२८ मंसीर-५ पुस २०७१ | 14-20 December 2014

चोरीबाट यसरी जोगिने

Share:
  
सुरक्षाका स–साना कुरामा ध्यान नदिंदा नै घरमा चोरी हुन्छ।

देबकी बिष्ट
यो सामाजिक संजालको युग हो। यो समयमा प्रविधिप्रेमीहरू आफू सपरिवार घुम्न जान लागेको जनाउँदै सोसल साइटहरुमा स्टाटस् अपलोड गर्न चुक्दैनन्। त्यस्तो स्टाटस् देख्ने बित्तिकै मित्रहरूले फेसबुकको भित्तामा लेखिहाल्छन्– 'कति दिनको लागि कुन–कुन ठाउँ?' त्यसपछि तपाईं सपरिवार एक साताका लागि देश भित्र वा बाहिर कहाँ जान लागेको भनेर सामाजिक संजालमा छरिने जानकारी चोरी कर्मलाई जीविकाको माध्यम बनाएकाहरूका लागि आकर्षक सूचना बन्न सक्छ। आफ्नो घरमा के कस्ता सामान छन् र आज के किनियो भन्ने कुरा सामाजिक संजालमा राख्नेहरूको पनि कमी छैन। यस्तो अवस्थामा तपाईंको घरमा साथीभाइ र आफन्त मात्र होइन, चोरहरू पनि आकर्षित भइरहेका हुनसक्छन्। यस्ता सानातिना कुराले सपनामा पनि नसोचेको क्षति निम्त्याउन सक्छ।

राम्रोसँग तालाचाबी नलगाई हतारमा हिंड्दा त घरमा चोरी हुन्छ नै, राम्ररी नचिनेका व्यक्तिलाई घरायसी कामदार वा सहयोगी बनाउँदा पनि नसोचेको क्षति बेहोर्नुपर्ने हुनसक्छ। यसरी लापरबाही वा अन्जानमा लाखौंको धनमाल गुमाउनेहरू शहरमा धेरै छन्। घरमा चोरी हुँदा वर्षौं दुःख गरेर कमाएको सम्पत्ति एकैछिनमा स्वाहा मात्र हुँदैन, त्यसले ल्याउने आर्थिक असन्तुलनले परिवारलाई लामो समयसम्म पिरोल्छ। यस्तो ठूलो समस्याबाट जोगिने उपाय भने स–साना कुरामा ध्यान दिनु नै हो। उखान नै छ– 'आफ्नो थैलीको मुख बलियो बनाऊ।' र, थैलीको मुख बलियो बनाउन कुनै ठूलो कसरत गर्नु पर्दैन, त्यसको तुना कसे पुगिहाल्छ।

घरमा चोरी भइनै सकेपछि प्रहरीमा धाएर चोर कहिले समातिएला र हराएका सामान पाइएला भनेर कुर्दा प्रायःजसो निराशा नै हात लाग्ने सम्भावना हुन्छ। त्यसैले, बेलैमा स–साना कुरामा ध्यान दिएर घरमा चोरी हुनै नदिनु राम्रो हुन्छ। महानगरीय प्रहरी परिसर काठमाडौमा असारयता मात्र १०५ वटा चोरीका उजुरी दर्ता भएका छन्। तिनको अनुसन्धान भइरहेको परिसरका प्रवक्ता नायव उपरीक्षक दिनेश आचार्य बताउँछन्। उनका अनुसार धेरैजसो चोरी राम्रोसँग झ्याल–ढोका नलगाउने, गेट खुल्लै छोड्ने, नचिनेको मानिसलाई घरायसी काममा राख्नेहरूको घरमा भएको पाइएको छ।

त्यस्तै, राति चोरले झ्यालबाट घरको सामान लगेका घटना पनि धेरै छन्। यसले राति सुत्दा भरपर्दो ग्रील नभएको झ्याल खुल्ला छोड्न नहुने देखाउँछ। १०–१५ मिनेट त हो नि भन्दै झ्याल–ढोका र गेट राम्रोसँग नलगाई बाहिर निस्कनेहरूले घर फर्कंदा मूल्यवान् सामान गुमाएको तथ्याङ्क पनि उत्तिकै छ। “आवास क्षेत्रमा कुनै शंकास्पद व्यक्ति देखा पर्दा नजिकको प्रहरीलाई खबर गरिहाल्नुस्” डीएसपी आचार्य भन्छन्, “टोलमा सुरक्षा साइरन जडान गर्नु चोरीबाट जोगिने अर्को आधुनिक उपाय हो।”

चोरीबाट जोगिन

सपरिवार बाहिर निस्कँदा कसैलाई जानकारी नदिने।

घरको गेट, झ्याल―ढोकाको चुकुल/ताल्चा राम्रोसँग लगाउने।

अपरिचित व्यक्तिलाई पारिवारिक सूचना नदिने।

घरायसी कामको लागि चिनजानको व्यक्ति मात्र राख्ने।

टोलमा शंकास्पद व्यक्ति देखिए प्रहरीलाई खबर गर्ने।

राति घरको कम्पाउण्ड उज्यालो बनाउने।

झ्याल नजिक सामान नराख्ने।

सुरक्षा साइरन जडान गर्ने ।

प्रस्तुतिः मीना शर्मा

comments powered by Disqus

रमझम