नेपाली प्रकाशनमा ग्राफिक

Share:
  
- दीपक अर्याल
मानव सभ्यतासँगै चिह्न वा स्रोतका रूपमा प्रयोग भएको ग्राफिक प्रकाशन प्रविधिसँगै परिवर्तित र व्यापक बन्दै गएको छ।

पत्रपत्रिकामा समाचारसँगै भौगोलिक र जनसांख्यिक जानकारी, व्यापारिक कारोबार, तथ्याङ्क, सर्वेक्षणको नतिजा, बजेट, कार्टून, स्केचका निम्ति ग्राफिकको व्यापक प्रयोग भइरहेको छ। पुस्तकहरूमा पनि यसको प्रयोग बढेको छ। संकेत, चिह्न, नक्सा, चार्ट, आकृति, तस्वीर र वर्णनात्मक चित्रमा आधारित सामग्रीले टेक्स्ट (अक्षर) ले भन्दा भिन्न र प्रभावकारी तरिकाले काम गर्छन्। 

'मेकानिकल रिप्रोडक्शन' अर्थात् मेशिनको प्रयोगबाट कुनै वस्तुको थप प्रति निकाल्ने काम सम्भव भएपछि ग्राफिक र नक्साहरूको उत्पादन, वितरण र प्रयोगले व्यापकता पाएको हो। यसअनुसार एउटा स्केचबाट हजारौं ब्लक उत्पादन गर्न र ती ब्लकबाट थप हजारौं–लाखौं प्रति पुस्तक तथा पत्रपत्रिकामा तस्वीर वा आकृति छाप्न सम्भव भयो। मानव सभ्यतासँगै चिह्न वा सङ्केतका रूपमा प्रयोग भएको ग्राफिकको रूप–रङ प्रकाशन प्रविधिसँगै परिवर्तित भइरहेको र अझै व्यापक बन्दै गएको छ।  
 
विश्वमा ग्राफिक र नक्साको बढी प्रयोग पहिलो र दोस्रो विश्वयुद्धताका युद्धसम्बन्धी समाचारमा भएको थियो। नेपालमा पनि माओवादी द्वन्द्वका घटना विवरणमा नक्साको प्रयोग धेरै भएको पाइन्छ। नक्सा वा ग्राफिकको प्रयोगले तुरून्तै फोटोग्राफ उपलब्ध नभएका बेला लडाईं वा दुर्घटना क्षेत्रको जानकारी दिन सहयोग गर्छ। कतिपय सामग्रीमा विज्ञान–प्रविधिका कुराको जानकारी दिन पनि ग्राफिकको प्रयोग हुन्छ। ग्राफिक प्रयोगको परम्परा अक्षर लेखन भन्दा पुरानो भए पनि १९–२०औं शताब्दीमा यसको डिजाइनमा परिवर्तन आयो र दैनिक पत्रपत्रिकामा आकर्षक रूपमा देखा पर्न थाल्यो। हाल कम्प्युटर ग्राफिकले यसलाई अझ् सरल र सहज बनाएको छ। 
 
नेपालमा गोर्खापत्र ले १० जेठ १९५८ (भाग १, संख्या २) र १० भदौ (भाग १, संख्या २२) मा ग्रहणको जानकारी दिन लाइन ब्लकमा आधारित सरल ग्राफिक (हे.तस्वीर) प्रयोग गरेको थियो। वि.सं. १९८७ तिर गोर्खापत्र ले बोर्डर, लाइन, टेबल, बक्ससँगै देवी–देवताका स्केचको पनि प्रयोग गरेको छ। कृष्णजन्माष्टमी वा शिवरात्रिको समयमा कृष्ण र शिवका ग्राफिकहरू प्रयोग भएको भेटिन्छ। त्यतिबेला भारतको कलकत्ताबाट आयात हुने काठको ब्लकबाट निर्मित ग्राफिक प्रयोग हुन्थ्यो। शुरू–शुरूमा लाइन ब्लक नेपालमै र हाल्फटोन ब्लक (तस्वीर पनि आउने) कलकत्तामा बन्थ्यो। पत्रपत्रिकामा प्रशस्त छापिने हिन्दी फिल्मको विज्ञापनका लागि आवश्यक हाल्फटोन ब्लक (हे.तस्वीर) भारतबाटै आउँथे। नेपालमा कोरिएका कतिपय ग्राफिकको ब्लक बनाउन पनि कलकत्ता नै लैजानुपर्थ्यो। पछि यो काम भारतको बनारस र गोरखपुरमा पनि हुन थाल्यो।  
 
p12
 
 

जगदम्बा प्रेसका संस्थापक कमलमणि दीक्षितका अनुसार विशेष प्रयोजनका लागि आफूले चाहे अनुसारको छुट्टै ब्लक पनि बनाइन्थ्यो, जुन महङ्गो पर्ने र कम प्रयोग हुने भएकाले त्यति लोकप्रिय चाहिं थिएन। ग्राफिककै रूपमा प्रयोग हुने बोर्डर, लाइन, सङ्केत–चिह्न वा भगवानका स्केचहरू कलकत्तामा कपर ब्लकका रूपमा किन्न पाइन्थ्यो। नेपालमा टाइप फाउन्ड्रीको स्थापना गरेको जगदम्बा प्रेसले केही फन्ट र स्केच ब्लकहरू पनि बनाएको थियो।  

नेपालमा ग्राफिक प्रयोगको उदाहरण खोज्न वि.सं. १९३३ मा नारायणहिटी छापाखानाबाट प्रकाशित फिल्ड एक्सर्साइज पैदल फौजको कवायद पुस्तकसम्म पुग्नुपर्दछ। नेपालमा पत्रपत्रिका प्रकाशित हुनुभन्दा पहिले निस्केको यस पुस्तकले अक्षरले मात्र बुझाउन गाह्रो पर्ने ठानेर होला ग्राफिकको प्रयोग गरेर कसरी 'राइट टर्न', 'लेफ्ट टर्न' गर्ने भनेर सिकाएको छ। एउटा सिङ्गै पेजमा 'स्याल्युटिङ्ग' अर्थात् सलामी गरिरहेको सिपाहीको ग्राफिक–चित्र (हे.तस्वीर) छापिएको छ। भारतबाट नेपाली भाषामा प्रकाशित धार्मिक पुस्तकमा पनि हाल्फटोन र लाइनटोन ब्लकबाट छापिएका भगवानका स्केच देख्न सकिन्छ। एउटै स्केचबाट निर्मित ब्लकहरूको प्रयोगले होला, भारत र नेपालमा प्रकाशित सबै पुस्तकमा देवी–देवताका रूप–रङ तथा आकार–आकृति उस्तै देखिन्छन्। 

ब्लक छपाइको सुरुआत चीनमा छैटौं शताब्दीमा भएको हो, जसबाट कपडामा बुट्टा हालिन्थ्यो। युरोपमा सन् १४२० तिर धार्मिक पुस्तकमा प्रयोग भयो। यसैगरी शुरू भएको नेपाली ग्राफिक छपाइ कम्प्युटर प्रविधिमा आधारित प्रकाशन र वित्तीय क्षेत्रमा पत्रपत्रिकाको प्राथमिकतासँगै विकसित र व्यापक बन्दै गएको छ। यसको श्रेय २०४८ पछि नेपाल भित्रिएको आधुनिक प्रविधिलाई जान्छ, जससँगै ब्लक बनाउने परम्पराको अन्त्य भयो र एकैनासको ग्राफिक प्रयोगको सम्भावना घट्यो। हाल आर्थिक समाचार, सर्भेको नतिजा, बार–डायग्राम, कार्टून स्केच आदिका निम्ति ग्राफिकको प्रयोग बढी भएको देखिन्छ।

comments powered by Disqus

रमझम