पहिले 'मुर्मि' र हिजोआज 'तामाङ' भनेर चिनिने समुदायको नेपाल प्रवेशकाल बारे धेरै देशी–विदेशी विद्वानले खोजीनिती गरे पनि मतैक्य देखिंदैन; कसैले प्रागैतिहासिककालदेखि, कसैले आठौं–एघारौं शताब्दीबीच र कसैले १८औं शताब्दीदेखि भनेका छन्। तामाङको उत्पत्तिस्थल (वाप्सा), वंशसम्बन्ध (रुइ) र कुलदेवता (फोल्हा) का पाइएसम्मका सामग्रीबाट उनीहरू उत्तर चीन (घ्या–नाग्), पुराङ् (दक्षिण–पश्चिम तिब्बत), लो वा लोवो (मुस्ताङ्), मानसरोवर इलाका (गङ्री), गुङ्थाङ् (मङ्युल् वा जोङ्खा क्यीरोङ्तर्फ) समेतबाट नेपालको हिमाल र हिमाली काँठतिर बसाइँ सर्दै आएको बुझ्िन्छ। पद्मसंभवको गाथा बोकेर भोटबाट नेपाल (वेयुल) झ्रेका प्राचीन बौद्ध निङ्–म–प वा साङ्ङाग् परम्परा मान्नेहरू भने पक्कै पनि नवौं–दशौं शताब्दी वा त्योभन्दा पछि मात्र यता आइपुगेका हुन् भन्न सकिन्छ। तामाङ समुदायको वोन् धर्मानुयायी पुर्खामध्ये केही भने आठौं शताब्दीताका नै मङ्युल्को जोङ्कारबाट क्यीरोङ्हुँदै रसुवा प्रवेश गरिसकेको अनुमान लगाउन सकिन्छ।
इतिहासको डोरो
पाँचौं–छैटौं शताब्दीताकासम्म पातलै काठमाडौं उपत्यकाको वस्ती विकासमा हिमालपारको भोट र दक्षिणी मैदानका ऐतिहासिक घटनाहरूको प्रत्यक्ष प्रभाव परेको इतिहासले देखाउँछ। उच्च हिमाली इलाका भएर जति जनसमुदाय नेपाल झ्रे, तिनको पछाडि भोटको राजनीतिक, धार्मिक, सांस्कृतिक, आर्थिक उतारचढाव तथा प्राकृतिक प्रकोप आदि कारण थिए। भोटमा सातौं–आठौं शताब्दीतिर बुद्ध धर्मको प्रवेशसँगै ठूलो द्वन्द्व सिर्जना भयो। यस क्रममा झाँक्रीवादी वोन् संस्कृतिका धेरै अनुयायी भोटको मूल सभ्यताका केन्द्रबाट लाखापाखा लागे।
प्राचीन इतिहासको यो डोरोले तामाङहरू भोटमा वोन् परम्पराको विस्थापन र बौद्ध परम्पराको थालनीपछि क्यीरोङ्हुँदै नेपाल पस्न थालेको विश्वास गर्न सकिन्छ। अरू केही झुण्ड पश्चिमका लो–मुस्ताङ्, नार्–नेश्याङ्, मनाङ् र केही अझ् पश्चिम मुगुम् इलाकासम्म झ्रे। दक्षिण मुस्ताङ् (तल्लो लोवो) का शेरिव् र थाग् इलाकाका 'तमाङ्' र 'तमाङ् से' भनिने समुदाय (जसमा केही थकाली पनि पर्छन्) लाई त्यो बसाइँसराइभित्र राख्न सकिन्छ। तमु वा गुरुङ समुदायका सबैभन्दा पुराना प्रवेशी समूह, बोलीचाली र सभ्यतामा तामाङ समीप रहेका थाकका थकाली र बाह्रगाउँका पुराना शेरिव्पाहरूलाई पनि यसै समूहमा राख्नुपर्ने हुन्छ। केही तामाङ आख्यानले उनीहरू तिब्बतका विभिन्न भूखण्डबाट मुगु आदि नेपालका पश्चिम हिमाली क्षेत्रका ठाउँ हुँदै पूर्वतर्फ बसाइँ सर्दै आएको संकेत पनि गर्छ, जस्तो मोक्तान् थरको 'तम्'। व्यापक विश्वास अनुरुप, मुगुतन्बाटै मोक्तान् भएको हो।
तामाङ, थकाली, गुरुङ, न्हुव्री–पा वा चुम्–पा, वालुङ्–युल्ङापा, लोपा, बाह्रगाउँलेका केही, मार्फा समेत थाग् पाँचगाउँले थकाली र नेपालको वर्तमान इलाकाभित्र निकैपछि मात्र प्रवेश गरेका श्यार्पा आदिको धार्मिक–सांस्कृतिक सम्बन्ध टुरानियन् टार–टार तथा क्वार्लाक्/ग्वार्लाक् मंगोलसँग थियो भन्ने भ्रममा पर्नुहुँदैन। भोट मूलका यी जातिगत समुदायका पुर्खाले टार–टार र क्वार्लाक् वा ग्वार्लाक्हरूलाई 'शोग्–पो' भन्थे र तिब्बतीमा यिनीहरूलाई अझै यही विशेषणले चिनिन्छ–चिनाइन्छ। आफू र आफ्नो समुदायभित्रको आदर्श वंश परम्पराकालाई भने उनीहरू 'शे', 'शेछेन' र 'शेवो' भन्छन्। यस सन्दर्भमा थाग् क्षेत्रका 'थाग्–शे' वा 'तमाङ्–शे' जस्ता वंशगत नाम र 'शेरिव्' वा 'शेरिव्–पा' जस्ता बाह्रगाउँ भेगका पुराना स्थान वा वंशगत नामहरू सम्झ्नुपर्छ। नेवार भाषामा भोट मूलकालाई भनिने 'सें' शब्द पनि स्मरणीय छ।
पश्चिमबाट 'शोग्–पो' (मंगोल) का अनेकन समूह तिब्बत पसी वोन् र बौद्धमाथि लुटपाट गरिरहने हुनाले तिब्बतीहरू आफ्नो समाज, धर्म–संस्कृति र ऐतिहासिक धरोहरहरूको रक्षार्थ यक्ष भनिने (तिब्बती बोली/लेखाइमा 'याचेपा' वा 'याछेपा') खश्मिर (काश्मिर) वा खश्गर (काश्गर) तिरका खस लडाकूहरूलाई बोलाउँथे। उनीहरू झ्ाँक्री र बौद्ध परम्परा पनि मान्ने हुनाले तिब्बतीसँग नजिक थिए। तिब्बतीहरू याचेपा शासक (याचे ग्यालपो) लाई र खस जातिका जनता (खाछेपा) लाई वोन् र बौद्ध दुवै परम्परा मान्ने आफूतर्फकै भित्रिया (नाङ्–वा) मान्दथे। धामी (तिब्बती लेखाइमा दा–मी) झाँक्रीवादमा लहसिएका मष्टो परम्पराका खसहरूले बौद्ध र वोन् सभ्यता रक्षार्थ शोग्–पोका विरुद्ध लडेका थिए। बरु अहिलेका मगर समुदाय (तात्कालिक अभिलेखमा 'मंग्वर') शोग्–पोका छरिएका कुनै झ्ुण्डको लहरो हुनसक्छन्, तर वोन् र बौद्धमार्गी तामाङ लगायतका हिमाली समुदायहरू मंगोल व्युत्पत्ति र धर्म–संस्कृतिका हुँदै होइनन्।
चीनमा मंगोल समूहले बुद्ध धर्म अपनाएको कुब्लाय खाँको समयपछि साक्यापा मठाधीश फागपाको प्रयासले मात्र हो। दशौं–एघारौं शताब्दीअघि नै नेपाल पसेका कुनै पनि भोट मूलका समुदायको वंशगत वा संस्कृतिगत सम्बन्ध क्वार्लाक् र टारटार मंगोलसँग बाह्रौं–तेह्रौं शताब्दीभन्दा पहिले हुनु सम्भव छैन। कुनै–कुनै तामाङ थरका पूर्वजलाई तिब्बतको थोथोरीको वंशसँग सम्बन्धित देखाइएकोले पनि उनीहरूको उद्भव टारटार क्वार्लाक् मंगोलसँग जोड्न सकिंदैन। मंगोल क्वार्लाक् तुर्कहरूले भोट मूलका बौद्ध महाधर्मात्मा राजा ज्याङ् छुव् होएलाई कब्जामा राखेर उनका भतिजा ल्हालामा येसे होएलाई ज्याङ् छुव् होएको वजन बराबर सुन लिएर छुटाउन खबर पठाएको महापण्डित अतीश दिपङ्करको जीवनीमा उल्लेख छ। मंग्वर वा मंगर तथा याक्थुङ्सहितका किराँतहरूमा चल्ने सुँगुर तामाङ, गुरुङ, शेर्पा र अन्य हिमाली जातिमा वर्जित मानिने चलनले पनि यी समुदायलाई मंगोलइतर देखाउँछ।
हिमाली क्षेत्रका तामाङ लगायतका समुदायमा आफूइतरका समूहलाई आफ्नो जात (रुइ) मा भित्र्याउने वा मिलान गर्ने व्यवहारवादी सामाजिक–सांस्कृतिक परम्परा पाइन्छ। कहीं कुनै समुदायमा 'ग्यू' वा 'ग्यूद्' भनिने 'रुइ' को चलनले कुन उपसमुदाय, कुल वा परिवारको तामाङ आदिवासी, को चाहिं पछि आएको भनेर छुट्याउन असम्भवप्रायः देखिन्छ। तामाङहरूको तम्–पा वा तम्वाले सुनाउने तम्–ढुङ् वा दुङ् रव् (दोङ् रव्) आदिमै पनि अनेकन् भिन्नता देखापरेका छन्। नवआगन्तुकलाई आफ्नो समुदायमा भित्र्याउने आफ्नै किसिमको प्राचीन तिब्बती परम्परा (रुइ स्याग्) का कारण तामाङका थर १२, १८, २२, ३४, ३६, ४६, ५४, ५९, ११४, ११६, १३४ हुँदै १७० सम्म पुगेको खोज–अन्वेषणले देखाएको छ।
पहिलेका पाँच मूल (घिसिङ, मोक्तान, वल, योञ्जन र दोङ) का तामाङहरू १२ र १८ हुँदै बढेको विभिन्न 'तम्', दुङ् रव् आदिबाट बुझ्िन्छ। यी समूहभित्र पनि विभिन्न आत्मीय स्ववंशी 'स्वाँगे' हरू हुन्छन् जस्तो, मोक्तानका थोकर, स्याङ्दन (स्याङ्तन), पाखि्रन आदि। अरू कतिपय भोट मूलका समुदायमा पनि तामाङसँग मिल्ने गोतिया थर हुन्छन् जस्तो, योल्मोका ज्यावा भन्नेले आफूलाई पाखि्र्रन र च्यावा भन्नेले मोक्तान पनि भन्छन्। रसुवातिरका फ्युवाहरू आफूलाई पाखि्रन भन्छन्। कतिपय मोक्तानले आफूलाई मुगुम् ग्यलसा अर्थात् मुगु राज्यबाट आएका मान्छन्। मुगुतिरको सामन्ती युगलाई आदर्शकरण गर्दै आफ्नो पूर्वथलो सम्झ्ने क्रममा मोक्तन्को तम्मा यस्तो गाथा जोडिएको हुनुपर्छ।
तामाङको व्युत्पत्ति
हिजोआज ताम्सालिङ वा तामाङसालिङ नामक क्षेत्र तामाङ समुदायको हो वा हुनुपर्दछ भन्ने धारणा अगाडि ल्याइएको छ। तर, तामाङलाई जनाउने 'ताम्सालिङ्' स्थाननाम कुनै पनि ऐतिहासिक वा श्रुति परम्पराका तम्, रव् तथा किंवदन्तीहरूमा नभेटिने हुनाले भर्खर–भर्खर बनाइएको जस्तो लाग्ने यो नामकरणमा 'तामाङ' शब्दको व्युत्पत्ति, तामाङ समुदायको बसोबास र इतिहासमाथि विचार नपुर्याइएको देखिन्छ।
तिब्बतीमा 'ता' को अर्थ घोडा र 'माग्' भनेको सैनिक (घोढचढी सैन्य) हुन्छ। यो व्याख्या अनुसार तिब्बतका सम्राट् स्रोङ्चन्गम्पोको नेपाल आक्रमणका बेला आएर नफर्किएका सैनिकहरूका सन्तान अहिलेका तामाङ हुन् भन्ने चलन छ। 'तामाङ्' शब्दको उद्भवको सन्दर्भमा घोडा व्यापारी (ताः घोडा र माङ्ः व्यापारी) र 'धेरै घोडा भएका' वा घोडापालक (ताः घोडा र माङ्ः धेरै) भन्ने अर्थ पनि लगाइन्छ। कसै–कसैले लिच्छवि राजा नरेन्द्रदेवको गद्दी फिर्ता गराउन भोटबाट आएको घोडचडी सैन्यको रूपमा पनि अर्थ्याउँछन्, 'तामाङ' थरलाई। तर, स्रोङ्चन्गम्पोले नेपालमाथि आक्रमण गरेको ऐतिहासिक प्रमाण पाईंदैन। त्यसैगरी, हिमाली क्षेत्रका सबैजसो समुदाय घोडसवार, घोडचडी वा घोडा व्यापारी हुन्छन्। तामाङका पाँच कुल र १२, १८ थर (फोला) र पछिसम्मका सयौं थर एकैचोटि घोडा व्यापारी, घोडसवार सैनिक वा घोडापालक भएर आए भन्न सकिंदैन।
तामाङ नामको व्युत्पत्ति यस समुदायमा प्रचलित अत्यधिक संख्याका वंश वा कुल, पुर्खा, उत्पत्ति र तत्सम्बन्धी इतिहासमुखी गाथा तम् वा रव्लाई जनाउने तम्–पा वा तम्–वाहरूले मौखिक रूपमा विभिन्न धार्मिक, सामाजिक अवसरमा सुनाउने तम् वा ढुङ्–रव् (तिब्बतीय दुङ्–रव्) सँग सम्बन्धित जस्तो देखिन्छ। पाँच मूल कुलवंश, १२ र १८ रुइ (हाडको वंशगत नाता समूह) को वर्णनको क्रममा बृहत् वा महासमुदाय भनेर चिनाउने तम् (कुल/वंश इतिहास परम्परा) र माङ् (धेरै समूहले युक्त) अर्थात् तम्–माङ्=तामाङ भएको कुरामा धेरै हदसम्म विश्वास गर्न सकिन्छ। आगन्तुकलाई 'रुइस्याल्' गरी समावेश गर्ने क्रममा सयौं थर भएपछि तम् पनि बढ्दै जाने भएकोले ताम्माङ् नाम अर्थपूर्ण देखिन्छ। तर, तम् मुस्ताङ्, मनाङ्, थकाली (रव्) र अन्य सबैजसोमा हुने भएकोले तम्–माङ् धेरै थरी कुल वंशका थरयुक्त परम्परा मात्र भएको भन्ने बुझिन्छ।
अर्कोतिर, 'तामाङ' नामको आधिकारिक प्रयोग श्री ३ भीमशमशेरको पालादेखि भएको देखिन्छ; अरूले हेयभावमा 'भोटे' भने भन्ने उजुरसहितको बिन्ती परेपछि। भोजपुर सिम्पानेकी सुसारे दिलकुमारी व्लोनलाई पछि रानी (सीता महारानी) बनाएका भीमशमशेरले वि.सं. १९८९ मा अबदेखि 'भोटे' नभन्नू 'तामाङ' भन्नू/लेख्नू भन्ने इस्तिहार जारी गरिदिएका थिए (हे. इस्तिहार)। त्यसअघि तामाङले 'मुर्मि' नै लेख्ने–लेखाउने गरेको यथेष्ट प्रमाणहरू छन्। भोट भाषाको 'मु–लही मि' भन्ने शब्दबाट छोटिएको 'मुर्मि' शब्दको अर्थ सिमाना वा देशको सीमान्त क्षेत्रका बासिन्दा भन्ने हुन्छ। 'था–मि', 'था–पा' वा 'ल्हो–मि', 'रोङ्पा' वा 'मोन्पा' वा ल्हो–छाम्–पा, ल्हो–मोन्–पा जस्ता समुदाय यसका अरू उदाहरण हुन्। यसले भोटभन्दा दक्षिणका, सिमानाका, तल वा औलका, कछार वा हिमालयको काँठका भन्ने बुझाउँछ।
व्रायन हज्सनले 'मुर्मि' अध्ययनका क्रममा चार–पाँच जना मूर्मिलाई स्रोतव्यक्ति बनाएका थिए। उनको टिपोटमा सहयोग र रुजु गर्ने इतिहासका जानकार मुर्मिहरूमा तिमाल फूलबारी गाउँका तम्बा धनकृष्ण योञ्जन (इतिहास परम्परा संस्कार बताउने), मन्धन गाउँका वीरु छङ् मुर्मि (इतिहास परम्परा रुजु गर्ने), दोलखा बाह्रबिसेका बुद्धिबल मोक्तान मुर्मि र तिमाल पर्सेल गाउँका देवानसिं मुर्मि (भाषा–बोलीबारे बताउने) थिए। उल्लिखित विद्वानका सन्तानबाट यससम्बन्धी तथ्यपूर्ण जानकारीको आशा गर्न सकिन्छ।
ऐतिहासिक लेखोट र परम्परा हेर्दा ११००–१२०० वर्षको निरन्तरताका हिसाबले पनि 'मुर्मि' को प्रयोग धेरै अर्थपूर्ण देखिन्छ। मुर्मि, ल्होमी, ल्हो–मोन्–पा (भुटानी) नाम वा विशेषण लिम्बू, काठा, खसेत्रो, बुच्चा, डोय जस्तो अपमानजनक नभई भूगोल र इतिहासजन्य हुन्। 'मुर्मि' शब्द इतिहासमा गरिमा बोकेको पहिचानजनित देखिन्छ भने 'तामाङ' साधारण अर्थबोधक (धेरैथरी उत्पत्तिका आख्यान, अनुश्रुति वा मिथकयुक्त समूह) भन्ने बुझिन्छ।
नेवार र मुर्मि
केही जातिगत विद्वतव्यसनीले ढुंगेयुगदेखि नै काठमाडौं उपत्यकामा बसेका तामाङहरूलाई पछि नेवारले धपाइदिएका भन्ने गरेको तथा यसको प्रमाण–पुष्टिको रूपमा स्वयम्भू, बौद्ध, नमोबुद्ध, फर्पिङ आदि बौद्धतीर्थहरूलाई अगाडि सारेको देखिन्छ। यथार्थमा, यी ठाउँहरू महाचीनका मञ्जुश्रीको तीर्थयात्रापछि बौद्ध तीर्थस्थलको रूपमा स्थापित भएका हुन्। प्राचीन नेप् (किराँत) देखि लिच्छवि शासकसम्म सबै यी स्थलका श्रद्धालु थिए भन्ने चर्चा बौद्ध वंशावलीहरूमा पाइन्छ। आक्रमण गर्न आएका खसहरू समेत स्वयम्भूको दर्शन–प्रार्थना गरी फर्केका वंशावलीकारहरूले उल्लेख गरेका छन्।
भाषा, परम्परा, संस्कृति र ऐतिहासिक धारका हिसाबले नुवाकोट, दोलखा, बनेपा, धुलिखेल, पनौती, खोपासी आदि इलाका र पाल्चोक–तिमालसम्मका केन्द्रहरू धेरैपछिसम्म नेपालमण्डलका नेवार शासकको अधीन रहेका ऐतिहासिक प्रमाण छन्। कुशेश्वरका उमामहेश्वर र लिच्छविकालीन भैरव मूर्ति, पलाञ्चोक (पलान् चो)स्थित मानदेवकालीन भगवतीको प्रस्तर मूर्ति र मन्दिर, एघारौं शताब्दीतिरको तिमाल नारायणस्थानको नारायण मूर्ति, तिमाल इलाकाकै गिम्दीको वि.सं. १७७१ अघिको शिवलिंग र उमामहेश्वरको मूर्ति, ढुंगेधारा, तिमालकोटमा मल्लकालका कोटदेवी आदिका मूर्ति र मन्दिर तथा दोलखा–नुवाकोटतर्फका प्राचीन र पूर्व मध्यकालीन हिन्दू देवदेवीका मठमन्दिर आदि ऐतिहासिक धार्मिक सम्पदा यी क्षेत्र गैर–तामाङ शासक अन्तर्गत रहेको प्रमाण हुन्। दोलखाका नेवार राजा इन्द्रसिंहदेवले आफ्नी रानीको नाम समेत राखेर पहिलो चाँदीको मोहोर चलाएका थिए।
नेपालका ठूला तामाङ वस्तीका गोम्बा, छोर्तेन आदि धरोहरहरू ११–१२औं शताब्दीपछिका हुन्। तिमाल, चोल्यो वा त्यसभन्दा उत्तरका महत्वपूर्ण गोम्बाहरू (साङ्छोलिङ्) टोड्के, टाटी, दारगेलिङ् (भार्ज्याङ्), टारी दार–गे–लिङ् (ठूलो गिम्दी), कुन्साङ् दे छेन् लिङ् (ठूला पर्सेल), दार्–गे–लिङ् (कल्लेरी), थरपेलिङ् (ग्योइगार), दे छो लिङ् (लासकोट) जस्ता १२ र ६ मूल गोम्बा (गोन्पा) विषयका ऐतिहासिक पत्रहरू पाइन्छन्। तीमध्ये कतिपयले एकीकरणअघि र पछि गुठी, विर्तासहित राजकीय मान्यता पाएका देखिन्छन् (हे. ताम्रपत्र)।
तिमाल र त्यस दक्षिणका इलाका अधीनस्त गर्ने साना–ठूला युद्धमा स्थानीय मुर्मिहरू कहिले नेवार त कहिले मकवानपुरतिर लाग्ने गरेका प्रमाणहरू छन्। तिमाल भेकका राजखलक भनेर प्रचार गरिएका रिन्छेन दोर्जे 'मिझार' मकवानपुरका राजा दिग्वन्धन सेनले वि.सं. १८१९ मा धपिएर हरिहरपुर पुगेको बेला विर्ता दिएका व्यक्ति भएको पुष्टि हुन्छ। अंग्रेजको सहयोगमा मकवानपुर फिर्ता गर्न लागिपरेका आफ्ना जेठान दिग्वन्धनका मान्छे भएकाले पछि पृथ्वीनारायण शाहले रिन्छेन दोर्जेको साटो उनका नातेदारलाई तिमालकोटको द्वारे वा मिझार बनाए।
तामाङ(मुर्मि)हरू नेपालमा कहिल्यै स्वतन्त्र शासक नभए पनि उनीहरूका ठूला लामा र स्थानीय द्वारेहरूलाई केन्द्रबाट सम्मानपूर्वक विर्ता, कुशविर्तासहित शासनपट्ट जारी भएका प्रमाणहरू छन्। काभ्रेको गिम्दीमा पाइएको ने.सं. ८३४ (वि.सं. १७७१) को अभिलेखमा गिंदेश्वर महादेव स्थापना गरी हिटी बनाउने स्थानीय ल्हाङ् ग्याल्वो, स्यार् ग्याल्वो र ज्या ग्याल्वो भन्ने मुर्मि लामाहरूले कान्तिपुरका राजा भाष्कर मल्ल र मुख्यमन्त्री झाँगल ठाकुरलाई सम्मानपूर्वक बक्साएर उक्त काम गरेको उल्लेख छ। यिनीहरू रिन्छेन दोर्जेका पूर्वज हुनसक्छन्।