ हजारदेखि रु.१ लाखभन्दा माथिका मोबाइल पाइन्छन्। ब्रान्डको प्रतिस्पर्धाले सेटको मूल्यलाई दिनहुँ घटाइरहेको छ। आगामी वर्ष यो 'प्राइस वार' अरू चर्किने सामसुङ मोबाइलको आधिकारिक बिक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेसका अध्यक्ष दिकेश मल्होत्राको अनुमान छ।

नेपाली बजारमा अहिले बिक्री रकमका आधारमा सामसुङ मोबाइल पहिलो नम्बरमा छ। कुल बजारको ५५ प्रतिशत हिस्सा आफ्नो कब्जामा रहेको मल्होत्रा बताउँछन्। सामसुङ का रु.२ हजारदेखि रु.९५ हजारसम्मका करीब दुई दर्जन मोडलका बार र स्मार्ट फोन बजारमा छन्। एन्ड्रोइड भर्सनका उस्तै सुविधाका मोबाइल सेट सस्तोमा पाइए पनि बजारमा सामसुङ को गुणस्तरले ब्रान्ड भ्यालु घट्न नदिएको मल्होत्राको दाबी छ। “कम्पनीहरूबीच चुलिएको 'प्राइस वार' ले उपभोक्ताहरूलाई पनि लाभ थपिरहेकै छ”, मल्होत्रा भन्छन्।

ग्राहकहरूले सस्तो तर सबै सुविधा भएका स्मार्ट फोन रुचाएका छन्।

रोशन न्यौपाने

बजार प्रबन्धक,

कल मोबिलिटी

स्मार्टफोनको प्रतिस्पर्धाले कम्पनीहरु आक्रामक बजार विस्तार गरिरहेका छन्।

राजीव हुमागाई,

बजार प्रमुख

एलाइड टे्रड लिंक

उपभोक्ताको रुचि बार फोनबाट स्मार्टतिर बढेपछि कुनै बेला नेपाली बजारको ७० प्रतिशत हिस्सा लिएको नोकिया फोनको बिक्री भने ओरालोमा छ। निओटेरिक नेपालका बिक्री प्रबन्धक योगेश रोय उपभोक्ताले मोबाइल डिभाइसभन्दा एन्ड्रोइड भर्सनका मोबाइल रुचाएकाले नोकिया बजार प्रतिस्पर्धामा पछाडि परेको बताउँछन्। विन्डोज अपरेटिङ सिस्टम राखिएका लुमिया मोबाइलबाट भने नोकिया को बजार पुनर्स्थापित हुँदै गएको रोयको विश्लेषण छ। एम–टेक ब्रान्डको मोबाइल बिक्री गरिरहेको सिद्धि मोबाइलका बिक्री प्रबन्धक विनायक पोखरेल अहिले भारतीय ब्रान्डका मोबाइलको बिक्री ह्वात्तै बढेको बताउँछन्। नेपालमा यो मोबाइल सेट भित्रिएको तीन वर्ष पुग्दैछ। एम–टेक का रु.१४०० देखि रु.१४ हजारसम्मका बारफोन र स्मार्ट गरी १७ मोडल छन्। पोखरेल भन्छन्, “ब्रान्ड भ्यालुभन्दा मूल्य हेरेर मोबाइल किन्नेहरूको जमात बढ्दो छ।”

फ्लाई तथा विनकम मोबाइलको बिक्री र प्रवर्द्धन गरिरहेको प्रिज्म टेक्नोलोजिज्का प्रबन्ध निर्देशक बीके शाह पनि आफ्ना उत्पादनको बिक्री पछिल्ला दुई वर्षमा शतप्रतिशत वृद्धि भएको बताउँछन्। यी दुई ब्रान्डका रु.१४०० देखि रु.१८ हजारसम्म पर्ने २१ वटा मोडलका बार र स्मार्ट फोन बजारमा छन्। चोरीका मोबाइल रोक्न सके मोबाइलको बजार २० देखि ४० प्रतिशतसम्म बढ्ने बताउँदै शाह भन्छन्, “आईएमईआई पहिचानलाई अनिवार्य गर्न सके चोरीको मोबाइल रोकिन्छ।”

भारतमा राम्रो उपस्थिति जनाइरहेको माइक्रोम्याक्स ब्रान्डले नेपालमा पनि पछिल्लो डेढ वर्षमा आफ्नो बजारलाई विस्तार गरिरहेको छ। बार, स्मार्ट फोन र उच्च मूल्यका स्मार्ट फोन बिक्री गरिरहेको माइक्रोम्याक्स को नेपालको आधिकारिक बिक्रेता पशुपति टे्रड लिंककी बजार प्रमुख श्रुतिका मानन्धर रु.१५०० देखि रु.२२ हजारसम्मका मोबाइल बिक्री भइरहेको बताउँछिन्। नेपाली प्रयोगकर्ताहरू स्मार्ट फोनतिर तानिइरहेको उनको अनुभव छ। यद्यपि, नेपाली बजारमा अझ्ै पनि बार फोनको हिस्सा ७० प्रतिशत रहेको अनुमान छ। टुजी र थ्रीजी मोबाइल इन्टरनेटको शुल्क घट्दा स्मार्ट फोन प्रयोगकर्ताको संख्या बढ्ने भिडियोकोन मोबाइल सेट बेचिरहेको शारडा समूह अन्तर्गतको वत्सल इम्पेक्सका निर्देशक नितेश मुन्द्रा बताउँछन्।

बजारले सस्तो तर सुविधायुक्त मोबाइल खोजिरहेकाले हाम्रो ध्यान त्यतै तानिएको छ।

रमेश श्रेष्ठ, महाप्रबन्धक

चौधरी समूह

“टुजी र थ्रीजी मोबाइल इन्टरनेटको शुल्क घटे स्मार्ट फोन प्रयोगकर्ताको संख्या अझ थपिन्छ।”

नितेश मुन्द्रा, निर्देशक

वत्सल इम्पेक्स

हरेक तीन वर्षमा मोबाइल फेर्ने औसत प्रवृत्तिका कारण वर्षेनि ३० लाखभन्दा बढी मोबाइलका लागि बजार सिर्जना हुने मुन्द्राको अनुमान छ। भिडियोकोन नेपाली बजारमा भित्रिएको एक वर्षमै स्थापित ब्रान्ड भएको उनको दाबी छ। भिडियोकोन ले रु.१५०० देखि रु.२१ हजारसम्मका तीन दर्जनभन्दा बढी मोडलका मोबाइल बेचिरहेको छ। बजारले सस्तो तर सुविधायुक्त मोबाइलको माग सिर्जना गरेपछि उत्पादक र बिक्रेताहरूको ध्यान त्यतै तानिएको छ। जस्तो, चौधरी समूहले प्रवर्द्धन गरेको एलजी मोबाइलले बजारको मागलाई ध्यानमा राखेर प्रतिस्पर्धी मूल्यमा मोबाइल उपलब्ध गराउने तयारी थालेको छ। सन् २००५ देखि २०१० सम्म बजारमा दोस्रो ठूलो बिक्रेता रहे पनि पछिल्ला वर्षमा 'प्राइस वार'ले गर्दा अप्ठ्यारो परेको एलजी का प्रबन्धक रमेश श्रेष्ठ बताउँछन्। एलजीले रु.७० हजारसम्मका स्मार्ट फोन बिक्री गरिरहेको छ। अडियो जुम, गुणस्तरीय क्यामेरासहित ४.५ इन्चको मोबाइलको माग बढिरहेको सन्दर्भमा कम्पनीले यस्ता प्रतिस्पर्धी मोबाइल ल्याउने तयारी गरिरहेको छ। एलजी ले एल–६० नामक आकर्षक फोन बजारमा छिट्टै भित्र्याउँदैछ।

केही महीनाअघि मात्र भित्रिएको भारतीय ब्रान्ड बीक्यु मोबाइलको बजार पनि उत्साहजनक भएको बिक्रेता होराइजन इन्टरप्राइजेजका विशाल आचार्य बताउँछन्। बीक्यु ब्रान्डका मोबाइल सेट मासिक १० हजार वटासम्म बिक्री हुन थालेको उनले बताए। बीक्यु ले रु.१३०० देखि रु.११ हजारसम्मका बार र स्मार्ट फोन बिक्री गर्छ। वार्षिक ६० प्रतिशतको हाराहारीमा मोबाइलको समग्र बजार बढिरहेको बताउने आचार्य आगामी दिनमा सस्तोमा सबै सुविधा भएका मोबाइल सेटको बजार बढ्ने आकलन गर्छन्। मोबाइल अब 'स्ट्याटस सिम्बोल' नरहेको बताउँदै आचार्य भन्छन्, “आधारभूत आवश्यकता भएकाले सबै सुविधा भएका सस्ता मोबाइलको माग बढ्ने स्पष्ट छ।”

नेपाली मोबाइल बजारमा स्वदेशी ब्रान्ड कलर्स का सेटले पनि राम्रै हिस्सा लिंदैछ। ६ वर्षअघि बिक्री थालेको कलर्स ले २२ प्रतिशत बजार लिएको कम्पनीको बिक्रेता टेलिटकका बजार प्रबन्धक गौरव हमाल बताउँछन्। कलर्स का रु.१३०० देखि रु.३० हजारसम्मका २० मोडलका बार र स्मार्ट फोन उपलब्ध छन्। हमाल आफूहरूको अध्ययनले बार फोन प्रयोगकर्ताहरू स्मार्टतिर जान तयार परेको देखाएको बताउँछन्। अबको चार–पाँच वर्षमा नेपाली बजारमा स्मार्ट फोनको आधिपत्य रहने उनको आकलन छ।

अर्को प्रसिद्ध ब्रान्ड कार्बन को प्रवर्द्धन गरिरहेको एलाइड टे्रड लिंकका बजार प्रमुख राजीव हुमागाई पनि स्मार्ट फोनमा ग्राहक रुचि बढिरहेको बताउँछन्। सन् २००९ मा बजारमा भित्रिएको कार्बन ले रु.१२०० देखि रु.३० हजारसम्मका बार र स्मार्ट फोन बिक्री गरिरहेको छ। कम्पनीले जापानी ब्रान्ड पानासोनिक को पनि प्रवर्द्धन गरिरहेको छ। पानासोनिक का रु.२२०० देखि रु.३० हजारसम्मका १३ मोडलका मोबाइल उपलब्ध छन्। उता ब्याङ्किङ र रेमिट्यान्स सेवामा नाम कमाएको प्रभु ग्रुपले पनि भर्खरै भारतीय लेमन मोबाइलको प्रवर्द्धन थालेको छ। प्रभु मोबाइलका प्रमुख कार्यकारी अधिकृत सरोज न्यौपाने रु.१२०० देखि रु.२५ हजारसम्मका बार र स्मार्ट गरी ९ मोडलका मोबाइल सेटको बिक्री थालेको बताउँछन्।

अबको चार–पाँच वर्षमा नेपाली बजारमा स्मार्ट फोनको आधिपत्य रहन्छ।

गौरव हमाल, बजार प्रबन्धक

टेलिटक

“ब्रान्ड भ्यालुभन्दा मूल्य हेरेर मोबाइल किन्नेहरूको जमात बढेकाले भारतीय ब्रान्डका मोबाइलको बिक्री बढी छ।”

विनायक पोखरेल,

राष्ट्रिय बिक्री प्रबन्धक

सिद्धि मोबाइल

अर्को चिनियाँ ब्रान्ड हुवावे ले पनि नेपालमा आक्रामक बजार विस्तार गरिरहेको छ। एक वर्षअघि भित्रिएको प्रसिद्ध यो ब्रान्डका रु.१३ हजारदेखि रु.८० हजारसम्मका स्मार्टफोन बजारमा छन्। युवा वर्गले बढी रुचाएका हुवावे का एक दर्जन बढी मोडल बजारमा छन्। आधिकारिक विक्रेता कल मोबिलिटीका बजार प्रबन्धक रोशन न्यौपाने ग्राहकहरूले सस्तो तर सबै खालका सुविधा भएका स्मार्ट फोन रुचाइरहेका कारण हुवावे ले पनि सस्तो स्मार्ट फोनहरू बजारमा ल्याउन लागेको बताउँछन्।

मूल्य सस्तो हुँदै जाँदा पनि मोबाइल सेटमा सुविधा थपिने क्रम बढेको छ। त्यसैले, अर्को वर्षदेखि नयाँ खालका मोबाइल सेटहरू आउने सम्भावना देख्छन्, आईएमएसका दिकेश मल्होत्रा। उनी भन्छन्, “कि स्मार्टफोनभन्दा पनि नयाँ मोबाइल बजारमा आउँछ कि त 'प्राइस वार' का कारण साना ब्रान्डका मोबाइल सकिन्छन्।”


जियोनी को पातलो फोन

जियोनी मोबाइलले संसारकै सबैभन्दा पातलो मोबाइल एस ५.१ नेपाली बजारमा भित्र्याउने भएको छ। नोभेम्बर अन्त्यसम्ममा भित्रिने यो मोबाइल हालसम्मकै उत्पादितमध्ये पातलो भएको कम्पनीको दाबी छ। यसअघि कम्पनीले पातलो मोबाइलका रूपमा एस ५.५ सार्वजनिक गरेको थियो। दुई महीनाअघि नेपाली बजारमा भित्रिएको जियोनी प्रसिद्ध चिनियाँ ब्रान्ड हो। यसका उत्पादन संसारका ४१ भन्दा बढी देशमा बिक्री हुन्छन्। जियोनी ले नेपाली बजारमा रु.३ हजारदेखि रु.३५ हजारसम्मका ७ थरी मोडलका बार र स्मार्टफोन भित्र्याइसकेको छ। जियोनी ले एमथ्री नामक लामो समयसम्म (५००० एमएएच) ब्याट्री टिक्ने मोबाइल पनि बजारमा भित्र्याउँदैछ।

comments powered by Disqus

रमझम