सेवाका लागि जीवन

Share:
  
- सन्त गाहा मगर
दिलशोभा र अनुराधाहरू पछिल्लो पुस्तामा पनि बढ्दैछन् भन्ने कुरा असहाय, असक्त र अन्यायमा परेकालाई साथ दिने दीक्षा, सविता, शर्मिला, मेनुका र हीराहरूले देखाएका छन्।
p28
 
सविता उप्रेती तस्वीरहरूः विक्रम राई

ताप्लेजुङ, फूलबारीकी दीक्षा चापागाई (३०) सँग राजधानीको धापासीमा २७ सदस्यीय सुखी परिवार छ। अविवाहित दीक्षा आठ महीनाकी आश्रिता नेपालदेखि ७२ वर्षका वीरबहादुर तामाङसम्मको अभिभावक हुन्। १६ स्कूले केटाकेटीसहित २६ जनाको खानपिन, औषधोपचार, शिक्षा, सुरक्षालगायतको जिम्मेवारी दीक्षाको काँधमा छ।  

१० वर्षअघि काठमाडौं घुम्न आएका बाबुलाई बसपार्क पुर्‍याएर फर्कंदा नयाँबजारमा फोहोरको डङ्गुरमा खानेकुरा खोजिरहेको एउटा भोको बालक देखेपछि दीक्षाको जीवनयात्राले नयाँ मोड लिएको हो। वीर अस्पतालमा उपचार गराएपछि ती बालक निको त भए, तर बोल्न नसक्ने पनि थाहा भयो। उसलाई लाटो भएकैले बोझ् ठानेर बाबुआमाले छाडेको कल्पनाले दीक्षाको हृदय छियाछिया भयो र उनी 'पवित्र समाज सेवा नेपाल' खोलेर जीवनको नयाँ बाटोमा अगाडि बढिन्। जुनसुकै उमेर, लिंग, धर्म वा जातिका बेवारिसेलाई सहारा दिनु उनको जीवनको लक्ष्य भयो। समाजशास्त्रमा स्नातक दीक्षा भन्छिन्, “आफूलाई फाइदा दिन नसक्ने परिवारका सदस्यलाई हेलाँ गर्ने, घरबाट निकाल्ने स्वार्थी व्यवहारले मलाई समाजसेवामा लाग्न प्रेरित गर्‍यो।”  
 
दिउँसो केटाकेटी स्कूल गएको मौका छोपेर दानवीरहरूको खोजीमा निस्कनु दीक्षाको दैनिकी भएको छ। जन्मदिन, पास्नी, श्राद्ध आदिमा लुगा, खानेकुरा दिन आउनेहरू अस्थायी आडभरोसा भएका छन्। सबै बच्चाको थर उनले 'नेपाल' राखिदिएकी छन्। भाडा तिर्नु नपर्ने सरकारी जग्गामा बनेको छाप्रोमा बसिरहेका बच्चालाई घर सोध्दा धापासी भन्छन्। सबैभन्दा साना आश्रिता र अन्दाज दीक्षासँगै सुत्छन्।  
 
p28a
 
दीक्षा चापागाईं

व्यवस्थापनमा स्नातकोत्तर दोलखाकी सविता उप्रेती (२६+) ले दुई वर्षअघि समाज कल्याण परिषद् मातहतको राष्ट्रिय अपाङ्गता कोषको जागिर छाडेर काठमाडौं, सिनामंगलमा बौद्धिक र शारीरिक अपाङ्गता भएका बालबालिकाका लागि विद्यालय सञ्चालन गरेकी छन्― विशेष स्कूल तथा पुनर्स्थापना केन्द्र। यसमा उनलाई सुघन्द्र श्रेष्ठले साथ दिएका छन्। बोल्न नसक्ने, असामान्य चकचक गर्ने, परिवारको वास्ता नगर्ने, दिसा–पिसाब र बोलीचालीमा नियन्त्रण नहुने समस्या भएका बालबालिकालाई भर्ना लिने केन्द्रले अहिलेसम्म ३० बालबालिकाको पुनर्स्थापना गरेको छ। “आफ्नो सामान्य काम आफैं गर्ने र विद्यालय जान सक्ने भएपछि मात्रै पठाउँछौं”, केन्द्रकी प्रबन्ध निर्देशक सविता भन्छिन्, “केन्द्रमा आएका बालबालिका सामान्य भएर मुस्कुराउँदा जीवनमा सबथोक पाएजस्तो लाग्छ।” 

केन्द्रले अभिभावकको गच्छे हेरेर सक्नेबाट शुल्क पनि लिने गरेको छ। अहिले यहाँ आठ बालबालिकाले सशुल्क, १२ ले अर्धशुल्क र १० जनाले निःशुल्क हेरचाह पाएका छन्। बालबालिकालाई उपचार, थेरापी र शिक्षा एकैसाथ दिइने विद्यालय तथा पुनर्स्थापना केन्द्रमा विशेष शिक्षाका लागि दक्ष शिक्षक र थेरापिष्टसहित १३ कर्मचारी छन्। तलब, घरभाडा, स्टेशनरी लगायत खर्च जुटाउन सजिलो छैन। आर्थिक स्रोत सक्नेले तिर्ने शुल्क र विभिन्न सहयोग मात्रै हो।  
 
लाजिम्पाटकी शर्मिला थापा एकल महिलाको हितमा होमिएकी छन्। सात वर्षको वैवाहिक जीवनपछि आफू पनि एकल बनेकी शर्मिलाको अध्यक्षतामा दुई वर्षअघि सात एकल महिलाद्वारा स्थापित 'समिदा महिला विकास मञ्च' मा अहिले ६५ सदस्य छन्। महिला अधिकारबारे प्रशिक्षण र सीपमूलक तालिमसँगै महिला हिंसाविरुद्ध कानूनी सहयोग पनि उपलब्ध गराउँदै आएको मञ्चको आर्थिक स्रोत सदस्यहरूबाट संकलित लेबी हो। शर्मिलाको अनुभवमा परिवार, आफन्त र समाजको मानसिक यातनाबाट एकल महिलामाथि हिंसा शुरू हुन्छ, तर पीडितका मुद्दामा प्रहरी, प्रशासन समेत संवेदनशील हुँदैनन्। उनी भन्छिन्, “अधिकार खोज्दा डलरखेती गरेको भन्ने चलन रहेछ।”  
 
काभ्रे पार्टीखर्ककी मेनुका थापा (३१) डान्सबार, मसाज केन्द्र, क्याबिन र दोहोरी रेष्टुरेन्टमा काम गर्ने महिलालाई जागरुक र पुनर्स्थापना गर्न लागिपरेकी छन्। उनले २०६० मा स्थापना गरेको 'रक्षा नेपाल' को पुनर्स्थापना गृहमा अहिले घरेलु एवं यौनजन्य हिंसापीडित १० महिला र २५ बालबालिका छन्। महिलाहरूलाई स्वरोजगार र बालबालिकालाई शिक्षा दिने ध्याउन्नमा रहेकी मेनुकाले ३५०० महिला संलग्न सहकारी स्थापना गरेकी तथा ३०० लाई सीपमूलक तालिम दिएकी छन्।  
 
p29
 
मेनुका थापा, शर्मिला थापा, हीरा दाहाल

देशमा करीब दुई लाख महिला यौन व्यवसायमा लाग्न बाध्य हुँदा पनि सरकारले यो समस्याबारे चासो नराखेको मेनुकाको गुनासो छ। तीन वर्ष पहिलेको एउटा अध्ययन स्मरण गर्दै उनी यौन व्यवसायमा लागेका ५७ प्रतिशत महिला एमाओवादी द्वन्द्वबाट प्रभावित रहेको बताउँछिन्। “जुनसुकै कारण र पृष्ठभूमिबाट आए पनि एक गाँस खानकै लागि महिलाले कुनै सम्झौता गर्न नपरोस् भन्ने मनसायले यो अभियानमा लागेकी हुँ”, मेनुका भन्छिन्।  

आन्तरिक बेचबिखनमा परेका महिलाको उद्धार र पुनर्स्थापनामा सक्रिय मेनुकाको आफ्नै जीवन पनि कम पीडादायी छैन। आमाको गर्भमै छँदा बुबाको निधन भयो, जन्म हुँदासम्म आमाले पनि मानसिक सन्तुलन गुमाइन्। बुझने भएपछि आफू छोराको आशमा जन्मिएकी नवौं सन्तान भएको थाहा पाएकी उनले दुःखले एसएलसी सकेर काठमाडौं आएपछि मोहनबहादुर थापा र रूपा विमलको सहयोगमा गीत–संगीत सिकिन्। काम गर्दै पढ्ने ध्येयले दोहोरी रेष्टुरेन्टमा गाउन पुगेकी मेनुकाले त्यहाँ महिलामाथि हुने दुर्व्यवहार देखेपछि उनीहरूका लागि केही गर्ने अठोट लिइन्र 'रक्षा नेपाल' को जन्म भयो। 
 
संस्थागत सक्रियता बढेपछि मेनुकाले बम हान्ने धम्की पनि खेप्नुपर्‍यो। क्याबिन, डान्स रेष्टुरेण्टलाई 'सुकिलामुकिलाहरूको मैलो मनको विकृति' ठान्ने उनले बुझेकी छन्, प्रहरी र उच्चपदस्थ सरकारी अधिकारीको संरक्षण विना यो धन्दा मौलाउन सक्दैन। “सरकारले हस्तक्षेप गरेर भए पनि महिलामाथि यस्ता ठाउँमा भइरहेका शोषण र हिंसा रोक्नुपर्ने हो”, मेनुका भन्छिन्, “वैकल्पिक व्यवस्था गरिदिने हो भने कोही महिला रहरले यौन व्यवसायमा लाग्दैनन्।”  
 
शक्ति समूहमा नौ वर्ष काम गरेपछि 'चेतना अभिवृद्धि केन्द्र' खोलेकी हीरा दाहाल (३१) पनि महिलामाथिको हिंसा र आन्तरिक बेचबिखनलाई सरकारी उदासीनताकै उपज ठान्छिन्। सरकारले २०६५ मा बनेको क्याबिन रेष्टुरेण्ट निर्देशिका कार्यान्वयन मात्रै गरिदिने हो भने पनि समस्या धेरै कम हुने उनको मत छ। “त्यहाँ त कुनै सरकार, काइदा–कानून नै नभए जस्तो ९–१० वर्षका बालिकालाई समेत काममा लगाइएको हुन्छ”, हीरा भन्छिन्, “आन्तरिक बेचबिखनको दीर्घकालीन समाधानका लागि भने सरकारले औपचारिक शिक्षा र रोजगारीकै व्यवस्था गर्नुपर्छ।”
comments powered by Disqus

रमझम