७-१३ मंसीर २०७१ | 23-29 November 2014

ढुटोभन्दा सस्तो

Share:
  
- बच्चु विक
सरकारले लागत भन्दा कम 'समर्थन मूल्य' निर्धारण गरिदिएपछि पश्चिम तराईका धान किसानलाई बाण लागे जस्तो भएको छ।

बच्चु विक
यसपालिको धानको मूल्यले खेतीपातीमा लागेको खर्च पनि नउठाउने भएपछि कृष्णपुर–६ कञ्चनपुरका किसान सिद्धराज जोशी के गरेर वर्ष धान्ने भन्ने चिन्तामा छन्। नेपाल खाद्य संस्थानसँगको सहकार्यमा कञ्चनपुर र कैलालीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को नेतृत्वमा रहेको प्राथमिक खरीद निर्धारण समितिले २० कात्तिकमा तोकेको धानको 'समर्थन मूल्य'ले किसानलाई खुत्रुक्कै पारेको जोशी बताउँछन्।

कञ्चनपुर जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कले एक हेक्टर जमीनमा धानखेती गर्दा कम्तीमा रु.८६ हजार ८८९ लाग्ने देखाउँछ। यहाँको प्रशासनले भने एक हेक्टर जमीनमा उत्पादन हुने ४५ क्वीन्टल धानको मूल्य साढे ८५ हजार रुपैयाँ मात्र तोकेको छ। कञ्चनपुरका प्रजिअ कृष्णचन्द्र घिमिरे प्रति क्वीन्टल मोटो धानको मूल्य गत वर्षको भन्दा रु.१०० बढाएको बताउँछन्। यो भनेको एक किलोमा रु.१ बढी हो। अरू धानको मूल्य भने गत वर्षकै कायम छ, जसबाट पोहोरभन्दा बढी लागत बेहोर्नु परेका किसान मर्कामा परेका छन्। तर, प्रजिअ घिमिरे भन्छन्, “हामीले धान किन्ने खाद्य संस्थानको मापदण्ड अनुसार मूल्य निर्धारण गरेका हौं।”

कैलालीमा त मोटो धानको मूल्य गत वर्षको भन्दा प्रति क्वीन्टल रु.६५ मात्र बढेको छ। अरू खाले धानको मूल्य गत वर्षको भन्दा बढे पनि लागत अनुसार नभएको किसानको गुनासो छ। प्राथमिक खरीद निर्धारण समितिका संयोजक कैलालीका प्रजिअ पुरुषोत्तम कुँवर भने खाद्य संस्थानले तय गरेको मापदण्ड अनुसार किसानलाई अप्ठ्यारो नपर्ने गरी मूल्य निर्धारण गरिएको बताउँछन्। “धेरै मूल्य तोकेर के गर्नु, बिक्री पनि त हुनु पर्‍यो नि!” प्रजिअ कुँवर भन्छन्।

नेपाल किसान संघका केन्द्रीय सदस्य कैलाली, शंकरपुरका गोपाल गुरुङ बीउ, मलखाद, विषादी आदिको मूल्य र श्रमको ज्याला समेत बढेकाले मोटो धानको मूल्य कम्तीमा प्रति क्वीन्टल रु.२ हजार ४०० हुनुपर्ने बताउँछन्। उता कैलाली, मालाखेतीका किसान गणेश चौधरी यो वर्ष मूल्य अकासिएको, बीउविजन किन्दा पनि रोपाइँ गर्ने बेलामा पानी नपरेर उत्पादन कम भएको बताउँछ। उनका अनुसार, त्यसबाट पनि लागत बढ्यो, तर धानको मूल्य उस्तै रह्यो। कृषि प्राविधिकहरू पनि किसानको लागत र बजार भाउ अनुसार धानको मूल्य कम भएको बताउँछन्। कञ्चनपुर जिल्ला कृषि विकास कार्यालयका अधिकृत चोपनारायण खनाल भन्छन्, “मोटो धानको भाउ रु.२ हजारदेखि रु.२ हजार २०० को हाराहारीमा हुँदा किसानलाई मर्का पर्ने थिएन।”

केही साताअघिसम्म प्रति क्वीन्टल रु.१ हजार ९५० देखि रु.२ हजारसम्ममा मोटो धान खरीद गरिरहेका व्यापारीहरूले सरकारले समर्थन मूल्य तोकेलगत्तै रु.१ हजार ९०० मा मात्र किन्ने भएका छन्। कञ्चनपुरको सौगात राइस एण्ड फ्लोर मीलका सञ्चालक भरत रोकाया सरकारले तोकेको मूल्य सबैले मान्नुपर्ने बताउँछन्। तर, सरकारले अहिलेको बजार भाउ अनुसार पनि धानको मूल्य कम तोकेको छ। कैलाली र कञ्चनपुरको बजारमा मोटो चामल रु.३ हजार ८००, मध्यम चामल रु.५ हजार र मसिनो चामल रु.७ हजार ५०० प्रति क्वीन्टल छ।

गल्ला व्यवसायीहरूका अनुसार एक क्वीन्टल धानबाट ६० देखि ६६ किलोसम्म चामल निस्कन्छ। बाँकी कनिका, ढुटो र भुस हुन्छ। कनिका, ढुटो र भुस पनि धान भन्दा महङ्गोमा बिक्री हुन्छ। प्रति क्वीन्टल कनिका र ढुटो अहिले क्रमशः रु.२ हजार ५०० र रु.२ हजार ४०० मा बिक्री भइरहेको छ। धान बिक्री र भैंसीका लागि ढुटो किन्न धनगढी आउँदा मूल्य देखेर चकित भएका कैलाली, गेटाका आनन्दराम राना थारू भन्छन्, “कसरी भाउ तोकेका होलान्, ढुटो भन्दा धान सस्तो!”

comments powered by Disqus

रमझम