ग्रुय्रेशका अलांबोर्डे प्रतिष्ठानका संस्थापक अलांबोर्डेको मनमा प्रतिष्ठान तथा तिब्बती संग्रहालय हातामा आफ्नै श्रीसम्पत्तिबाट नेपालको लिच्छवि चैत्य प्रतिष्ठापन गर्ने धर्मचित्त उत्पन्न भएछ। त्यसनिम्ति स्वीट्जरल्याण्डकै नेपाली कला मर्मज्ञ उलरिक फोन श्रोईडरसँग कुरा गर्दा ज्यादै मिहिन कलायुक्त चैत्य छान्दा अति महँगो पर्नुका साथै दुरुस्तै बनाउन खोज्दा जाँचपासको झमेला समेत आइपर्ने भएकोले नयाँ पनि भन्न सकिने मध्यमस्तरको नमूना चैत्यको परिकल्पना गर्ने सल्लाह भएछ। त्यस अनुसार, चाबहिलको कुथुवहीः बाहिर त्यसै फ्याँकिएर बसेको चैत्यको अण्ड भागलाई त्यहींको सिंढीको किन्नरी मूर्ति भएको टुक्रालाई बेस र काठमाडौं उपत्यकामा प्रचलित पेटी भएको पूर्ण चैत्य बनाउने योजना बन्यो। त्यस अनुसार, भक्तपुरका राजन श्रेष्ठले बनाएको नक्शामा उलरिक र अलांबोर्डे दुवैको चित्त बुझ्यो।
त्यसपछि ढुंगामा काम गर्ने कलाकारहरूको खोजीमा पाटनको भिन्छे वहालको चक्कर काट्दा नेपालमा सिपालु मूर्तिकारको खाँचो हुँदै गएको अनुभव भयो।
पत्रपत्रिकामा विज्ञापन गर्दा समय लम्बिनुका साथै खर्च र अनावश्यक झन्झट बढ्ने ठानेर कलाकारको सिला खोज्न थालियो। त्यसक्रममा खोकनाका सन्तलाल द्यःखः ज्यापूसँग भेट भएपछि कलाकारको खोजी पूरा भयो। उनी कलाकार परिवारमा जन्मेका वा वी.एफ र एम.एफए डिग्रीवाला होइनन्। किसान परिवारका उनलाई रुचि, मिहिनेत, धैर्य र भद्रताले कुशल कलाकार बनाएको रहेछ– विश्वकर्माले नै सिलाको काम गर्न पठाए जस्तो। अब यो पंक्तिकारले कुँदाइ सहित सबै कामको रेखदेख र उलरिकले गुणस्तर नियन्त्रण गर्ने गरी काम अघि बढ्यो। त्यसक्रममा, उपयुक्त ढुंगाको खोजीमा धेरै हन्डर खानुपर्यो। बल्लतल्ल फर्पिङबाट करीब चार किलोमिटर पश्चिमको खानीमा ढुंगा भेटेर ज्यासलसम्म ल्याइपुर्याउँदा सातौं महीनाको घाम डुब्यो, बाँकी पाँच महीनामा काम नसकिने देखेर सन्तलाल र पंक्तिकारको मनमा ढ्यांग्रो बज्न थाल्यो। उलरिक महोदय म्याद सकिनुभन्दा डेढ महीना अघि नेपाल आउँदै थिए। उनी आएपछि ज्यासल लैजाने क्रममा निर्धारित समयमा काम नसकिने कुरा राखें। त्यसोभन्दा मलाई बडो कठिनाइ भइरहेको थियो। त्यसको जवाफमा उनले जे भने, त्यसले मलाई व्यर्थैमा यति धेरै डराएछु जस्तो लाग्यो। ज्यासलमा भइरहेको काम देखेर निकै खुशी भएका उनले मैले चार महीना मागेकोमा ६ महीना समय दिए।
चैत्य चारै महीनामा तयार भयो, तर ढुंगाको बनोटले गर्दा कतै–कतै टाटेपाटे देखियो। साथीभाइसँग समस्या राख्दा केशव अमात्यले 'स्याण्ड ब्लाष्टिङ' को उपाय सुझाए। ढुंगाको अर्को मूर्तिमा प्रयोग गरेर हेर्दा नतीजा राम्रो निस्केपछि चैत्यमा पूरै 'स्याण्ड ब्लाष्टिङ' गरियो। त्यसको पनि सुन्दर परिणाम आयो। अनि २१ डिसेम्बर २०१३ मा स्वीट्जरल्याण्ड पुगेको चैत्यलाई ९ जून २०१४ का दिन तिब्बती काग्यु लामाबाट विधिपूर्वक प्रतिष्ठापन गरियो। यसमा थप उल्लेख्य के भने, अलांबोर्डेको इच्छा अनुसार चैत्यको गर्भगृहको नवकुण्डको बाकसको ढकनीमा नेपाली भाषा र नेवारी लिपिको अभिलेख कुँदिएको छ।