बर्माको सम्झ्ना–१७

Share:
  

दोस्रो विश्वयुद्धको मध्यतिर बर्मामा रहेका रणशूर लिम्बूले लेखेको र बीस वर्षपछि जगदम्बा प्रकाशनले छापेको बर्माको सम्झ्ना अहिले विस्मृतिमा पुगेको छ। बर्मामा छँदाको अनुभवमा आधारित नेपाली जाति र भाषाप्रति प्रेम झ्ल्कने लिम्बूको पुस्तक पठनीय हुने ठानेर क्रमशः प्रकाशित गरेका छौं। – सम्पादक

सरकारको हुकुम, कायदा कानून फौज बसेका छेउछाउ मात्रै मानिने, अलि टाढा पर्न गएको ठाउँका मानिस सबै राजा हुनथाले, अनि आफ्नै गाउँ घरमा बसेका मानिसको पनि अपमान गर्न, घर जलाई दिन, मानिससम्मलाई मार्न लागे। गाउँका मुखिया अनि अंग्रेजी राजमा नौकरी गरेर ठूला भएका पुलिसका इन्स्पेक्टरहरूलाई भन्नलागे– अंग्रेेज हुञ्ज्याल त तिमीहरू हाम्रा उपर अनेक प्रकारका हुकुम चलाउँथ्यौ, हाम्रा माथि अत्याचार गर्दथ्यौं, हामी तिम्रो शरण परी परी बिन्ती गर्दा हामीलाई मानिसै नसम्झी तिमी आफ्ना मान पाएका अहंकारमा मस्त भै टेरै लाउँदैनथ्यौ, ती जम्मै कुराहरूका, ती पापका प्रायश्चित अब तिमीहरूले गर्नपर्छ भनी कतिलाई काटिमारी दिए रे, कतिका घर जलाइए रे भनी भन्दथे। अनि धनी धनी मानिसहरूबाट पनि यस्ता पाप भई नै रहेको हुन्छ र इखिएका मानिस इख बोकी राख्छन्, मौका लागेको बेला साटो फेर्छन्। भाग्ने मानिस त भागिगो, उसका घरभरी कपडाको थान, लाखौंको माल छ। लाऊ आगो। हुरुरु घरै पोलिदिए। यस्तो कुराहरू धेर उही ठाउँमा हुनगो जहाँ जापानी आइ नपुगेका, अंग्रेजचाहिं भागिहालेका थिए।

लोअर बर्माको लडाइँ बढ्दै बढ्दै अपर बर्मामा आयो। मटींलाबाट जापानीहरूको बढाउ माण्डलेतिर अनि जहाजको बाटो इनानकौ र भंगोएतिर हुनगो। उता भाग्नेहरू भारत पुग्न थाले, यता हवाइजहाजले समस्त अपर बर्मा थर्कमान पार्न थाल्यो। लडाइँ कहाँ हुँदैछ थाहा छैन। डाँक तार रेडियो बन्द भैगो। रंगूनका ठूला ठूला अधिकारी, ठूला ठूला दफ्तर बैंक कम्पनी भारत पुग्न थाले। अपर बर्मामा पनि भागाभाग हुन थाल्यो। लोअर बर्मा र अपर बर्माको सबै कुरो एकै हो। थोरै मौका धेर लोअर बर्माभन्दा अपर बर्मालाई भाग्नमा मिल्यो। अपर बर्मामा पनि सरकारी घर दफ्तर गोदाम भाग्दाखेरी जलाई छाड्नुपर्छ भनी दाउरा ओसारी पेट्रोल तयार पारी मानिस खटाई तयार पारे। लडाइँले समस्त बर्मा आक्रान्त पार्‍यो। जापानीहरूलाई रोक्न सकेन। फौजहरू भागाभाग गरी छरिएर बिछुट्ट भए। अपर चिन्डवीनका लागि ल्याएको खजाना चीण्डवीन नदीमा लगी जहाजले माझ्मा रुपियाँ जति फाले अनि नोटहरू जलाइए, गोदामका चिनी, नूनका बोरामा मट्टितेल हालिदिए, अलि अलि थुनिराखेका कैदी छाडिदिए। रंगून माण्डलेका धेरै कैदी त पहिल्यै छाडिएका थिए। फौज पनि पछि पछि छुट्तै कलेवा आए। उता जापानी फौज बढ्दै छन्। जापानीहरूको बढाउ अपर बर्मामा भएपछि मनीपुर जाने बाटोको घुइँचो दोबर हुनगो। मानिस मर्ने मरिरहेका छन्, बिरामी भएका पडिरहेका छन्। आगे हेरे मानिसको धुइरो पछि आँखाले भ्याएसम्म उही धूलो, घुइँचो। कहीं बाझदैछन्, कहीं रुवाबासी, कहीं चोरी! धनी निर्धन, पण्डित मूर्ख एकै बाटामा! मर्ने मरे, बाँचेका तमू पुगे। तमूबाट भारत पुग्नलाई पहाडी बाटो काटी पलेलको मैदानमा पुगिन्छ। तमूसम्म त केही मोटर गाडाले भारी बोक्ने काम गरे। पहाडमा अब भरियाको भर पर्न पर्‍यो। सस्तो महँगो मालमत्ताको अफालतफाल पारी मानिस पलेल पुगे। तमूको मैदानमा काम गर्न थालिएका पल्टनका, लागि घर बन्न लागेका जम्मै रोकिए। मनीपुरका यी पहाडमा पल्टन बढ्न लागे। यी डाँडा काँडा जम्मै सिपाहीहरूले ढाकी जापान आएमा लड्नलाई ठिक्क हुन लागे। नेपाली राष्ट्रको स्वतन्त्रताको रक्षा गर्ने फौज पनि करीब ४ पल्टनसम्मन् भारतको रक्षा गर्न पलेल छेउछाउ छन् भन्ने थाहा भो। अरू कति पल्टन आएर बसेका छन् उसको केही अन्तै नाहीं। यी तमूका पहाडीमा बन्न लागेका बाटो बनाउन छाडिदिए। कारण, बाटो तयार भएकोमा शत्रुसित जुझदा अलि पछि हट्नु परे त्यो बाटोमा झ्ट्टै मोटर इत्यादि अरू सवारी चलाई आफ्ना बाटाले पछि आफैंलाई पीर पुर्‍याउने होला भनी बन्द गरे।

जापानीहरूले समस्त बर्मामा अधिकार गरे। सीमानामा बसेका फौज अब आयो, अब आयो भनी तयार भए। अनि लड्नलाई ठिक्क भइरहेका थिए, तर जापान आगे आएन। आउने नआउनेको राम्रै थाहा भएको थिएन। यस्तै बेलामा सीमानामा बसेका सिपाहीहरूमध्ये २०–२५ जनाले मतो गरे छन् कि, यी अंग्रेज सारै नै चढेका छन् अनि यिनीसित रिस फेर्ने बेला पनि यही हो। हामी सबै मिलीवरी जाउँ र जापानसित मिलौं अनि उनका फौजसँग मिली अंग्रेजी सीमानामा बसेका मानिसहरूलाई धपाउँ र मौका लागे यी कुइरेहरूलाई पनि बिताउँ भनी सल्लाह गरेर गोली गट्ठा बन्दूक खाने पिउने जिनिस खच्चरमा लदाई राती हिंडेछन्। अनि आफ्ना फौजी अफसरका नाउँमा एउटा पत्र लेखी छाडेछन्। पत्रमा लेखेछन्– 'खबरदार, हामीलाई पक्रन अनि हामीलाई पीछा गरेर कोही आउने छैनौ, हाम्रा पीछा गरे गोली खाउला' इत्यादि। रातभरि हिंडेर भोलिपल्ट तिनीहरू जम्मै जापानी क्याम्पमा पुगेछन्। क्याम्पमा बन्दूकको साथ गए जापानीले मारिदिने। बन्दूक लुकाई राखी एक दुई जना गएर भनेछन्, हामी अंग्रेजहरूको शासन आफ्ना देशमा चाहन्नौं। यी अंग्रेजहरूलाई धपाउने हाम्रा पनि मनसुवा छ, आफूहरूको विजय देखेर हामी खुस छौं। आफुहरूसित मिली हामी पनि अंग्रेज धपाउने कार्यमा सरीक हुन चाहन्छौं। अनि हामीले उहाँका जम्मै गोली बन्दूक खच्चर लिएर आएका छौं भनी भनेछन्। अच्छा तिमीहरूले लिई आएका बन्दूक गोली खच्चर ल्याउ भनी बोलाएछन् र अब स्याबासी पाउँला भनी आश गरी बसेका बेला उहाँका अफसरले बन्दूक गोली खच्चरचाहिं आफ्ना सिपाहीहरूका जिम्मा दिएछन् अनि ती भागेर गएका मानिसहरूलाई सुनाएछन्, तिमी आफ्ना नमकको सोझो गर्न नजान्ने मूर्ख मानिस रहेछौ। सिपाहीको यो धर्म होइन। आफ्ना अफसरलाई छलेर आउने मानिसको हामी विश्वास गर्न सक्दैनौं।

comments powered by Disqus

रमझम