७-१३ मंसीर २०७१ | 23-29 November 2014

जाडोमा होशियार!

Share:
  
झ्याल―ढोका बन्द गरेर कोठा तताउने प्रयत्न कतै ज्यान लिनेगरिको घातक त भइरहेको छैन!

विस्तारै चिसो बढ्दैछ। चिसो बढेसँगै मानिसहरूले न्यानो सामानको जोहो पनि गर्दैछन्। चिसोबाट बच्नको लागि घरभित्र र बाहिर आगो बाल्ने पुरानै परम्परा हो। घर बाहिर आगो ताप्नु स्वास्थ्यका लागि फाइदाजनक भए पनि घर भित्र आगो वा हीटर बाल्दा झ्याल–ढोका बन्द रहे भने त्यसले खतरनाक परिणाम दिनेमा होशियार रहनुपर्छ।

हिमालमा हिउँ पर्न, पहाडमा सिरेटो चल्न थालिसकेको छ। अबको केही दिनमै तराईमा पनि शीतलहर चल्न थाल्नेछ। त्यसको चिसोबाट जोगिन दाउरा, ब्रिकेट, ग्याँस हीटर, विद्युतीय हीटर र कोइला बालिन्छ। विभिन्न कम्पनीले स्वास्थ्य र मौसम सुहाउँदो उत्पादन भन्दै किसिम–किसिमका सामान बजारमा ल्याइसकेका छन्। प्रयोगकर्ताले ती सामान किन्दा प्रयोग विधि अनिवार्य रुपमा जान्नुपर्छ। कोठामा ब्रिकेट, ग्याँस हीटर, विद्युतीय हीटर, दाउरा वा कोइला बाल्नुअघि झ्याल–ढोका खुला छन् कि छैनन् भनेर हेर्न भुल्नुहुँदैन। सिमेन्टको घरमा बस्नेहरूले त यसमा अझ्ा होशियारी अपनाउनुपर्छ।

माटोले बनेका घरले केहीबेरसम्म अक्सिजनको अभाव थेगे पनि सिमेन्टेड घरभित्र आगो वा हीटर बाल्नासाथ कार्बनमोनोअक्साइडले अक्सिजनको अभाव पार्न थाल्छ। जाडोको समयमा आगो वा हीटर बालेर सञ्चै सुतेका परिवारै बिहान उठ्न नसकेको भन्ने समाचारको पछाडि यही कारण लुकेको छ। बन्द झ्याल–ढोकाभित्र आगो वा हीटर बालेर सुतेकाहरू अक्सिजनको अभाव थाहै नपाई निस्सासिएर मृत्युको मुखमा पुगेका हुन्छन्।

राति मात्र होइन, साँझ–बिहान पनि झ्याल–ढोका थुनिएका कोठामा आगो बालेर बस्नुहुँदैन। त्यसो गर्दा ज्यान नै नगए पनि अक्सिजनको अभावले स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ। पाटन संयुक्त क्याम्पसमा रसायनशास्त्रका अध्यापक दुर्गा डुम्रे ब्रिकेट, दाउरा वा गुईंठा बाल्दा निस्कने कार्बनमोनोअक्साइडले मानिसको श्वास―प्रश्वास प्रक्रियामा समस्या ल्याउने बताउँछिन्। त्यस्तै, हेल्थ कन्सर्न नामक संस्थाका निर्देशक डा. सुवास प्याकुरेल गन्ध र रङ नहुने भएकोले श्वास―प्रश्वासबाट कार्बनमोनोअक्साइड शरीरमा गइरहेको थाहै नहुने बताउँछन्। डा. प्याकुरेलका अनुसार, कार्बनमोनोअक्साइड ग्याँसले शरीरभित्र राता रक्तकोषिकामा रहने हेमोग्लोबिनलाई निष्त्रि्कय बनाइदिन्छ। “त्यसपछि मस्तिष्क लगायतका अंगहरूमा अक्सिजनको आपूर्ति बन्द भएर मानिस अचेत हुन्छ”, डा. प्याकुरेल भन्छन्, “यो क्रम बढ्दै जाँदा हुने भनेको मृत्यु नै हो।”

“कार्बनमोनोअक्साइडका कारण टाउको दुख्ने, रिंगटा लाग्ने, वान्ता हुने, छालाको रङ रातो हुने जस्ता 'माइन्ड पोइजनिङ' का लक्षण देखिन थाल्छन्। त्यो अवस्थामा तुरुन्त खुला ठाउँमा निस्कनुपर्छ।

डा. सुवास प्याकुरेल

निर्देशक हेल्थ कन्सर्न

उनका अनुसार, कार्बनमोनोअक्साइडसँग सम्पर्क हुँदा टाउको दुख्ने, रिंगटा लाग्ने, वान्ता हुने, छालाको रङ रातो हुने जस्ता माइन्ड पोइजनिङका लक्षण देखिन्छन्। आगो वा हीटर तापिरहेको बेला यीमध्ये कुनै लक्षण देखिए तुरुन्त खुला ठाउँमा निस्कनुपर्छ। पहिलो कुरा त, लामो समयसम्म कोठामा आगो वा हीटर बाल्दै नबाल्नु, बाल्नै परे झ्याल–ढोका खुलै राख्नु।

प्रस्तुतिः मीना शर्मा

कोठाभित्र आगो/हीटर ताप्दा अपनाउनुपर्ने सावधानी

दाउरा, गुईंठा र ब्रिकेट बाल्दा झ्याल वा भेन्टिलेटर खुला राख्ने।

धुवाँलाई बाहिर जान दिने।

दमका रोगी भए धुवाँ नजिकै नबस्ने।

सुत्ने समयमा आगो/हीटर निभाउने।

हीटर वा अन्य कुरा बाल्दा त्यसको नजिकै पानी राख्ने।

बच्चाबच्चीको पहुँचभन्दा टाढा राख्ने।

comments powered by Disqus

रमझम