हृदयघात छैन साथ

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
हृदयघातबारे जनचेतना कम त छँदैछ, तत्काल उपचार र एम्बुलेन्स सेवा समेत भरपर्दा छैनन्।
p14
 
सडकमै कालः अधिकांश एम्बुलेन्समा हृदयघातका
लागि उपयोगी उपकरण छैनन्। भएका एम्बुलेन्स
पनि ट्राफिक जामले समयमै अस्पताल पुग्ने
अवस्था छैन। राजधानीको रत्नपार्क–भद्रकाली
सडकको ट्राफिक जाममा दुई एम्बुलेन्स ।
तस्वीर: मीनरत्न बज्राचार्य
 
• ६ मंसीर बिहान १०:१५ बजे कार्यकक्षमै हृदयघात भएका नेपाल राष्ट्र ब्यांक, बालुवाटारका कर्मचारी दीपक अधिकारी (५४) लाई १५ मिनेटभित्र त्रिवि शिक्षण अस्पताल पुर्‍याइए पनि उनी बच्न सकेनन्। अस्पताल पुगेको २५ मिनेटमा अधिकारीको मृत्यु भयो।
 
 ३ मंसीर बिहान ८ बजे हृदयघात भएका ललितपुर ठैवका शेषलाल श्रेष्ठ (६५) लाई १० मिनेटमै छिमेकका डाक्टर प्रचण्ड नापितले हेरे र आधा घण्टाभित्र पाटन अस्पताल पुर्‍याइयो। त्यहाँ आधा घण्टा प्राथमिक उपचार गरेर अक्सिजन र स्वास्थ्यकर्मीसहितको एम्बुलेन्समा २० मिनेटमा गंगालाल हृदय केन्द्र पुर्‍याउँदा शेषलाल बचे। 
 
• २० कात्तिक बिहान ९ बजे हृदयघात भएका पाटन, कुम्भेश्वरका धर्मरत्न खड्गी (६२) लाई परिवारले हतार–हतार शहीद गंगालाल हृदय केन्द्रमा लग्यो। भाग्यवश, सडकमा त्यति जाम नभएकाले ट्याक्सीले ३५ मिनेटमै अस्पताल पुर्‍यायो। “धन्न आइपुग्नुभो, अब चिन्ता लिनुपर्दैन”, खड्गीलाई हेरेपछि चिकित्सकहरूले भनेका थिए।  
 
हृदयघात (हर्ट अट्याक) ले मुटुमा धेरै क्षति नपुर्‍याउँदै अस्पताल पुगेका शेषलाल श्रेष्ठ र धर्मरत्न खड्गी बाँचे, तर जोरपाटीका दीपक अधिकारी बाँच्न सकेनन्। अत्यासलाग्दो यथार्थ हो, राजधानी काठमाडौं उपत्यकाभित्र पनि 'हर्ट अट्याक' हुने धेरैको ज्यान अस्पताल नपुग्दै र प्राथमिक उपचार नपाई जान्छ। राजधानीका करीब ३०० साना–ठूला अस्पताल तथा स्वास्थ्य केन्द्रमध्ये अधिकांशमा हृदयघातका बिरामीलाई तत्काल चाहिने प्राथमिक उपचार सेवा, दक्ष जनशक्ति र सुविधासम्पन्न एम्बुलेन्स छैनन्। देशभर काठमाडौंमा गंगालाल, मनमोहन कार्डियोथेरासिक सेन्टर (त्रिवि शिक्षण अस्पताल), वीर अस्पताल, नर्भिक अस्पताल र वयोदा अस्पताल तथा बाहिर भरतपुरको कलेज अफ मेडिकल साइन्सेस्, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काभ्रेको धुलिखेल अस्पतालमा मात्र मुटुको एञ्जियोप्लाष्टी उपचार गर्ने सुविधा भएको क्याथल्याब छ। 
 
p15
 
३ मंसीर बिहान ८ बजे हृदयघात भएका ललितपुर
ठैवका शेषलाल श्रेष्ठ गंगालाल हृदयरोग उपचार
केन्द्रमा । तस्वीर: डम्बरकृष्ण श्रेष्ठ

वितेको एक दशकमा नेपालमा मुटुरोग पाँच गुणा बढेको छ। राजधानीका मुख्य अस्पतालमा भर्ना गरिएका मुटुरोगीमध्ये ४० प्रतिशत हृदयघातका हुने गरेका छन्। देशभरबाट दैनिक सरदर ४०० मुटुरोगी आउने गंगालालमा मात्र वर्षमा १ लाख २० हजार मुटु रोगीको उपचार हुँदैआएको छ। मनमोहन कार्डियोथेरासिक सेन्टर र निजी क्षेत्रका नर्भिक तथा वयोदा अस्पतालमा पनि मुटुरोगी बढेका छन्। ४० वर्ष माथिकालाई लाग्ने मानिएको मुटुरोग धूम्रपान, मद्यपान, जङ्कफूड र मासुको उपभोगमा वृद्धि, विलासी जीवनशैली तथा खेलकुद र शारीरिक श्रम–अभ्यासको कमीका कारण युवा र बालबालिकामा समेत देखिन थालेको छ।  

एम्बुलेन्स न उपचार  
नेपालमा मुटुरोगीहरू ४५ लाख (कुल जनसंख्याको १५ प्रतिशत) पुगेको हृदय रोग निवारण प्रतिष्ठानको तथ्यांक छ। मुटु रोगबाट हुने मृत्यु कुल मृत्युको २५ प्रतिशत छ। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार, विश्वमा २.७ प्रतिशत र दक्षिण एशियामा २७ प्रतिशत मानिसको मृत्यु हृदयघातबाट हुन्छ। विश्व मुटु महासंघका अनुसार, संसारभर मुटुरोगबाट वर्षेनि मृत्यु हुने १ करोड ७५ लाख मानिसमध्ये ९० लाख विकासोन्मुख देशका छन्।  
 
गंगालाल हृदय केन्द्रका डा. रामेश कोइराला नेपालमा हृदयघात हुनेमध्ये ५० प्रतिशत घर र बाटोमै मर्ने गरेको बताउँछन्। अस्पताल पुगेका मध्ये पनि ३० प्रतिशत उपचारको क्रममा मर्छन्। डा. कोइरालाका अनुसार, बाँच्ने बिरामीको संख्या बढाउने उपाय हृदयघात हुनासाथ प्राथमिक उपचार, सुविधायुक्त एम्बुलेन्स र सबै स्वास्थ्य केन्द्रमा दक्ष स्वास्थ्यकर्मीसहितको आकस्मिक सेवा हो। तर, रु.१ लाख पर्ने डिफिब्रिलेटर, ३ लाखसम्म पर्ने इसीजी मेशीन र मनिटर भएको एम्बुलेन्स गंगालाल र नर्भिक अस्पतालसँग मात्रै छ। 
 
चिकित्सकहरू हृदयघात हुनासाथ घरैमा, नजिकको अस्पतालमा या स्वास्थ्य केन्द्रमा केही आकस्मिक उपचार गर्नुपर्ने बताउँछन्। यस्तो उपचारमा दुखाइ कम गर्ने 'एस्पि्रन' वा 'मर्फिन' जस्ता औषधि खुवाउने, इसीजी र मनिटरबाट मुटुको गति हेर्ने, धड्कन बन्द भएमा डिफिब्रिलेटर मेशीनले छातीमा विद्युतीय 'शक' दिने काम गर्नुपर्छ। यस्तो अवस्थालाई ध्यानमा राखेर युरोप, अमेरिकाका सिनेमा हल, डिपार्टमेण्टल स्टोर जस्ता सार्वजनिक ठाउँमा समेत डिफिब्रिलेटर मेशीन राखिएका हुन्छन्। तर, हामीकहाँ राजधानीमा पनि नेपाल एम्बुलेन्स सर्भिस (नास) ले साढेदुई वर्षदेखि मात्र हटलाइन १०२ मा फोन गरेर बोलाउन सकिने अक्सिजन, रगत, ग्लुकोज र दक्ष स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स सेवा शुरू गरेको छ।  
 
p14a
 
 

राजधानीको ट्राफिक जाम पनि मुटुरोगीहरूका लागि काल बराबर छ। गत वर्ष हर्ट टु हर्ट नेपालले लगनखेलबाट गरेको परीक्षणमा एउटा एम्बुलेन्सलाई १० किमी दूरीको गंगालाल अस्पताल पुग्न १ घण्टा ४ मिनेट लागेको थियो। “हर्ट अट्याक भएको मान्छे यतिञ्जेलमा मरिसक्छ”, मुटुरोग परामर्श तथा जनचेतना अभियानमा सक्रिय हर्ट टु हर्टका अध्यक्ष विपिन राई भन्छन्, “राजधानीका धेरैजसो एम्बुलेन्समा एउटा शववाहनमा हुनुपर्ने जति सुविधा मात्रै छन्। ती पनि ट्राफिक जामले गर्दा समयमा अस्पताल पुग्न पाउँदैनन्।” 

सरकारको बेवास्ता 
मानिसको शरीरमा सबैभन्दा बढी काम गर्ने अंग मुटु हो। मुटुको मांसपेशीलाई चौबीसै घण्टा चल्न बढी शक्ति चाहिन्छ। यसका लागि सन्तुलित खानेकुरा खानुपर्छ। मुटुको रक्तनलीमा मधुमेह, सूर्तीजन्य वस्तु, उच्च कोलेस्ट्रल, उच्च रक्तचाप, मोटोपना आदिका कारण बोसो वा फोहोर जमेर रगतको प्रवाह रोकिंदा हृदयघात हुन्छ। चिकित्सकहरूका अनुसार, छातीको बायाँ या बीच भागमा र बायाँ कुममा दुख्ने, चिट–चिट पसिना आउने हुनासाथ बिरामीले नजिकको स्वास्थ्य केन्द्र गइहाल्नुपर्छ। 
 
Dr.-Ramesh-Koirala
 
"हृदयघात हुनासाथ छेउछाउकै
स्वास्थ्य केन्द्रमा आकस्मिक
प्राथमिक उपचारको व्यवस्था
मिलाउनु सरकारको कर्तव्य हो"
-डा. रामेश कोइराला,
गंगालाल हृदय केन्द्र

अहिले कसैलाई हृदयघात हुनासाथ गंगालाल अस्पताल नै दौडाउनुपर्छ। नेपालगञ्ज वा विराटनगरबाट विमान चढाएर वा पहाडी जिल्लाहरूबाट हेलिकोप्टर चार्टर्ड गरेर ल्याइने बिरामीको गन्तव्य पनि गंगालाल नै हुन्छ। गंगालालमा एकै दिनमा तीन वटा हेलिकोप्टरबाट मुटुका बिरामी आएको डा. कोइराला बताउँछन्। “जहाँबाट पनि बिरामीलाई यही अस्पताल ल्याउन खोज्दा बाटैमा धेरैको ज्यान जाने गरेको छ”, डा. कोइराला भन्छन्, “हृदयघात हुनासाथ छेउछाउकै स्वास्थ्य केन्द्रमा आकस्मिक प्राथमिक उपचारको व्यवस्था मिलाउनु सरकारको कर्तव्य हो।” 

तर, सत्तालिप्साबाट पीडित सरकार र स्वास्थ्य मन्त्रालय नेतृत्वले जनहितका लागि गर्नैपर्ने यी काममा चासो देखाएको छैन। निजी व्यवसायी र संघसंस्थाले जुटाएका एम्बुलेन्सबाट नासले हटलाइन सम्पर्कसहित शुरू गरेको सेवामा सहकार्य गर्ने काठमाडौं महानगरपालिकाको कुरा पनि कुरामै सीमित भएको छ। नासका पाँच वटा एम्बुलेन्सले डेढ वर्षमा ४००० हटलाइन कल लिएका छन्। आगन्तुकहरू समेत गरी करीब ४० लाख जनसंख्या रहेको राजधानीको लागि मात्र कम्तीमा ४० वटा 'ए' श्रेणीका सुविधासम्पन्न एम्बुलेन्स चाहिने नासका अध्यक्ष तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन डा. राजेश गंगोल बताउँछन्। 
 
आफैं मुटुरोगी रहेका हर्ट टु हर्ट नेपालका अध्यक्ष विपिन राई मुटुको इसीजी र आकस्मिक उपचार मात्रै हुने पाटन अस्पतालमा कार्डियाक युनिट राख्न माग गर्दा सरकारले वास्ता नगरेको बताउँछन्। “सरकार एम्बुलेन्स, दमकल जस्तो अति आवश्यक सुविधाको व्यवस्था गर्न समेत मान्दैन”, सरकारी रवैयाबाट आक्रोशित राई भन्छन्, “सरकारका मन्त्री र तिनका आफन्तलाई नै परेपछि मात्रै उनीहरूले यो समस्या थाहा पाउने हुन् कि?”
हृदयघात र यसको असर 
 
p15a
 
 

मुटुको रक्तनलीमा बोसो जमेर हुने 'कोर्नरी अर्टरी डिजिज'ले हृदयघात निम्त्याउँछ। रक्तनलीमा विभिन्न कारणले जमेको बोसो फुटेपछि रगत जमेर मुटुको रक्त सञ्चालन प्रक्रिया बन्द भएपछि हृदयघात हुन्छ। हरेक मानिसको शरीरमा सबैभन्दा बढी काम गर्ने अंग नै मुटु हो। मुटुको मांसपेशी चौबीसै घण्टा सक्रिय रहने र यसका लागि सबैभन्दा बढी शक्ति र खानेकुरा आवश्यक पर्छ। यही क्रममा मुटुको रक्तनलीहरूमा मधुमेह, सूर्तीजन्य वस्तु, उच्च कोलेस्ट्रल, उच्च रक्तचाप, मोटोपना आदिका कारणले फोहोर या बोसो जम्छ र यसले रक्त प्रवाह रोकेपछि हृदयघात हुन्छ। 

हृदयघात हुनुअघि नै सचेतना अपनाउने हो भने ज्यान जाने जोखिमबाट बच्न सकिन्छ। चिकित्सकहरूका अनुसार बायाँ छाती या बीच भाग दुख्ने र बायाँ कुम दुख्ने, चिट्चिट् पसिना आउने हुनासाथ ट्याक्सी या कुनै वाहन समातेर नजिकको स्वास्थ्य केन्द्र गइहाल्नुपर्छ। तर, नेपाली समाज अझै पनि 'हर्ट अट्याक' भन्ने थाहा नपाएर बोक्सी र धामीले भेद्यो भनेर झारफुकतिर लाग्ने अवस्थामै रहेको हर्ट टु हर्ट नेपालका अध्यक्ष नवीन राई बताउँछन्। शहरिया समाजमै पनि छाती दुखेपछि ग्यास्टिक लाग्यो भनेर तातोपानी खान खोज्ने अस्पताल जान तुरुन्तै ट्याक्सी, एम्बुलेन्स नखोजेर आफन्त, साथीको गाडी, मोटरसाइकल कुरेर बस्ने र निकै गाह्रो भइसकेपछि अस्पताल पुग्ने गरेको उनी बताउँछन्। 
 
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को तथ्याङ्क अनुसार विश्वमा २.७ प्रतिशत र दक्षिण एशियामा २७ प्रतिशत मानिसको मृत्युको कारण हृदयघात नै रहेको छ। अनुमान गरिए अनुसार सन् २०१५ सम्ममा २० मिलियन मानिसको मृत्युको कारण हृदयघात नै हुने छ भने २०२० सम्ममा वार्षिक २ करोड ५० लाख मानिस मुटु रोगबाटै मर्ने अनुमान छ। विश्व मुटु महासंघका अनुसार हाल वर्षेनि १ करोड ७५ लाख मानिस मुटु रोगकै कारण मर्छन्। जसमध्ये करीब ९० लाख विकासोन्मुख देशका मानिस हुने गरेका छन्।

 

IMG_7732
 

थाहा पाउनै दुई दिन लाग्यो
गिरेन्द्र मल्ल ठकुरी, लादुक, दोलखा

४ मंसिर दिउँसो १२ बजे ७६ बर्षका बुबा (सोमबहादुर) लाई सास फेर्न गाहो भएपछि तीन घण्टा बिकेर सिंगटी पुर्यायौं । औषधि पसलेले मुटुको समस्याको शंका गरेर हतार हतार जीपमा हाली दुई घण्टाको बाटो सदरमुकाम चरिकोट पठाँए । चरिकोटको अस्पतालमा डाक्टरले 'पित्त सुन्निए जस्तो छ, एक हप्ता राखेर हेर्नुपर्छ' भने, तर बुबालाई झन्-झन् साहो भएकाले भोलिपल्ट काठमाडौंको विर अस्पताल पुर्‍यायौं। त्यहाँ साढेदुई घण्टाको परिक्षणपछि डाक्टरले 'हर्ट अट्याक' भएको भन्दै गंगालाल लैजान भने । हामीलाई त हृदयघात भएको थाहा पाउनै दुई दिन लाग्यो, २०५२ सालमा हजुरबा र २०५८ मा छिमेकी बहादुर ठकुरी पनि यहि रोगले मरेका रहेछन् भन्ने पनि बल्ल थाहा पाइयो ।

comments powered by Disqus

रमझम