१६-३० मंसिर २०६९ | 1-15 December 2012

दाबेदारलाई झट्का

Share:
  
- सन्त गाहा मगर
राजधानीमा जारी “ए” डिभिजन लिग उपाधिका प्रबल दाबेदार क्लबहरू सुरुआती खेलमै कमजोर मानिएका प्रतिद्वन्द्वीसँग पराजित भएपछि उपाधि दौड थप प्रतिस्पर्धात्मक हुने देखिएको छ।
p62
 
दशरथ रंगशालामा ९ मंसीरमा भएको खेलमा संकटा (रातो)
का सुवास केसीलाई रोक्ने प्रयास गर्दै पुलिसका जुमानु राई।
तस्बीरः पीजे क्लब

साविक विजेता नेपाल पुलिस क्लब र उपविजेता लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबले यस वर्ष शहीद स्मारक रेडबुल 'ए' डिभिजन लिगको उद्घाटन खेलमा स्पष्ट जित निकाल्न सकेनन्। ५ मंसीरमा शुरू लिगको पहिलो खेलमा पुलिसलाई नवप्रवेशी आइसवर्ग मध्यपुर युथ एसोसिएसनले १–१ को बराबरीमा रोक्योभने यस वर्षको एनसेल कप र सफल पोखरा कपको उपाधि उचालेको मनाङ पनि तुलनात्मक रूपमा कमजोर मानिएको न्यूरोडको संकटा क्लबसँग १–१ को बराबरी खेलेर अंक बाँड्न बाध्य भयो। 

लगातार तीनसहित चार पटक 'ए' डिभिजन र गत वर्षको राष्ट्रिय लिग जितेको पुलिस ९ मंसीरको दोस्रो खेलमा संकटासँग २–० ले पराजित भयो, संकटाका निराजन मल्ल र मनिष गुरुङले गोल गरे। १३ मंसीरमा भएको तेस्रो खेलमा उसलाई मच्छिन्द्र क्लबले २–० ले स्तब्ध पार्‍यो। पुलिस र मनाङ मात्रै होइन उपाधिको प्रमुख दाबेदार मानिएको थ्रीस्टार क्लबले पनि खराब सुरुआत गरेको छ। गोलकिपर किरण चेम्जोङ, स्ट्राइकर सन्तोष साहुखल, मिडफिल्डर विजय गुरुङ र अनिल ओझा, डिफेन्डर सन्दीप राई र विराज महर्जन जस्ता राष्ट्रिय टीमका खेलाडीले भरिएको थ्रीस्टारलाई ६ मंसीरमा सरस्वती क्लबले २–१ ले पराजित गर्‍यो। गत वर्षको राष्ट्रिय लिग उपविजेता यती हिमालयन शेर्पा क्लबले पनि महिन्द्रा बाँसबारीसित गोलरहित बराबरीमा चित्त बुझायो। 
 
किन हारे दाबेदार  
गत वर्ष अन्तिम खेलमा मनाङ मर्स्याङ्दीसँग १–० ले पराजित भए पनि पुलिसले उपाधि जितेको थियो। मनाङका अध्यक्ष जामलिङ घलेले यसलाई कमजोर प्रतिद्वन्द्वीसँग अंक गुमाउँदाको परिणाम मानेका थिए। अहिले तीन खेलबाट आठ अंक गुमाइसकेको पुलिस क्लबका टीम म्यानेजर तथा राष्ट्रिय टीमका पूर्व स्ट्राइकर हरि खड्का पनि सजिलो क्लबसँगको पराजयले उपाधि दौड मुश्किल हुने स्वीकार्छन्। खेलाडी घाइते र डिफेन्सलाइन कमजोर हुनाले जित निकाल्न नसकेको बताउने खड्का विभागीय क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न नपाउने अवस्था र जित्नैपर्ने मानसिकताले पनि भनेजस्तो नतिजा नआएको हुनसक्ने अनुमान गर्छन्।  
 
पुलिस र मच्छिन्द्र क्लबसँग बराबरी खेलेको मध्यपुर एसोसिएसनका प्रशिक्षक उपेन्द्रमान सिं भने खेलाडीको कडा मिहिनेत, कुशल व्यवस्थापन र दर्शकको समर्थनलाई सफलताको कारण मान्छन्। मध्यपुरलाई पहिलो पटक 'ए' डिभिजन पुर्‍याएका सिंले खेलाडीलाई शारीरिक र मानसिक रूपमा दुरुस्त राख्न आफूहरूले नियमित प्रशिक्षण चलाइरहेको जानकारी दिए। गोलकिपर विकेश कुथु बाहेक मध्यपुरसँग कोही राष्ट्रिय टीमका खेलाडी छैनन्। राष्ट्रिय टीमको कप्तान रहिसकेका सिं क्लबहरूबीचको अन्तर उन्नाइस–बीसको मात्रै भएको र अलिकति मिहिनेत गर्नेले नतिजा आफ्नो पक्षमा पार्न सक्ने बताउँछन्।  
 
राष्ट्रिय टीमका कप्तान सागर थापा सुरुआती खेलहरूमा तालमेल मिल्न नसकेर पनि अप्रत्यासित नतिजा आउने गरेको अनुभव सुनाउँछन्। थापा भन्छन्, “चर्चामा नरहेका क्लबका खेलाडीसँग आफूले गुमाउने केही नभएको अवस्थाको पनि फाइदा हुन्छ, जबकि डिफेन्डिङ च्याम्पियनलाई जित्नैपर्ने दबाब हुन्छ।”  
 
एन्फाले पुरस्कार राशी ह्वात्तै बढाएकोले क्लबहरूबीच प्रतिस्पर्धा बढेको छ (हे.बक्स)। अहिले पुरस्कार राशीले मात्रै पनि क्लबहरू नाफामा चल्न सक्ने अवस्था छ। राष्ट्रिय टीमका कप्तान थापा पुरस्कार वृद्धिले खेलाडीहरूको पारिश्रमिकमा पनि सकारात्मक प्रभाव पार्ने बताउँछन्। एन्फाले रु.१ करोड ४७ लाखको पुरस्कार घोषणा गरेलगत्तै क्लबहरूले विदेशी खेलाडी भित्र्याउन हानथाप गरेका छन्। विदेशी र नयाँ खेलाडीहरूको राम्रो प्रदर्शन पनि चर्चित क्लबको पराजयको कारण बन्न पुगेको हो। 
 
लिग उपाधिको एउटा दाबेदार क्लबका प्रशिक्षक भने स्टारै–स्टार हुँदा पनि धेरै बिरालो भएर मुसा मार्न नसकेको हुनसक्ने बताउँछन्। नाम चलेका खेलाडीमा व्याप्त प्रशिक्षणमा नियमित नआउने, प्रशिक्षक र क्लब व्यवस्थापकलाई नटेर्ने प्रवृत्तिले पनि समस्या हुने गरेको उनको अनुभव छ। कतिपय खेलाडीहरू खेल हुने अघिल्लो राति रमाइलो गरेर अबेरसम्म बस्दा पनि पूर्ण क्षमतामा खेल्न नसकेको ती प्रशिक्षकको भनाइ छ।  
 
विदेशी खेलाडीले क्लबहरूको नतिजामा प्रभाव पारेको कुरामा फूटबल विश्लेषक संजीव मिश्र पनि सहमत छन्। तर खेल जित्न नाम चलेका भन्दा पनि काम चलेका खेलाडी चाहिने उनको धारणा छ। “महीनौं चल्ने लिगको शुरूमा सबै खेलाडी फ्रेस हुने भएकाले पनि नतिजा आकलन गर्न सकिंदैन”, मिश्र भन्छन्, “लिगको सुरुआती नतिजा मिहिनेत गर्नेले स्टारलाई पछार्न सक्छ भन्ने प्रमाण हो।” एन्फाले वृद्धि गरेको पुरस्कार राशी र नवप्रवेशी टीमले साविक विजेता सामु प्रस्तुत गरेको चुनौती दुवैले नेपाली फूटबल विकासमा सकारात्मक प्रभाव पार्ने मिश्रको विश्वास छ। 
 
विजेतालाई रु.७५ लाख  
p63
 

अखिल नेपाल फूटबल संघ (एन्फा) ले 'ए' डिभिजन लिग विजेताले पाउने पुरस्कार राशीमा तीन गुणाभन्दा बढी वृद्धि गरेको छ। यस वर्ष लिग विजेताले नगद रु.७५ लाख पाउनेछ। अघिल्लो वर्ष 'ए' डिभिजन जित्नेलाई रु.२० लाख र राष्ट्रिय लिग विजेतालाई रु.२५ लाख दिइएको थियो।  

एन्फाका अनुसार, लिगमा उपविजेताले रु.३५ लाख, तेस्रो हुनेले रु.१५ लाख र चौथो हुनेले रु.७ लाख पाउने छन्। यसैगरी पाँचौं र छैटौं हुनेलाई समान रु.१ लाख ५० हजार तथा सातौं र आठौं हुनेलाई रु.१–१ लाख पुरस्कार दिइनेछ। यस्तै अनुशासित टीमले रु.१ लाख तथा उत्कृष्ट प्रशिक्षक, फरवार्ड, गोलकिपर, मिडफिल्डर र डिफेन्डरले मोटरसाइकल पुरस्कार पाउने छन्। लिग खेलिरहेका १६ वटै टीमले तयारी स्वरुप रु.३ लाख पाउने छन्। अघिल्लो वर्ष तयारीका लागि रु.२ लाख दिइएको थियो।  
 
एन्फाले यसपटकदेखि लिगको पहिलो चरणमा एक–एक खेल खेलाउने, पहिलो चरणमा सहभागी क्लबबीच १२० खेल हुने र माथिल्लो आठ स्थानमा रहेका टीमबीच 'सुपर एट' खेलाउने भएको छ। तर शीर्षस्थानमा रहेको टीम भन्दा २१ अंक कम भएको टीम 'सुपर एट' मा सहभागी हुन नपाउने हुनाले दोस्रो चरणमा खेल्ने टीम आठभन्दा कम पनि हुनसक्ने एन्फा उपाध्यक्ष तथा प्रवक्ता ललितकृष्ण श्रेष्ठले बताए। उनी भन्छन्, “सुपर एटमा पर्न पनि अंक अन्तर कम चाहिने भएपछि क्लबहरूबीच मिलेमतो हुने छैन।” २०६१ मा पनि 'ए' डिभिजन लिग 'सुपर सिक्स' को अवधारणामा खेलाइएको थियो।
comments powered by Disqus

रमझम