काभ्रेदेखि सिंगापुरसम्म

Share:
  
तरकारीको नाममा विषादी बेच्ने गरेको आरोप लागेका काभ्रेका किसानले पछिल्लो समय गाउँ–गाउँमा उत्पादन गरेको अर्गानिक तरकारी सिंगापुरसम्म पुगेको छ।
p48
 

आठ वर्षअघि काभ्रे, साँगाका प्रेम लामाले आशापुरी अर्गानिक फार्म स्थापना गरेर १०० रोपनी जग्गामा अर्गानिक खेती शुरू गर्दा धेरैले पत्याएका थिएनन्। हिजोआज उनी दैनिक ३०० केजी तरकारी बेचेर महीनामा रु.१५ लाख कमाउँछन्। उनको फार्ममा विषादी र रासायनिक मल प्रयोग नगरी फलाइने याकुन (ग्राउण्ड एप्पल), कुरिलो, सीताके च्याउ, काउली, बन्दा, प्याजलगायत ६० भन्दा बढी तरकारीको माग राजधानीका तारे होटलदेखि सिंगापुरसम्म छ। सिंगापुरबाट कुरिलो, याकुन र च्याउको माग बढी हुने गरेको लामा बताउँछन्। 

पात्लेखेतको गोविन्द शर्माको हसेरा अर्गानिक फार्मको तरकारी पनि सिंगापुर पुग्छ। ५० रोपनी जग्गामा याकुन, स्टेपिया र अन्य तरकारीको खेती गरेका उनको फार्मबाट उत्पादन हुने जाम, जेली, अचारले पनि अन्तर्राष्ट्रिय बजार पाएका छन्। अर्गानिक खेतीबाट लामा र शर्माले पाएको सफलता देखेपछि काभ्रेका अन्य गाउँमा पनि यसको लहर चलेको छ। पात्लेखेतमै समिर नेवाको सक्रियतामा शुरू गरिएको अर्गानिक भिलेज फार्मले अर्गानिक उत्पादन गर्दै आएको छ। धुलिखेलमा २० जना किसान मिलेर दुई वर्षअघि शुरू गरेको साफिनो कृषक समूहले जग्गा भाडामा लिएर मौसमी तरकारी खेती गरेको छ भने नालामा सात जनाको प्रयासमा ६५ रोपनी जग्गामा यस्तो खेती गरिएको छ। लभग्रिन नेपाल नामक संस्थाको सहयोगमा अनेकोट गाविसका सबै वडामा अर्गानिक खेती शुरू भएको छ। जिल्ला कृषि विकास कार्यालयले विश्व खाद्य संगठनको सहयोगमा महादेवस्थान, शंखुपाटीचौर र कुशादेवी–रयालेमा एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) कार्यक्रम संचालन गरेर विषादीरहित उत्पादनमा जोड दिएको छ।  
 
वातावरणमा असर नपर्ने, माटोको उर्वराशक्ति बढ्ने र स्वास्थ्यको दृष्टिले मन पराइने भएकोले किसानहरू अर्गानिक खेतीप्रति आकर्षित भएका हुन्। केही वर्षअघिसम्म उनीहरू डढुवा, ढुसी, लाई, पतेरो, गवारो आदिबाट तरकारी जोगाउन र थोरै जग्गाबाट धेरै उत्पादन लिन रासायनिक विषादी र मल प्रयोग गर्दथे। पछिल्लो समय तरकारी खेतीमा प्रयोग गरिएको रासायनिक मल–विषादीले मानव स्वास्थ्य र वातावरणमा असर गरेको गुनासो बढेपछि तथा अर्गानिक खेतीको महत्व बुझेपछि 
तिनको प्रयोगमा कमी आएको अध्ययनहरूले देखाएका छन्।  
 
पाँचखालस्थित प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्थाले विषादीको प्रयोगबारे गरेको सर्वेक्षणले विषादीको प्रयोग ९० प्रतिशतले घटेको देखाएको छ। पाँचखाल बीज भण्डारका सञ्चालक गोविन्दप्रसाद सापकोटा किसानहरू सचेत भएकाले विषादी बिक्रीमा कमी आएको बताउँछन्। कान्छा अधिकारीको अनुभवमा विषादी प्रयोग नगर्दा उत्पादनमा कमी आउने कुरा पनि गलत साबित भएको छ।  
 
प्रमुख बजार राजधानी   
काभ्रेको तरकारीले राजधानीको एकतिहाई माग धान्दै आएको छ। यहाँ वार्षिक उत्पादन हुने एक लाख ५० हजार २३८ टन तरकारीमध्ये एक लाख २५ हजार टन राजधानी भित्रिन्छ। कृषि विकास कार्यालय काभ्रेका वरिष्ठ कृषि विकास अधिकृत सहदेव हुमागाईंका अनुसार जिल्लाको ९ हजार ५४५हेक्टर जमिनमा तरकारी खेती लगाइएको छ। तरकारी खेतीमा कहलिएका पाँचखाल, नाला, महादेवस्थान, जैसीथोक, ज्याम्दी, कुशादेवी, ढुंखर्क आदि ठाउँमा आलु, गोलभेंडा, काउली, बन्दा, मुला, सिमी, भन्टा लगायतका तरकारी उत्पादन हुन्छन्।  
 

१५ वर्षअघिसम्म पारिवारिक प्रयोजनमा सीमित काभ्रेको तरकारी खेती गाउँ–गाउँमा मोटरबाटो पुगेपछि व्यवसायमुखी बनेको हो। पाँचखाल–तामाघाट, नाला, ढुंखर्क, कुशादेवी, ज्याम्दी र बनेपामा तरकारी संकलन केन्द्र स्थापना भएपछि किसानहरूले आफ्ना उत्पादन बेच्न टाढा धाउनु नपर्ने भएको छ।

नगेन्द्र अधिकारी


 
सफल किसानको कथा 
 
तीन रोपनी जग्गामा लगाएको एक पटकको बन्दा खेतीबाट ढुंखर्कका रामशरण तिमल्सिनाले रु.२ लाख आम्दानी गरेका छन्। “हचुवामा बेच्दा रु.२ लाख आयो, जोखेर बेचेको भए रु.४ लाख आउने रहेछ”, तरकारी खेतीबाट उत्साहित तिमल्सिनाले भने।  
 
बन्दाबाट राम्रो आम्दानी भएपछि मुला खेती पनि गर्न थालेका तिमल्सिनाले सिजन अनुसार बन्दा, काउली जस्ता तरकारीका बेर्ना बेचेर पनि थप आम्दानी गर्दै आएका छन्। यसरी उनी वर्षमा कम्तीमा रु.५ लाखसम्म फाइदा गर्छन्। कम लगानीमा धेरै समय दिनु नपर्ने र राम्रो आम्दानी हुने उनी बताउँछन्। गाविसमा मिहिनेती किसानका रूपमा चिनिएका तिमल्सिनाको प्रेरणाबाट गाउँका अरू किसानले पनि कुरिलो, काउली र मुला खेती गरेका छन्। बेसिजनको तरकारी उत्पादन गर्ने क्रम पनि बढेको छ।
comments powered by Disqus

रमझम