पाठ्यसामग्री छैन दृष्टिविहीनलाई

Share:
  
- मीना शर्मा
सन् २०१५ सम्म “सबैका लागि शिक्षा” को नारा ल्याइए पनि आफ्नै भाषामा पाठ्यसामग्री नहुँदा दृष्टिविहीन विद्यार्थीलाई समस्या परेको छ।
p50
 
तस्वीर: मिन्रत्न बज्राचार्य

पद्मकन्या क्याम्पसबाट स्नातक उत्तीर्ण न्यूनदृष्टि भएकी नेपाल नेत्रहीन संघ संगीत परियोजना संयोजक सीता सुवेदीलाई हिंड्डुल गर्न कसैको सहयोग नचाहिए पनि लेख–पढ गर्न सहयोगी चाहिन्छ। उनी अगाडि पढ्न चाहन्छिन्, तर आफ्नै भाषा (ब्रेललिपि) मा पाठ्यसामग्री नभएकाले पल–पलमा समस्या आउँछन्। खासगरी परीक्षामा उनको लागि लेखिदिने व्यक्ति शैक्षिक योग्यता तल्लो तहको हुनुपर्ने हुँदा विषयवस्तु बुझाउनै गाह्रो हुन्छ र समय त्यत्तिकै बित्छ। 

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर प्रथम वर्षको परीक्षा दिएकी सरिता लामिछानेलाई परीक्षामा सहयोगी खोज्न तीन महीना लाग्यो। “पाठ्य सामग्रीको अभाव त छँदैछ, त्योभन्दा ठूलो समस्या परीक्षा भएको छ”, उनी भन्छिन्, “दृष्टिविहीनका लागि परीक्षा प्रणाली व्यावहारिक नै छैन।” ब्रेल पुस्तक र तालिम नहुँदा शिक्षकहरूलाई पनि अप्ठेरो परेको पोखरा रामबजारको कालिका उमाविमा १६ वर्षदेखि पढाउँदै आएका दृष्टिविहीन शिक्षक रमेश पोखरेल बताउँछन्। 
 
प्रविधिले फड्को मारिसक्दा पनि नेपालका दृष्टिविहीनहरू पाठ्यसामग्री, परीक्षा जस्ता समस्यामा अल्झिरहेका छन्। कीर्तिपुरस्थित ल्याबरोटरी स्कूलमा २०२१ सालदेखि ब्रेललिपिमा पढाइ शुरू भए पनि अहिलेसम्म न आवश्यक पाठ्यसामग्री विकास गरिएको छ, न पठनपाठन र परीक्षा प्रणालीमै सुधार। उपत्यका बाहिरका विद्यार्थीको पढाइमा झ्नै समस्या छ। कतिपय विद्यालयमा लेख्ने स्लेट, स्टाइलस र ब्रेलकापी नभएर सुनेकै भरमा पढ्नु परेको छ। दृष्टिविहीनले लेख्न प्रयोग गर्ने स्लेटको करीब रु.५००, स्टाइलसको रु.२५ र लेख्ने कागजको प्रति पेज डेढ रुपैयाँ पर्दछ।  
 
नेपाल अन्धा कल्याण संघले २०४३ सालमा भारतको बैङ्गलोरमा छपाएको बे्रललिपिको पुस्तक २०४४ पछि नेपालमै छाप्न त थालिएको छ तर छपाइ प्रविधि महँगो भएकाले पर्याप्त पुस्तक छापिएको छैन। शिक्षा मन्त्रालयले पुस्तक छाप्न तीन–तीन वर्षमा एक पटक रु.४० लाख हाराहारीको बजेट छुट्याउने गरे पनि प्रति सेट रु.१७०० देखि रु.१७ हजार पर्ने ब्रेल पुस्तक यति बजेटबाट आवश्यक संख्यामा छाप्न समस्या हुने नेपाल नेत्रहीन संघका महासचिव रमेश पोखरेल बताउँछन्। गत वर्ष मन्त्रालयले दिएको बजेटले ५२८ सेट पुस्तक छापिएको जानकारी उनले दिए। अहिलेसम्म उपलब्ध बे्रल पुस्तक विद्यालय तहमा पढ्ने करीब १३०० विद्यार्थीलाई १० जनाको भागमा एक सेट मात्र पर्दछ। हालै शिक्षा विभागको सहयोगमा नेपाल नेत्रहीन संघले ३०० सेट ब्रेल चित्र छापेको छ। सामाजिक, गणित र विज्ञान विषयमा भएका सबै चित्र छामेर पढ्न पाउने छन्। यसलाई दृष्टिविहीन पढ्ने ९० स्कूलमा प्रति स्कूल तीन सेटका दरले वितरण शुरू गरेको छ। जसको लागि रु.५ लाख छपाइ खर्च लागेको शिक्षा विभागले जनाएको छ। 
 
उच्च माध्यमिकदेखि माथिल्लो तहमा पढ्ने करीब ७०० विद्यार्थीलाई त त्यति सुविधा पनि प्राप्त छैन। उनीहरू साथीको सहयोगमा पढ्छन्। नेपाल नेत्रहीन संघ पोखराले २०६१ देखि पृथ्वीनारायण क्याम्पसमा र नेपाल राष्ट्रिय अपाङ्ग मानवअधिकार संरक्षण मञ्चले २०६४ देखि काठमाडौंमा सञ्चालन गरेको अडियो पुस्तकालयले केही विद्यार्थीलाई थोरै राहत दिएको छ। उपत्यकामा संचालित मोबाइल पुस्तकालय केही समयपछि अन्य जिल्लामा विस्तार गर्ने अन्धा कल्याण संघको योजना छ।  
 
प्रशंसनीय काम 
खानेपानी तथा ढल निकास विभाग, पानी पोखरीका सिनियर डिभिजन इन्जिनियर हिम गौतम सिभिल इन्जिनियरिङमा स्नातक र वातावरणमा स्नातकोत्तर हुन्। उनी २०५८ मा एक्कासी आँखाको ज्योति गुमेर काम गर्न नसक्ने हुँदा भर्खरै मात्र नेपालमा दृष्टिविहीनहरूले अंग्रेजीमा बोलेको सुनेर पढ्न–लेख्न सक्ने प्रविधि भित्रिएको थियो। यसमा कम्प्युटरको किबोर्डमा जुन अक्षर टाइप गर्‍यो त्यसले आवाज दिन्छ र त्यो सुनेर उनीहरू पढ्न सक्छन्। अंग्रेजीमा हुन्छ भने नेपालीमा किन नहुने भनेर लागिपरेका गौतमले २०६५ मा नेपालीमा बोल्ने सफ्टवेयर तयार पारे। यो प्रविधि अहिले २०० दृष्टिविहीनको पहुँचमा पुगेको छ।  
 
अष्टे्रलियन फाउन्डेशनको सहयोगमा ४२ वटा देशमा दृष्टिविहीनका लागि राष्ट्रिय भाषामा निर्माण हुन लागेको सफ्टवेयर बनाउन नेपालको जिम्मा पाएका गौतमले सबै काम पूरा गरी पास गराएको 'नेत्रवाणी' सफ्टवेयर प्रचलनमा आउने क्रममा छ। त्यस्तै उनले अक्षर परिवर्तन गर्ने 'फन्ट कन्भर्टर' सफ्टवेयर पनि विकास गरेका छन्, जसको सहयोगबाट नेपाली भाषाका आठ वटा फन्टलाई युनिकोडमा परिवर्तन गरी आँखा नदेख्नेले पनि सुनेर सजिलै बुझन सक्दछन्।
 
p51
 

'सहयोगी भावना घट्यो'  

गोविन्दप्रसाद आचार्य, प्राध्यापक  
 
२०५७ सालदेखि रत्नराज्य क्याम्पसमा नेपाली प्राध्यापन गर्दै आएका दृष्टिविहीन गोविन्दप्रसाद आचार्य मानिसमा सामाजिक भावना हराउँदै गएको र समाजको सहयोगी भावनाको कमीको मारमा दृष्टिविहीन विद्यार्थी परेका बताउँछन्। शिक्षण संस्था अपाङ्गता मैत्री नहुनु र आँखा नदेख्नेलाई कक्षामा अगाडि बस्न नदिइनु पनि समस्या हो। त्रिविको केन्द्रीय पुस्तकालयमा समेत दृष्टिविहीनलाई पढ्ने सामग्री र साधनस्रोत नभएको र यसबारे पटक–पटक माग गर्दा पनि विश्वविद्यालय प्रशासनले बेवास्ता गरेको आचार्यको गुनासो छ।। 
 
p51a
 

'विद्यार्थी हुँ जस्तै लाग्दैन'  

सुप्रभा अर्याल  
 
दृष्टिविहीन छात्रा सुप्रभा अर्यालले रिलायन्स इन्टरनेशनल एकेडेमीबाट १२ कक्षा उत्तीर्ण गरिन्। पाठ्यसामग्री नपाएर साथीको सहयोगमा सुनेको भरमा पढ्नुपर्ने यस्ता विद्यार्थीको बाध्यता छ। वर्षभरि दुःख गरेर पढे पनि परीक्षामा लेख्ने सहयोगी नपाउँदा समस्या आएको अर्याल बताउँछिन्। “यस्ता कुरा सम्झ्ँदा कहिलेकाहीं विद्यार्थी हुँ जस्तो पनि लाग्दैन”, उनी भन्छिन्। एक गैरसरकारी संस्थाको सहयोगमा १२ कक्षा उत्तीर्ण सुप्रभाको एउटै चिन्ता छ, “थप पढाइका लागि शैक्षिक सामग्री कसरी जुटाउने?”
comments powered by Disqus

रमझम