उनी रुकी एयर लेभलको 'सुजुकी ६५० सीसी क्लास च्याम्पियन २०१०' र एक्स्पर्ट लेभलको 'यामाहा ६०० सीसी क्लास च्याम्पियन २०११ र २०१२' हुन्। सानैदेखिको बाइकमोह र मिहिनेतले यस्तो सफलता संभव भएको उनी बताउँछन्। बृहस्पति विद्या सदनमा पढ्दा भिडियो गेम 'मोटा जीपी २००२' मा पल्केका उनी साइकलमा चारचौरास गरेर बाइक रेसिङको हुटहुटी मेट्थे। “त्यो बेला साइकल स्टन्ट देखाएर अनि टाढाटाढासम्म हुइँकिएर बाइकको रहर मेटाइन्थ्यो”, आशिष भन्छन्, “बुबाको राजदूत र काइनेटिक लेजर बाइक त धेरैपछि मात्र चलाउन पाइयो।”
भित्री 'प्यासन' त थियो नै, बाइकको त्यो अभ्यास उनका लागि रेसिङको मुख्य आधार बन्यो। उनी अमेरिका पुगेको पहिलो महीनामै बाइक लाइसेन्स लिन सफल भए। सुपर बाइक रेसिङको लाइसेन्स पाउन भने एक वर्ष लाग्यो। 'रुकी एयर लेभल' को तीन वर्षमा उनी टप फाइभमा परेपछि व्यावसायिक बाइक रेसिङ शुरु भयो। “सन् २०११ मा एक्स्पर्ट बाइक रेसरको लाइसेन्स लिएँ”, आशिष भन्छन्, “अर्को वर्ष बाइक रेसिङ कोच बनें।
कोचको रुपमा उनले नेपाल, भारत, मलेशिया र अष्ट्रेलियामा सुपर बाइक रेसिङ सिकाइसकेका छन्। वर्ल्ड मोटो जीपी च्याम्पियनसीपमा जान चाहेका उनी नियमित आम्दानीका लागि बाइक रेसिङ कोचिङ आफ्नो बाध्यता भएको बताउँछन्। आशिषको रेसिङ यात्राका लागि कावासाकी, ब्रिजस्टोन, ईबीसी, गोप्रो, सुपर एट, वर्ल्डवाइड मेशिनिङ रेने ग्यालेनो एण्ड कम्पनी लगायतले साथ दिएका छन्। प्रतिष्ठित कम्पनीहरूको स्पोन्सरसीपले उनको लक्ष्य नजिक बनाएको देखाउँछ।
निकै जोखिमपूर्ण हुने बाइक रेसिङ महँगो पनि छ। ट्रयाकहरू बन्न सके नेपाल बाइक रेसिङको केन्द्र बन्ने प्रबल सम्भावना देख्छन्, आशिष।
सेन्छेलुङ लिम्बू